Nepal Republic Media Pvt. Ltd.

Thursday
Feb 20th
Error
  • Error loading feed data.

एमालेले अडान छाड्न थालेपछि कांग्रेस सशंकित

smaller text tool iconmedium text tool iconlarger text tool icon
माधव ढुङ्गेल, काठमाडौं, कात्तिक १७ - नयाँ संविधानका मुख्य मुद्दामा एमालेले एकीकृत माओवादीको प्रस्तावलाई समर्थन गर्न थालेपछि कांग्रेस-एमालेबीच छलफल गरी अडान बनाउने प्रयास सुरु भएको छ। एमाले नेता भरतमोहन अधिकारीले न्यायपरिषद्को सेरोमोनियल अध्यक्ष सभामुख बनाएर सहमति गर्न प्रस्ताव गरेपछि दुई दलबीच आशंका बढेको हो। 

न्यायपरिषद्को अध्यक्षबारे एमालेले अडान फेरेपछि कार्यदलमा रहेका एमाले र कांग्रेसका नेताहरूले बैठक समेत गरेका छन्। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सोमबार भएको बैठकमा कांग्रेसका रामचन्द्र पौडेल र रमेश लेखकले एमाले नेताहरू झलनाथ खनाल र भरतमोहन अधिकारी सहभागी थिए। खनाल र अधिकारीले अडान नफेरेको बताएका थिए। एमालेले लोकतान्त्रिक मूल्यलाई छाडेर सम्झौता नगर्ने भनी आश्वस्त पारेका थिए।

मंगलबारको संसदीय दलको बैठकमा कार्यदलका सहयोगी रमेश लेखकले कांग्रेस-एमालेबीच छलफल गरी अडान बनाउन आफ्ना नेताहरूलाई आग्रह गरेका छन्। 'एमालेले पनि सहमतिका लागि भन्दै माओवादीले अघि सारेको मुद्दालाई समर्थन गरेमा कांग्रेस एक्लो हुन्छ', लेखकले संसदीय दलको बैठकमा भने, 'झण्डै दुई दशकदेखि लोकतान्त्रिक अभ्यासमा रहेको एमालेसँग केही मुद्दामा छलफल गरी अडान बनाइनुपर्छ।'

संविधानका विवादमा सहमति जुटाउन दैनिक भैरहेको कार्यदलको बैठकमा एमाले नेताहरूले 'सहमतिका लागि विकल्प' भन्दै अडान छाड्न थालेपछि एमालेप्रति कांग्रेस सशंकित भएको छ। न्यायपरिषद्को अध्यक्ष प्रधानन्यायाधीश नै हुनुपर्छ भन्ने अडानमा एमाले नअडिएपछि कार्यदलमा कांग्रेसले एक्लिएको महसुस गरेको छ।

पछिल्लोपटक राष्ट्रिय हितको संरक्षण समितिको प्रतिवेदनमाथिका प्रश्नहरूमाथि भएको छलफलमा पनि एमालेका सहयोगी भरतमोहन अधिकारीले 'माओवादी सेनाका लडाकू' को प्रसंग 'शान्ति सम्झौताको भावनाअनुरुप समायोजित नेपाली सेना' भनी राख्न सकिने बताएपछि कांग्रेस अझै सशंकित भएको हो।

न्यायप्रणाली समितिको प्रतिवेदनमाथि भएको छलफलमा पनि एमालेका अधिकारीले सहमतिका लागि भन्दै 'सेरोमोनियल हेड' का रूपमा न्यायपरिषद्को अध्यक्ष सभामुखलाई बनाउन सकिने प्रस्ताव गरेका थिए। 'मेरो अडान त न्यायपरिषद् अध्यक्ष प्रधानन्यायाधीश नै हुनुपर्छ भन्ने हो तर न्यायपालिकालाई स्वतन्त्र राख्ने गरी अरु सबै कुरा मिल्छ भने सेरोमोनियल हेड सभामुखलाई अध्यक्ष बनाएर जान सकिन्छ भनेको मात्र हुँ', अधिकारीले नागरिकसँग भने, 'कार्यकारी अधिकार दिएर प्रधानन्यायाधीशलाई उपाध्यक्ष बनाएर सहमति गरौं भन्ने विकल्प दिएको मात्र हुँ।'

न्यायप्रणालीबारे नमिलेका अरू सबै मुद्दाहरू स्वतन्त्र न्यायपालिकाका बनाउने गरी न्यायाधीशको नियुक्ति सर्वोच्चकै न्यायाधीशबाट मात्र गर्ने, संविधानको व्याख्या न्यायपालिकाले गर्ने, प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक परिषद् बनाउने, सर्वोच्च अदालतका न्यायाधीशदेखि प्रदेश/पुनरावेदन/जिल्ला अदालतका न्यायाधीशसम्म नियुक्तिका लागि न्यायपरिषद् बनाउने हो भने प्याकेजमै सहमति गर्न प्रस्ताव गरेको अधिकारीले बताए। उनले भने, 'प्याकेजमै सहमति गरे सेरेमोनियल हेड सभामुखलाई बनाउन सक्ने प्रस्ताव गरेको हुँ।'

एमालेले अडान नछाडेको बताउँदै अधिकारीले भने, 'कांग्रेसका रमेश लेखकजीले पनि प्रधानन्यायाधीशलाई अध्यक्ष बनाऊँ, बरु केही सांसद् सदस्य राखौं भन्ने विकल्प दिनुभएको थियो, मैले अस्वीकार गरें।' माओवादीका समायोजित लडाकूको प्रसंग कुनै पनि रुपमा राख्न नहुने लेखकले अडान राखेपछि एमाले पनि पछि हटेको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld