Error
  • Error loading feed data.

आज पनि तीन दलको बैठक

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, कात्तिक १७ (नागरिक)- कांग्रेसका शीर्षनेता नगएपछि मंगलबार प्रमुख तीन दलको बैठक निष्कर्षहीन भएको छ। अपराह्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा डाकिएको शीर्षनेताको बैठकमा कांग्रेस सभापति सुशील कोइराला र संसदीय दलका नेता रामचन्द्र पौडेल अनुपस्थित रहेपछि मूल विषयमा प्रवेशै नगरी टुंगिएको हो।


संवैधानिक निकायमा नियुक्ति, बजेट र राजनीतिक गतिरोधबारे छलफल गर्न प्रधानमन्त्री माधवकुमार नेपालले तीन दलका शीर्षनेताको बैठक डाकेका थिए। सोमबार प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच संवैधानिक निकायको नियुक्तिलगायत विषयमा शीर्षतहमै सहमति बनाउने सल्लाहअनुरूप बैठक राखिएको थियो।

कांग्रेसले बैठकलाई महŒव नदिएकाले महŒवपूर्ण विषयमा सहमति कायम गर्न नसकिएको बैठकपछि एमाले र माओवादी नेताले गुनासो गरेका छन्।

माओवादी अध्यक्ष दाहालले कांग्रेसका शीर्षनेता नआएकाले शीर्षवार्ता गम्भीर हुन नसकेको बताए। 'मैले हिजै (सोमबार) प्रधानमन्त्रीलाई अन्य विषयमा सहमति नगरी कामचलाउ सरकारले संवैधानिक नियुक्ति गर्दा अप्ठयारो हुन्छ, त्यसैले शीर्षनेताको बैठक राखेर सबै विषयमा छलफल गरौंँ भन्ने प्रस्ताव गरेको थिएँ', दाहालले भने, 'तर, हामी जुन छलफलका लागि बैठकमा बसेका थियौँ, कांग्रेसका प्रमुख नेता नआएपछि त्यसअनुसार भएन।'

कांग्रेसका शीर्षनेताको अनुपस्थिति अपर्झट भएको दाहालले बताए। 'आउने निश्चित भइसकेकोमा अपर्झट अनुपस्थित रहेकाले बैठक प्रयोजनहीन भयो,' उनले भने। कांग्रेसबाट बैठकमा नेता रामशरण महत थिए।

कांग्रेसले पार्टीको संसदीय दल बैठकको समय जुधेकाले शीर्षनेता बैठकमा उपस्थित हुन नसकेको जनाएको छ। 'हाम्रो संसदीय दलको बैठक उही समयमा परेकाले कारण म उपस्थित हुन सकिनँ,' कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने, 'सुशीलजी बिरामी भएकाले जान सक्नुभएन।'

पौडेलले प्रधानमन्त्री नेपालले कांग्रेससँग परामर्श नगरी बैठक बोलाएकाले यस्तो अवस्था आएको बताए। 'बैठक बोलाउनुअघि हामीसँग छलफल गरिएन। उहाँहरू दुईथरी (माओवादी र एमाले) बीचको सल्लाहले बैठक डाकिएको हो,' पौडेलले भने, 'छलफल गरिएको भए समय मिलाउन सकिन्थ्यो।'

उनले पार्टीको संसदीय दलको बैठक पूर्वनिर्धारित रहेकाले शीर्षबैठकमा जान नसकेको
बताए।

तीन दलको शीर्षबैठक बुधबार अपराह्न २ बजे पुनः बोलाइएको छ। मंगलबारको त्रिदलीय बैठकमा वर्तमान राजनीतिक गतिरोधको अन्त्य, सत्तासाझेदारी, शान्तिप्रक्रियाको पूर्णता, संविधान निर्माण र बजेटको विषयमा सामान्य छलफल भएको थियो।

'अहिलेको समसामयिक राजनीतिक परिस्थिति र गतिरोधबारे सामान्य छलफल गर्‍यौँ,' दाहालले भने। बैठकमा समयमा बजेट आउन नसक्दा अर्थतन्त्रमा परेको प्रभाव र भविष्यमा पर्न सक्ने आर्थिक संकटको विषयमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले 'ब्रिफिङ' गरेका थिए।

कांग्रेस नेता रामशरण महतले बजेट अभावमा देखिएको अप्ठेरोबारे छलफल भएको बताए। बैठकमा सबै विषयमा समग्र छलफल गरी प्याकेजमै सहमति गर्ने समझदारी भएको पनि उनले बताए। 'बजेटलगायत समग्र राजनीतिक परिस्थितिको मूल्यांकन गरेर प्याकेजमा एउटा सहमति निर्माण गर्नुपर्छ भन्ने कुरा भयो,' उनले भने, 'त्यसका लागि मंगलबार प्रारम्भिक छलफलमात्रै भयो।' बुधबार विस्तृत छलफल गरेर समाधान खोज्ने पनि उनले बताए।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld