Error
  • Error loading feed data.

तीन दलका शीर्ष नेता गोप्यवार्तामा

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं, कात्तिक १९ (नागरिक)- राजनीतिक सहमति खोजी गर्न प्रमुख तीन दलका शीर्ष नेताले आजदेखि गोप्य वार्ता गर्ने भएका छन्। एकीकृत माओवादी, कांग्रेस र एमालेका पाँच-पाँच जनाका नेताको समूह काठमाडौँ नजिकैको हात्तिवन रिसोर्टमा गोप्यवार्तामा बसिरहेका छन्।
  प्रधानमन्त्री नेपालले राजिनामा दिएपछि १५ औं पटकसम्मको चुनावले प्रधानमन्त्री छनौट गर्न नसकेपछि नेताहरुले गम्भीर वार्ता गर्नुपर्ने निष्कर्ष निकाल्दै शान्त स्थानमा बसेर वार्ता गर्ने निधो गरेका हुन्। संचार माध्यम र जनसम्पर्कवाट टाढा रहेर वार्ता गर्ने भन्दै नेताहरुले 'रिसोर्ट'लाई वार्तास्थलको रुपमा छनौट गरेका हुन्।
वार्तास्थलको रुपमा सोलुखुम्बुको लुक्लादेखि पोखरासम्मको स्थानलाई चर्चामा ल्याइएको थियो। कतिपय नेताले 'हेलिकप्टरमै जाने तामझाम जरुरी नभएको' टिप्पणी गरेपछि राजधानी नजिकैको स्थानमा वार्ताका लागि छानिएको हो।

नेताहरू शुक्रबार बिहान साढे सात बजे सिंहदरवारस्थित गृहमन्त्रालयमा जम्मा भई बाहिर जाने तयारीलाई सरकार र नेताहरूले गोप्य राखेका थिए। केही नेताले सामान्य औपचारिक जानकारीमात्र पत्रकारलाई दिएका थिए।

गृह मन्त्रालयको निर्देशनमा हेलिकप्टर 'स्टयाण्डवाई' राखिएकाले राजधानीबाहिर गोप्यबासको व्यवस्था भएको अनुमान गरिएको थियो। 'वार्तामा सहभागी हुने नेताहरु सबैलाई वार्तास्थलवारे जानकारी गराइएको छैन', वार्तामा सहभागी हुने एक नेताले हिजो नागरिकलाई भनेका थिए, 'सबैलाई बिहान साढे सात बजे गृहमन्त्रालयमा जम्मा हुन भनिएको छ।'

वार्ताको संयोजन गर्ने जिम्मा पाएका गृहमन्त्री रावलले दलहरूबाट प्राप्त नामका आधारमा पन्ध्र जनै नेतालाई आफ्नो मन्त्रालयमा आइपुग्ने समय दिएका छन्।
प्रधानमन्त्री माधवकुमार नेपालले बुधबार सिंहरदवारमा आयोजना गरेका त्रिदलीय वार्तामा भएको सहमतिअनुसार गोप्य 'शीर्ष वार्ता' हुन लागेको हो। 'प्रधानमन्त्री कार्यालयमा जो तीन दलको बैठक भयो, त्यहाँ भएको छलफल अनुसार भोलि र पर्सि हामी तीन दल अहिलेको राजनीतिक गतिरोध अन्त्य निम्ति छलफल गर्दैछौं', संविधानसभामा प्रतिनिधित्व गर्ने २७ दलको बैठकपछि बिहीबार साँझ माओवादी अध्यक्ष पुष्पकमल दाहालले संचारकर्मीसँग भने।

एमाले अध्यक्ष झलनाथ खनालले पनि शीर्ष नेताहरुले नेतृत्व गर्ने समूह सहमति खोज्न जाने बताए। 'शीर्ष नेताले नेतृत्व गरेको नेताहरुको टोली मुख्य मुद्दामा सहमति खोज्न जादैछौं', उनले नागरिकसँग टेलिफोनमा भने। उनले पनि वार्ता स्थल र समयबारे भने बताउन चाहेनन्।

स्रोतका अनुसार वार्तामा माओवादीबाट अध्यक्ष दाहाल, उपाध्यक्षद्धय मोहन वैद्य र वावुराम भट्टराई, महासचिव रामबहादुर थापा र विदेश विभाग प्रमुख कृष्णबहादुर महरा छन् भने कांग्रेसबाट संसदीय दलका नेता रामचन्द्र पौडेल, नेताहरू शेरबहादुर देउवा, रामशरण महत, कृष्ण सिटौला र अर्जुन नरसिंह केसी छन्। सभापति सुशील कोइराला भने स्वास्थ्य स्थितिका कारण सहभागी नहुने स्रोतले जनाएको छ।

कोइरालाको अनुपस्थितीमा कांग्रेसको नेतृत्व देउवा वा पौडेल कसले गर्ने खुलेको छैन। पार्टीको मर्यादाक्रममा देउवालाई दोस्रो स्थान दिइएको छ भने संसदीय दलको नेता हिसाबले वार्ता भए पौडेलले नेतृत्व गर्नेछन्।

पार्टीको कार्यक्रममा धनगढीमा व्यस्त रहेका कृष्णप्रसाद सिटौला नेता पौडेलको आग्रहपछि भ्रमण छोट्टयाएर बिहीबारै काठमाडौं फर्किएका थिए।
एमालेबाट अध्यक्ष खनालसँग प्रधानमन्त्री नेपाल, महासचिव ईश्वर पोखरेल, नेताहरू केपी शर्मा ओली र भरतमोहन अधिकारी जाँदैछन्। गृहमन्त्री रावल वार्ताको प्रबन्ध मिलाउने हिसाबले सहभागी हुने भएका छन्।


 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld