Error
  • Error loading feed data.

मनकामना मन्दिरको अध्ययन मात्र, जीर्णोद्धार भएन

smaller text tool iconmedium text tool iconlarger text tool icon
सन्तोष पोखरेल, मनकामना (गोरखा) कात्तिक १९- भौतिक अवस्था कमजोर हुँदै गएको गोरखाको प्रसिद्ध मनकामना मन्दिरको अझैसम्म मर्मतसम्भार हुन सकेको छैन। मर्मतसम्भारको पर्खाइमा रहेको मन्दिर दिनप्रतिदिन कमजोर बन्दै गएको छ।

  सरकारी निकाय पुरातत्व विभाग र मनकामना क्षेत्र विकास समितिले मन्दिरको भौतिक अवस्था कमजोर हुँदै गएको बताए पनि जीर्णोद्धारको पहल भएको छैन। दुवै निकायले मन्दिरको अवस्थाबारे पटक-पटक अध्ययन गरिसकेका छन्।

पछिल्लो दुई वर्षमा मात्र प्राविधिकसहितको टोलीले अध्ययन गरिसकेको छ।


मनकामना क्षेत्र विकास समितिका अध्यक्ष दिनेश जोशीले मन्दिरको अवस्थाबारे अध्ययन जारी रहेकाले मर्मतसम्भार सुरु नभएको बताए। उनले मन्दिरको 'पुनर्निर्माण' वा 'जीर्णोद्धार' गर्ने भन्ने टुंगो नलागेकाले काममा ढिलाइ भएको बताए।

जोशीका अनुसार पुरातत्व विभागले गत माघमा गरेको अध्ययनले मन्दिरको भौतिक अवस्था ज्यादै कमजोर भएकाले भत्काएर 'पुनर्निर्माण' गर्नुपर्ने सुझाव दिएको थियो। स्थानीयले मन्दिरको 'जीर्णोद्वार' मात्र गरे पुग्ने धारणा राखेका छन्।

'पुरातात्विवक संरचना हराउने, दैनिक नित्य पूजा रोकिने डरले स्थानीयले जीर्णोद्धारको माग राखेका हुन्,' अध्यक्ष जोशीले भने, 'पुरातत्व विभागले मन्दिर कमजोर हुँदै गएकाले 'पुनर्निर्माण' गर्नुपर्ने सुझाव दिएको छ।' मन्दिर खण्डहरमा परिणत नभइसकेकाले मर्मतसम्भार गरे मात्र पुग्ने भन्ने स्थानीयबासीको माग रहेको उनले बताए।


स्थानीयको मागलाई बेवास्ता गर्न नसकिने भन्दै क्षेत्र विकास समितिले पुनः निजी क्षेत्रका प्राविधिक ल्याएर मन्दिरको अध्ययन गरेको छ। 'स्थानीयको मागअनुसार मन्दिरको 'जीर्णोद्धार' गर्न सकिन्छ कि सकिँदैन भन्ने अध्ययन गर्न समितिले आफ्नै पहलमा प्राविधिक ल्याएको हो,' अध्यक्ष जोशीले नागरिकसँग भने, 'के गर्दा मन्दिरको अवस्था बलियो बनाउन सक्छौं भनेर खोजी गरिरहेका छौँ।'

एक सातासम्म अध्ययन गरेको टोलीले केही दिनभित्र प्रतिवेदन बुझाउने उनले बताए।
जोशीले मन्दिर सुरक्षित गर्न तीन विकल्प रहेको जानकारी दिए। 'पहिलो जीर्णोद्वार गर्ने, दोस्रोमा मन्दिरको बिग्रेको खण्ड मात्र मर्मत गर्ने र तेस्रोमा पुनर्निर्माण गर्न सकिने विकल्प छन्,' उनले भने।

मनकामना मन्दिर जीर्णोद्वार अध्ययन समिति संयोजक प्रेमकुमार श्रेष्ठले पछिल्लो अध्ययनले मन्दिर जीर्ण भइसकेकोले जतिसक्दो छिटो 'जीर्णोद्वार' गर्नुपर्ने सुझाव दिएको बताए। 'राष्ट्रिय सम्पदाको रूपमा रहेको मन्दिरको जतिसक्दो छिटो मर्मतसम्भार गर्नुपर्ने सुझाव पाएका छौं,' उनले भने, 'तर, विस्तृत प्रतिवेदन आइनसकेकाले के गर्ने भन्ने निर्णय भएको छैन।' उनले सरकारी र समिति प्रतिवेदनलाई एकै ठाउँ राखेर के गर्ने भन्ने निष्कर्ष निकाल्ने बताए।

क्षेत्र विकास समितिका पूर्व अध्यक्ष कृष्ण देवकोटाले मन्दिरको 'पुनर्निर्माण' नै गर्नुपर्ने अवस्था रहेको बताए। देवकोटाले आफू अध्यक्ष रहँदा दुई वर्ष अघि पनि पुरातत्व विभागका प्राविधिक ल्याएर मन्दिरको अवस्थाबारेमा अध्ययन गराएका थिए। उनले मन्दिरको भौतिक अवस्था कमजोर हुँदै गएकोले 'पुनर्निर्माण' नै गर्नुपर्ने सुझाव उक्त टोलीले दिएको जानकारी दिए।
'पुरातत्व विभागले दुई वर्षमा दुई पटकसम्म मन्दिरको अध्ययन गरेर 'पुनर्निर्माण' गर्नुपर्ने सुझाव दिइसकेको छ,' देवकोटाले भने, 'प्राविधिकलाई विश्वास गर्नैपर्‍यो, त्यसैले 'पुनर्निर्माण' नगरी सुखै छैन।'

मन्दिरको अध्ययनभन्दा पनि मर्मतसम्भारमा ध्यान दिनुपर्ने उनले बताए। देवकोटाले मन्दिरको दैनिक नित्यपूजा नरोकिने गरी 'पुनर्निर्माण' नगरे मन्दिर झनै नाजुक हुँदै जाने बताए। 'विशेषज्ञले मन्दिरको भित्री खण्ड खोक्रो हुँदै गएकोले जतिसक्दो छिटो काम थाल्न भनेका हुन्,' उनले भने, 'तर, पुनर्निर्माण र जीर्णोद्धारको विवादले काममा ढिलाइ भइरहेको छ।'

पूर्वअध्यक्ष देवकोटाले केही स्थानीयले मन्दिरको जीर्णोद्धार मात्र गर्नुपर्ने माग राखे पनि त्यो उपयुक्त नरहेको बताए। 'अहिलेसम्म अध्ययन गरेका प्राविधिकको तर्क नै 'पुनर्निर्माण' रहेकोले विकल्प सोच्नु हुँदैन,' उनले भने, 'पुनर्निर्माण गरेर नयाँ मन्दिर बनाउनुपर्छ।'


मन्दिरका पुजारी इन्सान थापामगरका अनुसार १९९० सालको भुइँचालोले ढल्केको मन्दिर वर्षेनी कमजोर बन्दै गएको छ। भुइँचालोले ६ इन्च ढल्केको मन्दिरको २०२६ सालमा सामान्य मर्मत गरिएको थियो। 'धेरै पहिले मर्मतसम्भार गर्नुपर्ने हो, तर ढिला भइरहेको छ,' पुजारी थापामगरले भने, 'दैवीशक्तिको रूपमा रहेको मन्दिरको सुरक्षा गर्नुपर्ने भएको छ।'
उनकाअनुसार मन्दिरको ढोका बाँगिएका छन्, खाँबा लच्किनुका साथै गारो फुटेको छ।

पश्चिमपट्टिका झ्यालका खापा पनि क्षति हुने अवस्थामा पुगेका छन्। मुसाले मन्दिरको गारो खोक्रो पारेको छ। 'दुई महिनाअघि मुसाले गारो खनेर थुपारेको माटो निकालिएको थियो,' उनले भने। पुरातत्व विभागले सुनको जलपसहितको छाना लगाएर मन्दिर पुनर्निर्माण गर्दा करिब साढे ७ करोड रुपैयाँ लाग्ने र जलप नलगाए साढे ३ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld