Nepal Republic Media Pvt. Ltd.

Thursday
Dec 05th
Error
  • Error loading feed data.

अध्यक्ष मण्डलको प्रस्ताव कांग्रेसद्वारा अस्वीकार

smaller text tool iconmedium text tool iconlarger text tool icon
माधव ढुङ्गेल, काठमाडौं, कात्तिक २४- तीनै दलका शीर्षनेता रहेको 'अध्यक्ष मण्डल' (प्रेसिडियम) बनाएर पालैपालो मन्त्रिपरिषद्को अध्यक्ष हुने भन्ने प्रस्तावलाई कांग्रेसले अस्वीकार गरेको छ। तिहारमा भएको हात्तीबन बैठकमा सहमतिका लागि भनेर अघि सारिएको उक्त प्रस्ताव सोमबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले अस्वीकृत गरेको हो।

  कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सोमबारको केन्द्रीय समितिले उक्त प्रस्ताव अस्वीकृत गरेको जानकारी दिंदै नागरिकसँग भने, 'त्यो मिल्दो कुरा हैन, हामीले बैठकमा आएको प्रस्ताव भनी केन्द्रीय समितिमा राख्दा साथीहरूले रूचाएनन्।'

नौलो-नौलो प्रस्ताव ल्याएर माओवादीले लोकतान्त्रिक प्रणाली बिथोल्न चाहेको आरोप लगाउँदै पौडेलले भने, 'उनीहरू प्रजातान्त्रिक मूल्यमान्यतामा द्विविधा सिर्जना गराउने काम मात्र गर्छन्।'

सभापति सुशील कोइरालाको निवास महाराजञ्जमा बुधबार हुने तीन दलको बैठकको तयारीका लागि भनी बोलाइएको कांग्रेस वरिष्ठ नेताहरूको बैठकले पनि संविधान र कानून संशोधन गरेर अघि बढ्ने विकल्प स्वीकार नगर्ने निर्णय गरेको छ। 'नेपाली कांग्रेसको नेतृत्वमा सहमतिको सरकार वा बहुमतीय सरकार बन्न सक्छ, विद्यमान संविधान र कानूनका व्यवस्थाबाहेक कांग्रेसले स्वीकादैन', बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले नागरिकसँग भने, 'माओवादीले पेश गरेको 'अध्यक्ष मण्डल' बनाएर जाने विकल्प स्वीकार्य छैन।'

एकीकृत माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले भने प्रेसिडियम बनाएर अगाडि जाने प्रस्ताव बलियो विकल्प भएको तर्क गरेका छन्। प्रधानमन्त्री माधवकुमार नेपालले आयोजना गरेको चियापानमा उनले सञ्चारकर्मीसँग भने, 'हाम्रो नेतृत्वमा संयुक्त सरकार बनाउन स्वीकार्य नहुने हो भने प्रमुख दलका प्रमुख नेता रहेको अध्यक्षमण्डल बनाऔं र त्यसको अध्यक्षता पालैपालो गरौ भन्ने हो।'

भट्टराईले संविधान जारी नगरिउञ्जेलसम्म अन्तरिम संविधानमा विशेष किसिमको ब्यवस्था गरौं भन्ने माओवादीको प्रस्ताव रहेको पनि बताए।

सरकारमा एकीकृत माओवादीको नेतृत्व कांग्रेस र एमालेले नस्वीकार्ने, कांग्रेसले पनि माओवादी र एमालेको नेतृत्व अस्वीकार गरेको परिस्थितिमा काम चलाउन यो उपाय अघि सारिएको छ। 'मुलुकलाई ठीक ढंगले अघि बढाउन यस्तो प्रणाली आवश्यक हुन्छ भनेर ल्याइएको भए त हुन्थ्यो', कांग्रेस सभासद् रमेश लेखकले भने, 'एउटा दलले अर्काको नेतृत्व नस्वीकारेपछि के गर्ने भन्ने उपायका रूपमा यो आएको छ, जुन सकारात्मक हैन।'

दलहरूबीच तीब्र अविश्वास बढेका कारण चार महिनाभन्दा लामो समयदेखि सरकार बन्न सकेको छैन। शान्ति प्रक्रिया र संविधान निर्माण यत्तिकै कारण नरोकिएको बताउने लेखक 'प्रेसिडियम' बनाएर अघि जाने प्रस्तावलाई तर्कसंगत विकल्प मान्दैनन्। 'अध्यक्ष मण्डल दलप्रति जवाफदेही हुन्छ कि संसद् वा जनताप्रति?', उनले भने, 'लोकतन्त्रमा जवाफदेहीता प्रमुख हो, अध्यक्ष मण्डल कोप्रति जवाफदेही हुन्छ भन्ने मुख्य कुरा हो।'

संसद्ले नबनाई ३ दलको नेताले बनाएको 'प्रेसिडियम' उनीहरूप्रति नै जवाफदेही हुने तर्क गर्दै लेखकले लोकतन्त्रमा सरकारप्रमुख संसद्मार्फत् जनताप्रति जवाफदेही हुनुपर्ने बताए।
एमाले नेता भरतमोहन अधिकारीका अनुसार, शुक्रबार र शनिबार हात्तीबनस्थित रिसोर्टमा भएको बैठकमा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले 'सहमतिका लागि बजारमा आएका' चार विकल्प प्रस्तुत गरेका थिए।

पहिलो विकल्पमा ठूलो दलको नाताले माओवादी नेतृत्वमा माओवादी, कांग्रेस, एमाले र मधेशवादी दलहरू सहितको सरकार बनाउने भन्ने थियो। दोस्रो, माओवादीबाहेकको सरकार थियो भने तेस्रो तीनै दलका नेता पालैपालो प्रधानमन्त्री बन्ने गरी सहमति गर्न प्रस्ताव गरेका थिए। यी तीनै विकल्पमा सहमति नहुने हो भने चौथो विकल्पका रूपमा 'प्रेसिडियम' (अध्यक्ष मण्डल) बनाएर पालैपालो मन्त्रिपरिषद्को अध्यक्ष बन्ने गरी नयाँ संविधान जारी गरी चुनाव नहुँदासम्मका लागि यस्तो व्यवस्था गर्न प्रस्ताव गरेको एमाले नेता अधिकारीले जानकारी दिए।

संक्रमणकाललाई व्यवस्थापन गर्न 'अध्यक्ष मण्डल' बनाएर अघि बढ्ने विकल्प आफ्नो सोच भएको बताउँदै अधिकारीले नागरिकसँग भने, 'शान्तिप्रक्रिया, संविधान निर्माण र राज्यको पुनर्संरचना जस्तो गम्भीर काम गर्न माओवादी, कांग्रेस र एमाले तीनै दल जुट्नुपर्छ, एउटाको नेतृत्वमा मात्र सरकार बने अर्कोले सहयोग गर्दैन।' यसरी अघि बढेमा कर्तव्य, जिम्मेवारी र सम्मानमा ३ दल समान रूपमा भागी हुने हुनाले शान्तिप्रक्रिया र संविधान निर्माण सहज हुने उनले बताए।

अधिकारीका अनुसार, यस्तो व्यवस्थामा सहमति हुने हो भने प्रधानमन्त्रीको साटो मन्त्रिपरिषद् अध्यक्ष हुनेछन्। ३ दलका नेता रहेको तीन सदस्यीय 'अध्यक्ष मण्डल' बनाउने, तीनै जना मन्त्रिपरिषद्मा रहने छन्। हरेक चार महिनामा पालैपालो मन्त्रिपरिषद् अध्यक्ष फेरिने गरी व्यवस्था गरिने उक्त 'अध्यक्ष मण्डल' तीनमध्ये एक जना अध्यक्ष, अर्को 'वेटिङ' हुने र चार महिनापछि उसको पालो आउने हुन्छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld