Error
  • Error loading feed data.

दाहालको दस्तावेजमा वैद्य र भट्टराईको आलोचना

smaller text tool iconmedium text tool iconlarger text tool icon
भोजराज भाट, काठमाडौं, कात्तिक २४- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पार्टीका उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईमाथि 'हेडक्वार्टर'लाई सहयोग गर्नुको साटो छवि धमिल्याउनतिर लागेको आरोप लगाएका छन्।

  गोरखामा मंसिर ५ गतेदेखि हुने विस्तारित बैठकका लागि तयार गरेको आफ्नो दस्ताबेजमा दाहालले उपाध्यक्षद्वयको यस्तो मूल्यांकन गरेका हुन्। बैद्य र भट्टराईले आफूमाथि लगाएको 'अकर्मण्यतावादी र मध्यपन्थी'को आरोप निराधार भएको दावी दाहालको छ।

'उहाँ (वैद्य र भट्टराई)हरू दुबैले मलाई अकर्मण्यतावादी र मध्यपन्थी भन्नु भएको छ, जुन नयाँ होइन। जनयुद्ध पूर्व पनि यस्तै भन्नुहुन्थ्यो,' दाहालले हालै केन्द्रीय समितिमा प्रस्तुत गरेको चार पृष्ठको कार्यदीशा र कार्ययोजनाबारे प्रस्ताव र आठ पृष्ठको स्पष्टीकरण पत्रमा भनेका छन्, 'यसलाई सकरात्मक रुपमा हेर्दा म आफैंलाई सच्चा मार्क्सवादी-लेनिनवादी-माओवादी पाउँछु।'

'जनयुद्धको तयारीदेखि नै बाबुराम, किरण र म सँगसँगै छौं। अलिकति नयाँ ढंगले जानुपर्छ भन्दा बाबुरामजीसँग कुरा मिलेजस्तो र क्रान्तिकारी सिद्धान्तको रक्षा गर्नुपर्छ, आन्दोलन छोड्नु हुँदैन भन्दा किरणजीसँग मिलेको जस्तो देखिने गरेको छ। प्रश्न छ, म कहिले बाबुराम, कहिले किरणसँग नजिक भएको हुँ कि वा उहाँहरू मेरो केही पक्षमा समाहित हुनुभएको हो?'

दाहालले आफ्नो पत्रमा वैद्यलाई 'शान्तिप्रक्रिया नरूचाउने' र भट्टराईलाई 'भारतप्रति लचिलो' नेताको रूपमा ब्याख्या गरेका छन्। 'भारतलाई कुनै पनि हालतमा चिढ्याउन नहुने धारणा बाबुरामले राख्नुभएको छ, अर्को शब्दमा भन्नुपर्दा बाबुराम चुनबाङ बैठकबाट पटक्कै दायाँ-बायाँ गर्न नहुने पक्षमा छन्।', दाहाल दस्तावेजको ८ पृष्ठमा छ, 'किरणलाई भने यो समग्ा्र प्रक्रियाप्रति इरिटेसनजस्तो देखिन्छ। यी दुबै जोडकोण सही होइनन्।'

२० वर्षे राजनीतिक दौरानमा दाहालले आफ्नो मनमुटाव किरणभन्दा बाबुरामसँग बढी भएको रहस्य खोलेका छन्। 'बाबुरामजीसँग एकता र संघर्षको स्थिति हेर्ने हो भने उहाँसँग संघर्षको पक्ष प्रमुख हो जस्तो लाग्छ,' दाहालको दस्तावेजको पृष्ठ ४ मा उल्लेख छ, 'किरणजीसँग एकता प्रमुख छ। संघर्ष कहिलेकाहीं हुन्छ तर कहिलेकाहीं हुने संघर्ष निकै तिखो र पेचिलो पनि हुने गर्दछ।'

'जहाँसम्म नयाँ ढंगले जानुपर्छ भन्ने बाबुरामको कुरा छ, त्यो सकारात्मक हुँदाहुँदै पनि त्यहाँभित्र बुर्जुवा सुधारवादमा सीमित रहने सार छ कि भन्ने आशंका लागिरहन्छ', दाहालको प्रतिवेदनमा उल्लेख छ, 'भारतीय विस्तारवादबीचको संघर्षको पक्षलाई जसरी उहाँले सहायक बनाउन खोज्नुभएको छ, त्यहाँभित्र गम्भीर समस्या छ।'

कुनै बेला आफ्नो राजनीतिक गुरू मानेका वैद्यप्रति पनि दाहालले उत्तिकै आक्रमक आलोचना गरेका छन्। '३० औं वर्षसँगै र नजिक रहेर काम गर्दै आएका कामरेड किरण, जसले ०४०/४१ सालतिर नै सैद्धान्तिक क्लास दिनुहुन्थ्यो, उहाँले एउटा आदर्श कल्पना गर्नुहुन्थ्यो।', उनको दस्तावेजमा छ, 'नेता यस्तो हुनुपर्छ, नेतृत्वमा यो खुबी हुनुपर्छ, यो क्षमता हुनुपर्छ, यस्तो कला हुनुपर्छ भन्ने गर्नुहुन्थ्यो। तर उहाँ आफैचाहिं त्यस्तो हुनुहुन्थेन। सायद अहिले पनि हुनुहुन्न।'

'परम्परागत ढंगले चल्ने कुरा ठीकै लागे पनि नयाँ गर्न खोज्ने बित्तिकै उहाँ (किरण)लाई बिग्रियो भन्ने परिहाल्छ। उहाँको सीमा यहीनेर हो।' आफ्नो दस्तावेजलाई टिपोट मात्र भएको भन्ने आरोपको खण्डन गर्दै दाहालले किरणद्वारा एक्कासि फरक दस्तावेज ल्याइएकोप्रति दुःख मनाऊ गरेका छन्।

'किरणजीले पहिले नोट अफ डिसेन्ट लेख्ने कुरा गर्नुभएको थियो, त्यसपछि केन्द्रीय समितिको बैठक बोलाउने कुरा भएपछि म अलिकति लेख्छु र तपाईलाई देखाउँछु भन्नुभयो। मैले नोट अफ डिसेन्ट नै होला भन्ने सोचें। धेरै दिनसम्म नदिएपछि लेख्नुभएनछ जस्तो लाग्यो। मैले फेरि सोध्दा अलिकति कोर्दैछु भन्नुभयो तर बैठक सुरू हुनुभन्दा पाँच मिनेट अघिमात्र यो दस्तावेज देखाउनुभयो।'

चुनबाङ् बैठकबाट पार्टी विचलन शुरू भएको किरण पक्षधरको आरोप निरर्थक भएको दाहालको जिकिर छ। 'किरणले लोकतान्त्रिक गणतन्त्रलाई चुनबाङपछि महिमामण्डन गरियो भन्नुभएको छ, जुन सही होइन', दाहालले भनेका छन्,'चुनबाङ बैठकले अनुमान गरेजस्तै तुफान आयो, हामी अझै पनि कुनै न कुनै रुपमा तुफानभित्रै छौं।'

नेतृत्वले योजना बनाइदिने तर कार्यान्वयनमा नजाने र अकर्मण्यतामा बस्ने गरेको किरणको आरोपलाई दाहालले निराधार भएको टिप्पणी गरेका छन्। 'पछिल्लो चार महिनामा हेडक्वार्टर र विप्लब (नेत्रविक्रम चन्द)बीच कति संवेदनशील र संगिन विषयहरुमा छलफल भए, उहाँ र अन्य लिडरशीपका कामरेडहरूलाई राम्रोसँग थाह छ,' किरणलाई जवाफ दिदै दस्तावेजमा लेखिएको छ, 'उहाँले नबुझको होलाजस्तो पनि लाग्दैन। फेरि पनि किन भनिरहनु भएको छ, मलाई आश्चर्य लागेको छ।'

वैद्य र भट्टराईले अध्यक्षको 'रचनात्मक आलोचना र रक्षाको सन्तुलन' गर्नुभन्दा बदनाम गराउनेतिर लागेको दाहालको आरोप छ। 'बाबुरामजी आफैं पोलिट्ब्यूरो बैठकको प्रारम्भ र केन्द्रीय समितिको बैठकमा राखेको विषयभन्दा फरक ढंगले अध्यक्षले पेश गरेको राजनीतिक प्रस्तावमा सहमति जनाउनुभयो', दस्तावेजमा उल्लेख छ, 'फेरि उहाँले नै अध्यक्षकै अकर्मण्यताका कारण बिग्रिएको भनेर चर्को रुपमा प्रस्तुत हुनुभयो। जुन स्वभाविक र संगतिपूर्ण देखिदैनथ्यो। किरणजीले पनि आवश्यकताभन्दा बढी लिडरशीपको विरोध गरिरहेका महसुस हुन्थ्यो।'

गत जेठ पहिलो साता पोलिट्ब्यूरो सदस्यको बैठक सकेर प्रधानमन्त्री माधवकुमार नेपालसँग गोंगबुमा डिनर खाएको कुरा पार्टीभित्र निकै आलोचनाको विषय बनेको दाहालले दस्तावेजमा खुलासा गरेका छन्। 'कामरेड प्रकाशले बैठकमा देखिएको नमीठोपन अघिल्लो दिनको गौंगबु डिनरको प्रभाव हुनसक्ने बताउनुभयो। आन्तरिक रुपमा विभिन्न तरंग चलिरहे पनि लगत्तै गरेको पत्रकार सम्मेलनले परिस्थिति सहज बनायो। तर भोलिप्ाल्टै माओवादीमा समीकरण बद्लिएको कुरा मिडियामा आयो। बुझ्दै जाँदा बाबुरामजीले पत्रकारहरुलाई बोलाएर विषयलाई सैद्धान्तिकरण गरी अर्मूतरुपमा राखेका रहेछन्। त्यति हुँदासम्म पनि मैले बाहिर बोली हाल्ने मानसिकता बनाएको थिइनँ, माइला लामाको म्यूजिक भिडियोको विमोजन कार्यक्रममा हृदय विदारक दृश्यहरू हेर्दै गर्दा अनुभूति भएको भावपूर्ण र उद्धेलनपूर्ण वातावरणमा बाहिर र भित्र दुबै घेराबन्दी भएको कुरा बोलिदिएँ।'

आन्दोलनका दौरान आफूबाट पनि केही कमजोरी भएको उनले स्वीकार्दै बहस र संघर्षका क्रममा नै नेताहरू थप परिस्कृत परिमार्जित हुँदै जानुपर्ने दाहालको आफ्नो बचाऊ गरेका छन्। उनले भनेका छन्, 'कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरू कोही पनि एक पटक टेष्ट पास भएर पुग्दैन। हरेक कम्युनिष्ट इतिहासको ब्याज खाएर होइन, क्रान्ति र वर्तमानमा योगदान गर्न सधैं सक्रिय हुनुपर्छ। उसले बाँचुञ्जेल योगदान गरिरहनुपर्ने हुन्छ।'

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld