Error
  • Error loading feed data.

तीन दलका शीर्ष नेताको गोप्य बैठक गोकर्णमा

smaller text tool iconmedium text tool iconlarger text tool icon
के विषयमा छलफल हुँदैछ?
काठमाडौँ, कात्तिक २४ (नागरिक)- राजनीतिक गतिरोध अन्त्य गर्ने उद्देश्यका साथ तीन दलका शीर्ष नेताको गोप्य बैठक गोकर्ण रिसोर्टमा सुरु भएको छ।  यसअघि हात्तिवन रिसोर्टमा दुई दिन गोप्य बैठक कै निरन्तरतास्वरुप आजको बैठक भएको हो। 
आजको बैठकमा चक्रीय प्रणाली अर्न्तगत पालैपालो सरकारको नेतृत्व गर्ने वा अध्यक्षमण्डल (प्रेसिडियम) बनाएर सरकार निर्माण गर्ने भन्ने प्रस्तावलाई मुख्य एजेन्डाका रुपमा प्रस्तुत गरिने भएको छ।


ठूलो दलको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार र माओवादीवाहेकको वहुमतीय सरकारका दुई विकल्प यसअघिको वार्तामा अस्वीकृतप्रायः भएकाले पनि बुधवारको वार्तामा आलोपालो प्रणाली र अध्यक्षमण्डलको प्रस्तावमा छलफल हुन लागेको हो। तर, काग्रेसले संविधान बाहिरबाट खोजिने विकल्प आफनो पार्टीलाई मान्य नहुने भन्दै प्रेसिडियम प्रणालीको विरोध गरेपछि यी एजेण्डाहरु पनि अन्यौलमा परेका छन्।

मंगलवार अपरान्ह भएको काग्रेसका वरिष्ठ नेताहरुको वैठकले एमालेको भित्री आशय उसँग बुझन प्रष्ट रुपमा वार्ता गर्नुपर्ने निष्कर्ष निकालेको छ। 'एमालेसँग पनि प्रष्ट कुराकानी गर्नुपर्ने भएको छ, उहाँहरूले चाहनुभएको के हो, भोलि बिहान खुल्ला रुपमा छलफल गर्छौँ', काग्रेस नेता अर्जुन नरसिंह केसीले भने। काग्रेस नेताहरूले वुधवार त्रिदलीय वैठक गर्नुअघि बुधबार बिहान प्रधानमन्त्री निवासमा एमाले नेताहरूसँग छलफल गर्ने भएका छन्।

हात्तीवन रिसोर्टमा पार्टीभित्र आन्तरिक र द्विपक्षीय छलफल साथै पर्याप्त गृहकार्य गरेर बुधबार त्रिदलीय वैठक गर्ने सहमति भएको थियो। त्यही गृहकार्यका क्रममा एमाले अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल र नेता भरतमोहन अधिकारी मंगलबार विहानै प्रधानमन्त्री निवास पुगी प्रेसिडियम प्रणाली मार्फत् सहमति खोज्नुपर्ने भन्दै परामर्श गरेका थिए। प्रधानमन्त्री नेपालले आफू त्यसमा सकारात्मक नै रहेको बताउँदै यस विषयमा पार्टीमा छलफल गर्न आग्रह गरेको स्रोतले बताएको छ।

अध्यक्ष खनालले भने समय छोटो रहेकाले पार्टीको आन्तरिक बैठक वोलाउनभन्दा द्विपक्षीय वार्तामार्फत् वातावरण बनाउन लागेको बताएका थिए। प्रधानमन्त्री नेपालले भने काग्रेस र माओवादी नेताहरूसँग समेत छलफल गरेर वातावरण बनाउन आग्रह गरेका थिए।

प्रधानमन्त्री निवासबाट अध्यक्ष खनाल र नेता अधिकारी काग्रेस नेताहरूसँग परामर्श गर्न सभापति सुशील कोइरालाको निवास पुगे। छलफलमा प्रेसिडियम प्रणालीमार्फत् सहमति गर्न एमाले नेताहरूले गरेको आग्रहलाई कोइरालाले ठाडै अस्वीकार गरेका थिए। उनले आफ्नो केन्द्रीय समितिका अधिकांश सदस्य प्रेसिडियम प्रणालीको विरोधमा रहेकाले कांंग्रेसले त्यो विकल्पमा सहमति जनाउन नसक्ने बताएका थिए। एमाले नेता अधिकारीका अनुसार काग्रेस नेता कोइरालाले आफनो पार्टीका साथीहरू प्रेसिडियम प्रणालीको विरोधमा रहेको बताएका थिए। 'तैपनि पार्टीमा छलफल गर्दैछौं', कोइरालालाई उद्धृत गर्दै अधिकारीले भने।

दुई पार्टीका नेताबीच शान्ति प्रक्रिया पूरा नभइञ्जेल माओवादी नेतृत्व स्वीकार्य नहुनेमा भने एकमत थियो। 'शान्तिप्रक्रिया पूरा नभई माओवादी नेतृत्वमा सरकार गठन हुन नसक्नेबारे दुई दलको अडान यथावत छ', कांग्रेस नेता कृष्ण सिटौलाले भने, 'यसवाहेक अन्य विषयमा कुनै सहमति हुन सकेन।' एमाले नेता खनालले भने माओवादी नेताहरुलाई समेत भेटघाट गरेर छलफल गर्ने प्रतिक्रिया दिएका थिए। तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल पार्टीको आन्तरिक दस्तावेज तयारीमा ब्यस्त भएका कारण माओवादी र एमाले नेताहरूबीच छलफल हुन सकेन।

काग्रेस नेता रामचन्द्र पौडेलले त्रिदलीय वार्ताको लागि कुनै गृहकार्य नभएको बताए। 'कुनै गृहकार्य भएको छैन। जुन स्थितिमा आएका थियौं, त्यसैमा छौं', उनलेले भने, 'हामी मुल मुद्दामा निकास चाहन्छौं, सत्ताको बाँडफाँट र वार्गेनिङको लागिमात्र अड्न खोजेको होइन।'
प्रधानमन्त्री नेपालले दलका नेताहरु इमानदार हुने, एक अर्काका संवेदनशीलतालाई बुझने हो भने समाधान निकाल्न अप्ठयारो नभएको बताए। 'वैठकले निकास निकाले राम्रो हुनथ्यो। त्यसका लागि द्विपक्षीय कुराकानीका लागि जसरी प्रयत्न गर्नुपर्थ्यो, विभिन्न कारणले भ्याइएको छैन।' त्यसका लागि प्रयास भएको स्थितिमा निष्कर्षमा पुग्न सकिने आशा पनि उनले व्यक्त गरेका छन्।

बिहान दलहरूले आन्तरिक र द्विपक्षीय छलफल गरेर बुधबार त्रिदलीय वार्ता गर्ने भएका छन्। एकीकृत माओवादी, कांग्रेस र एमालेका पाँच-पाँच जनाका नेताको समूहले यसअघि हात्तीवन रिसोर्टमा भएको दुई दिने गोप्यवासको निर्णयअनुसार वार्ता गर्न लागेका हुन्। वुधबारको वार्तालाई पनि गृहमन्त्री भीम रावलले ब्यवस्थापन गर्दैछन्। वार्ता स्थलको टुंगो बुधबार बिहान मात्रै लगाइएको थियो।

वार्ता सत्ता साझेदारी, शान्ति प्रक्रिया र बजेटमा छलफल केन्द्रित हुने भएको छ। सत्ता साझेदारी र शान्ति प्रक्रियामा तत्कालै सहमति जुटन नसके बजेटको विषय छिनोफानो गर्नुपर्ने काग्रेस र एमालेका नेताहरूले जोड दिने भएका छन्। बजेट ल्याउने अन्तिम समयका लागि साता दिन पनि बाँकी नरहेकाले यसको छिनोफानो गर्नुपर्ने काग्रेस र एमाले नेताहरूको राय छ। 'वजेटको लागि न्युनतम सहमति गरेर जानुपर्छ भन्ने हो', काग्रेस नेता केसीले भने, 'मंगलबार बिहान काग्रेस र एमाले नेताहरूको छलफलमा पनि यही कुराकानी भएको छ।'

मंगलवार साँझ बसेको काग्रेसका वरिष्ठ नेताहरुको वैठकले वजेटको विरोध गर्ने प्रतिपक्षको धर्म नै रहेको बताउदै सरकारले जसरी पनि वजेट ल्याउनुपर्ने निष्कर्ष निकालेको छ। काग्रेस एमालेको भन्दा पनि पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै मुलुकको साझा बजेट भनेर ल्याउनुपर्ने काग्रेस वैठकको निष्कर्ष छ।

यसअघि हात्तिवनको गोप्यवासमा भने बजेटका लागि रोकतोक गर्न नहुने प्रस्तावमा माओवादीले संविधान संशोधन गरी आंशिक वजेट ल्याउन सुझाव दिएका थिए। तर, एमाले र काग्रेसका नेताले बजेट भनेको खर्चको ब्यवस्था र तलव मात्र नभई करको दायरा मिलाउनुपर्ने, विकास बजेट ल्याउनुपर्ने बताएका थिए। यति सम्मकि काग्रेस, एमाले माओवादी र मधेसवादी दलका प्रतिनिधिसमेत अर्थमन्त्री र अर्थसचिवसँग बसेर साझा वजेट बनाउने प्रस्ताव एमाले नेता अधिकारीले राखेका थिए। एमालेको यस्तो प्रस्तावपछि माओवादी नेताहरूले वुधवारको वैठकमा निर्णय गरौला भन्ने जवाफ दिएका थिए।
माओवादी भने अहिले पनि नयाँ सरकार गठन भएपछि मात्रै वजेट ल्याउनुपर्ने अडानमा रहेको छ। माओवादी उपाध्यक्ष वावुराम भट्टराईले नयाँ सरकारले मात्रै बजेट ल्याउनुपर्ने बताए। 'समग्र रुपमा प्याकेजमै समाधान खोज्नुपर्छ भन्ने हो। कसैले पनि अत्तो थाप्ने कुरा गर्न हुँदैन। त्यस्तो अत्तो थाप्ने हो भने हामीले वेपत्ताहरुको खोजविन नै नगरीकन, शहीद परिवारको ब्यवस्थापन नभएसम्म माओवादी सरकारमा जाँदैन भन्यो भने के हुन्छ। त्यसैले अत्तो थाप्ने होइन, सहमति कायम गर्नेतिर लाग्नुपर्छ ', भट्टराईले भने।


 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld