Nepal Republic Media Pvt. Ltd.

Thursday
Oct 29th
Error
  • Error loading feed data.

Nagarik News Blog

Nagarik News Blog


बुद्धिसागर - 'हल्ट।' चर्को आवाज आयो। झस्किँदै मैले जेलका डन्डीबाहिर चिहाएँ। यमदुतका बीचमा हात पछाडि मोडेर बाँधिएको बलिष्ठ मानिस उभिएको थियो। उसका शरीरमा हरियो टाटेपाटे लुगा र गोडामा काला बुट थिए। यमदुतले उसका दुवै पाखुरा बेस्मारी च्यापेका थिए। मैले महादेवतिर हेरेँ। उनी त मस्त। आँखा बन्दै थिए। आँखाका ढकनी भने सुस्तरी काँपिरहेका। 'म मेजर उमेशजंग हुँ।' त्यो मानिस झन् चर्को करायो, 'साले कालका छौंडाहरू... मेरा दुईसय केटा लगाइदिए भने तिमेरूको नर्क सखाप हुन्छ।'

'एई... ज्यादा निउँ नखोज।' एउटा यमदुतले उसको पेटमा मुठी बजार्‍यो, 'मरेपछि पनि धाक दिँदो रैछ ए...। यो तेरो भुलोक होइन... बुझ्दैनस्।'
'हिहिहि।' दुब्लो यमदुतले दाँत देखायो, 'ज्यानमा बर्दी भएपछि त यमलोकमा पनि यस्तो शान? काउछो दलेर घाममा लडाइदिनुपर्छ अनि हल्ट हल्ट भन्दै कन्याउँदै जुनी काट्छ।'

'भित्र जा...।' पहिलो यमदुतले पछाडितिर लात बजार्‍यो। मेजर हुत्तिँदै भित्र पस्यो। एकछिन मुख बंग्याउँदै पुट्ठा सुम्सुम्यायो।
'तेरा बुटाँ मात्रै लौह जडेको हुन्छ भन्ठान्याथिस्?' यमदुत हाँस्यो, 'अहिले त तलाई झिल्कामात्रै उठेको हो... दुख्न त पर्सिबाट सुरु हुन्छ।'
मेजर अरठिएको अनुहार लिएर लुते कुकुरझैं कुनामा डल्लो पर्‍यो।

'अनि... तँ पनि खुरुक्क भित्र जा।' यमदुतले अर्को मान्छेलाई पनि भित्र हुत्याए। ऊ च्यापुले नै टेकुलाझैं गरी हुत्तियो र ढल्पलाउँदै उभियो। यी महाशयको भेष पनि रमाइलै थियो। रातो सर्ट, धुलाम्मे निलो पाइन्ट। पाइन्टका दुवै मोडी मोजाभित्र घुसारेका थिए। गोल्डस्टार जुत्ता। ठुटे दाह्रीजुंगा, जिङरिंग कपाल।

'महाशय... त्यस्तरी धकेल्न पर्छ?' उसले यमदुततिर हाँस्दै हेर्‍यो, 'म आफैं पसिहाल्थेँ नि... अब महान क्रान्तिमा होमिएको मान्छे... जेल बस्दा त मेरो स्टाटस नै बढ्छ नि!'

'हिहिहि।' दुब्लो यमदुत हाँस्यो, 'ए क्रान्तिकारी... भुलोकमा जस्तो यमलोकको जेलमा बसेको हिसाबकिताब हुँदैन... ह्याँ त माथिबाट पनि फोन आउँदैन।'

क्रान्तिकारी झस्कियो।

'ह्याँ त... जति दिन जेल बस्यो... त्यसको ब्याज गनेर सजायँ थपिन्छ।' यमदुतले दियो।

क्रान्तिकारीले अक्मकिँदै कोठाको चारैतिर हेर्‍यो। हामीलाई देख्यो। अचानक उसको दुब्लो ज्यान थररर काँप्यो, 'म यी जनताको कसम खाएर भन्छु... तिमेरूको सत्ता धेरै दिन चल्दैन। ह्याँ पनि महान क्रान्ति हुन्छ... भन्देऊ तिम्रो यमराजलाई एउटा क्रान्तिकारी नरक पसिसक्यो... बर्लिनको पर्खाल...।' घाँटीमा कफ अल्भि्कएछ क्यारे। क्रान्तिकारीले खकार्दै चिच्यायो, 'यमलोकको पर्खाल ढल्छ ढल्छ।'
'इस्...।' यमदुतले ओठ लेप्राउँदै ढोकामा ताला लगायो, 'नरकमा पर्खाल भए पो ढाल्छस्। तँजस्ता कति आए आए...।'

सबै यमदतु फर्किए। अलि पर पुगेपछि, एउटाको आवाज आयो, 'भोलि तातो तेलमा पुट्ठा च्याइँय... भएपछि क्रान्ति कता जान्छ जान्छ।'
'स्वर्गतिर जाला नि मास्कलाई भेट्न।' अर्को आवाज आयो।

'मास्क होइन... मार्क्स।' पहिलो आवाज हाँस्यो, 'त्यसले पनि दाह्री काट्न नपाएर नरकबाट नाई मगाएको थ्यो... स्वर्ग जानपर्छ भनेर खोजेको नाई पनि कता बेपत्ता भयो, थाहा छैन।'
*************************
'अनि तपार्इं नेपाली जनता नै होइन?' क्रान्तिकारीले मतिर हेर्‍यो। मेरै छेउमा टुसुक्क बसेर।
'नेपाली नै हुँ।' म पनि हाँसेँ, 'अब जनता हुँ कि होइन थाहा छैन...।'
'बडो काइते कुरा गर्नुहुन्छ।' क्रान्तिकारीको अनुहार धस्कियो, 'हाम्रै पार्टीको पर्नुभो कि?'
'म पत्रकार हुम्।'

'हल्ट।' मेरो जवाफ सुनेर मेजर जंगियो, 'कुन सन्ध्याकालीनको पत्रकार होस्? बडो धाक दिन्छस्... तँजस्ता पत्रकारले मेरो निद हराम गर्‍याथे। नर्कमा पनि पछ्याउँदै आउने?'

'म तपाईंभन्दा पहिला आको हुँ।' मैले अनुहार कठोर बनाएँ।
'साले ... मर्नमा कोही फस्ट र लास्ट हुँदैन।' मेजरले मेरो सर्टको कलर समायो, 'अहिल्यै तेरो रुद्रघन्टी फुटालिदन्छु।'

'एई मेजर... आक्रोशमा नआ।' क्रान्तिकारीले मेजरको हात मेरो गर्दनबाट फुस्काइदियो, 'सबै चिज मिलाएर गर्नुपर्छ।'
म पनि के कम, एकलात त जमाइदिऊँजस्तो लागेको थ्यो। मरिसकेपछि केको डर? चुप लागेँ।

'मरेपछि तँ किन मेरो साथमा लागेको एई क्रान्तिकारी?' मेजरले आँखा तर्‍यो, 'कस्तो सराप पाइयो... जहाँ गएपनि तैंसँगै जानुपर्ने!'
'मलाई पनि तँसँग हिँड्ने रहर छैन... मरेपछि पनि शत्रुकै अघिपछि हुनुजति ठूलो सराप केही रैनछ।' क्रान्तिकारी सरेर महादेवको छेउमा टुसुक्क बस्यो। मेजर जुरुक्क उठ्यो। कोठाको पश्चिम कुनामा राखिएको ठूलो ग्यालेनमा ट्वाररर्र पिसाब फेर्न थाल्यो।

क्रान्तिकारीले सुनायो - मेजर र ऊ एउटै बम पड्किँदा मरेका रैछन्। त्यसपछि त जहाँ जाँदा पनि सँगसँगै हुँदारैछन्, नियमै यस्तो हुँदोरैछ। क्रान्तिकारी स्वर्ग जान चाहन्थ्यो रे, मार्क्ससित भेटघाट भइहाल्छ कि भनेर। तर, मेजरले नर्क पुर्‍याएछ। मनुष्य भन्सार मुख्यालयबाट कागज पनि बनाएनछन्, यमदुतले भेटेर जेल हुलेका रैछन्।

'अनि पत्रकार बन्धु... तपाइ कसरी मरेको?' उसले सोध्यो।
'बाइक एक्सिडेन्ट भएर।'
'उस्..।' उसले ओठ लेप्रायो, 'जाबो बाइक ठोक्केर मरेको? मर्न त मर्नु मजस्तो बलिदान दिएर मर्नु। म त पच्चीस हजार सात यस छपन्नौं सहिद पो हुँ त, नमस्ते गर्नुस्!'

मैले वास्ता गरिनँ।
'अनि यहाँ महाशय पनि नेपाली नै हो?' क्रान्तिकारीले महादेवतिर कर्के आँखाले हेर्‍यो, 'बडो खरानी घसेर हिँड्याछन्।'
मैले उसको कानमा खुसुक्क भनेँ, 'भगवान महादेव हो क्या!'

'नर्कमा पनि महादेव?' क्रान्तिकारीले हाँस्दै महादेवको कुम हल्लायो, 'महादेवको भेषमा भिजिलान्तेजस्तो छ।'
'ब्रो र्‍याक नगर्।' महादेवले कुम झट्कारे, 'बंगारामा बक्सिङ खालास्!'
क्रान्तिकारीको अनुहार निलो भो।

'हल्ट..।' मेजर बम्कियो, 'को हो यो ट्यापे?'
महादेवले झ्वाट्ट आँखा उघारे। आँखा बेस्मारी राता थिए, 'धेरै टेन्स नदे मेजर... पानीपेटमा त्रिशुलले घोच्छु अनि।'
'भिड्ने हो?' मेजरले पाखुरा सुर्क्यायो।

महादेवका आँखा झन् राता भए। निधारको बीचमा एउटा डल्लो हल्लियो। मेजरले छक्क पर्दै हेर्‍यो। निधारको डल्लो देखेर झस्कियो र लल्याकलुलुक भएर ढल्यो। क्रान्तिकारी कुनातिर सर्‍यो।

महादेवले फेरि आँखा बन्द गरे।
'प्रभु... निधारमा के हल्लेको त्यस्तो।' मैले हात जोडेँ।
'थर्ड आई... ब्रो। यो खुल्यो भने... भष्म गरिदिन्छ। मेजरलाई था रैछ क्या... डरले ढल्यो।' महादेवले आँखा चिम्लिएरै हाँसे, 'तर ब्रोलाई भन्दिऊ... यसमा रतन्धो लाछ, खुल्दैन ... रिपेयर गर्न बाँकी नै छ।'

*************************
राँगाको ठूलो आवाज छपल्ट आयो। मैले घडी हेरेँ, बिहानको छ बजेको रैछ। आँखा मिचेर लामो हाई काढेँ। महादेवका आँखा बन्द नै थिए। क्रान्तिकारी कुनामा गुडुल्किएको थियो। मेजर भने होसमा आएको थिएन। नर्कमा यो मेरो पहिलो बिहान थियो। घडीको चेपमा 'वेनस-डे' लेखिएको थियो। मरेर जहाँ गए पनि समय, बार र दिन त उही हुँदोरैछ।

'लौ आज त मेरो जन्मदिन हो।' म खुसीले बुरुक्क उफ्रिन थालेको थेँ, थ्याच्च बसेँ। मरिसकेपछि केको जन्म दिन?
तीस वर्ष लागेकोमा कैयौं शुभकामना आएका होलान् फेसबुकमा।

'के भो ब्रो?' महादेवको आवाज आयो, 'डल्लै टेन्स भएजस्तो छ नि!'
'प्रभु... आज मेरो जन्मदिन परेछ।'
महादेवको अनुहारमा कुनै परिवर्तन आएन। उनले सुल्पा भरे। सुल्पा मुखमा जोड्दै मतिर सरे। मैले सल्काइदिएँ।
'ल ब्रो ह्यापी बर्थ डे।' महादेव हाँसे, 'मरेपनि जन्मदिन त उही हो नि... ह्यापी बन... बाल मतलब नगर।'
म हाँसेँ।
'के गनाको?' क्रान्तिकारी ब्युँझिएछ, नाक थुन्यो, 'चरेसजस्तो छ... हे भग् (वाक्य अधुरै रह्यो) बिहानबिहान चरेस खाएर... ए भिजिलान्ते तिमी भगवान नै हौ भने पनि याद गर... नेपाली जनता बिहानबिहान पशुपतिमा तिमीलाई दुध चढाउँछन्... त्यै खाऊ न! यस्तो कालोपदार्थ खाने हो?'

'क्रान्तिकारी ब्रो... तल चढाको कुरा करप्सन भएर कहिल्यै माथि आइपुग्दैन क्या!' महादेवले धुवाँको मुस्लो छाडे, 'सि... भगवानका गाला चाउरी पर्दैछन्... पुजारीका... समथिङ मुस्ताङका एप्पलजस्ता राता।'
फेरि ठूलो स्वरमा राँगो करायो।

पाँच-छ जना यमदुत आइपुगे। ढोका खोले। क्रान्तिकारी तर्सियो। उसलाई घिच्याउँदै बाहिर निकाले। मेजर त लडेकै थियो।
'के भयो यस्लाई?' मेजरलाई घिसार्दै दुब्लो यमदुत करायो।
'थर्ड आई फ्लु।' महादेवले सुल्पा निभाएर बाघको छालाको पछिल्तिर जडे।
यमदुतले महादेवलाई जवाफ फर्काउन थालेको थ्यो, तर रोकियो।

'अनि ए जासुस...।' अर्को यमदुतले मतिर हेर्‍यो, 'तुरुन्त महाराजकोमा हाजिर हुने आदेश आ'छ।'
एउटा यमदुत मलाई लिन उभियो, अरू भने क्रान्तिकारी र मेजरलाई लघार्दै-घिसार्दै गए।
'ल त प्रभु म लागेँ।' मैले महादेवलाई हात जोडेँ, 'हजुर्लाई भेटेर हर्षित छु।'

मैले यमदुतलाई पछ्याएँ।
ढोकाबाहिर निस्किनै लाग्दा महादेवको आवाज आयो, 'ब्रो हाफ एन आवरपछि भैंसीचोकमा कुर... म आउँछु ... समथिङ काम छ।'
यमदुत अघि लागिसकेको थियो, महादेवलाई कुनै उत्तर नदिई म हिँडँे। भुइँभरि रातो कार्पेट ओछ्याइएको थियो। छेउछाउमा तरबारसहितका यमदुत उनलाई पहरा दिइरहेका थिए। फराकिलो टेबुलको पूर्व कुनामा बिराजमान थिए, यमराज। शिरमा मुकुट थिएन। बिचरा तालुखुइले भइसकेछन्।

'क्यानाम जर्नालिस्ट... रात राम्ररी बित्यो होइन?' यमराजले कपमा चिनी डल्लो खसाल्दै भने, 'क्यानाम पत्रिकाका बारेमा के सोच्यौ?'
'नामै सोचिसकेँ महाराज।'

एउटा यमुदतले मेरा अगाडि चियाको कप राखिदियो। दुई डल्ला चिनी खसालेर चम्मच दियो। म चिनी घोल्न थालेँ।
'नरक दैनिक।' मैले चिया सुर्क्याएपछि भनेँ, 'यो नाम कस्तो होला महाराज?'

'सुपर भवः।'
'सुपर भवः होइन महाराज, सुपब।' म हाँसेँ।
'क्यानाम राँग अंग्रेजी सिकाउने?' यमराज कड्किए, 'त्यो टिचरलाई हाजिर गराऊ। क्यानाम त्यसको सर्टिफिकेट चेक गर।'
दुइटा यमदुत तरवार नचाउँदै बेतोडले ढोका बाहिर दगुरे।
मलाई पनि किन प्याच्च बोल्नुपरेको होला?

'क्यानाम पत्रिका इन्टरनेटमा पनि राख्नुपर्‍यो नि! नत्र पाजी देउताले कसरी पढ्छन्? हुन त लन्ठुहरूलाई इन्टरनेट चलाउन आए पो!' एकछिन सोचेर यमराज हिस्स हाँसे, 'क्यानाम नरक संसार डटकम कस्तो हुन्छ?'

'महाराज, त्यस्तो नामको साइटमा त पाठकले नांगा फोटा खोज्छन्।' मैले गम्भीर भएर भनेँ, 'नरक न्युज डटकम राम्रो होला।'
'क्यानाम त्यो पनि ठिक छ।' यमराजले उठ्दै भने, 'ल त जर्नालिस्ट आजैदेखि काम सुरु गर। म एकछिन बाथरुम जान्छु। क्यानाम पछि कुरा गरौंला।'

'म एकछिन कुर्छु महाराज एउटा-दुइटा अरू कुरा पनि गर्नु छ।' म आर्थिक कुरा गर्न चाहन्थँ।
'क्यानाम मैले भनेपछि...।' यमराजको अनुहार बिग्रियो, 'पछि कुरा गर्ने भनेपछि पछि कुरा गर्ने।'
'होइन महाराज, एकछिन कुर्छु नि!' मैले दाँत देखाएँ, 'बाथरुम त जान लाको हो नि!'

'क्यानाम आफूलाई कब्जियत भएर हैरान छ। एकघन्टा बसे पनि खलास हुँदैन।' यमराजको मुड बिग्रियो, 'ढिपी नगर।... हिजो बफ आइटम खानै नहुनी।'

फन्किँदै उनी अर्को कोठामा लम्किए। दुइटा यमदुतले पछ्याए।
म निस्केँ। भैंसीचोकमा महादेव कुरिरहेका होलान्।

भैंसीचोकमा बेस्मारी भीड थियो। तरकारी बजारजस्तो रैछ। तिनले सारा फुटपाथ कब्जा गरेका थिए। संसारभरिका थरीथरी मान्छेको भीड। भीडमा कसैलाई कसैको वास्ता थिएन। ती रनाहामा परेको राँगोझैं रन्किँदै हिँडिरहेका थिए। गर्मी बढेकाले होला, धेरैको अनुहारमा पसिना थियो। थरीथरी भाषामा चर्काचर्का आवाजमा नेपाली आवाज कतै सुनिएन।
कता होलान् महादेव?

पर... सडकको बीचमा एउटा बुढो मानिस लठी टेकेर उभिएको थियो। धेरैले उसलाई कुइनाले यताउता धकेल्दै हिँडिरहेका थिए।
'ब्रो...।' महादेवको आवाज आयो।
उनी मेरा पछिल्तिर उभिएका थिए।

'प्रभु, जेलबाट कसरी निस्कनुभो?' म छक्क परेँ।
'मलाई रोक्ने ताकत कस्को?' भुइँमा त्रिशुलको बिँड ठोक्दै महादेव हाँसे, 'यो त मेरो बायाँ हातको खेल हो।'
'अनि मलाई ह्याँ किन बोलाउनुभएको, प्रभु?'

'हेल मार्केटमा जानु छ।' महादेवले भने, 'ब्यागमा मनी त छ नि!'
'धेरै त छैन, प्रभु।' म अक्मकिएँ, 'किन र?'
'सर्प किन्नु छ।' महादेव अघि बढे, 'अचेल जंगलमा सर्पै छैनन्। ब्रो टेन्स नलेऊ... धेरै पैसा लाग्दैन।'
भगवान न हुन् - सहयोग गरेको त पक्कै खेर जाँदैन।


'तस्करसित मनीको कुरा मिल्या छैन।' हिँड्दाहिँड्दै महादेव पछाडि फर्केर सुस्त भने, 'बाघको छाला बेचेँ भने त मनी नै मनी।'
अघि बीचसडकमा उभिएको बुढो महादेव छेउमै आएको रैछ, ठोक्कियो। त्रिशुल उसको कुइनामा बजि्रयो।
'मरेँ नि!' बुढो थुचुक्क बस्यो, 'यस्की मा फलामको रड बोकेर को हिँडेको हो! म अन्धोलाई कस्तरी हेपेको हो!'
महादेवले केही भन्नै थालेका थे, मैले रोकेँ। बुढोलाई उठाइदिएँ। हामी दगुरेझैं अघि बढ्यौं।

'हे पशुपतिनाथ...।' बुढोको ठूलो आवाज आयो, 'म अन्धोलाई यस्तरी पिट्नेको त नर्कमै... होइन, स्वर्गमै बास होस्।'
महादेव मुसुमुसु हाँसे।

फराकिलो सडक दुई फन्का लगाएपछि बल्ल आइपुग्यो - हेल मार्केट। गेटका दायाँबायाँ आकाशचुम्बी दुइटा राँगाका मूर्ति थिए। त्यसको मुन्तिर फोटो खिच्नेको घुइँचो। नर्कमा पनि कैयौं मल्टिपेक्स कम्पनीका सामान आयात हुन थालिसकेका रैछन्। कपडा, घडी, पिज्जा, आइसक्रिम के-के हुन् के के! मसाज सेन्टर पनि रैछन्। ठूलो भित्तामा लेखिएको थियो - कमिङ सुन फोर-डि सिनेमा। पसलमा साउजीहरू सबैजस्तो चाइनिज थिए। कम्प्लेक्सको बाथरुमछेउ एउटा अँध्यारो पसल देखियो।
त्यहीँ रैछन् थरीथरीका सर्प। कुनै दाँत नभएका, कुनै बिष नभएका। अधिकांश सर्प मुर्छित देखिन्थे। होसमा भएका सर्प महादेवलाई देखेर चल्मलाए। बुढो चाइनिज साउजी पनि मख्ख भयो। उसले हतारिँदै एउटा मेनु देखायो - त्यसमा कुन सर्प कसरी पकाउने भनेर विस्तृत जानकारी दिइएको थियो, सचित्र। त्यो देखेर महादेवका आँखा राता भए तर बोलेनन्।
'मित बा...।' मसिनो आवाज आयो।

महादेव आवाज आएतिर लम्किए। आवाज सर्प राखिएको सिसाको बक्सबाट आएजस्तो लाग्यो। मलाई भाउन्न भयो - सर्प पो बोलिरहेको रैछ! मैले चाइनिजतिर हेरेँ, ऊ हाँस्यो। र, कानतिर इसारा गर्‍यो। ऊ कान सुन्दोरैनछ।
'ब्रो.. को हौ?' महादेवले सर्पतिर झुकेर सोधे।

सर्प गुडुल्किएको थियो। थकित उसले यस्सो मुख माथि उठायो, 'म उही क्या... नागकान्तको छोरो सर्पकान्त।'
'तिमी मेरो गर्दनमा बीसवर्ष बास बसेको नागकान्तको छोरा?' महादेव छक्क परे, 'कसरी आयौ यहाँ, ब्रो?'
'म पिताजी खोज्दै आथेँ।' सर्पका काला आँखा छिपछिप भए, 'छोपेर यहाँ ल्याए। मितबा, मेरो ज्यान जोगाउनुस्।'
'टेन्स नलेऊ।' महादेवले भने, 'म छु।'

मैले इसाराले कति भनेर सोधेँ। चाइनिज बुढो क्याल्कुलेटर लिएर मेरा अगाडि उभियो। र, क्याल्कुलेटरमा लेख्यो - ५००।
महादेवले झोक्किँदै क्याल्कुलेटर लिए र लेखे - २००।
बुढो - ४००।
महादेव - २२५।

बुढाले झोक्किँदै ३८० लेख्यो र काउन्टरमा क्याल्कुलेटर पछार्‍यो।
मैले पैसा दिएँ। सर्पकान्त हर्षित हुँदै महादेवको गर्दनतिर उक्लियो। जसरी बालक बाउको काँध चढ्छ। हामी हेल मार्केटबाट बाहिर निस्क्यौं। सर्पकान्त खुसी हुँदै महादेवको गर्दनमा नाचेझैं बटारिइरहेको थियो।
'थ्याङ्स ब्रो।' बाहिर सडकमा आइसकेपछि महादेवले भने, 'मनीको लागि।'
म हाँसेँ।

'मित बा, कुल्फी।' सर्पकान्त करायो। पर एउटाले कुल्फी बेचिरहेको रैछ। बक्सामा लेखिएको थियो - नर्क कुल्फी, जिब्रोमै झुन्डिने। हसिना मान जाएगी।
'ल ब्रो।' महादेवले मेरो काँधमा हात राखे, 'कुल्फी किन्देऊ न त!'

मैले कुल्फी किनिदिएँ। सर्पकान्तले कुल्फी पुच्छरमा बटार्दै किक्लिक्क आफ्ना दाँत निकाल्यो। महादेव झस्किए।
'दाँत नभएका सर्प बिक्दैनन् भनेर कोरियनले नक्कली दाँत हालिदिएको हो मित बा।' कुल्फी मुखतिर बढाउँदै सर्पकान्तले भन्यो, 'डेन्टिसकोमा लगेर।'
मलाई बेस्मारी हाँसो लाग्यो तर हाँसिनँ।

महादेव कुल्फी खाइरहेको सर्पकान्ततिर हेर्दै अघि बढ्दै थिए, अघिको बुढो फेरि ठोक्कियो। थुचुक्कै बस्यो।
'यस्की मा फेरि हान्यो।' बुढो करायो, 'नर्क यतिसम्म रद्दी होला त सोचेको थिइनँ।'
'बाजे, तपार्इं पनि बीचबाटोमा किन उभेको त?' मैले उठाउँदै भनेँ, 'यसो साइड लागेर उभिनुपर्छ नि!'
'बाबु, तिमी त असलै रेछौ।' बुढोले रुन्चे अनुहार लाए, 'मर्दा आँखा फुटेर मरेँ। अैले दुख्ख पाएँ। कहाँ जाने, आखै देख्दिनँ। पशुपतिनाथले पनि अन्याय गरे ममाथि।'

'बिग ब्रो...।' महादेवले सोधे, 'कसरी मर्‍यौ? आई त जम्मै डार्क छन्।'
'आधा बोतल खुकुरी खाको... ठहरै भएँछु।'
'प्रभु, यो बुढोका आँखा खोल्दिनू न!' मैले आग्रह गरेँ, 'हजुर्को ठूलै भक्त पनि रैछ।'
'ब्रो, त्यस्तो त कालाजादुमा होला।' महादेवले भने, 'रियल लाइफमा गारो छ।'
बुढोले पनि के ठान्यो कुन्नि, हात जोड्यो।

'ब्रोहरू म सक्दिनँ क्या!' महादेव सन्किए, 'मैले त बरदान दिने न हो। लौ बरदान दिएँ - अर्को जन्ममा आँखासहित जन्मिनू।'
बुढो च्याँठियो, 'अर्को जन्म लिन फेरि मर्नुपर्छ? म कहिले मर्छु त?'
'आइन्सटाइन ब्रो स्वर्ग पुगेदेखि त्यै हिसाब गर्दैछ।' यत्ति भनेर महादेव फटाफट हिँडे।

*************************

 



प्रतिक्रियाहरू (12)Add Comment
0
asoc
June 05, 2010
113.199.202.228
भोट: +0
...

एकदम दामी छ! स्वर्ग बैंक - ३ कहिले निकाल्ने?

0
Suraj Koirala....Nanjing, China
June 05, 2010
218.94.136.180
भोट: +4
...

स्वर्ग बंक-२ देख्ने बित्तिकै पढ्न थालेँ। असाध्यै राम्रो पनि लाग्यो तर एउटा कुरा बुझ्न सकिनँ मैले। स्वर्ग बंक (पहिलो)मा तपाईले नर्कको नियमावलीको पाँचौं नम्बरमा लेख्नु भएको थियो-"५. राँगो नरकको राष्ट्रिय जनावर हो। त्यसैले बफ मःम निषेध छ"। तर स्वर्ग बंक - २ मा लेख्नु भएको छ-"क्यानाम आफूलाई कब्जियत भएर हैरान छ। एक घण्टा बसे पनि खलास हुँदैन।' यमराजको मुड बिग्रियो, 'ढिपी नगर। ..हिजो बफ आइटम खानै नहुनी।"

बुद्दिसागर जी, स्वर्ग बंक - २ मा नर्कको नियम चेन्ज भएर यमराजले बफ आइटम खाएका हुन्?

0
siris
June 05, 2010
113.199.209.222
भोट: -2
...

इश्वरनिन्दित!

0
raj, syd
June 05, 2010
122.104.227.62
भोट: +0
...

साह्रै राम्रो!

0
Sunesh
June 05, 2010
182.50.65.66
भोट: +0
...

'ब्रो र्‍याक नगर।' महादेवले कुम झट्कारे, 'बंगारामा बक्सिङ खालास्!' एकदम राम्रो र रमाइलो छ!

0
दिप, अमेरिका
June 05, 2010
173.28.16.160
भोट: +0
...

धन्यबाद बुद्धिसागर जी! तपाइको लेखहरु राम्रो छ! स्वर्ग बंक - ३ को पर्ख्याइमा!

0
प्रयाश
June 05, 2010
86.50.68.144
भोट: +0
...

एकदम रमाइलो र गहकिलो छ। सायद बुझ्न पर्नेहरूले केही शिक्षा लिन्छन् होला।
स्वर्ग बंक - ३ को प्रतिक्षामा।

0
soip
June 05, 2010
123.49.34.73
भोट: +0
...

अर्को भाग कहिले आउँछ त?

0
kamal upreti
June 08, 2010
217.37.75.65
भोट: +0
...

हाँसी त कत्ति लाग्यो! फेरी स्वर्ग बंक-१ र २ लाई सँगै राखेर पढ्ने विचार छ।

0
Hari Pokhrel
June 09, 2010
202.52.232.202
भोट: +0
...

एकदम राम्रो छ! तर योभन्दा अगाडिको राम्रो र रमाइलो थियो योभन्दा! बंक ३ कहिले आउँछ?

0
mani neupane
July 18, 2010
77.96.109.76
भोट: +0
nice

'बिग ब्रो ....' महादेव आँखा

0
bishnu adhikari
July 18, 2010
87.221.112.10
भोट: -4
धर्म को अपमान

हैन के सारो हेप्न सकेको हिन्दु धर्म लाई?
येस्तरी नै अल्लाह को बारे मा लेख्नु , क्राइस्ट को बारे मा लेख्नु अनि फासी को सजाए भोग्नु पर्ला लेखक महोदय ,
धर्म का देवी देवता को अपहेलना गर्नु पाप हो जस्तो लाग्दैन लेखक महोदय लाई ....
कमेडी लेक्छु भन्दैमा मन लागि लेखना कसैले पनि पाउदिन बुज्नुस ....
बिष्णु अधिकारी
लण्डन

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


ट्याग्स

From Republica

new-traveld