Error
  • Error loading feed data.

Nagarik News Blog

Nagarik News Blog


काठमाडौँको फोहोरमैलालाई लिएर सार्वजनिक सञ्चार माध्यममा दैनिकजसो कुनै न कुनै समाचार, लेख, टिप्पणी आएकै हुन्छन्। तर, त्यसमा खासै सुधार देखिन्न।

चाहेर वा नचाहेर वा बाध्य भएर काठमाडौँ उपत्यकाका केही मूल ठाउँ फोहोरमैलाका स्थायी केन्द्र बनेका छन्। जस्तै, प्रदर्शनीमार्गको टुकुचा खोलानिर (काठमाडौँ मोडेल अस्पतालनजिकै) र लगनखेल चोक (मानसिक अस्पतालसामुन्ने) आदि। मैले दिनहुँ देख्ने गरेका यी दुई ठाउँमा फोहोरमैला कुनै पनि समय खाली हुँदैन। त्यो पनि अत्यन्त अव्यवस्थित, दयनीय र दुर्घन्दित अवस्थामा। नजिकैका अस्पतालहरुले पनि यसबारे प्राथमिकतासाथ चासो देखाउनैपर्ने हो।

गएको दसैँअघिसम्म नयाँ सडक गेटअगाडि टुँडिखेलको आकाशे पुलनिर स्थिति त्यस्तै थियो। खुसीको कुरा, अहिले त्यो ठाउँ सफा छ। त्यहाँको कन्टेनर हटाइएको छ। गर्दा हुँदोरहेछ त! सबैलाई थाहै छ, यी ठाउँमा मानिसको ओहोरदोहोर अत्यधिक हुन्छ। २४ सै घन्टा फोहोर थुप्रिने त्यस्ता ठाउँ अरु धेरै छन्। माथि उल्लिखित र त्यस्ता अन्य ठाउँको समस्या सुल्झाउन त्यहाँ राखिएका फोहोर फाल्ने कन्टेनर अबिलम्ब हटाउनुपर्छ, जसरी टुँडिखेलनिरको हटाइयो। यसको अर्थ कन्टेनर चाहिँदैन भन्ने होइन। विश्वको कुनै पनि सहरमा कन्टेनरको प्रयोग गरिन्छ। त्यहाँ कन्टेनरको प्रकार हुन्छन्। कुन कन्टेनर केका लागि भन्ने निश्चित हुन्छ। कन्टेनर उठाउने विधि र समय हुन्छ। अरु सहरमा व्यवस्थितरुपमा फोहोरमैला संंकलन गर्न कन्टेनर प्रयोग हुन्छ भने हामीकहाँ कन्टेनरको प्रयोगले दुरावस्था प्रदर्शन गरिरहेको हुन्छ। केही वर्षअघि कन्टेनर राखिएका धेरै सार्वजनिक ठाउँमा यस्तै समस्या आएकाले स्थानीयबासीको दबाबमा कन्टेनर हटाएका थिए। हुन त लगनखेलमा कन्टेनर छैन, तथापि त्यहाँ फोहोरमैला थुप्रिन्छ। त्यसका लागि फोहोर फाल्न नदिन त्यहीँका बासिन्दा र पसलधनी लाग्नुपर्थ्यो। त्यसो भइरहेको छैन किनकि त्यहाँ फोहोरमैला फाल्ने तिनै हुन्। यसतर्फ सम्बन्धित स्थानीय निकायको ध्यान किन जाँदैन? नगर प्रहरी केका लागि?

फोहोरमैला व्यवस्थापनमा मुख्यतया दुइटा पक्ष जिम्मेवार हुन्छन्। पहिलो, त्यससँग सम्बन्धित राज्यसंयन्त्र र दोस्रो जनचेतना। यी दुईबीच तालमेल नभएसम्म फोहोरमैला व्यवस्थित हुन सक्दैन। फोहोरमैला निकाल्ने हामी नागरिक र फोहोरमैला जथाभावी ºयाँक्ने पनि हामी नागरिक नै। फोहोरमैलाको व्यवस्थापन गर्न नसक्ने राज्य व्यवस्थाको नालायकी त छँदैछ। भन्न खोजेको, फोहोरमैलाको प्रभावकारी व्यवस्थापनमा राज्यका निकायको मात्र जिम्मेवारी र परिचालन पर्याप्त छैन। त्यसका लागि नागरिक दायित्व अनिवार्य छ।

नागरिकले जथाभावी फोहोर गरुन्जेल र फालुन्जेल फोहोरमैला व्यवस्थापन हुन सक्दैन। एउटा उदाहरण, सामाखुसी क्षेत्रको द्योबुँमार्गको एक खण्डमा फोहोरमैला सधैँ हुन्थ्यो। गएको दसैँअघिको एक साँझ त्यो ठाउँ एकाएक सफा पाएँ। नजिकै पुगेर नियाल्दा देखेँ, चार, पाँच वटा देवी देवताको कागजी तस्बिर टाँसेको र द्योबँुमार्ग उपभोक्ता समितिको नाममा 'यस ठाउँमा फोहोर फाल्नेलाई सामाजिक बहिस्कार गरौँ', 'जथाभाबी फोहोर नफाली सभ्य नागरिकको पहिचान दिऊँ' आदि सन्देश लेखिएका कागज टाँसेको। स्थानीय नागरिक आफैँ जागरुक हँुदा त हुँदोरहेछ नि! फोहोर फाल्ने पनि स्थानीय नै हुन्।

अहिलेसम्म त्यस ठाउँको सफाइले निरन्तरता पाएको छ। अहिले त्यस ठाउँमा एउटा देवीको तस्बिर छापिएको टायल स्थायीरुपमै टाँसिएको छ। यस्तै स्थानीय जागरण र अभ्यास धेरै ठाउँको चोकगल्लीमा आवश्यक छ। म्हेपीबाट सोर्‍हखुट्टेतर्फ जाँदा निर्मल लामा मार्गमा पर्ने नानक मठमुन्तिर फोहोरमैलाको थुप्रो कहिल्यै खाली हुँदैन। हावा, कुकुर र गाईवस्तुका कारण ती फोहोर बाटोभरि छरिएका हुन्छन्। त्यो ठाउँ नयाँ बस्ती भएकाले वरपर सुन्दर र आधुनिक घरहरु धेरै छन्। तिनका फोहोर फाल्ने ठाउँचाहिँ सर्वसाधारण र म्हेपी अजिमा दर्शनका लागि आउने श्रद्धालु भक्तजन हिँड्ने बाटो! त्यहीँका स्थानीयले चाहने हो भने त्यो ठाउँ सफा हुने पक्का छ।

अन्त्यमा, मैले देखेको दुइटा दृष्टान्त राख्दैछु। लैनचौरस्थित दुग्ध विकास संस्थानबाट पश्चिमतर्फ राष्ट्रिय टेबुल टेनिस प्रशिक्षण केन्द्रको भवन र त्यसपछिको कम्पाउण्डबीच उत्तरतर्फ जाने एउटा छेडो छ। उक्त छेडोको दायाँपट्टि टेबुलटेनिस भवनको पर्खालमा विभिन्न देवी देवताका तस्बिर छापिएका पाँच वटा आकर्षक टायलहरु करिब ८/१० मिटरको दूरीमा लहरै टाँसिएका छन्। बायाँपट्टि नयाँ कम्पाउन्डको पर्खालमा ११ वटा छन्। त्यसै कारण त्यहाँ कसैले फोहोर फालेका छैनन्।

नागपोखरीबाट बायाँतर्फको गल्ली हुँदै हात्तीसार निस्कँदा छेवैको 'आइटिसिटी' भवनबाहिर लहरै तीन देवी देवताको मूर्ति छन्। ती पनि पक्कै फोहोरै नफालोस् भन्नलाई हुनुपर्छ। किनकि त्यसैको केही पर फोहोरमैलाको थुप्रो हुन्छ। फोहोरमैला आफ्नो घरवरपर फाल्न नदिन देवीदेवताबाट निःशुल्क चौकिदारी सेवा लिने यो तरिका एक किसिमले सजिलो, सस्तो, प्रभावकारी र वातावरणमैत्री त पक्कै छ। भोलि कतै यो तरिका पनि निष्प्रभावी हुने हो कि? आशा गरौँ, त्यसो हुने छैन।

डा. हीराकाजी मानन्धर
म्हेपी, काठमाडौँ


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


ट्याग्स

From Republica

new-traveld