Error
  • Error loading feed data.

Nagarik News Blog

Nagarik News Blog


'बिट्राइस एन्ड भर्जिल' पढिसकेपछि मलाई यान मार्टेलको कथा भन्ने शैलीले अचम्मित र रोमाञ्चितमात्र पारेन, उत्तिकै उद्वेलित र प्रफुल्लित पनि बनायो। आठ वर्षअघि म्यान बुकर पुरस्कार विजयी उपन्यास 'लाइफ अफ पाइ' बाट 'विस्मयकारी कथावाचक'को विशेषण पाएका मार्टेलले पछिल्लो कृतिमा आफ्नो शैली अझ नवीन र परिष्कृत तुल्याएका छन्, त्यो उपाधि अझ सुदृढ पार्र्दै।

६५ वर्षअघि इतिहासको गर्भमा समेटिएको विध्वंस (दोस्रो विश्वयुद्ध, १९३९-१९४५) को घाउ अहिले कोट्याउनु ठीक हो?
हिटलरको भयानक त्रासदी फेरि सम्झाएर पाठक दुःखी पार्नु न्यायिक हुन्छ?
नाजी बर्बरता, दसौं लाख यहुदीको विभत्स नरसंहार र उनीहरूले पाएको मृत्युभन्दा भयानक यातना यतिखेर स्मरण गर्नुको औचित्य छ?
हो। हुन्छ। छ।


मार्टेलको उपन्यास पढिसकेपछि यी सबै प्रश्नको सकारात्मक जवाफ दिन मन लाग्छ। इतिहासका क्रुर कालखण्डहरूको सम्झना त्यस्तै विभत्स स्वरूपमा होइन, प्रतीक र विम्बहरूमा गर्नुपर्छ भन्ने यी दार्शनिक उपन्यासकारको बुझाइ छ। 'बिट्राइस एन्ड भर्जिल' मा उनले प्रतीक र विम्ब प्रयोगको चमत्कारी कला प्रकट गरेका छन्।


यहुदी नरसंहारको कथा अल्छीलाग्दो शैलीमा सुनाउन लागेको लेखकलाई उसको प्रकाशकले कसरी झपार्छ भने ऊ आफ्नो पाँच वर्षको मेहनतबाट सिर्जना भएको किताब आकर्षक शैलीमा छाप्ने सपना त्यागेर सहर छाड्छ। नयाँ सहरमा छद्म नामबाट जीवन खोतल्दै गर्दा ऊ यस्तो ट्याक्सीडर्मिस्ट (मरेका जनावरको शरीरमा विभिन्न वस्तु भरेर जीवितजस्तै पारेर सजाउने व्यक्ति) को फेला पर्छ जो 'बिट्राइस' नाम गरेको शान्त गधिनी र 'भर्जिल' नाम गरेको क्रन्दनपूर्ण बाँदरमार्फत दर्शन र मनोविज्ञानका अनेकौं रहस्य उप्काउँदैछ।


यही कथालाई मार्टेलले कल्पनाशीलताको उच्चतम जलप लगाएका छन् र विभत्स होलोकास्ट (यहुदी नरसंहार) को कारुणिक पक्ष पाठकसमक्ष उजागर गरेका छन्। उनको उपन्यासभित्र लेखकहरू छन्, उपन्यासहरू छन्, नाटकहरू छन्, कविताजस्ता हरफहरू छन्, चुट्किलाहरू छन् र थुप्रै दार्शनिक आयामहरू छन् जसले पातैपिच्छे कृतिलाई रहस्यवादी र रोमाञ्चकारी बनाउँछन्। मार्टेलको 'मेटाफिक्सन'ले उनको दार्शनिकता सरल शैलीमा पाठकसामु उतारेको छ, अद्वितीय औपन्यासिकताको परिचय दिँदै।


उपन्यासभित्रको लेखक हेनरीको निरीहता, ट्याक्सीडर्मिस्टको रहस्यवादिता, लेखकपत्नी साराको टेलिप्याथी, बिट्राइस-भर्जिलको दुःख र क्रुर केटाको राक्षसी व्यवहारले पाठकलाई पाइलैपिच्छे अचम्मित र रोमाञ्चित तुल्याउँछ। जनावरहरूको आश्चर्यपूर्ण संसार र उनीहरूको अस्तित्व संकट पनि मार्टेलले उपन्यासमा कारुणिक ढंगमा उतारेका छन्। दाँते र केही अन्य युरोपेली क्लासिक लेखकको उपस्थिति पनि उपन्यासमा आकर्षक ढंगमा भएको छ जसले मार्टेलको कथा अझ प्रभावकारी र बेजोड पारेको छ।
उपन्यास विम्बैविम्बको सफल प्रयोग बनेको छ जहाँ ओकापीजस्तो अचम्मलाग्दो विलुप्त जनावरलाई साम्राज्यवादका रूपमा उभ्याइएको छ भने बर्बर केटा हिटलरको छायाँ बनेको छ। मृत जनावरलाई माया गर्ने ट्याक्सीडर्मिस्टलाई जीवित प्राणीमा कुनै चाख छैन भन्दै मार्टेलले नाजीवादको दार्शनिक व्याख्या प्रस्तुत गरेका छन्।


दुई सय पृष्ठको यो उपन्यास सिध्याउन मलाई एक साता लाग्यो। मैले दैनिक औसत २८ पृष्ठमात्र पढ्न सकेको समय अभाव वा क्लिष्टताका कारण होइन। प्रत्येक पानामा व्यक्त दार्शनिकता र कल्पनाशीलताले तुरुन्तै अर्को पानामा उक्लन अनुमति नै नदिँदा उपन्यास पढिसक्न थुप्रै दिन लागेको हो। उपन्यासकारको दार्शनिकता र कल्पनाशीलताले पाठकलाई पनि बाध्यात्मक रूपमा दार्शनिक र कल्पनाशील बनाउँछ जसले उपन्यास पढ्दाको आनन्द झनै बढाउँछ।


मार्टेलले यो उपन्यास लेख्न आठ वर्ष लगाए। पढिसकेपछि मलाई लागेन- २ सय पृष्ठको 'बिट्राइस एन्ड भर्जिल' लेखिसक्न आठ वर्ष कुनै लामो समय हो। लगभग प्रत्येक हरफमा दार्शनिकताको गहिराइ पाइने उपन्यास लेखिसक्न मार्टेलले प्रसस्तै दिमाग खपाएका छन् भन्ने स्पष्टै बुझिन्छ।


उपन्यासको गातामा छापिएको मार्टेलको रहस्यवादी तस्बिरले कृतिको ट्याक्सीडर्मिस्ट पात्र सम्झाउँछ। उपन्यासभित्र लेखक हेनरीको चरित्रचित्रण पढ्दै जाँदा कतै मार्टेल नै त्यो निरीह पात्र त होइनन् भन्ने खुल्दुली जन्मन्छ। हेनरी र मार्टेलमा एउटा वा दुइटा होइन, थुप्रै रमाइला संयोग पाएझैं लाग्छ। सबैभन्दा रोमाञ्चक संयोग- उनीहरू दुवैजनाले छोराको नाम 'थियो' राखेका छन् र दुवैको स्थायी बसोबास क्यानडाको सस्काटेवनमा छ।
नाजी बर्बरताका समयमा पोल्यान्डको राजधानी वार्सामा सन् १९४० देखि ४३ बीच भएका हत्याका घटनाका दस्तावेज दोस्रो विश्वयुद्धपछि यही सहरको '६८ नवोलिप्की स्ट्रिट' मा दसवटा टिनका बाकस र दुइटा दुधका क्यानमा फेला परेका थिए जुन तथ्य मार्टेलले उपन्यासमा रोचक ढंगले घुसाएका छन्। यो तथ्यले उपन्यासको मोड नै परिवर्तन गरिदिन्छ, पाठकलाई उद्वेलित पार्दै। मार्टेलले उपन्यासमा लेखेका छन्- यी टिनका बाकस र दुधका क्यान दोस्रो विश्वयुद्धका किंवदन्ती हुन्। वार्सा किंवदन्ती।

 
यान मार्टेल
स्पेनमा सन् १९६३ मा जन्मिएका मार्टेलले क्यानडाको टे्रन्ट विश्वविद्यालयमा दर्शनशास्त्र पढे र अनौठा जागिर खाए- कहिले माली, कहिले मसल्ची र कहिले पाले। २६ वर्षको उमेरमा लेखन सुरु गर्नुअघि उनी प्रशस्त घुमे।
४१ भाषामा अनुदित मार्टेलको बुकर विजेता उपन्यास लाइफ अफ पाइ (२००२) न्युयोर्क टाइम्सको बेस्टसेलर सूचीमा ५७ हप्तासम्म नम्बर वन बनिरहन सफल भयो।


उनका छोटा कथाको संग्रह ...द फ्याक्ट बिहाइन्ड हेल्सिन्की रोक्याम्याटिओज' र पहिलो उपन्यास ...सेल्फ'ले पनि समीक्षकको प्रशस्त सराहना पाए। क्यनाडेली प्रधानमन्त्रीलाई चिठीका रूपमा लेखेका निबन्धको उनको संग्रह ...ह्वाट इज स्टेफन हार्पर रिडिङ?' शीर्षकमा प्रकाशित छन्।
लेखक एलिस कुपर्ससँग क्यानडाको सस्काटेवनमा बसोबास गर्ने उनीहरूका एक छोरा छन्।

 


दोस्रो विश्वयुद्धमा यहुदीहरूले पाएको यातना र त्यसको परवाह नगरी एउटा बुबाले आफ्नो छोरालाई नाजीबाट बचाउन कसरी अन्तिम समयसम्म मार्मिकतापूर्वक उसको वेदना लुकाइरहन्छ भन्ने कथा भएको एउटा ब्युटिफुल फिल्म 'लाइफ इज ब्युटिफुल' मैले केही समयअघि हेरेको थिएँ। त्यो फिल्मले सोझो शैलीमा एउटा परिवारको कथामार्फत नाजी बर्बरताको पराकाष्ठा चित्रण गरेको छ भने मार्टेलले गधा र बाँदरको कारुणिक संवाद तथा लेखक-ट्याक्सीडर्मिस्टको आश्चयपूर्ण सम्बन्धमार्फत दोस्रो विश्वयुद्धको त्रासदी उतारेका छन्। 'लाइफ अफ पाइ'को रिभ्यु गर्दै आठ वर्षअघि न्युयोर्क टाइम्सले लेखेको थियो- यो उपन्यासले सर्वाधिक त्रासद दृश्यमा पनि आसलाग्दो जीवन्तता ल्याउनसक्ने उपन्यासकारको क्षमतामाथि पाठकको विश्वास नवीकरण गरेको छ। 'बिट्राइस एन्ड भर्जिल'ले त्यो विश्वास फेरि नवीकरण गरेको छ।
म प्रफुल्लित भएको छु।

 

जसरी उपन्यासले पृष्ठ पल्टिँदै जाँदा नयाँ दृश्य, नयाँ पात्र, नयाँ घटना, नयाँ रहस्य र नयाँ दर्शन उप्काउँदै गएको छ, त्यसले कथाको बुनौटअनुसार मार्टेलको शिल्प, शैली र चरित्रचित्रण अझ गहिरिएर बुझ्न दोहोर्‍याएर यो कृति पढ्न झक्झक्याउँछ।
म दोस्रोपटक 'बिट्राइस एन्ड भर्जिल' पढ्दै छु।

 
बिट्राइस एन्ड भर्जिल (उपन्यास)
यान मार्टेल
ह्यामिस ह्यामिल्टन (पेन्गुइन बुक्स), सन् २०१०
मूल्य : नेरु ७२० (हार्डकभर)
पृष्ठ : २००
 

 

 
गधिनी-बाँदर संवाद

बिट्राइस : म थाकेँ। अब पुग्यो।
भर्जिल : म पनि। सुन्नेमात्र?
बिट्राइस : के?
भर्जिल : मौनता, यसले के भन्दोरहेछ।
बिट्राइस : हुन्छ।
(मौनता)
भर्जिल : केही सुन्यौ?
बिट्राइस : अँ।
भर्जिल : के?
बिट्राइस : मौनता।
भर्जिल : मौनताले के भन्यो?
बिट्राइस : केही पनि भनेन।
भर्जिल : राम्रो गर्‍यौ। मैले मेरै अन्तर्यले ...म मौनता सुनिरहेको छु, केही सुनिन्छ कि' भनेको सुनिरहेँ। चर्का-छरिएका अरू विचार पनि आए।
बिट्राइस : ए, मैले पनि त्यस्ता आवाज सुनेँ। अर्कै रूपमा तर त्यही कुरा।
भर्जिल : हामी फेरि एकपटक वास्तविक मौनताको प्रयास गरौं, हाम्रो मस्तिष्कलाई सबै अन्तर्यबाट खाली गरेर।
बिट्राइस : म प्रयास गर्न चाहन्छु।
भर्जिल : एक, दुई, तीन, लौ।

उपन्यासबाट उदृतांश

 


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


ट्याग्स

From Republica

new-traveld