Error
  • Error loading feed data.

Nagarik News Blog

Nagarik News Blog


तुवाँलोले ढाकेको काठमान्डु जति टाढा हुन्थ्यो, आकाश उति खुल्दै जान्थ्यो। भक्तपुरका केही मोड कटेर जसै पल्सर बाइकले साँगा टेक्यो, घामले काभ्रेका फाँटहरू चम्किए, पहेँलै धान अझ सुनौला देखिए।

सवारी कम भएको तेर्सो बाटो पाएर दीपांकरले एक्सिलेटर कसरी चाप्यो भने पछाडि बसेकी निर्मला हुत्तिई। भर्खरै अमेरिकाबाट स्कुल सकेर आएको फुच्चे पहिलोपल्ट काठमान्डुको साँध कट्दै थियो। रूखबिरुवाको मिठो गन्ध र शरदयामको सुवासी माटोले मताएजसरी उसले बाइक बेपरवाह हुइँक्यायो।

तीन वर्षअघि त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा मास्टर्स गरेर सिन्धुलीमा प्लस टु पढाइरहेकी निर्मला फुच्चे जोस्सिएको देखेर अझ रमाई। पहिलोपल्ट बाइकमा लामो यात्रा गर्दै थिई ऊ, मनमा अलिअलि डर थियो। दीपांकरको काँध च्याप्प समाई, बत्तिएको बाइकबाट सडकमा फुत्त खसियो भने त बर्बादै हुन्छ! वातावरण चिस्चिसै थियो, टाउकोमा सल बाँधेकी थिई।

धुलिखेल पुगेपछि भनी, 'बाबु, अब राइट है!'
ओहो, अब त सडकमा सवारी छँदै छैनन् भन्दा पनि भयो। दीपांकरलाई मजा आयो, सल्लाघारीको बीचैबीच बाइक दौडाउँदा। तीन किलोमिटर जति कटेपछि निर्मलाले उसको काँध थप्थपाई र छिट्छिटो भनी, 'रोक, रोक, रोक।'
के भयो भनेजसरी उसले डिस्क बे्रक थिच्यो, सडकबाट स्वाट्ट बाइक घुमाएर छेवैको चौरमा पार्क गर्‍यो र हेल्मेट फुकाल्यो। काठमान्डु विश्वविद्यालय मेडिकल कलेजआडैको चौरबाट हातैले छुन सकिन्छ कि भनेजसरी हिमाल टल्केका थिए। दिदीले हिमाल देखाउन बाइक रोक्न लगाएकी रैछे।

'ल यता आऊ,' निर्मलाले भाइलाई चौरको अर्को कुनामा लगी र औंलाले एकएक गरेर हिमाल चिनाउन थाली, 'त्यो गणेश, यो जुगल, यतापट्टिको बांगोटिंगो लाक्पा दोर्जी, अर्को रोल्वालिङ, हेर्दै सबैभन्दा राम्रो देखिएको पूर्वको त्यो गौरीशंकर।'
आँखामा शितलता छर्दै नजिकै यति धेरै हिमाल ठडिएको देखेर ऊ खुसीले पागल भयो। आनन्दलाई निकास दिन त्यहीँ चौरमै दुईतीनपल्ट उल्टीजम्प गर्‍यो।

***
दीपांकर र निर्मलाको कथा रमाइलो छ। आज चौथो दिन हो, यी दिदीभाइको भेट भएको। चार दिनमै उनीहरूको प्रेम कति गहिरिएको छ भने काका, काकी, ठूलोबा, ठूलीआमा पनि छक्क परेका छन्।

अमेरिकामै जन्मेहुर्केर पहिलोपल्ट लामो समयका लागि काठमान्डु आएको दीपांकर र तीन वर्षदेखि सिन्धुलीमै पढाउँदै आएकी निर्मलाबीच कहिल्यै भेट भएको थिएन। दुई बाउका छोराछोरी भए पनि निर्मला गाउँमै हुर्की, त्यहीँ प्लस टु सिध्याई र काठमान्डुबाट मास्टर्स सकेर सिन्धुलीमै पढाउन थाली। बुबाआमा अमेरिका गएपछि दीपांकर उतै जन्म्यो, हुर्क्यो, स्कुल गयो, ह्युस्टनका फराकिला सडक, अग्ला घर, गर्लफ्रेन्ड जेनिफर र क्लबहरूमा अभ्यस्त भयो।

दीपांकरका सहोदर दिदीबहिनी नभएका र निर्मलाका पनि दाइभाइ नभएकाले दुवैले जीवनमै पहिलोचोटि दिदीभाइको प्रेम अनुभव गर्ने मौका पाए यो वर्ष। २७ वर्षसम्म कसैलाई तिहारको टिका नलगाइदिएकी निर्मला दीपांकरसँग भाइपूजा मनाउन गोरुतिहारका दिन काठमान्डु उत्रिई। दीपांकरले पनि १९ वर्षको उमेरसम्म कहिल्यै भाइटिका लगाएको थिएन। शनिबार गोरुपूजादेखि मंगलबारसम्म चार दिनमै उनीहरू एकअर्कासँग नछुट्टिने भइसकेका थिए।

पुर्ख्यौली घर सिन्धुली कहिल्यै नटेकेको दीपांकर दिदीलाई पुर्‍याउने निहुँमा बिपी राजमार्गको बाटो हुइँकिदैथ्यो। पहिलोपल्ट बाइकमा यति लामो यात्रा गर्न पाएकी निर्मला पनि रमाएकी थिई। काठमान्डुबाट १ सय ५३ किलोमिटर बाइकमा तय गर्नु अलमस्त स्वभावकी निर्मलाका लागि कोसीको पानीमा आँखाको तनाव विसर्जन गर्दै शुद्ध अक्सिजनले फोक्सो भर्ने एउटा आनन्दी मौका थियो।

***
भकुन्डेबेंसी आइपुग्यो। फाँट देखेर दीपांकर रोमाञ्चित भयो। दाप्चा खोला कटेर रोसी नपुगुन्जेल बाटोको सुन्दरताले उनीहरू दुवै कति मस्त भइरहे भने एक शब्द पनि बोलेनन्।

रोसीपुल कटेपछि दीपांकरले पिसाब फेर्न बाइक रोक्यो। निर्मला पनि आडमा छेलिई। हेल्मेट फुकालेपछि रोसीछेवैको हरियो डाँडाबाट बगेको हावाले दीपांकरको मुखैमा हान्यो। निर्मलाले सल फुकाली र लामो चम्किला कपाल फरर्र टक्टक्याई।
'दिदी, मलाई त क्या मज्जा आइरहेको छ,' दीपांकर बोल्यो।

निर्मला हाँसी।

'मलाई त रोसीकै आडमा जिन्दगी बिताइदिउँजस्तो लाग्यो,' छेउमै बगिरहेको खोला देखाउँदै दीपांकर बोल्यो।
'धेरै नजोस्सेऊ, सिन्धुली पुगुन्जेल यति धेरै राम्रा ठाउँ आउँछन्, तिमीले रोसीखोला त एकैछिनमा बिर्सन्छौ।'
मंगलटार कटेर नेपालथोक पुग्दा १० बजिसकेको थियो।
'बाबु, यहाँ खाना खानुपर्छ, भोकले मेरो पेट गुडुडु गर्न थालिसक्यो,' निर्मलाले भनी।
नेपालथोक बसपार्कको चौकोट होटलमा उनीहरूले दालभात खाए। 'क्या मिठो दिदी, यहाँको खाना त!' दीपांकर दंग पर्‍यो।
'पख न, घर पुगेपछि लोकल चामलको भात, युरिया नहालेको तरकारी, झानेको मासको दाल, गुन्द्रुक-भट्मासको अचार, बयमको कागती र आलो घिउ ख्वाउँछु, जिन्दगी नै सिन्धुलीमा बिताइदिउँजस्तो लाग्छ तिमीलाई,' निर्मलाले जिस्क्याई।

***
अस्ति भाइटिकामा क्या रमाइलो गरेका थिए उनीहरूले काठमान्डुमा। दुई बाउपट्टि उनीहरू दुईजनामात्र छोराछोरी थिए। कहिल्यै कसैलाई टिका नलगाइदिएकी गाउँकी मास्टर्नी निर्मलालाई के-के विधि गर्नुपर्छ भन्ने मेसै थिएन। काकीले सिकाएको भरमा उसले भाइलाई टिका लगाइदिई।

ओखर फोरी, बिमिरो सुँघाइदिई, तेलले घेरा हाल्दै तीनचोटि भाइको परिक्रमा गरी, सयपत्री फूलले पूजा गरिदिई, कपालमा तेल घसिदिई, कोरिदिई र सप्तरंगी टिकाले निधार रंग्याइदिई। मखमली र सयपत्रीका माला लगाइदिई। गाउँबाटै ल्याएको सेल, अनर्सा, फिनी, मसला र फलफूल ट्रेमा राखेर दिई। टिसर्ट पनि किनिदिएकी रैछ।

भाइले पनि दिदीलाई आमाले सिकाएजसरी टिका लाइदियो र खाममा राखेर दक्षिणा दियो।
खाना खाएपछि दीपांकरका बुवा र उनलाई भेट्न आएका साथीहरू म्यारिजमा जमे। दीपांकरको पल्सरपछाडि बसेर उसलाई सहर घुमाउन निस्की निर्मला। धेरै किताब पढेकी निर्मलालाई संस्कृति, रीतिरिवाज, समाज र इतिहासको राम्रै ज्ञान थियो। कहिल्यै नलगाइदिएको भएर भाइटिका गर्ने विधिचाहिँ थाहा नपाएकी!
निर्मलाले दीपांकरलाई रानीपोखरीबीच रहेको बालगोपाल मन्दिर पुर्‍याई। लाममा लागेर उनीहरूले फुच्चे कृष्णको दर्शन गरे र प्रसाद लिए। वर्षमा एकचोटिमात्र भाइटिकाका दिन खुल्ने यो मन्दिर र रानीपोखरी कुनै जमानामा काठमान्डुका राजा प्रताप मल्लले उनका दिवंगत छोराको सम्झनामा बनाएका हुन् भन्ने दिदीबाट थाहा पाउँदा दीपांकर खुसी भयो।
सहरमा रेस्टुरेन्ट खासै खुलेका थिएनन्। उनीहरू ठमेल पुगे र एउटा रेस्टुरेन्ट छिरे, कफी खान। घरमा कति धेरै खाएका थिए भने कफीबाहेक अरूथोकका लागि पेटमा ठाउँ थिएन।
'दिदी, अब बिहा गर्नुपर्दैन भन्या?' दीपांकर खुल्यो।
'तिम्रो जेनिफरसँग कस्तो चल्दैछ नि?' निर्मलाले कुरा मोडी।
'ह्या, तपाईं भन्नु न पहिला!'
'ल गर्ने हो, भिनाजु खोज न त!'
'ओहो, तपाईंजस्तो स्मार्ट केटीलाई मैले खोज्नुपर्छ भिनाजु? लाइन होला लाइन, तपाईंसँग बिहा गर्न खोज्नेको त! सिन्धुलीदेखि काठमान्डुसम्मै तड्पिनेहरूको हुल होला।'
'दिदीलाई जिस्क्याउँछस् साले,' निर्मला तँमा उत्री।
दीपांकर रेस्टुरेन्टै थर्कने गरेर हाँस्यो।

निर्मलाले उसलाई संस्कृति र इतिहासका थुप्रै कुरा बताई। ऊ चाख मानेर सुनिरह्यो। तिहारको प्रचलन कसरी चलेको भन्ने बुझाई। नियमको राजा यम र उनकी बहिनी यमीको प्रेम हामीले तिहार र भाइटीकाको माध्यमबाट सम्भि्कने हो भनेर सुनाई।
'ल अब पशुपति जाऊँ, भाइटिकाको दिन मन्दिरमा पक्कै भीड कम होला,' निर्मलाले भनी र उनीहरू रेस्टुरेन्टबाट बाहिरिए।
पशुपतिनाथ मन्दिरमा मान्छेको हुल कमै थियो। उनीहरू जुत्ता खोलेर भित्रै छिरे।

निर्मलाले दीपांकरलाई मन्दिरको इतिहास र परम्पराबारे आफूले जानेसुनेका कुरा बताई। वासुकी नागको दर्शन गराई। मन्दिरको दक्षिणपट्टि रहेका ५ सय २५ वटै शिवलिंग घुमाई। मूलमन्दिरको शिवलिंगलाई दुवै हात जोडेर ढोगी, भाइलाई पनि ढोगाई। बागमतीपट्टिको भित्ताबाट श्रीयन्त्रमा पैसा अड्याए शुभ हुन्छ भन्ने जनश्रुति रहेको सुनाई। उनीहरू दुवैजनाले दुईदुईपल्ट प्रयास गर्दा पनि श्रीयन्त्रमा पैसा अडिएन।
मन्दिरबाट बाहिर निस्के। पार्किङ पुग्नुअघि खाटमा राखेको सानो पुस्तकपसलमा निर्मला एकैछिन अडिई र किताब हेर्न थाली। दीपांकर वरपरको रमाइलोमा भुल्दै थियो। दुर्गा साहित्य भण्डार, वाराणसीले छापेको अनुवादसहितको गीताको सानो पुस्तक निर्मलाले किनी र भाइलाई दिई।

'ल, यो किताब पढ, गीता हो यो, नेपाली अनुवादसहित छ, नबुझेको मलाई सोध।'
दीपांकरले किताब फरर्र पल्टायो। संस्कृतका श्लोकहरू भएको किताबमा पानाको तल्लो भागमा नेपालीमा अर्थ खुलाएको रहेछ।
'के हो दिदी यो?'
'यसलाई श्रीमद्भगवत् गीता भन्छन्।'
'त्यो त यहीँ लेखेको छ नि, के छ कन्टेन्टचाहिँ?' उसले बाहिरको पातो हेर्दै सोध्यो।
'यो हामी सबैले जीवनमा पढ्नैपर्ने र साथमा राख्नुपर्ने पुस्तक हो। महाभारतको लडाइँ भन्ने सुनेका थियौ?'
'थिएँ, डिभिडी पनि हेरेको थिएँ, महाभारतको।'
'कौरव र पाण्डवहरूको त्यही लडाइँ हुनेबेला पाण्डवपट्टिका अर्जुन आफ्नै आफन्त, नातागोता, भाइभतिजासँग कसरी युद्ध गर्नु भनेर विह्वल भएपछि उनका सारथि कृष्णले आशक्ति नराखी जीवनमा कर्म गर्नुपर्छ, मायामोह भनेको बन्धन हो, यसलाई त्यागेर फलको आशा नराखी निरन्तर आफ्नो कर्तव्यमा अडिग रहनुपर्छ भनेर गीतामा बुझाएका छन्।'

'ए...,' दीपाकंरले बुझेझैं गर्‍यो।
'खै, यता ल्याऊ त!' निर्मलाले भाइको हातबाट किताब थुती र पाना पल्टाएर एउटा संस्कृत श्लोक पढी।
रागद्वेशवियुक्तैस्तु विषयानिन्द्रियैश्चरन्।
आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति।
दिदीले मिठो भाकामा संस्कृत श्लोक पढेको सुनेर दीपांकरले रमाइलो मान्यो।
सोध्यो, 'यो भनेको के नि?'

'आफ्नो आत्मा वा अन्तःकरण कब्जामा भएको व्यक्तिले प्रेम र द्वेष हटिसकेका आफ्ना इन्द्रियहरूमार्फत विषयको उपयोग गरे पनि उसको मन निर्मल भइरहेको हुन्छ भनेको हो।'
'ए...,' दीपांकर बोल्न त बोल्यो तर दिदीले भनेको खासै बुझेन।
'ल, यो किताब तिमीलाई मेरो उपहार। पढ र नबुझेको मलाई सोध।'
'कहिले पढ्नु? अब दुई सातामा त ह्युस्टन फर्कने होला, बुबाले भनेको!'
'लाटा, यति सानो किताब तिमीले चाह्यौ भने आजै राति पढिसिध्याउँछौ नि, दुई साताको के कुरा!'

***
नेपालथोकबाट दक्षिण लागेपछि बाटो एकदमै कच्ची रहेछ। धुलोले मुखैमा हान्ने। दीपांकरले हेल्मेटमा भाइजर चढायो, निर्मलाले आँखामा चस्मा ढल्काई। तैपनि बाटोले उनीहरूलाई धुलो छर्किरह्यो।
फराकिलो भएर बगेको सुनकोसीको निलो पानीले दीपांकरलाई कति आनन्द दियो भने धुलोको परवाहै भएन। झाँगाझोली रातमाटादेखि तल्तिर सुनकोसी किनार पुगेपछि निर्मलाले बाइक रोकाई।
धुलोले आधा पुरिएको जिउ लिएर उनीहरू सुनकोसीमै पुगे। निर्मलाले स्यान्डल खोलेर खुट्टा भिजाई र सुनकोसीको पानी दीपांकरको जिउमा छ्यापिदिई।
'आच्छु...,' दीपांकर तर्कियो र दिदीले रमाइलो गरेको देखेर आफ्ना जुत्ता पनि फुकाल्यो।
सुनकोसीमा खुट्टा चोब्नेबित्तिकै उसलाई पैतालाबाट छिरेको इनर्जी टाउकैसम्म पुगेझैं लाग्यो। सुनकोसीको पानी चिसो थियो, दुवैजनाले हातगोडा र जिउ पखाले। निर्मलाले ब्याकप्याकबाट क्याडबरी झिकी र भाइलाई आधा दिई। दुवै सुनकोसीपारि रामेछापका गाउँ हेर्दै कुटुककुटुक चक्लेट चबाउन थाले।
...
खुर्कोट बसपार्कमा चिया खाएर दुई किलोमिटर हिँडेपछि भर्खरै बनिसकेको पक्की बाटो आयो।
निर्मलाले भनी, 'यहाँबाट ३९ किलोमिटरचाहिँ फस्टक्लास बाटो छ।'
नेपालथोकदेखि खुर्कोटसम्म धुलैधुलोमा गाह्रोसँग बाइक कुदाएको दीपांकर अहिलेको चम्किलो बाटो देखेर छक्कै पर्‍यो। अमेरिकाका पहाडी बाटाभन्दा केही फरक थिएन। चम्किलो, सुलुत्त परेको, हरिया डाँडाले चारैतिरबाट घेरिएको, पाइलैपिच्छे रोडमार्क राखिएको यस्तो बाटो पनि नेपालमा होला भनेर कल्पनै गरेको थिएन उसले।
'यो नेपालकै सबैभन्दा राम्रो बाटो हो रे,' निर्मला बोली।
दीपांकरले सुन्यानसुन्यै गर्‍यो र बाइक दौडायो।
खनियाँखर्कमा उनीहरूले सुन्तला खाए।
'कहाँका सुन्तला हुन् दिदी यी?' निर्मलाले पसल्नीलाई सोधी।
'ऊ त्यहीँ रतनचुराका,' पसल्नीले पूर्वको सबैभन्दा अग्लो डाँडातिर औंला तेर्स्याई।
एकैछिनमा सोलाभन्ज्याङ आइपुग्यो जहाँबाट पश्चिम लागे सिन्धुलीगढी दरबार र किल्ला पुगिँदो रहेछ।
'जाने हो गढी?' दिदीले सोधी।
'कति टाइम लाग्छ?'
'आधा घन्टामा फर्केर यहीँ आइपुगिन्छ।'
सिन्धुलीगढी दरबार र किल्लाबाट दिदीले दीपांकरलाई रामेछापका डाँडाहरू देखाईदिई। रामेछाप बजार पनि घाममा टल्केको थियो।
'कप्तान किनलकको नेतृत्वमा नेपाल छिर्दै गरेका ब्रिटिस फौजलाई नेपाली सेनाले यहीँबाट धपाइदिएका थिए,' सिन्धुलीगढी किल्लामा उभिएर निर्मलाले भनी।

***
साँझ सिन्धुली पुगेपछि निर्मला खाना पकाउने सुरसार गर्न थाली। धारामा मुख धुँदै गर्दा दीपांकरलाई तल्लो घरको ‰यालबाट कसैले हेरेझैं लाग्यो।
टाउको उठायो, एक जोडी राम्रा आँखासँग उसका आँखा जुधे। राता गाला, रेसमी कपाल र गोलो मोहडा भएको अनुहारमा त्यो फुच्ची राम्री देखिएकी थिई। उसले झ्याल बन्द गर्न खापा तान्दै गर्दा पनि दीपांकर हेरि नै रहेको थियो। मन कुत्कुतिएको थियो।
'दिदी, तल्लो घर कसको हो?' खाना खाँदै गर्दा उसले फ्याट्ट सोध्यो।
'कार्कीको। किन?' दीपांकरको ताल देखेर दिदी छक्क परी।
'यसै...,' दीपांकर मुन्टो निहुराएर दालसँग भात मुछ्न थाल्यो।
निर्मलाले एकछिन दीपांकरलाई हेरिरही र बोली, 'यो कतै तल्लाघरकी कात्यायनीलाई देखेर मख्ख परेको त होइन?'

***
पर्सिपल्ट बिहीबार (अस्तिकै दिन त हो!) दीपांकरले बिहानै काठमान्डुका लागि बाइक स्टार्ट गर्‍यो।
'राम्ररी जालास्!' निर्मलाले मायालु आँखाले भाइलाई हेर्दै भनी।
'हस्,' उसले भन्यो र एक्सिलेटर चाप्यो।
खुर्कोट पुगेपछि अस्ति खाएकै पसलमा चिया मगायो र खल्तीबाट फोन झिक्यो। नेटवर्क थिएन। काठमान्डुमा एकपटक बुबालाई फोन गर्ने सोच्दै थियो।
'यहाँ कतै फोन छैन?' चिया खाँदै गर्दा उसले पसलेलाई सोध्यो।
'त्यहाँ सिडिएमए छ,' चियापसलेले छिमेकमा देखाइदियो।
खाँदै गरेको चिया आधा छोडेर ऊ फोनपसल पुग्यो र काठमान्डु घरको नम्बर डायल गर्‍यो।
'बुबा, के छ?'
'ठिकै छ बाबु, कहिले फर्कन्छौ?'
'म आउँदैछु, बाटोमा हो अहिले।'
'रमाइलो भयो त घुमघाम? टेक्सस फर्कने बेला पनि भयो अब त!'
'रमाइलो भयो बुबा, म त टेक्सस नजाने, यतै अन्डरग्र्याड गरौं भनेको।'
उताबाट बोलेको सुनिएन।
'१९ वर्ष अमेरिकामा बिताएँ, अब ३/४ वर्ष नेपालमा पनि बसेर हेरौं न भन्ने सोच्दैछु, यहीँ सिन्धुली मूलघरमै बसेर बिए पढ्दा हुँदैन, बुबा?'
'यहीँ आऊ न, कुरा गरौंला।'
'त्यहाँ आएपछि अरू कुरा गरौंला, तर आम डिटरमाइन्ड एबट इट, ड्याड।'

***
शितलपाटीमा दीपांकरले बाइक रोक्यो। सुनकोसी र तामाकोसी मिसिएको दोभानबाट बगेको हावा उसको अनुहार सुम्सुम्याउँदै डाँडामा ठोकियो।
सुसेला मार्न राम्ररी नआए पनि उसले टेक्ससमै हेरेको पुरानो हिन्दी फिल्मको गीत ओठ घुमाएरै बजाउने प्रयास गर्‍यो-
...खिडकी में आइ नजर...!


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


ट्याग्स

From Republica

new-traveld