Error
  • Error loading feed data.

Nagarik News Blog

Nagarik News Blog


मनाङको हुम्देबाट मुस्ताङको जोमसोमसम्म ऐतिहासिक उडानको साक्षी बनेको थिएँ एउटा हवाइयात्रीका रुपमा। अघिल्लो दिन प्लेन रद्द भएका कारण भोलिपल्ट जसरी पनि काठमाडौं पुग्नुपर्ने चटारो हामीलाई थियो। किनभने काठमाडौंबाट मनाङ पदयात्राका लागि हिँडेको ११ दिन भइसकेको थियो। मनाङदेखि जोमसोम र जोमसोमबाट पोखरा नन सेड्युल अवतरण गरेका हामीलाई नेपाल वायुसेवा निगमका कास्की जिल्ला व्यवस्थापक रत्नकर चौधरीले बधाइ दिए।

र, ऐतिहासिक उडान भन्दै काठमाडौंबाट गएका हामी चार सञ्चारकर्मीलाई साथमा राखेर सानोतिनो पत्रकार सम्मेलन नैं गरे। मनाङदेखि जोमसोम टि्वनअटरबाट उडान गर्ने अनुमतिका लागि नागरिक उड्डयन प्राधिकरणलाई अनुरोध गर्नेसमेत उनले बताए।

तर चौधरीले यति पनि हेक्का राखेनन् कि १३ हजार ६ सय फिटमा टि्वनअटरबाट उडान गर्नु हवाइ सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड र नियमविपरित हो। काठमाडौं जसरी नि पुग्ने चटारोले उडानका सारा अवस्थाबारे जानकारी लिने हेक्का हामीलाई पनि भएन। यी सारा अवस्थाबारे सोच्ने चालक दल छ भनेर हामी ढुक्क थियौं।

हुम्दे टि्वनअटर विमानका लागि विश्वकै सर्वोच्च स्थानमा रहेको विमानस्थल हो र चालक दलका दुई सदस्य, एक एयरहोस्टेस र हामी ६ यात्रु टि्वनअटर विमानबाट १६ हजार फिटसम्मको उडान गर्ने सम्भवत: पहिला व्यक्ति बन्यौं। नागरिक उड्डयन प्राधिकरणले यो कुरालाई चासो र छानविन गर्न थालेपछि थाहा पाइयो, ज्यान जोखिममा पर्न सक्ने ठूलो सम्भावना टरेर बचिएछ।

पहाडका बीचबाट जोखिमपूर्ण उडान गर्दै जोमसोम पुर्‍याउने पाइलट सञ्जय वैद्य र सहपाइलट योगेश हिराचन धन्यवादका पात्र छन्। तर प्राधिकरणको भाषामा क्याप्टेन वैद्यले दु:साहसी र मूर्खपूर्ण उडान गरेको भन्दै उनलाई निलम्बन गरिएको छ। प्राधिकरणका एक उच्च अधिकारीले हवाई उडानमा स्थापित मान्यतालाई बेवास्ता गर्नु सरासर आफ्नो तथा यात्रुको ज्यान जोखिममा पार्नुसरह भएको जिकिर गरे।  प्राधिकरणले यसबारे थप छानविन गरिरहेको छ।

अक्सिजनको कमी र गैररुटका कारण अन्य विमानसँग ठक्कर खान सक्ने दुईवटा खतरा वास्तविकतामा परिणत भएको भएर यतिबेला मलगायत हामी सबै जना श्रद्धाञ्जलीका पात्र भइसकेका हुने थियौं। अन्नपूर्ण पहिलो, दोस्रो र तेस्रो, मनाङ हिमाल र कङ्गारु हिमालका तिखा टाकुरा पनि टारेर बाँचिएछ। जसरी हुम्देबाट मुस्ताङ आइयो, त्यो हवाइ उड्डयनको दुनियामा रुट नै होइन रहेछ।

अन्तर्राष्ट्रिय हवाइ उड्डयन सङ्गठन (आइकाओ) को नियमअनुसार ट्विनअटर जहाजले १३ हजार ६ सय फिटभन्दा बढी उडान गर्न पाउँदैन। नियम भन्छ- त्योभन्दा माथि उडान गर्नुपर्‍यो भने अक्सिजनको प्रबन्ध गरेर मात्र जानुपर्छ। तर गएको वैशाख ९ गते बिहीबार म विनाअक्सिजन १६ हजार फिटसम्म आकासिएँ अन्य ५ यात्रुका साथ। मेरो साथमा तीन पत्रकार र दुई जना विदेशी पर्यटक थिए। बिहान ७ बजेतिर हुम्देबाट पोखरा जान जोमसोमका लागि उडेका हामीले जोमसोमबाट ९ यात्रु भरेर पोखराका लागि उडेका थियौं।

हामी त्यही प्लेनमा र तिनै चालक दलले चलाएको विमानबाट काठमाडौं ओर्लियौं। यस्ता 'साहसिक' पाइलट वैद्यसँग कुरा गर्न मन लाग्यो। ओर्लिनसाथ हतार हतार उनी भएनजिक गएँ र सोधें- कस्तो महसुस भयो तपाईंलाई यस्तो 'ऐतिहासिक' काम गर्दा ? उनले राम्रो महसुस भएको र यो रुट खुल्न सक्ने बताए। उनका अनुसार थोराङ्ला पासभन्दा माथि १६ हजार फिट जतिबाट हामी उडेका थियौं। उनले ट्विनअटर जस्तो नन प्रेसराइज्ड जहाजमा उड्नु स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने पनि बताएका थिए।

हुन पनि त्यो उचाइमा अक्सिजन कम भएका कारण मलाइ अलि अलि वाकवाकी भएजस्तो भएको थियो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


ट्याग्स

From Republica

new-traveld