Error
  • Error loading feed data.

Nagarik News Blog

Nagarik News Blog


'अनियमितता गरेको आरोपमा काभ्रे मालपोत प्रमुखलाई मातृका माओवादीका कार्यकर्ताले कालो मोसो दले।'केही साताअघिको यो घटना सबैजसो मूलधारे समाचार माध्यममा आयो। सोझै हेर्दा यसमा केही गल्ती छैन। तर भाषिकरूपमा हेर्दा यो वाक्यमा अनावश्यक शब्द प्रयोग भएको छ। मोसो कालै हुन्छ। जसरी ब्ल्याक बोर्ड भनिसकेपछि त्यसलाई कालो ब्ल्याक बोर्ड भनिरहनु पर्दैन, त्यसैगरी मोसोलाई कालो भनिरहनु पर्दैन। तर विडम्बना, सबै सञ्चार माध्यमले त्यही लेखे र विद्युतीय सञ्चार माध्यमले पनि यसैलाई भट्याए।

आजसम्म कसैले सेतो, हरियो वा अरू कुनै रङको मोसो सुनेको छ? अनि घरमा आमाले हाँडीको मोसो लेऊ बा भन्छिन् कि हाँडीको कालो मोसो माग्छिन्? अवश्य पनि हाँडीको मोसो। त्यसैले हाम्री अनपढ आमालाई पनि थाहा भएको शब्द पढे/लेखेका सञ्चारकर्मीले बिगारेर लेख्न/भन्न पाइन्छ? तर भइरहेको छ यस्तै।

खासगरी समाचार र लेख लेख्नेहरूले पाठकलाई सही सूचना वा सत्य कुरा पस्किरहेका हुन्छन् भन्ने मान्यता राखिन्छ। स्कुले बालबालिकालाई भाषा सुधारका लागि राम्रा पत्रिका पढ्न सुझाइन्छ। अनि लेखक बन्न चाहनेले पनि खबरपत्र निरन्तर पढिरहेका हुन्छन्। त्यसैले लेख्नेहरूले सूचनामात्र हैन, भाषामा पनि ध्यान दिनु जरुरी हुन्छ। जसबाट पाठकले धेरै अपेक्षा राखेका हुन्छन्।

तर हाम्रा सञ्चारमाध्यम भाषाप्रति चाहिनेभन्दा बढी उदार देखिन्छन्। उनीहरू यसलाई सही, सत्य र शुद्ध भन्दा 'एनिहाउ कामचलाउ' को प्रक्रियामा ढाल्न उद्यत छन्। त्यसैले उनीहरूले बारम्बार लेख्छन्- ....ले २५ वर्षीय महिलालाई जबर्जस्ती बलात्कार गर्‍यो। एक त यो सानो वाक्यमा बलात्कारको अगाडि अनावश्यक शब्द प्रयोग भएको छ। किनकि बलात्कार जहिले पनि जबर्जस्ती नै हुन्छ। कसैले सल्लाहले गर्‍यो भने त्यो बलात्कार नै हुँदैन। त्यसैले बलात्कार वा करणी शब्दअगाडि जबर्जस्ती शब्द घुसाउनु सरासर गलत हो। अर्कोतर्फ यही शब्दमा महिला शब्द पनि अनावश्यक रूपमा प्रयोग भएको छ।

दोस्रो वा तेस्रो लिंगीको सन्दर्भ पनि छ वा पुरुषलाई बलात्कार गरिएको हो भने त्यतिबेला यिनीहरूबारे उल्लेख गर्नुपर्‍यो। नत्र बलात्कार महिलामाथि नै हुने भएकाले सामान्य घटनामा बलात्कारअगाडि जबर्जस्तीमात्र हैन, पासविक, दानवीयलगायत शब्द पनि आवश्यक छैन। अर्कोतर्फ बलात्कार गरी दुर्व्यवहार गरेको कुरा पनि हामी लेखिरहेका हुन्छौं तर बलात्कार आफैंमा ठूलो दुर्व्यवहार भएकाले यसको अगाडि अरू दुर्व्यवहारले माफी पाउँछ। यस अर्थमा बलात्कारपछि आउने अनावश्यक शब्दमा पनि खासै ध्यान दिइएको पाइन्न।

शब्द थुप्रै छन्, जसले हाम्रै अन्जानका कारण कुनै गल्ती नगर्दा पनि सजाय पाइरहेका छन्। विना गल्तीवापत 'पटके' हुन बाध्य एउटा यस्तै शब्द हो- दोहोरो। सञ्चार माध्यममा पटकपटक आउँछ- दोहोरो भिडन्त भयो, दोहोरो सम्झौता खारेज भयो? आजसम्म दुनियामा कहीँ एकोहोरो भिडन्त भएको थाहा छ कसैलाई? हुनै नसक्ने कुरा कसरी थाहा होस्! त्यसैले हामी आफूले नजानेका कारण दोहोरो शब्दलाई जहाँ पायो त्यहीँ हालिदिएर ऊमाथि ठूलो अन्याय गरिरहेका छौं। कहीँ तीन वा त्योभन्दा बढी पक्षबीच पनि भिडन्त हुन सक्छ। यस्तो अवस्थामा यति पक्षबीच भिडन्त भयो भन्नेबाहेक अरू बेलामा हुने भिडन्त दुईपक्षीय नै हो भन्ने स्वतः थाहा हुन्छ। यस्तो अवस्थामा हाम्रो अन्जानको सिकार अर्को शब्दलाई बनाइरहनु जरुरी छैन।

आशंका अर्को धेरै अन्यायमा पारिने शब्द हो। 'नेपाली कांग्रेस र एमालेले माओवादीप्रति सधैं आशंका पालिरहनुको कारण उनीहरूसँग भएको हतियार र लडाकु नै हो'- सयौं लेख र समाचारमा आएका शब्द यस्तै हुने गर्छन्। आशंकाबाट आ हटाइदियो भने यो शब्द अपूर्ण हुन्छ? वा भन्न खोजिएको कुरा बुझ्न मुस्किल हुन्छ? अवश्य हुँदैन। त्यसैले शंकाले काम चल्ने ठाउँमा आ किन जोडिरहनुपर्‍यो भन्ने प्रश्नको उत्तर आवश्यक छ।

उद्घोषक भन्छ- उहाँलाई आफ्नो धारणा राखिदिनुहुन अनुरोध गर्छु। अनि बोलिसकेपछि बोल्ने मानिस भन्छ- मेरो आफ्नो भनाइ यहीँ टुंग्याउँछु। उद्घोषकले बोलाउनासाथ त्यत्तिकै थाहा हुन्छ कि बोल्ने मानिस आफ्नै धारणा बताउन आउँदैछ। त्यसैगरी उसले बोलिसकेपछि सबैले जान्दछन् कि बोल्ने मानिसले राखेको धारणा उसकै हो। त्यसैले उद्घोषक र बोल्ने मानिस दुवैले प्रयोग गरेका 'आफ्नो' का लागि यहाँ कुनै स्थान छैन। तर उद्घोषक र बोल्नेमात्र हैन, लेख्नेले पनि यसलाई जबर्जस्ती स्थान दिलाइरहेका छन्, मानौं- यो शब्द नराख्दा बरबादै हुन्छ।

कुनै किताब, लेख वा समाचार पढेपछि त्यसबाट धेरथोर जान्न पाउनु पाठकीय अधिकार पनि हो। तर हामीले लेखेका कतिपय कुराबाट उनीहरूलाई जान्ने हैन, बरु जानेको पनि हो कि होइन भनेर रन्थनिने अवस्थामा पुग्छन्। पढ्दा आफूले जानिरहेको विषय अर्कैरूपमा प्रस्तुत गरिएको रहेछ भने त्यतिखेर पाठक यो अवस्थामा पुग्छ। जब लेख्नेले मृत शव, मरेको सिनो, सुत्केरी आइमाई आदि लेखिदिन्छ, अनि पढ्नेका दिमाग चर्चराउँछ- कतै जिउँदो शव पनि हुँदोरहेछ कि, कतै नमरेकालाई पनि सिनो भनिने रहेछ कि वा पुरुष पनि सुत्केरी हुने नयाँ प्रविधि भित्रिएछ कि?

यस्ता शब्द असंख्य छन्, जसले पाठकमाथि त अन्याय हुन्छ नै, साथै लेखकीय क्षमता जान्न पनि सघाउ पुर्‍याउँछ। एउटा लेखकले गर्ने गल्तीबारे पाठकले धेरै पटक औंला ठड्याउने अवसर पायो भने उसको आगामी हैसियत के हुनेछ भन्नेबारे पनि लेख्नेहरूले सोच्नु जरुरी छ। शंकितले हुने ठाउँमा सशंकित, सम्मानले पुग्ने ठाउँमा ससम्मान र 'तीन वर्षदेखि' ले हुने ठाउँमा विगत तीन वर्षदेखि लेख्नेले के गतिलो लेख्ला भन्न सकिने ठाउँ प्रसस्त रहन्छ।

बुझिहालिन्छ वा चलिहालेको छ, किन धेरै टाउको दुखाउने भन्नेहरू पनि धेरै भेटिन्छन्। तर सवाल लेख्नेहरू सुधि्रन चाहन्छन् कि चाहन्नन् भन्दा पनि उनीहरूले पाठकमाथि अन्याय गर्न पाउँछन् कि पाउँदैनन् भन्ने हो। जसले पैसा तिरेर पत्रिका वा किताब किनेर पढिरहेको हुन्छ, उसमाथि हाम्रो कमजोरीका कारण यातना दिने अधिकार कुनै लेखकलाई हुन सक्दैन। त्यसैले गल्ती वा अनावश्यक लेखनकार्य न कुनै लेखकको नैसर्गिक अधिकार हुन सक्छ, न त पाठकले सधैं चुपचाप सहने विषय नै।

जसले जथाभावी लेखेर पाठकलाई यातना दिइरहेको छ र यसैलाई निरन्तरता दिन चाहन्छ, उसले 'रातिको नाइट बस' चढेर 'कागती हालेको लेमन टी' 'खान' पनि पाउँछ। अनि निमन्त्रणा कार्डमा 'मेरी आयुष्मती सुपुत्री सुश्री जीना शर्माको .... सँग हुने शुभविवाह' लेख्न पनि पाउँछ। तर नाइट बस राति नै चल्छ र कागती नहाली लेमन टी बन्दैन तथा विवाह सुश्रीकै हुन्छ, श्रीमती भइसकेकाको हैन भन्ने हेक्का नरहुन्जेल पाठककै कोटीमा बस्नु सिंगै मुलुकका लागि हितकर हुन्छ।

प्रतिक्रियाहरू (6)Add Comment
0
chandrashekhar sapkota
October 23, 2010
113.199.201.27
भोट: +3
...

kasto kurama dhyan duyeko..........kura thikai pani ho tara tapaiko kura ma sabai thik bhanihalna pani sakdina ma ta hai........

0
Manoj Lamichhane
October 23, 2010
180.180.178.199
भोट: +2
...

tehi ta Raghunath ji. kasto kura nabujhne haru, hagi? ए ए ए !! उम्लियो उम्लियो । ला...पोखिहाल्यो नि तेरो बाजे! खाइस् चिया अब !! - yesto po hunu parchha, style !!

0
suman dahal
October 23, 2010
113.199.230.173
भोट: -1
...

sarai ramro lekh lekhnu bhayecha raghunath ji.... sarai ramro...........

0
Bishnu
October 23, 2010
113.199.208.147
भोट: -1
...

lamichhaneji le ramro kura uthaunu bhayakoma dhanyabad.lekhak/patrakarharu bhasha prayog bare schet bhayar afna lekh rachanaharu pathak samaksha aaunuhola hai.

0
Raj koirala
October 23, 2010
114.74.16.201
भोट: -1
...

smilies/grin.gif really good article because you bring the real issue.

0
Dipak prasad
October 28, 2010
124.41.201.218
भोट: +1
...

Gajjab le dinu vayo, khusi lagyo,

Baru hamrai patrika ko vasa sampadan ma pani ali manchhe thapera vayeni suddi karan thalnu parla sir.

Chitta bujdo kuro ko lagi hardik dhanyabad.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


ट्याग्स

From Republica

new-traveld