Error
  • Error loading feed data.

Nagarik News Blog

Nagarik News Blog


सपना हो कि विपना भनेर नछुट्टिने अर्धनिद्रामा मालश्रीको मद्धिम धुन गुन्जियो। काठमाडौंबाट झापा हिँडिरहेको यो कबाडी बसमा मालश्री कसले बजाउँथ्यो? सोचेँ- सपनै होला!

धुन अलि चर्को हुँदै जाँदा बसको राम्ररी बन्द पनि नहुने सिसाको प्वालबाट छिरेको सिरेटोले मुखमा छोएपछि थाहा पाएँ- मालश्री आफ्नै प्यान्टको खल्तीमा बज्दै रहेछ। दसैंको जोसमा हिजै आफूले रिङटोन चेन्ज गरेको अहिले बिर्सिसकेछु।

कोसी ब्यारेज आउनै लागेको थियो।

पूर्वी आकाश भर्खरै बीस वर्ष पुगेकी केटीको गालाजस्तै रातो र चम्किलो थियो। उदाइनसकेको घामका किरणले छोएर सेता बादलहरू सुनौला भएका थिए। मैले बसको झ्याल पुरै खोलेँ, जिउमा हावाका कलिला झोँकाले बिस्तारै हिर्काए। रातभरको यात्राले गुम्म भएको बसको गन्ध मेरो झ्यालको बाटो वायुमण्डलमा मिसियो र हरायो।

खल्तीबाट फोन निकालेँ- स्त्रि्कनमा 'कपुर कलिङ' लेखेर नोकियाको पुरानो सेट भाइब्रेट गर्दै थियो।

कहाँबाट सम्भि्कयो यो केटाले यति बिहानै?

झन्डै दुई महिना भएको थियो, यो फुच्चे जोगीसँग मेरो सम्पर्क नभएको!

'ओए फुच्चे, के हो यति बिहानबिहानै?' फोन कानमा टाँस्दै म बोलेँ।

ऊ आफ्नो उही पुरानै स्टाइलमा हाहाहा... गर्दै हाँस्यो।

बोल्यो- के हो दाइ, दसैंमा घरसर जानुपर्दैन? अस्टमी भइसक्यो! सधैं कति टाँस्सिन सक्नुहुन्छ त्यही काठमान्डुमा?

'जाँदैछु यार, कोसी ब्यारेज पुगेँ, तिमीचाहिँ कहाँ बेपत्ता हो यत्रो दिन? कहाँ छौ आजकाल? के गर्दैछौ? साधुगिरीमा व्यस्त हौला, होइन?'

'हाहाहा... साधुगिरी! गज्जब वर्ड कोइन गर्नुभएछ दाइ। आध्यात्मिकताको महत्त्व नबुझुन्जेल मेरो व्यवहार तपाईंलाई साधुगिरी नै लाग्छ!'

'कहाँ छौ, भन न!'

'धनुषकोटी धाम भन्ने थाहा छ तपाईंलाई?'

मलाई यो नाम सुने-सुनेजस्तो लाग्यो। दिमागले तुरुन्तै क्लिक गर्‍यो- आमाले घरमा खुब नाम लिइरहने यो ठाउँ मेरै गाउँमा छ क्यारे! सुरुंगा र सताषिधाम गाविस सीमामा पर्ने दोमुखानजिकै इलाम जिल्लासँग जोडिएको डाँडाको फेदीमा सुकेडाँगीका गाउँलेले धार्मिक पर्यटकीय स्थल विकास गर्दैछन् भन्ने मैले आमाको मुखबाट सुनेको थिएँ। जाने जाँगर चलेको थिएन।

'हो... थाहा छ,' म बोलेँ।

'म एक महिनादेखि यहीँ छु दाइ, धामनजिकै एउटा झुपडी भाडामा लिएर कुटी बनाएको छु। यसपालि टिका भएन, त्यसैले घर धनगढी गइनँ। झापाकै एउटा साथीसँग घुम्न यता आएको थिएँ, तपाईंहरूको गाउँको यो ठाउँ खुब मन पर्‍यो। एक्जाम सकेर कलेज बन्द छ। एकदुई महिना यतै बस्ने विचार गरेको छु। आउनुस् न घर आएको बेला तपाईं पनि। कपुर कुटीको द्वार तपाईंका लागि जहिल्यै खुला छ। हाहाहा...।'

'गड! तिमी!'

मेरै गाउँमा घरबाट पाँचै किलोमिटरमात्र टाढा पर्ने तर म कहिल्यै नपुगेको धनुषकोटी धाममा यो फुच्चे जोगी कुटी बनाएर बसेको छ भन्ने सम्झेर म रोमान्चित भएँ। जिउमा काँडा उम्रिए।

'ल दाइ, ह्यापी दसैं, टिकाको भोलिपल्ट आउनू न एकपल्ट, भेट नभएको पनि धेरै भयो।'

'हुन्छ यार, म आउँछु नि, तिमीलाई पनि ह्यापी दसैं! बाइ!'

धान पाकेका फाँटको बीचैबीच बेतोडले दगुरिरहेको थियो बस। नाकमा ठोक्किएको हावा काठमान्डुको जस्तो गनाउने थिएन। म लामो सास लिएर फोक्सोका सबै छिद्रमा अक्सिजन पुर्‍याउने प्रयास गर्दै थिएँ।

भर्खरै पाकेर राजमार्ग किनारमा सुकाएको पाटाको गन्धले नाकैमा हान्दै थियो। मिलाएर रोपेजस्ता देखिने हलेदोका हुर्किएका बोटले फाँटै फूलबारीजस्तो भएको थियो।

उखुका झ्याङ देखिए।
केराघारी देखिए।
हरिया, पहेँला, काला धान देखिए।
आँपबगैंचा देखिए।
नरिवल र सुपारीका आकर्षक रूखले घेरिएका घरहरू आए।
सेता बादलले छोएका हरिया डाँडाहरू आए।
जंगलहरू आए।
सुग्घर पानी बगेका खोलाहरू आए।

गाउँ आयो।
...

त्यसै चम्केको थियो दसैंको गाउँ।

काठमाडौंतिरबाट आएका सयौं र अरबतिरबाट आएका सयपचास मान्छेले नवमीमा लागेको सुरुंगाको हटिया वर्णशंकर र रंगीन भएको थियो। अलिअलि गाउँ, अलिअलि काठमाडौं, अलिअलि अरब मिसिएको थियो बजारमा।

दसैंमा छोराछोरी घर नआएका बुबाआमा पनि दुःखी देखिँदैनथे। कसैका छोराले अरबबाट पैसा पठाएका थिए। कसैकी छोरीले जापानबाट लुगा पठाइदिएकी थिइन्।

कोही मेरो छोरो अमि्रका छ भन्दै रमाउँथे। छोरी अस्ट्रेलिया भन्दै मुख हँसिलो पार्थे कोही।

छोरा जर्मनी गएको खतिवडादाइ अस्ति भर्खर उसले घरमा लुगा, भाइलाई ल्यापटप र पन्ध्र सय युरो पठाएको गफ सुनाउन पाएर खुसी भएका थिए। थापादाइ लन्डनमा बस्ने छोराको दसैंछुट्टी नमिलेको तर माघेमेला भ्याउँदै एक महिना बस्ने गरी आउने सुनाएर दंग परेका थिए।

गाउँमा धमाधम नयाँ घर बन्दै थिए। भर्खरै एकजना लाहुरेले लिफ्ट हालेको छतले घर बनाएको थियो। हटिया भर्न आएका गाउँलेहरू टाउको ठाडो पारेर त्यो अग्लो घर दस मिनेटजति हेर्थे र साथीतिर हेरेर खिसिक्क हाँस्थे।

बाटो किनार झ्याम्म परेर फैलेका रूखले वातावरण शितल भएको थियो। निलो आकाशमा उडेका भँगेराहरू हेरिरहुँजस्ता लाग्थे।

बजारबाट मामाघरतिर जाँदा बाटामा थापिएका लिंगेपिङ मच्चाउन भुराहरू लाइन लाग्थे। ठूलामान्छेलाई लाइन बस्नु पर्दैनथ्यो। 'हट केटाकेटी हो' भनेपछि भुराहरू साइड लागिहाल्थे।

आडैमा लंगुरबुर्जाको खाल जम्थ्यो। केटाकेटीहरू 'झन्डी चार' भनिरहेका हुन्थे बेलाबेला। भएको दसबीस रुपैयाँ एकैछिनमा हारेर पिङको लाइनमा मिस्सिहाल्थे।

मैले नवमीको हटियामा काठमान्डुमै बस्ने तर त्यहाँ कहिल्यै सम्पर्कसम्म नहुने थुप्रै साथी भेटेँ। सबैको एकैखाले औपचारिकता हुन्थ्यो जसमा दुइटा प्रश्न हुन्थे। ती 'कहिले' शब्दबाट सुरु हुन्थे।

कहिले आयौ?

कहिले जान्छौ?

मानौं, जीवन आउनु र जानुमात्र हो!
...

एकादशीको बिहानै कपुरलाई सम्भि्कएँ। माइखोलाको चिसो पानी सम्झेर जिउ कुतकुतायो। योपालि त जसरी भए पनि धनुषकोटी धाम जान्छु-जान्छु भनेर मनलाई भनेँ।

भोलिपल्टै काठमान्डु जानुपर्ने सम्झेर मन विरक्तिएको थियो। सम्झाएँ- काठमान्डु तेरो यथार्थ हो, गाउँ सपना! आजको २४ घन्टा सपनाको भोग गर् भाइ!

चार बजे बिहानै घरबाट निस्केँ। राजमार्ग सुनसान थियो। बसहरू पनि थाकेका थिए। लामो सास लिँदै, लामा पाइला चाल्दै माइपुलतिर लम्केँ।

नेपालकै लामो कन्काइ नदीको यो पुलबाट उज्यालो हुँदै गरेको संसार हेर्दा बाँकी दुनियाँ 'बाल मतलब' लाग्दैन थियो। चारैतिर फैलेको हरियालीमा छाती फुलाएर बगेको चौडा नदीको आवाज पुलसम्मै सुनिन्थ्यो। हावाले बिस्तारै जिउलाई कसरी छुन्थ्यो भने केटाकेटीका नरम हातले कुतकती लगाएजस्तो हुन्थ्यो।

म नदीमा उत्रिएँ र चिसो पानीले जिउ पखालेँ। किनारको जंगलैजंगल नदीको मुखतिर लागेँ जहाँ धनुषकोटी धाम छ भन्ने सुनेको थिएँ।

नदीकिनारको महक बेग्लै थियो। काठमान्डु सम्झेर बेलाबेला वाक्क लाग्नेबाहेक बाँकी मन स्फुर्त थियो। म रनिङ सुज हातमा बोकेर बगरैबगर दोमुखातिर दौडिएँ।
...

धनुषकोटी धाममा तपाईंलाई स्वागत छ
सानो बोर्ड देखियो। एकजना बाजे धुनी जगाउँदैथे। महाराज भन्दा फुरुंग पर्ने सेवक दुध लिन गाउँतिर गएका रहेछन्।

कपाल पछाडि फर्काएर कोरेका बाजेलाई मैले 'कपुरलाई चिन्नुहुन्छ' भनेर सोधेँ। उनी बोलेनन्, संकेतले डाँडाको अर्को कुनातिर देखाइदिए।

भर्खरै उदाएको घामको प्रकाशले नदीको पानी टल्किएको थियो। काँसघारी सेतो कपासको सोफाजस्तो लाग्थ्यो। दोमुखातिर अलिअलि मान्छे कल्याङमल्याङ गर्दैथे। म काँसघारीको बीचैबीच बाजेले देखाएको दिशातिर बिस्तारै लम्किएँ।

अलिपर एउटा रूखमा 'कपुर कुटी' लेखेको ए-फो साइज कम्युटर प्रिन्ट टाँसेको थियो।

दस मिटरजति अगाडि कमेरोले लिपेको कुटी देखियो। मुस्किलले आठ बाइ दस साइजको! यही होला कपुर कुटी भन्ठानेर बिस्तारै ढोका ढक्ढक्याएँ।

एकदिनपछि ढोका घर्‍याक्क उघि्रयो।

धोती बेरेर स्यान्डो लगाएको कपुरको जनै बाहिरै देखिएको थियो। उसले इन्डोनेसियाली मसिनो रुद्राक्षको माला लगाएको थियो।

मलाई देखेर उसले आफ्नो चम्किलो अनुहार अझ चम्कायो। मुस्कायो र बिस्तारै बोल्यो- ओ...म...!
...

म कुटीभित्रै छिरेँ।

भुइँमा सानो ओछ्यान थियो। कुनामा मोटो चकटी। माटोको भित्तामा शिवजीको ठूलो तस्बिर टाँगिएको थियो। म ओछ्यानमै बसेँ।

उसले नबोलीकनै कालो चिया पकायो र चाइनिज माटोको कपमा हालेर मेरो अघिल्तिर राखिदियो।

हाम्रा आँखा जुधे। म मुस्काएँ। ऊ पनि मुस्कायो।

'क्या हो बाबु?' म बोलेँ।

ऊ मुस्काइरह्यो।

'कहाँको मान्छे कहाँ पुगेर कुटी पो बनाएर बसिरहेका छौ त!' मैले थपेँ।

ऊ एकछिन केही बोलेन।

कुटीको सानो झ्याल खोल्यो र सिरानमुनिबाट सूर्य चुरोटको प्याकेट निकाल्यो। झ्यार्र काँटी पारेर एक खिली चुरोट सल्कायो। लामो सर्को तान्यो र झ्यालबाहिर नदीतिर फुर्र धुवाँ उडायो।

बल्ल बोल्यो!

'आम इन्जोइङ दाइ। लाइफ इज ब्युटिफुल एट धनुषकोटी धाम फर कपुर योगी!'

गड, यो मान्छे!

'म अहिले गाउँ थेरापी गरिरहेको छु दाइ। योर प्लेस इज रियली ब्युटिफुल, थेराप्युटिक! आम लभिङ इट।'

म गाउँमै हुर्केर २० वर्षसम्म बिताएको मान्छेलाई ऊ मेरो गाउँको विशेषता पढाइरहेको थियो।

'मैले सहरमा के गरिनँ? ड्रग्स खाइनँ कि! गाँजा तानिनँ कि! रक्सीले मातेर सडकमा पिसाब फेर्दै हिँडिनँ कि! ठमेलका सस्ता नगरवधुहरूसँग रात बिताइनँ कि! शरीर टक्सिनले भरेँ दाइ। मलाई माफ गर्नुस् तर म तपाईंको गाउँमा आएर आफूलाई डिटक्सिफाइ गर्दैछु। मेरो फोहोर माइखोलामा पखाल्दैछु, दिनदिनै।'

म सुनिरहेँ।

'बडी त डिटक्सिफाइ हुँदै थियो। यहाँ आएर म माइन्डलाई पनि टक्सिन फ्री बनाउन प्रयास गरिरहेको छु।'

मैले आफूले तानेका हजारौं खिली सूर्य चुरोट र सयौं लिटर रक्सी सम्झेँ। काठमान्डुको प्रदुषणमा सास लिँदै हिँडेका लामा दिन मेरा आँखाअघिल्तिर आए। ती प्रदुषण शरीरका भित्री भागमा कसरी टाँस्सिएर बसेका होलान् भन्ने कल्पनाले मेरो आङ सिरिंग भयो। घलेदाइको हजारौं सिल सेकुवा र कुसुन्तीको धराने कालो बंगुर रेस्टुराँका सयौं किलो रातो मासु मेरो जिउमा कसरी विष बनेर बसेका होलान् भन्ने सोचेर म छटपटिएँ।

बिस्तारै बोलेँ, 'अनि कसरी बित्छन् तिम्रा दिन यहाँ?'

'बिहान चार बजे मेरो दिन सुरु हुन्छ, साँझ आठ बजेसम्म!'

'के के गर्छौ?'

'चार बजे उठेर अघिल्लै दिन तामाको भाँडोमा राखेको एक लिटर पानी प्युँछु। फ्रेस भएर धनुषकोटी धाम जान्छ्ु। एक घन्टा मेडिटेसन गर्छु। एक घन्टा प्राणायाम र आसन गर्छु। माइखोलामा गएर नुहाइधुवाइ सकेर आठ बजेतिर नास्ता खान्छु।'

'अनि?'

'त्यसपछि पहाड चढ्छु। जंगलतिर एक्लै बरालिन्छु। मन लाग्यो भने ध्यान गर्छु। नत्र रूख चढेर हाँगा मच्चाउँछु। धनुषकोटी धामकै महाराजकहाँ महिनावारी खाना खान्छु, महिनाको पाँच हजार तिरेर। १२ बजेतिर कुटी झर्छु।'

मलाई रमाइलो लाग्यो।

'दिउसो दुई घन्टाजति कुटीभित्रै आराम गर्छु। त्यसपछि नदी किनारमा दरी ओछ्याएर मस्त किताब पढ्छु।'

'अहिले के पढ्दैछौ?'

'चोम्स्की।'

'बाफ रे, चोम्स्की? उसको के?'

'चोम्स्की- सेलेक्टेड रिडिङ्स भन्ने पुरानो किताब पढिरहेको छु। अस्ति उसको 'द कल्चर अफ टेरोरिजम' पढिसिध्याएँ। अरू तीनचार वटा उसका किताब छन् ब्यागमा।'

'ओहो, तिमी धनुषकोटी धाममा बसेर चोम्स्कीका थ्यरी पढिरहेका छौ?'

'संसार बुझ्नु सबभन्दा जरुरी छ दाइ। त्यसका लागि सबैभन्दा पहिला आफैंलाई बुझ्नु जरुरी छ। म आफू र संसार बुझ्ने प्रयास गरिरहेको छु अहिले। सहरले तपाईंलाई बिनाकाम व्यस्त बनाउँदोरहेछ। शरीर र मनमा नानाथरि तत्व भर्दोरहेछ- प्रदुषण, कोलाहल, विकार, रोग। गाउँले ती सबै खराबी निकालेर फ्याँक्दोरहेछ दाइ। पहिले चोम्स्कीको नाम सुन्दा हाँस्ने मान्छे म, गाउँले उसका किताबमा रमाउने गुण विकास गरिदियो।'

ओसोका किताबमा रमाउने यो फुच्चे चोम्स्की पनि उस्तै मन लगाएर पढ्दोरहेछ भन्ने थाहा पाउँदा म छक्क परेँ।

ऊ भन्दै थियो, 'ल्यापटपमा एनसेलको नेट जोडेको छु। न्युयोर्क टाइम्स पढ्छु। इन्डियन एक्सप्रेस पढ्छु। तपाईंको नागरिकन्युजसँग पनि अपडेट भइरहन्छु। साथीभाइसँग सम्पर्कमै हुन्छु। बेलाबेला फेसबुकमा स्टाटस अपडेट गर्न भ्याउँछु।'

'साँझमा के गर्छौ?'

'मसला चिया पकाउँछन् महाराजले चार बजेतिर। त्यो खाएपछि एकछिन नदीतिर टहलिन्छु। पारीको गाउँमा डुल्न निस्कन्छु।'

'त्यसपछि?'

'साँझमा एक घन्टा ध्यान गर्छु। म्युजिक सुन्छु। आफ्ूलाई मन पर्ने सिनेमा हेर्छु कहिलेकाहीँ। हिजो एघारौंचोटि 'सोले' हेरेँ। खाना खाएर एक घन्टाजति नेट चलाउँछु र आठ बजे ओछ्यानमा घुसि्रसक्छु।'

'काठमान्डु मिस हुँदैन?'

ऊ हेलाको भावले हाँस्यो।

'काठमान्डु मिस हुने रे! तपाईं आउनुस् न मसँग एक हप्ता, काठमान्डु त होइन, न्युयोर्क पनि मिस हुँदैन यहाँ।'

'चाहिने सामान कहाँबाट ल्याउँछौ?'

'यहाँबाट ठ्याक्कै पाँच किलोमिटर पर्छ सुरुंगा बजार। दुईदुई हप्तामा धनुषकोटी धामका महाराजको साइकल लिएर बजार जान्छु र चाहिएका सामान किनेर फर्कन्छु।'

'वाह!' मेरो मुखबाट फुत्क्यो।

तत्कालै भोलिपल्टै काठमान्डु जानुपर्ने सम्झेर दिक्क लागेर आयो।
...
राति सपनामा कपुर हाँस्दै थियो- मतिर हेरेर!

भन्दैथ्यो- काठमान्डुमा के छ दाइ जसले तिमीलाई जहिल्यै तानिरहन्छ? दसैंजस्तो चाडमा पनि तिमीलाई जम्मा चार दिन फुर्सद छ। कहिले हुन्छ तिमीलाई सातापन्ध्र दिनको छुट्टी? कहिले घुम्छौ गाउँ? कहिले भर्छौ फोक्सोभरि अक्सिजन?

थप्यो- किन आउँदैनौ गाउँ? किन बनाउँदैनौ मेरै छेउमा एउटा कुटी र एकछिन अडिएर जिन्दगीलाई हेर्ने प्रयास गर्दैनौ?

म सपनामै उदास भएको थिएँ। काठमान्डुमा मैले दस वर्ष लगाएर बनाएको करिअर र सपनाको एउटा जागिर थियो जसले हरदम मलाई तानिरहन्थ्यो।

अर्को दिन बिहानै पाँच बजे चढेको अर्को कबाडी बसको झ्यालबाट माइखोलाको हावा कानैमुन्तिरबाट सिरिर्र गर्दै भित्र छिर्‍यो। मैले टाढा पहाडहरूतिर हेरेँ। दुर पहाडमा मसिनो थोप्लोजस्तो धमिलो धनुषकोटी धाम देखियो। मैले आँखा चिम्लेँ।

कपुर त्यहाँ मस्तसँग ध्यान गर्दै माइन्ड डिटक्सिफाइ गरिरहेको होला!

मचाहिँ शरीरमा टक्सिन थप्न काठमान्डु जाँदैछु।


प्रतिक्रियाहरू (5)Add Comment
0
The Ocean
October 23, 2010
74.119.166.60
भोट: +1
...

Manoj ji, I like your article. hope this is the real artical, right? What about the income source of Kapur Yogi? you forget to mention that.if you mention that that's the better for your article.
Thanks

0
pasodev
October 23, 2010
78.101.70.17
भोट: +0
...

ekdami romro lagyo ali lamo rahecha pachi pura padne chu

0
Yuba Raj Devkota
October 24, 2010
202.70.94.132
भोट: +0
...

I Liked the article; Its always better for a person to do Agricultural business in village than to suffer with salaried job in kathmandu.....

Keep it up! Hope to see such articles again from you!

0
Yuba Raj Devkota
October 24, 2010
202.70.94.132
भोट: +0
...

Liked your article! Its always better to do some Agricultural business in Village than to suffer with Salaried job in Kathmandu.

Hope to see some more such articles from you!

0
Himalee
October 25, 2010
219.76.239.106
भोट: +1
...


I wish I could be there too just beside the Kapoor's kuti but,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


ट्याग्स

From Republica

new-traveld