Error
  • Error loading feed data.

Nagarik News Blog

Nagarik News Blog


काठमाडौँमा घर भएको मध्यम परिवारकी एक्ली बुहारी। त्यतिमात्र हैन आफ्नो नातागोताकै एक्ली बुहारी। त्यसमाथी दशैको समय। सबैजना बुहारी बुहारी भनेर माया गर्छन्। घर परिवारमा होस वा घर पट्टिको नाता गोतामा, सबैजना एउटी बुहारी भन्दै खानपानको लागि भन्छन्। त्यति भनेपछि बोलाको ठाउँमा नजाउँ भएन, बढेकी बुहारी भन्लान् भन्ना पिर। जाउ त बुहारी भन्दै भान्छातिर लग्छन्। अनि कुरा गर्दै लान्छन्, पहिलेको ध्वाङ्गप्वाल भनौ वा अहिलेको बेसिन तिर।

जहाँ केही नभएपनि दुई चारवटा भाडा त हुन्छ हुन्छ। नरहे पनि दशैँको समयमा खाँदा वर्दा दुई चारवटा भाडा भइ नै हाल्छ। यस्तोमा लाजगालले र बुहारी भएको नाताले पनि आफूले खाएको भाडा माझेर भएन, भएको सबै माझ्नै पर्‍यो। साथमा अरु काम छ कि भनेर पनि सोध्नै पर्‍यो। सोधे पछि भन्नेले पनि भन्नै पर्‍यो। अनि त दिएको काम गर्नैपर्‍यो।

कुरा यतिमा मात्र सिमित भए त चित्त पनि बुझ्दो हो। घरमा पनि बिहानको खाना बनाउनै पर्‍यो, घर चुलोचौको पनि गर्नेपर्‍यो। त्यतिमात्र नभएर घरमा खान आउनेहरुलाई सत्कार पनि गर्नैपर्‍यो र उनीहरुको सत्कार सकिन नपाउदै उनीहरुले आएका भाडा डुँगुर भाडा पनि माझ्नै पर्‍यो। त्यसपछि त भाडा माझ्दामाझ्दाको सास्ती। कति माझ्नु त्यो भाडा कहिल्यै नसकिने। बल्लबल्ल अब त सकियो कि भन्यो, फेरी अर्को खेप सुरु। सुन्दा अचम्म लाग्ला। तर यो अनुभूति मेरो मात्र हैन। सायद काठमाडौ घर हुदै सबैले यस्तै अनभव गर्दा हुन्। बाहिर जानेहरु त दशैँको टिकाको दुई दिन अगाडिमात्र घर जान्छन् र टिका सक्किन नपाउँदै फेरि काठमाडौ फर्किन्छन्। तर हामी काठमाडौका रैथाने भनाउँदाहरु। दशैँ सुरु भएपछि माइत बस्नु हुन्न भन्छन्, घरमै बसौ भने पाहुना पासाको कमी हुन्न। यस्तोमा फेरि न त काम गर्ने मान्छे नै बस्छन्, र न त कोही सघाउने नै भेटिन्छन्। कस्तो विडम्बना।

म बुहारी एक्लो छोरो भएको आमाको एक्लो बुहारी। घरमा ससुरा खलकहरु त धेरै छन्। तर त्यसमा कसैको छोरीमात्र छन् त कोही छोरा सानै। विवाह भएको छोरोको त म मात्रै बुहारी। कहिलेकाही सम्झन्छु, म कस्तो बुहारी।

बुहारी त बुहारी। दशैको समय अझै बढी महत्व बोकेकी म बुहारी। घटस्थापनादेखि नै नैबेद र दशैको लागि फुरोन्नाना लगायतको परिकार बनाउन सुरु। त्यही बेलादेखि काम गर्ने समेत घरतिर लाग्ने बेला। त्यस्तोमा म बुहारी। अरु बुहारी जस्तो चारै बजे उठ्न नसक्ने बुहारी वा भनौ अल्छी बुहारी। बल्लबल्ल छ बजे आखा खुल्छ। बाथरुम जान लाग्यो फेरी बुहारी। भान्छामा गयो चिया पकायो, खाना बनायो, भाडा माझ्यो। दुई मिनेटको लागि आफ्नो कोठामा झरेर थुचुक्क बस्न खोज्यो, कमजोर बुहारी। अनि हासो लाग्छ र सम्झन्छु आखिरी म कस्तो बुहारी। त्यसपछि कोठा सफा गर्‍यो, भान्छामा गयो, बाकी थाल, कचौरा माझ्यो छिटो छिटो माझ्यो, चुलो पुस्यो, सबै काम चाडै चाडै सक्कायो र आज काम कत्ति छिटो तरीकाले सक्काए भनेर मनमनै दङ्ग पर्दै कोठामा छिर्‍यो। फेरि बुहारी।

अब दशैको समय। मासु पकाउनेदेखि टिका लगाउन आउनेसम्मको घुँइचो। त्यस्तोमा फेरि बुहारी। कहिलेकाही त लाग्छ, संसारमा मै मात्र रैछु क्यार यस्तो बुहारी। तर हैन। दशैको समय, माइत, मामाघर दिदीबहिनी, फुपु, मावली, मामा ससुरा, सानीमा सासु सबैको घर गइयो।सबैको समस्या पो यस्तै रैछ। कोही एक्ली बुहारी त कोही जेठी, माइली र कान्छी।
मेरो एक जना दिदी घरकी जेठी बुहारी। घरको जिम्मा लिएकी बुहारी। यसो गर जेठी बुहारी उसो गर जेठी बुहारी। अर्की माइली बुहारी। जेठानीलाई भन्न मिलेन, कान्छीलाई सघाउनै पर्‍यो। फेरि अर्की दिदी त्यस्तै कान्छी बुहारी। आजमात्र उसको घर गएको। जेठी जेठानी कान्छी छँदैछ भनेर उपत्यकाबाहिरका नातामा टिका थाप्न गइछन्, अर्की दशैको अवसरमा विदेश घुम्न। यस्तोमा ऊ कान्छी बुहारी। घरमा आउने नाता पासालाई खुवाउने, उनीह्रुले आएको माझ्ने देखि सबैको जिम्मा उसैको रहिछ। त्यसमाथी उसको नातागोता पनि खलल्यै। भन्दै थिई,...हेर भाडा माझ्दा माझ्दा हैरान भइयो। दिक्कै लागिसक्यो के गर्ने होला?'। उसको यो कुरा सुनेर हासो लाग्यो। कसरी भन्नु आफै वाक्क भएर छिटो छिटो काम गरेर दिदिकोमा आएको भनेर। केही भनिन्। हास्दै अहिले त हो नी गर्ने भनेकै भनेर हिडे। त्यसपछि अर्को आफन्तकोमा घरमा गए। त्यसमा म छोरी भनौदी। आफूले आएकोे छोड्न मिल्ने। तर उनी फेरी कसैकी बुहारी। म लगायत हामी त्यहा गएर मज्जाले खायौ आर्‍यौ रमाइलो गर्‍यौ। तर उनी त त्यही घरकी बुहारी। विचरालाई कत्ति सास्ती।मेरो लागि पो उनी मेरो आफन्त र म उनकी। तर उनको घरमै पगेपछि हामीले यतिमा चित्त बुझाउन मिल्यो र? उनले त बुहारी भएकै कारण पकाउनै पर्‍यो, दिनै पर्‍यो लगायत धेरै कुरा।

अनि अचम्म लाग्यो। म छोरी हुदा र बुहारी हुदाको फरक। छोरी हुदासम्म सिन्को नभाच्ने म। मैले एउटा गिलास मात्र बेसिनमा लगे भनेपनि दिदी बहिनीहरुले यसले त धेरे काम गरी भन्थे। भाउजुहरुले पनि केही गर्न दिनु हुन्नथ्यो। सबै म नै गर्छु भन्नुहुन्थ्यो। फेरी मैले केही गरे भने पनि आमा बुवाहरु नन्दलाई कता काम लगाउदैनन् भन्नु हुन्थ्यो। त्यति भनेपछि म पनि दङ्गै पर्थे केही काम गर्नु परेन भनेर। अनि विषेषगरी दशैको समय घटस्थापना सुरु भएपछि घरमा फुरोन्नाना लगायत पकवान पाक्न सुरु हुन्थ्यो। भाउजुले त्यो सब बनाको कति मिठो। छिनछिनमा चाखेर प्लेट जति बेसिनमा हाल्येा र हिड्यो। भाउनु भने भाडा कम गर्न भन्दै ती भाडाहरु ननस्टप माझ्दै खाना पकाउदै गर्नु हुन्थ्यो। तर आफूलाई भने भाउजुले भाडा कम गर्न भनेपछि कताकता रिस उठ्थ्यो। यति काम गर्न पनि के भनेको होला जस्तो लाग्थ्यो। उहाको दुखाई, गार्‍हो महसुस नै हुन्नथ्यो। लाग्थ्यो भाउजुले त गर्नु पहिाल्यो नि। संसार पनि त्यतिमै सिमित लाग्थ्यो। आमाहरु पनि यो गर बुहारी, त्यो गर बुहारी भन्नु हुन्थ्यो। त्यति भनेपछि आफू पनि के कम विहानै खाटमा चिया ल्ायउनु पर्‍यो भन्थे। एकछिन ढिलो भयो भने कम्पारा तातेर आउथ्यो। खानेबेला भएपछि मात्र भान्छामा गइन्थ्यो। खाएपछि फेरी जिउका तिउ। भाडा त्यही राख्यो र हिड्यो। विचरा भाउजु केही नभनी गर्नुहुन्थ्यो।

अहिले मेरो विवाह भयो, कसैको भाउजु भए त कसैको बुहारी। विहानदेखि काम गर्छु। थकाइ लाग्छ।कसैलाई भन्न मिलेन। आफैभित्र घुटघुट भएर बस्यो। त्यतिकैमा दाई भाउजु मम्मीहरुको फोन आउछ। दुई चार दिन यतै बस भन्नु हुन्छ। दङ्ग पर्दै माइतीतिर छोरीको व्यवहार पाउन। सबै जना माया गर्छन् नानी तलाई गार्‍हो भयो कि भन्छन्, दिदीबहिनी लगायत तिनै भाउजु पनि कहिले नगरेको काम कसरी गरेको होला भनेर सहानुभूती दिनुहुन्छ। आमाबुवाहरु मलाई नै सुम्सुम्याउनु हुन्छ। अचम्म लाग्छ। म त त्यो घरको एक्ली बुहारी। सघाउने मान्छे सबै छन्। काम पनि मेरो लागि नै भनेर कहिल्यै कसैले साचेर राख्दैनन्। त्यही पनि आफूलाई बाकी रहेको काम धेरै जस्तो लाग्नु स्वभाविकै हो। घरको काम गर्‍यो , अफिस गयो, घरमा खाना ठिक्क पारिदिएको हुन्छ, खायो, भाडा भोलीलाई राख्न विहान उठ्यो तिनै दिन चर्या सुरु। अघिल्लो दिनको खानाको भाडा माझ्यो, खाना पकायो, चुलो पुस्यो र फेरी एकछिन बसेर अफिस। त्यसबीच तरकारी काटिदिने, बेलुकीको खाना बनाईदिने, नभ्याएको बेला कुचो लगाइदिने भुई पुछिदिने लगायत म नभएको बेलाका भाडाहरु अरुले पनि त माझिदिन्छन् नि। तर मलाई भने मेरै काम धेरैभए जस्तो।


यति सम्झदै भाउजुको मुख हेर्छु। विचरा उनी पनि त कसैकी छोरी हुन् उनलाई पनि त गार्‍हो हुदो रहेछ भन्ने लाग्छ। तर यी कुरा मलाई पहिले आफू छोरी हुदासम्म कहिल्यै लागेन। मेरो आमा लगायत उनलाई बुुहारी भन्नेहरुलाई पनि यो कुरा नलाग्दो हो। तर अहिले म बुहारी भएपछि उनको दुख, उनले गरेका संघर्ष सम्झन्छु।कहिल्यै केही नभनी म लगायत मेरो परिवारको हरेक चाहना र काम खुरुखुरु गर्ने उनलाई देखेर ग्लानी महसुस गर्छु। अनि महसुस गछु बुहारी र छोरी हुदाको फरक र त्यसलाई हेर्ने हाम्रो समाजको दृष्टिकोण।

 


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


ट्याग्स

From Republica

new-traveld