Error
  • Error loading feed data.

Nagarik News Blog

Nagarik News Blog


मंसिर लागेपछि महानगर चिसो हुन थालेको छ। अब माघ नसकिन्जेल काठमान्डुमा चिसो घट्दैन। महानगरवासीसँग यी तीन महिनाका लागि एउटै उपाय छ- चिसो सेलिब्रेट गर्ने। यसरी सेलिब्रेट गर्ने कि चिसोलाई नै गर्मी हुन थालोस्!

कसरी?

आ-आफ्ना तरिका हुनसक्छन् :

बिहान ढिलोसम्म सिरकमा गुट्मुटिएर पत्रिका वा किताब पढ्ने।
डिस्को म्युजिकमा एक घन्टा जिउ हल्लाउने (भनौं नाच्ने)।
शारीरिक व्यायाम बढाउने।
हिँड्ने, दौडने।
दिउँसो घाम ताप्दै सुन्तला र बदाम खाने।
कफी, चिया, तातोपानीको मात्रा बढाउने।
खाजामा सुप, थुक्पा वा अन्य तातो झोलिलो पदार्थ बढी लिने।
एभरेस्ट मोमो (वा अन्त कतै) गएर डेढ प्लेट तात्तातो मोमो खाने।
कृष्णमन्दिर (वा अन्त कतै) गएर बारा, पिरो आलु र चटामरी खाने।
साँझमा सुकुटीसँग तोङ्वा तान्ने।
कतै गएर दुई पेग ब्रान्डी, रम, ह्विस्की वा भोड्का प्युने।

आम्मै! यसरी लेख्दै जाने हो भने सूची धेरै लामो हुने रहेछ।
संक्षेपमा भन्दा, चिसो सेलिब्रेट गर्ने आ-आफ्नै मौलिक विधि हुन सक्छन्।
जस्तो कि यतिखेर म बानेश्वर बेकरी क्याफेको गार्डेनमा छु, पारिलो घाममा ढाड सेकाएर हटलेमन विथ हनीको सिप लिँदैछु।
कसैलाई पर्खिरहेको छु तर पर्खाइमा कुनै छट्पटी छैन। साढे एघार बजे क्याफे भरखरै खुलेको छ। किचेन, टेबलतिर कल्याङमल्याङ छ। गार्डेनमा म एक्लै छु। मन शान्त छ। घामले यसैगरी ढाड सेकाइरहुँ, हटलेमन केहीबेर नसकियोस्, अपराजिता अहिल्यै नआइदेओस् भन्नेबाहेक अरू कुनै विचार छैन।
हटलेमन नसकिँदै ऊ आई।
परैबाट चिच्याई, 'हाई।'
मैले हात हल्लाएँ।
एहे, यो त निकै राम्री पो रैछे।
सयाँलबाट घामतिर आउँदै गर्दा मैले देखेँ- फरफर गर्दै गरेका कपाल, पस्मिनाको बैजनीरङे मफलर, जिउमा टिमिक्क टाँसिएको खरानी रङको रिबोक ज्याकेट, गाढा निलो जिन्स र कन्भर्स सुजमा ऊ गजब देखिएकी थिई।
शरीरको बनोट- खिरिलो।
उचाइ- पाँच फिट दुई इन्च।
उमेर- २६ वर्ष।
वजन- करिब ४५ किलो।
दैनिक एक घन्टा योग, आधा घन्टा ध्यान र अल्टरनेट डेमा डान्स वा टे्रड मिल जगिङ गर्छु भन्थी। गर्मीमा स्विमिङ जान्छे रे।
मेरो टेबलमा घाम अझै पारिलो भएर आयो। गार्डेनमा सुगन्धी अत्तर फैलियो। मलाई हटलेमनको महले मात लागेजस्तो भयो।
ऊ टेबलनिरै आइपुगेपछि म उठेँ र हात मिलाएँ। आफ्नो हात खस्रो भएकामा भित्रभित्रै लाज लाग्यो। उसका गुलाबी हात गुलाबभन्दा नरम थिए।
पहिलोेपल्ट भेट्दै थियौं। अनलाइनमा दुई वर्षदेखि कुरा भए पनि, फोन साटासाट भएर कहिलेकाहीँ संवाद हुने गरे पनि, एकअर्कासँग सामान्य जिस्किने गरे पनि भेट्ने संयोग जुरेको थिएन।
फेसबुक मित्र कुर्सीमा बसी र मेरो अनुहारमा हेरेर हाँसी।
बोली, 'तिमी त फोटोमा भन्दा तक्लु रै छौ!'
ऊचाहिँ फोटोमा भन्दा राम्री देखिएकी थिई।
म पनि हाँसे। तीक्ष्णता प्रस्तुत गर्ने प्रयास गरेँ, 'बौद्धिकताले नि। तिमीलाई थाहा छैन, बौद्धिक मान्छेहरूको कपाल चाँडै झर्छ।'
तुरुन्तै जवाफ फर्काई, 'होला। त्यही भएर अस्ति पालुङटारमा मैले देखेको- तिमीहरूको पत्रिका (नागरिक दैनिक) मा काम गर्ने फोटो पत्रकारको तालु टल्केको होला। बाबुराम भट्टराईचाहिँ बौद्धिक नभएर तक्लु हुन नसकेका होलान्।'
मैले सकिनँ यो 'जिरी'लाई भन्ने लाग्यो।
भनेँ, 'छोड्देऊ। भन न, तिम्रो पालुङटार टि्रप कस्तो भयो?'
'गज्जब, एक्स्लेन्ट, मार्बलस, ब्युटिफुल,' उसले एकै सासमा भनी र थपी, 'केही मगाउँदैनौ?'
'के खान्छौ?'
'एनिथिङ द्याट मेक्स मी वार्म।'
'कफी?'
'ह्मम... यस... ब्ल्याक... एन्ड अ प्लेट अफ चिकेन मोमो।'

...
आज मलाई उसको इन्टरभ्यु गर्नु छ। इन्टरभ्यु भन्नाले अनौपचारिक कुराकानी।
अघिल्लो शनिबार पालुङटारबाट फर्कंदै मैले यसपालिको काठमान्डु कथा माओवादीको विस्तारित बैठकमै केन्द्रित भएर लेख्नुपर्ला भन्ने सोचेको थिएँ। तर, हिजो बुधबारसम्म कुनै गतिलो पात्र नभेटेपछि मलाई के लेख्ने भनेर फुरेकै थिएन।
राति साढे नौ बजे अफिसबाट घर पुगेर जुत्ता फुकाल्दै थिएँ, उसको फोन आयो।
'हे... ब्युटिफुल लेडी...' मैले हेलो-सेलो भनिनँ।
'हाई, के छ?'
'ठिकठाक, तिम्रो?'
'मेरो पनि गज्जब छ। आजै पालुङटारबाट फर्केको।'
'ए...।'
'खासमा मैले अहिले फोन गरेको चाहिँ... अस्ति शुक्रबार चार बजेतिर तुरतुरेमा तिमीलाई देखेजस्तो लाग्यो। फोटोमा देखिरहेको तिम्रो अनुहार मैले चिनिहालेँ। तिमी एउटा बाइकको पछाडि बसेर डुम्रेतिर गइरहेका थियौ। म बेसीसहर जान बस कुरिरहेकी थिएँ।'
'ए... हो र, बोलाउनुपर्थ्यो नि?'
'मैले हेर्दाहेर्दै तिम्रो बाइक कटिहाल्यो, फोन ट्राई गरेँ, लागेन। तिमी त्यही दिन फर्केको?'
'होइन, त्यो दिन हामी बन्दीपुर बस्यौं। माओवादी बैठकको रिपोर्टिङ गर्न अफिसका अरू साथी गएका थिए। हामी भोलिपल्ट बिहानै फर्र्क्यौं। तिमी कति दिन बस्यौ त पालुङटार?'
'एक हप्ता। म बिहीबारै गएको थिएँ।'
'ए... उपन्यासको चक्कर हो?'
ऊ हाँसी र भनी 'हो... एफएमलाई रिपोर्टिङ पनि गर्नु थियो।'
काठमान्डुको चल्तीकै एफएममा काम गर्ने ऊ माओवादी जनयुद्ध र यसले समाजमा पारेको प्रभावबारे उपन्यास लेख्दै थिई भन्ने मलाई थाहा थियो। मेरो दिमागमा तत्काल फुर्‍यो- योपटक काठमान्डु कथाका लागि अपराजिताभन्दा उपयुक्त पात्र अर्को को हुनसक्छ?
'आजै फर्किछौ त! माओवादी मिटिङ रमाइलै होला नि?'
'ठिकै छ, अझै तीनचार दिन जालाजस्तो छ। म त भोलि साथीको बिहे भएर फर्केकी।'
ए... सुन न, तिम्रो साथीको बिहे भोलि कतिखेर हो? बिहान एकछिन भेट्न मिल्छ? तिम्रो पालुङटार एक्सपिरियन्स सुनौं न।'
'उसको बिहेमा म तीन बजेतिर जाने हो। बिहान त खाली नै छु।'
'साढे एघार बजे बानेश्वरको बेकरी क्याफे आउँछौ? म कफी खुवाउँछु।'
'ओके, डन। एक्ज्याक्ट साढे एघार है। मलाई पङ्चुअल मान्छे मन पर्छ।'

...
बेकरी क्याफेमा डेढ घन्टा बस्दा उसले धेरै विषयमा कुरा गरी। पालुङटार, उसले लेख्दै गरेको उपन्यास, ब्वाइफ्रेन्ड, माओवादी दस्तावेज, कार्यकर्ताका असन्तुष्टि, सुन्तला, धुलो, अरू पनि थुप्रै।
यसबीच मैले अर्को हटलेमन विथ हनी मगाएँ। मोमो खाइसकेर उसले कालो कफी थपी।
उसले सात दिन पालुङटारमा केके गरिछे भन्ने थाहा पाउँदा तपाईंहरूलाई पनि रमाइलै लाग्ला!

बिहीबार, मंसिर २
पोखराको माइक्रोबस चढेर म बिहान ११ बजेतिर डुम्रे पुगेँ।
डुम्रेमा मेरो सानिमाको घर छ। त्यहाँ गएँ, फ्रेस भएँ। दुई बजेतिर सानिमाको छोरा दाइसँग बाइकमा पछाडि बसेर पालुङटार गएँ।
डुम्रेबाट चुँदीखोला तरेर बेसीसहर जाने बाटोमा ११ किलोमिटर उत्तर तुरतुरे रैछ। त्यहाँबाट दाहिने लाग्नेबित्तिकै मर्स्याङ्दी नदी आउँछ। पुल तरेर एक किलोमिटर नहिँड्दै ३३ वर्षदेखि बन्द भएको पालुङटार एयरपोर्ट पुगिन्छ। त्यहाँबाट अढाइ किलोमिटरपूर्व माओवादी विस्तारित बैठक हुने ठाउँ सिँगार्दै थिए कार्यकर्ता।
नजिकै ठाँटीपोखरी भन्ने पुरानो बजार रैछ। गाउँलेहरू माओवादी मेलाले उल्का मानिरहेका थिए। माओवादीले बैठकस्थलमा छलफल गर्न कटुसका छाप्रैछाप्रा बनाएका रैछन्।
माओवादी स्पिरिटलाई मेरो सलाम छ। एमाले, कांग्रेस भए वर्षदिनमा पनि त्यत्ति छाप्रा बनाइसक्दैन थिए होलान्। अथवा पालुङटारजस्तो ठाउँमा त्यस्तो छलफल गर्नुपरेको भए बैठकस्थल बनाउने जिम्मा कुनै क्याटरिङलाई दिन्थे होलान्। माओवादी कार्यकर्ताचाहिँ आफ्नै घर छाउन लागेझैं तन्मयसँग बैठकस्थल सजाउँदै थिए।
म वरिपरि घुमेँ। दाइ बाहिरै बस्नुभयो। रमाइलो थियो ठाउँ। मुख्य बैठकहल बनाउँदै थिए कार्यकर्ता। विस्तारित बैठकका सहभागी फाट्टफुट्ट आउन थालेका थिए।
बेलुका छ बजेतिर म डुम्रे फर्कें। सात बजेतिर एफएमकै साथी कल्पना काठमान्डुबाट आइपुगी। नौ बजेको समाचारलाई न्युज पठाएँ।

शुक्रबार, मंसिर ३
बिहानै म र कल्पना बस चढेर पालुङटार गयौं। आइतबारदेखि सुरु हुने बैठकका लागि कार्यक्रमस्थल बनाउने काम लगभग अन्तिम चरणमा पुगेको थियो।
म र कल्पना तान्द्राङटार, ठाँटीपोखरी, बाह्रपिर्के घुम्यौं। फोटोहरू खिच्यौं। गाउँलेसँग कुरा गर्‍यौं।
मैले गाउँलेलाई सोधेँ, 'लिगलिगकोट कता पर्छ?' उनीहरूले पूर्वोत्तरको अग्लो डाँडा देखाए र टुप्पामा रूखैरूखले झ्याम्म परेको ठाउँ औंल्याउँदै भने, 'त्यही हो लिगलिगकोट। यहाँबाट एक घन्टामा पुगिन्छ।'
मैले कल्पनालाई भनेँ, 'जौं यार लिगलिगकोटसम्म। ऐतिहासिक ठाउँ हो, त्यहाँका घलेहरूलाई दौडमा हराएर द्रव्य शाह गोरखाको राजा बनेका थिए, ४ सय वर्षअघि। तिनै द्रव्य शाहले स्थापना गरेको त्यही गोरखा राज्य विस्तार गर्ने क्रममै पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेका हुन्।'
ऊ पनि जोस्सिई। हामी लिगलिगकोट उकालियौं। दस बज्न लागेको थियो।
घाम र उकालोले जोस एकैछिनमा उत्रियो। खासै उकालोओरालो नगरेका हामीलाई माथि उक्लिन धेरै सकस भयो। बल्ल दुई घन्टामा टुप्पामा पुग्यौं। टुप्पामा सिरसिर हावा चलेपछि भने रमाइलो भयो।
अलिकति सुन्तला बोकेका थियौं। सासमै बुत्यायौं र कोट घुम्यौं। ढुंगैढुंगाले बारेको ठाउँ रहेछ, बीचमा चौरजस्तो। मैले सोचेँ, 'यही चौरमा द्रव्य शाह घाम ताप्थे होलान्।'
मैले नेपाल राज्यको जग खनिएको त्यही भूमिको अलिकति माटो हातमा लिएँ र निधारमा लगाएँ। अलि भावुक भएछु!
भोकले खङ्रङ्ग भएपछि हामी तल झर्‍यौं।
चार बजेतिर डुम्रेबाट आएको बस तुरतुरेमा समातेर बेसीसहर गयौं बास बस्न। तुरतुरेमै त्यही दिन बस पर्खंदा हो, मैले तिमीलाई बाइकमा देखेको।

शनिबार, मंसिर ४
बिहानै मर्स्याङ्दी किनार पुग्यौं र मुख धोयौं। नदीको पानी निकै चिसो भए पनि मुख, हातखुट्टा र घाँटी पखाल्दा मज्जा आयो। बेसीसहरमै खाना खाएर पालुङटार आयौं।
दिउँसो माओवादी बैठकस्थलकै चौरमा बसेर सुन्तला खायौं। यसपालि पालुङटारमा कल्पना र मैले त्यस्तै १५ किलोजति सुन्तला खायौं होला।
दिउँसोसम्म बैठकका थुप्रै सहभागी आइसकेका थिए। साँझतिर प्रचण्ड, बाबुरामलगायत अरू नेता आइपुगे। पालुङटार देशकै सबभन्दा महत्वपूर्ण ठाउँमा परिणत भएझैं लागेको थियो। अर्का नेता किरणचाहिँ अलि अबेर पुगेछन्।
राति डुम्रे फर्क्यौं।

आइतबार, मंसिर ५
आज माओवादी विस्तारित बैठकको उद्‌घाटन। म र कल्पना बिहानै बस चढेर पालुङटार पुग्यौं।
प्रचण्डले आफू, बाबुराम र किरणका तीनै प्रस्ताव समेटेर तयार पारेको भनिएको नयाँ प्रतिवेदन पेस गर्न नपाउने भए। दिनभरि मेलाजस्तो रमाइलो भयो।
दिउँसो प्रचण्डले विस्तारित बैठक उद्‌घाटन गरे। छ हजारजति सहभागीले मुख्य बैठकहल रमाइलो देखिएको थियो।
मैले प्रचण्डको बाइटसहित रेडियोलाई न्युज फाइल गरेँ। कल्पनाले उसको फिचर स्टोरी फोनबाटै रेकर्ड गराई।
बेलुका डुम्रे नै फर्क्यौं।

सोमबार, मंसिर ६

बिहानै पालुङटार गयौं।
बाबुराम र किरणले बैठकका सहभागीमाझ आ-आफ्नो प्रस्ताव प्रस्तुत गरे। हामीलाई बैठकस्थलमा छिर्न नदिए पनि मैले अन्य नेताबाट थाहा पाएँ- उनीहरू प्रचण्डप्रति निकै आक्रामक बनेछन्।
मलाई माओवादीको स्पिरिट मन पर्छ तर उनीहरूको विचार पुरातनवादी लाग्छ। मार्क्सवाद अब पुरानो भइसक्यो। उनीहरूले पछ्याएको उन्नाइसौं शताब्दीको विचारले अब हामीलाई आकर्षित गर्दैन। विद्रोहले सत्ता कब्जा गर्नु असम्भव छ।
किरणले त मार्क्सवाद नै बुझेका छैनन्जस्तो लाग्छ मलाई। अथवा धेरै नै बुझेका छन्। मार्क्सले जसरी संसारका सबै वस्तु परिवर्तनशील हुन्छन् भनेका छन्, त्यसैगरी मार्क्सवादचाहिँ कहिल्यै परिवर्तन हुँदैन?
बरू बाबुराम ठिक छन्। उनको प्रस्ताव पढ्दा परिवर्तनको अपरिवर्तनशीलता बुझेका छन्जस्तो लाग्छ। लोकतान्त्रिक गणतन्त्रको बाटो उनैले त पार्टीमा स्थापित गरेका हुन्। तर, उनले नेतृत्व विकास गर्न सक्नुपर्छ।
प्रचण्डचाहिँ सकेसम्म बाबुराम र किरणका विचार मिलाएर लैजाने पक्षमा छन्। उनको सुरचाहिँ विचारभन्दा पनि नेतृत्व नै हो।
सत्ताबाहेक अरू केही छैन माओवादीको दिमागमा?

मंगलबार, मंसिर ७
प्रचण्डले आफ्नो प्रस्ताव प्रस्तुत गरे। वैद्यलाई फकाए आफ्नो नेतृत्वमा कुनै आँच नआउने बुझेका उनले भारत प्रधानशत्रु रहेको बताए। जे पायो त्यही! मेरो विचारमा गरिबी, सोच्ने शैली र शक्तिको लालसा नेपालीका प्रधानशत्रु हुन्।
दिउँसो हामीले थुप्रै राज्यसमिति सदस्य र अन्य नेतासँग इन्टरभ्यु गर्‍यौं। मैले इन्टरभ्यु गरेका अधिकांश माओवादी नेताले विद्रोह र युद्धभन्दा सहमति र शान्तिमै जोड दिए।
बेलुका हामी डुम्रेबाट दाइको बाइक लिएर बन्दीपुर उक्लियौं। जे त पर्ला भनेर त्यहाँको सबैभन्दा राम्रो बन्दीपुर माउन्टेन रिसोर्टमै बस्यौं। डाँडाको यो पुरानो बस्ती मलाई रमाइलो लाग्छ।

बुधबार, मंसिर ८
बिहानै पालुङटार फर्क्यौं। राज्य समिति सदस्यले प्रतिवेदनमाथि बोल्ने कार्यक्रम सुरु भएको थियो।
मैले पालुङटारकै एकजना माओवादी कार्यकर्तासँग इन्टरभ्युको टाइम लिएकी थिएँ। ती अधबैंसेलाई माओवादी जनयुद्ध, गोरखाको यसको प्रभाव र यो क्षेत्रको सामाजिक तथा ऐतिहासिक पक्षबारे निकै ज्ञान रहेछ।
इन्टरभ्यु सकेर ११ बजेतिर म र कल्पना डुम्रे फर्क्यौं। त्यहाँबाट १ बजेतिर काठमान्डुको माइक्रो समात्यौं।
माओवादी बैठक अझै एकदुई दिन चल्ला!

...
बेकरी क्याफेको गार्डेनमा ढाड सेकाउँदै अपराजिताका कुरा सुन्न धित मरेकै थिएन। तर, एक बजिसकेको थियो। मलाई काठमान्डु कथा फाइनल गरी अफिस पुग्नु थियो।
'ल, रमाइलो एक्सपिरियन्स सुनायौ तिमीले, मजा आयो,' मैले गफ टुंग्याउन खोजेँ।
उसले भनी, 'पालुङटार बसाइको एक साता मलाई त रिटि्रटजस्तै भयो। उपन्यासको धेरै रिसर्च पनि भ्याएँ।'
'रमाइलो भएछ, यसपालि काठमान्डु कथा तिम्रैबारे लेख्ने विचार गरेको छु,' मैले बिल तिर्दै भनेँ।
उसले आँखा चम्काई र भनी, 'हुन्छ तर मेरो र म काम गर्ने एफएमको नाम चाहिँ नलेख्देऊ है।'
म मुस्काएँ र स्वीकारोक्तिमा टाउको हल्लाएँ।

...
उसले काम गर्ने एफएमको नाम त मैले लेखेकै छैन। उसको नाम पनि अपराजिता होइन।
दुई वर्षपछि एउटा राम्रै पब्लिेकसन हाउसले जब माओवादी जनयुद्ध र यसको प्रभावबारे गण्डकी अञ्चलको परिवेश भएको कुनै उपन्यास छाप्नेछ, तब तपाईंले अपराजिताको नाम थाहा पाइहाल्नुहुनेछ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


ट्याग्स

From Republica

new-traveld