बिपी र महेन्द्र - एउटै पिँजडाका दुई बाघ

smaller text tool iconmedium text tool iconlarger text tool icon
विश्वबन्धु थापा-

बिपी र महेन्द्रबीच 'लभ-हेट' को सम्बन्ध थियो। 'म राजा हुँ, प्रधानमन्त्री नोकर,' महेन्द्र यस्तै सोच्थे। बिपी भन्थे, 'म नोकर होइन, जनताको प्रतिनिधि हुँ। हामीले राजालाई मान्देका हौं। राणाहरूले खोपीका देवता बनाएका थिए, हामीले बाहिर ल्यायौं। यहाँभन्दा अगाडि बढ्ने कोसिस नगर।'


म आठ वर्षको थिएँ होला। बिपी कोइराला त्यस्तै २३-२४ वर्षको हुनुहुथ्यो कि!
उहाँ वनारसबाट विराटनगर आउनुभएको थियो। म बिपीकै घरमा बसेर पढ्थेँ। किताब फिँजारेर पढ्ने मेरो बानी थियो।
एकदिन उहाँ फिँजारिएका किताब कुल्चँदै हिँड्नुभयो।

मलाई अचम्म लाग्यो।
'ढोग्नोस्,' मैले भनेँ।
उहाँले थाहा नपाएझैं गर्नुभो, 'केलाई?'
'किताब,' मैले भुइँतिर देखाएँ।
'किन?'
उहाँको प्रश्नले म चकित खाएँ।
'नत्र विद्या नासिन्छ।'
'कसले गर्छ विद्या नास?'
'भगवानले।'
उहाँ हाँस्दै अर्को कोठामा छिर्नुभयो।
'भगवानसँग पनि नडराउने कस्तो मान्छे रैछ,' मैले मनमनै सोचेँ।
उहाँको निडरपन थाहा पाउन धेरै कुर्नै परेन।
सन् १९४४ मा मेटि्रक जाँच दिन वनारस जाँदा म उहाँसँग घनिष्ट भएँ। उहाँ त्यतिखेर समाजवादी आन्दोलनमा होमिसक्नुभएको थियो। वनारसमा धेरै कम्युनिस्ट नेता थिए। उनीहरूसँग उहाँको बाक्लो संगत थियो। कार्ल माक्सको किताब पढ्नुहुन्थ्यो। लाग्छ, उहाँलाई त्यसैले समाजवादी बनायो। वनारस बसाइमा उहाँसँग मेरो राजनीतिक सम्बन्ध बढ्दै गयो।
'हामी सबै मिलेर,' उहाँ बारम्बार भन्नुहुन्थ्यो, 'नेपालमा केही गर्नुपर्‍यो।'
'किताब पढ,' उहाँ हामीलाई झक्झकाउनु हुन्थ्यो।
हामी सोध्थ्यौं, 'कस्तो किताब?'
'समाजशास्त्र,' उहाँ भन्नुहुन्थ्यो, 'कार्ल माक्सको पढ्नै पर्छ।'
उहाँलाई म कम्युनिस्ट हुँला भन्ने चिन्ता थियो। मनमोहन अधिकारीसँग मेरो राम्रो सम्बन्ध थियो। सायद उहाँको चिन्ताको कारण यही हो।
'कम्युनिस्ट प्रजातन्त्रवादी हुँदैनन्, त्यसैले समाजवादी हुनुपर्छ,' उहाँ भन्नुहुन्थ्यो।
बिपी नास्तिक होइन। तर, मन्दिरमा गए पुण्य पाइन्छ भन्ने उहाँलाई पत्यार थिएन। उहाँले देवताको पूजा गरेको मैले थाहा पाइनँ।
'भगवानमा होइन, कर्ममा विश्वास राख्नुपर्छ,' उहाँ हामीलाई सिकाउनुहुन्थ्यो।
...


वनारस, निर्वासित जीवन बिताउनेहरूको राजनीतिक राजधानी थियो। सबै योजना त्यहीँ बन्थे, कार्यन्वयन नेपालमा हुन्थ्यो।
आइए पढ्दा हामीले बनारसमा नेविसंघ खोल्यौं। कृष्णप्रसाद भट्टराई त्यसका उपसभापति। म सहायक महासचिव। नेविसंघ खोलेपछि बिपीसँगको भेट झन् बाक्लियो।
'राणाविरुद्ध आन्दोलन एउटा व्यक्तिले गरेर हुँदैन,' यो उहाँले बु‰नुभएको थियो, 'देशमा प्रजातन्त्र ल्याउन एउटा पार्टी चाहिन्छ।'
२००४ सालमा नेपाल राष्ट्रिय कांग्रेस गठन गर्ने तयारी भयो। तर, पार्टीको सभापति को हुने भन्नेमा विवाद निस्कियो। डिल्मीरमण रेग्मी आफैं बन्छु भन्थे। हाम्रो चाहना बिपीलाई बनाउने थियो। सभापति बन्ने इच्छा बिपीको पनि थियो। गणेशमान सिंहले सभापतिमा तेस्रो व्यक्ति टंकप्रसाद आचार्यको नाम प्रस्ताव गर्नुभयो। त्यतिबेला टंकप्रसाद जेलमा हुनुहुन्थ्यो।
विवाद टुंगियो, टंकप्रसाद सभापति भए, बिपी कार्यवाहक सभापति।
त्यही साल राष्ट्रिय कांग्रेसले सत्याग्रह आन्दोलन सुरु गर्‍यो। बिपी, मलगायत थुप्रै साथी पक्राउ पर्‍यौं। बिपीलाई जेल चलान गरेपछि कार्यवाहक सभापति डिल्लीरमण हुनुभयो। गान्धी र नेहरूले बिपीलाई जेलबाट छुटाए। तर, डिल्लीरमणले पद छोडेनन्। विवाद बढ्यो। अन्ततः डिल्लीरमणलाई पार्टीबाट निष्कासन गरियो।
सत्याग्रह आन्दोलनका क्रममा पक्राउ परेर मैले आइएको परीक्षा दिन पाइनँ।
'बिपीसँग लागेर यो त्यसै बरालिने भो,' बा हर्कानुहुन्थ्यो।
तर, मैले टेरपुच्छर लाइनँ।
राष्ट्रिय कांग्रेससँगै प्रजातान्त्रिक कांग्रेसले पनि आन्दोलन गरिरहेको थियो। सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्यायले प्रजातान्त्रिक कांग्रेसको नेतृत्व गर्नुभएको थियो। २००६ सालमा दुवै पार्टी मिल्नुपर्छ भन्ने कुरा उठ्यो। यतिबेला राष्ट्रिय कांग्रेसका सभापति मातृकाप्रसाद कोइराला हुनुहुन्थ्यो। बिपी जेल परेपछि राणाहरूले मातृकाप्रसादलाई सरकारी जागिरबाट निकालेका थिए। त्यसैले, उहाँलाई हामी 'सुब्बा साप' भन्थ्यौं।
सुवर्णशमशेर 'सत्याग्रहले हुँदैन, कडा आन्दोलन गर्नुपर्छ' भन्नेमा हुनुहुन्थ्यो। २००७ सालमा कलकत्तामा दुवै पार्टी एकीकरण भएर नयाँ पार्टी जन्मियो, नेपाली कांग्रेस। तर, प्रजातान्त्रिक कांग्रेसले बिपीलाई सभापति स्वीकारेन। प्रजातान्त्रिक कांग्रेसकालाई चाकडी बोली चाहिन्थ्यो। बिपी कडा स्वभावको हुनुहुन्थ्यो, कसैसँग नझुक्ने। हजुर, खाइसियो, गइबक्सियोस् - यस्ता दरबारीया बोली उहाँलाई नआउने। राजासँग बोल्दा पनि उहाँ अप्ठ्यारो मान्नु हुन्थ्यो। मातृका भने सरकारी जागिर खाएकाले त्यस्तो भाषामा पोख्त हुनुहुन्थ्यो।
सहमति भयो - मातृकालाई नेपाली कांग्रेसको सभापति बनाउने।
बिए पढ्दा वनारसमै मैले एनसिसी तालिम लिएको थिएँ। त्यहीबेला म नेविसंघको महासचिव र राष्ट्रिय नेपाली कांग्रेसको सदस्य भएँ। वनारसमा पार्टीको काम हेर्ने जिम्मेवारी मलाई दिइयो।
'परीक्षा फर्म भरिस्,' एकदिन बिपीले मलाई सोध्नुभयो।
'भरेँ।'
'अहिले छुट्टी छ तेरो,' उहाँ मलाई तँ भनेर सम्बोधन गर्नुहुन्थ्यो।
'छ,' मैले भनेँ।
'हिंसामा जानुपर्ला जस्तो छ। तैंले एनसिसी तालिम लिएको छस्। विराटनगरमा गिरिजासँग मिलेर संगठन विस्तार गर्नुपर्‍यो तैंले।'
मैले टाउको हल्लाएँ।
...


सशस्त्र आन्दोलन सुरू भयो।
विराटनगरमा कडै संघर्ष भयो। हामीले ट्याक्टरलाई ट्यांक बनायौं। उद्धवविक्रम राणाको घर त्यही ट्यांकले भत्काइयो। हाम्रा तीन सयजति सैनिक विराटनगरमा थिए। विराटनगर हामीले कब्जामा लियौं। अन्तरिम सरकार गठन भयो। कृष्णप्रसाद कोइराला गभर्नर हुनुभयो, म गृहमन्त्री।
त्यसको तीन महिनापछि २००७ साल फागुन ७ गते क्रान्ति सफल भयो। अन्तरिम सरकार बन्यो। बिपी गृहमन्त्री हुनुभयो।
सरकारको बनेको केही समयमै राजा त्रिभुवन र राणा प्रधानमन्त्रीबीच दूरी बढ्दो थियो। त्रिभुवनले बिपीलाई भने, 'तपाईंले राजीनामा दिए प्रधानमन्त्रीलाई निकाल्न सजिलो हुन्छ।'
बिपीले राजीनामा दिनुभयो। राणा प्रधानमन्त्री निकालिए।
तर, राजनीतिक अस्थिरता थामिएन। अझ बढ्दै थियो। गोर्खा परिषद्का कार्यकर्ताले गोर्खामा राजेश्वर देवकोटाको टाउको फोडे। बिपीले मलाई गोर्खामा बडाहाकिम भएर जान भन्नुभो। म गएँ पनि।
नयाँ सरकार बनाउने निहुँमा कांग्रेसमा फेरि खिचातानी सुरु भयो। म केन्द्रीय समितिमा थिएँ। हामी सबैले 'अब बिपी प्रधानमन्त्री हुनुपर्छ' भन्यौं। पार्टी सभापति मातृकाले भने आफ्नो नाम अघि सारे। विवाद चर्किंदै गयो।
'म बडाहाकिम हुन्न,' एकदिन मैले मातृकालाई भनेँ, 'पार्टीमा काम गर्छु।'
मातृका अलि झोंक्किए, 'तँ बिपी हुँदा काम गर्ने, म हुँदा नगर्ने।'
'त्यसो हो भने म पोखरा (पश्चिम ३) जान्छु।'
मातृकाले मेरो प्रस्ताव स्वीकारे।
त्यसैबेला नेपाली कांग्रेसको जनकपुर सम्मेलन भयो। मातृका र बिपी दुवै पार्टी सभापतिमा उठ्नुभयो। जित बिपीकै भयो। त्यसपछि मातृकाले राष्ट्रिय प्रजा पार्टी खोल्नुभयो। दाजुभाइको राजनीति अलग भयो। हामीले मातृकालाई कालो झन्डा देखायौं। यही रिसमा मातृकाले हामीलाई जेल हाल्नुभयो।
राजा त्रिभुवनको निधनपछि २०१४ सालतिर मातृका फेरि नेपाली कांग्रेसमा आए। २०१५ सालको चुनावमा बिपीले मातृकालाई टिकट दिनुभएन। बिपीले यहाँनिर भने गल्ती गर्नुभएको हो भन्ने मलाई लाग्छ। सायद चुनाव जिते फेरि झगडा हुन्छ भनेर होला।
चुनावको बेला म पार्टीको महामन्त्री थिएँ। बिपी मेरा लागि आफ्नै दाजुसरह हुनुहुन्थ्यो। यसले पनि मलाई राजनीतिमा छिटो माथि उक्लन सघायो। चुनाव जितेपछि म पार्टीको प्रमुख सचेतक भएँ।
...


बिपी र राजा महेन्द्रको कुरा मिल्दैनथ्यो। यसले निर्वाचन हुन सकिरहेको थिएन। त्यही बेला बिपीले सुवर्णलाई पार्टी सभापति बनाउनुभयो। सुवर्णले राजासँग कुरा मिलाए। चुनाव भयो।
चुनावमा नेपाली कांग्रेसले बहुमत ल्याउँदैन, मिलिजुली सरकार बन्छ र त्यसपछि सुवर्णशमशेरलाई प्रधानमन्त्री बनाउन पाइन्छ भन्ने महेन्द्रलाई लागेको थियो। उनले चुनाव गराउनुको कारण पनि यही हो।
तर, परिणाम उनले सोचेभन्दा उल्टो आयो।
महेन्द्रले सुवर्णलाई प्रधानमन्त्री बनाउन खोज्नुको कारण के भने, यी दुवैको राम्रो सम्बन्ध थियो। रानी र सुवर्णको सालोकी श्रीमती दिदी-बहिनी थिए। महेन्द्र र सुवर्णको दरबारीया तौरतरिका मिल्थ्यो।
त्यतिबेला कांग्रेसमा दुईथरि जमात थिए - एकथरि बिपीलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने, अर्काथरि सुवर्णशमशेरको पक्ष लिने। सुवर्ण पनि बिपीकै पक्षमा थिए।
कुरा सुशीला भाउजु (बिपीकी श्रीमती) कहाँ पुग्यो।
'झगडा नगर्नोस्,' भाउजुले बिपीलाई सम्झाउनुभयो, 'तपाईं सभापति हुनुस्, प्रधामन्त्री सुवर्णलाई छोड्दिनुस्।'
'कार्यकर्ता मान्दैनन्,' बिपीको तर्क थियो।
मलाई लाग्छ, कहिले मातृका त कहिले सुवर्णसँगको झगडाले बिपीको मनमा आफू प्रधानमन्त्री हुन पाइन्न कि भन्ने डर थियो।
'सुशीला भन्छे भने म प्रधानमन्त्री हुन्नँ,' बिपीले मलाई भन्नुभयो।
मसँग जवाफ थिएन।
एकछिनपछि उहाँले भन्नुभयो, 'जा, पहिला सुशीलाको चित्त बुझा।'
'पहिलो एक वर्ष बिपी प्रधानमन्त्री हुने, त्यसपछि सुवर्णलाई छोडिदिने,' भाउजुले निर्णय सुनाउनुभयो।
...


बिपी प्रधानमन्त्री बनेपछि महेन्द्रलाई अप्ठ्यारो पर्‍यो।
यी दुईबीच 'लभ-हेट' को सम्बन्ध थियो। बिपीलाई हेप्न सकिन्न भन्ने महेन्द्रलाई राम्ररी थाहा थियो। दुवै एउटै पिँजडाका दुई बाघ थिए।
'म राजा हुँ, प्रधानमन्त्री नोकर हो,' महेन्द्रको सोच थियो।
बिपी भन्थे, 'म नोकर होइन, जनताको प्रतिनिधि हुँ। हामीले राजालाई मान्देका हौं। राणाहरूले खोपीका देवता बनाएका थिए, हामीले बाहिर ल्यायौं। तर, यहाँभन्दा अगाडि बढ्ने कोसिस नगर।'
२०१६ सालमा प्रधानमन्त्रीका रूपमा बिपी चीन जाने पक्का भयो। गृहमन्त्री सूर्यप्रसाद उपाध्याय पनि सँगै जाने भए। हामीलाई यो चित्त बुझेको थिएन।
'सूर्यप्रसाद भारतको मान्छे भन्छन्, लान हुँदैन,' मैले भनेँ।
'लानुपर्छ,' बिपीले अडान लिनुभयो।
'एउटा जाहेरी दरबार, अर्को जाहेरी भारत पठाउँछ भन्छन्,' मैले रोक्ने प्रयास गरेँ।
'जे सुकै होस्,' उहाँ टसमस हुनुभएन।
चीनबाट फर्केलगत्तै म बिपीकहाँ गएँ। सूर्यप्रसाद त्यहीँ भेटिए।
'सूर्यबाबु, भ्रमण निकै रमाइलो भयो होला नि?' मैले जिज्ञासा राखेँ।
'के को रमाइलो हुनु,' सूर्यप्रसाद झोंक्किए। त्यसपछि उनी बोलेनन्। सुशीला भाउजु त्यहीँ हुनुहुन्थ्यो। उहाँ पनि सँगै जानुभएको थियो।
'भाउजु के भयो, सूर्यबाबुलाई?' मैले सोधेँ।
'तपाईंको दाइ के-के गर्नुहुन्छ, रिस उठ्दैन त भन्या, सोध्नोस् न तपाईंकै दाइलाई,' भाउजुले मलाई बिपीतिर इसारा गर्नुभयो।
सूर्यप्रसाद निस्केपछि बिपीले सबै कुरा सुनाउनुभयो। खास के भएको रहेछ भने, चीन जाँदा भाउजुले छोरी चेतनालाई पनि सँगै लानुभएछ। चेतना सानै थिइन्। एकजना सुसारे पनि लगिएको थियो। अरू सबै दिन बिपीले सूर्यप्रसादलाई सँगै हिँडाउनुभएछ। चिनियाँ प्रधानमन्त्री चाउइन लाईसँग विशेष वार्ता गर्दा भने उनलाई छोडिदिनुभएछ, त्यो पनि झुक्याएर।
चिनियाँ प्रधानमन्त्रीकी श्रीमतीले सुशीलालाई ब्रेकफास्टमा डाकिछन्। छोरी लिएर जाँदा अप्ठ्यारो। सुसारेको भरमा एक्लै कसरी छोड्नु? 'के गर्ने होला सूर्यबाबु,' बिपीले सोध्नुभएछ।
बिपीको अगाडि सूर्यप्रसादको के लाग्थ्यो र, 'म पनि होटलमै बसुँला नि, तपाईंहरू जानु न।'
'सूर्यबाबु, यहाँ लन्च नखाई त जान मिल्दैन भन्छन्, सुशीला आत्तेकी छ के गर्ने होला?' मध्याह्नतिर बिपीले होटलमा फोन गर्नुभएछ।
'म छु नि, लन्च खाएर आउनोस् न, भाउजुलाई पनि नआत्तिनू भन्नू,' सूर्यप्रसादले जवाफ दिएछन्।
अपराह्नमा फेरि बिपीले होटलमा फोन गर्नुभएछ, 'सूर्यबाबु, कस्तो आपत् आइलाग्यो भने, अब डिनर नखाई हुँदैन पो भन्न थालेका छन् त।'
'हुन्छ नि, छोरी यहाँ खेलिरहेकी छे, किन आत्तिनु र,' सूर्यप्रसादले स्वीकृति दिएछन्।
सूर्यबाबुले त्यस दिनको ब्रेकफास्ट, लन्च र डिनरको अर्थ नेपाल आएपछि मात्र थाहा पाएछन्।
...


२०१७ सालमा राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जानुपर्ने भयो। देशभित्र चलखेल बढ्दै थियो। यसबीच चार पटकजति मेरो महेन्द्रसँग भेट भएको थियो। राजा सलबलाउन थालेको संकेत मैले बुझिसकेको थिएँ।
राष्ट्रसंघ जानेको सूचीमा बिपीसँगै मेरो नाम पनि सूर्यप्रसादले राखेछन्। मलाई जान मन थिएन। महेन्द्रले पनि 'नजानू' भनेका थिए।
'म जान्न,' मैले भनेँ।
'किन?' सूर्यप्रसाद आश्चर्यमा परे।
मैले स्पष्ट भनेँ, 'बिपीविरूद्ध यहाँ षड्यन्त्र भइरहेको छ।'
'मलाई त्यस्तो लाग्दैन,' उनले भने।
'म नेपाल फर्कंदा तपाईं जेलमा हुनुहुने हो कि?' मैले आशंका जताएँ। उनी तैपनि मानेनन्। मैले सहमति जनाएँ, 'ठिक छ, म जान्छु। तर तपाईं यहाँको स्थिति सम्हाल्नुहोला।'
हामी अमेरिका लाग्यौं। बिपी केही दिनमा फर्किहाल्नुभयो। मलाई भनेे 'तीन महिनासम्म सभामा भाग लिनू' भन्नुभयो।
मैले जे सोचेको थिएँ, त्यही भयो। २०१७ पुस १ गते राजा महेन्द्रले 'कू' गरे। धेरैले भन्छन्, राजा महेन्द्रको ठाउँमा अरू कोही भइदिएको भए कू हुँदैनथ्यो। तर, मलाई त्यसमा विश्वास छैन। राणाको पालामा थिच्चिएका राजा त्यत्तिकै कहाँ बस्थे र! जोसुकै राजा भए पनि कू गर्थे। 'ट्याक्टफुल' भएर महेन्द्रले कू गरेको हो भन्ने मलाई लाग्दैन।
त्यसपछि म अमेरिका बस्न सकिनँ। राजासँग कुरा गर्न पुस ४ गते नेपाल फर्किएँ। थुन्नका लागि १८ जनाको सूची बनाइएको रहेछ। १७ औं नम्बरमा मेरो नाम थियो। विमानस्थलमै पक्राउ परेँ। सिधै लगे, सिंहदरबार। बिपीलाई त्यहीँ राखिएको रहेछ। मैले उहाँलाई देखेँ पनि। सुवर्णशमशेरलाई राजाले पहिल्यै कलकत्ता पठाएका रहेछन्, कू को जानकारी दिएर।
'मलाई यहाँ किन ल्याएको,' सुरक्षाकर्मीलाई मैले सोधेँ।
सुरक्षाकर्मीले भने, 'बिपीसँगै जेलमा राख्न।'
'मलाई बिपीसँगै राख्छौ भने बाहिर निस्केपछि म राजासँग कुरा गर्दिनँ,' मैले थर्काएँ। मेरोबारे उतिन्खेरै दरबारमा कुरा पुर्‍याइयो। उताबाट आदेश आएछ, 'तुरुन्त घर जान दिनू।'
'यत्रो सामान छ, कसरी लान सक्छु,' मैले घुर्की लाएँ। तिनै सुरक्षाकर्मीले ठमेलको कोठासम्म सामान पुर्‍याइदियो।
कोठामा पुगेपछि को कहाँ छन् पत्ता लगाएँ। तुलसी गिरीले राजासँग भेट्ने तारतम्य मिलाए।
'हेल्प गर्नुपर्‍यो,' महेन्द्रले भने, 'देशमा धेरै अस्थिरता छाएको थियो। एउटा बलियो सरकार चाहिन्छ भन्ने मलाई लागेको हो।'
'गर्छु,' मैले भनेँ, 'तर, एउटा सर्त छ।'
'कस्तो सर्त?'
'छिट्टै प्रजातन्त्र फिर्ता गर्नुपर्छ।'
...


२०१७ पुस १२ गते म महेन्द्रको सरकारमा गृहमन्त्री भएँ। बिपी सुन्दरीजल जेलमा हुनुहुन्थ्यो। म राजाको सरकारमा सामेल भए पनि प्रजातन्त्रको पक्षमा थिएँ। पुस २७ को भाषणमा मैले भनेको थिएँ, 'मेरो नेता बिपी कोइराला नै हो। एकदिन उहाँको पार्टी र झन्डा दुवै आउँछ।'
त्यतिखेरका अखबारले यसलाई प्राथमिकतासाथ छापे।
राजाले कुनै प्रतिक्रिया दिएनन्।
केही वर्षपछि मैले फेरि राजा महेन्द्रलाई 'जनताको प्रजातन्त्र फिर्ता गर्न' भनेँ। उनले मानेनन्। मलाई जेल हालियो। त्यतिखेर बिपी जेलमुक्त भई भारत गइसक्नुभएको थियो। केही समयपछि मलाई पनि छाडियो।
म बिपीलाई भेट्न भारत लागेँ।
'तँ त मसँगै पार्टीमा लागेको मान्छे, तैंले आफ्नो भविष्य आफैं बिगारिस्,' बिपीले भन्नुभयो।
मैले भनेँ, 'मलाई त्यही सही होला जस्तो लाग्यो।'
'राजा प्रजातान्त्रिक हुन्छ भनेर तैंले कसरी सोचिस्?' उहाँले प्रश्न गर्नुभयो।
मसँग जवाफ थिएन।
उहाँले भन्नुभयो, 'राजामा राष्ट्रियता छ, तर प्रजातन्त्रवादी होइनन्। संविधान नमान्ने राजा प्रजातन्त्रवादी हुँदैन।'
मैले गल्ती गरेको रहेछु।
उहाँले मेरो बारेमा गणेशमानसँग पनि दुःखेसो गर्नुभएको रहेछ।
'तुलसी गिरीभन्दा तिमी राजाको सरकारमा जाँदा बिपी धेरै दुःखी हुनुहुन्थ्यो,' एकदिन गणेशमानले भन्नुभयो।
'किन?' म खिन्न भएँ।
'बिपी भन्नुहुन्थ्यो, म पछाडि नेपाली कांग्रेसको नेता त्यही थियो।'
...


एकदिन मैले बिपीलाई 'एक वर्षमै प्रधानमन्त्री पद सुवर्णलाई सुम्पिने सहमति गरेको' सम्झाएँ।
उहाँले भन्नुभयो, 'मैले सुवर्णलाई छोड्न नखोजेको होइन। रामेछापमा एउटा कार्यक्रममा सहभागी भएपछि छोड्छु भनेको थिएँ, राजाले कू गरिहाले।'
बिपी बास्तवमै बचनको पक्का हुनुहुन्थ्यो। राजा महेन्द्र पनि उहाँको यो बानीबाट प्रभावित थिए। एकपटक महेन्द्रले मलाई भने, 'देशमा देखाउन लायकको प्रधानमन्त्री एउटै थियो - बिपी कोइराला।'
२०३२ सालमा म बिपीलाई भेट्न भारतको सारनाथ गएको थिएँ। किर्तिनिधि विष्ट प्रधानमन्त्री थिए। गिरिजाबाबु र म कुराकानी गर्दैथियौं।
'के कुरा गर्‍या छौ?' बिपी हामी बसेको कोठामा पस्नुभयो।
'हेर्नु न बाबु, उहाँहरू आफूलाई नेता भन्नुहुन्छ, देशबाहिर बसेर पनि कहीँ नेता भइन्छ,' सुशीला भाउजुले भन्नुभयो।
हाँस्दै बिपीले जवाफ दिनुभयो, 'देशमा गए त मारिहाल्छन् नि।'
'भाउजु, देशको अवस्था ठिक छैन,' मैले सम्झाएँ।
सायद सुशिला भाउजुको यही भनाइ बिपीको मनमा बिझेको थियो। मेलमिलापको नीति लिएर नेपाल फर्कनुमा यसले पनि कतै न कतै भूमिका खेलेको हुनुपर्छ। नेपाल फर्केपछि बिपी भन्नुहुन्थ्यो, 'पञ्चायतले घर (देश) भत्काउन लागिसक्यो। घर नजोगाए कसरी प्रजातन्त्र ल्याउने। भारतमा बसेर देश रहँदैन। देश बचाउन राजाले सहयोग गर्नुपर्‍यो भनेर आएको।'

...


२०३६ सालको जनमत संग्रहलगत्तै मलाई बिपीले बोलाउनुभयो।
'तँ आफ्नो काम गर्न सक्छस्, काम गर्दै जा,' उहाँले भन्नुभयो, 'पार्टीको समुद्रमा पहिला कहाँ थिएँ, त्यही ठाउँमा पुग्न पाउनुपर्छ भन्नुहुँदैन।'
मलाई उहाँको कुरा ठिक लाग्यो। म त्यसपछि फेरि नेपाली कांग्रेसको सदस्य बनेँ।
२०३९ सालमा बिपीको निधन भयो। कांग्रेसमा विवाद बल्भि्कयो। गणेशमानजी, किसुनजी र गिरिजाबाबुबीच टकराव बढ्यो।
'गणेशमानजी, सभापति हुनोस्,' मैले भनेँ।
'गिरिजाप्रसादसँग के चुनाव उठ्नु, ऊ उठ्छु भन्छ,' गणेशमान अलि निराश देखिनुभयो।
'गिरिजाबाबुलाई म मनाउँला।'
'हुन्छ,' उहाँ राजी हुनुभयो।
'गिरिजाबाबु, सभापतिमा तपाईं नउठ्नोस्, गणेशमानजीलाई बनाउनुपर्छ,' मैले गिरिजाबाबुलाई भनेँ। गिरिजाबाबुले सर्त राख्नुभयो, 'ल ठिक छ, गणेशमानजी हुने भए म छोड्छु।'
कुरा मिलेकोमा म खुसी थिएँ। चार-पाँच दिनपछि म गणेशमानजीलाई भेट्न उहाँकै निवासमा पुगेँ। माथिल्लो तलामा मंगलादेवी (गणेशमानको श्रीमती) उफ्रिपाफ्री गरिरहनुभएको थियो। गणेशमान तल एकजनासँग कुराकानीमा व्यस्त।
'गणेशमानजी भाउजु किन कराउनुभाको हो,' ती मान्छे हिँडेपछि मैले सोधेँ।
गम्भीर हुँदै गणेशमानजीले भन्नुभयो, 'बिहान भट्टराई आएका थिए। म सधैं कार्यवाहक सभापतिमात्र कति हुने, बिपीको खराउ लिएर म एकपटक सभापति हुन चाहन्छु भने। हुन्छ त नि भनेर मैले छोडिदिएँ। त्यही भएर मंगला उफ्रेकी।'
म त्यहाँबाट फर्किएँ। सरासर सुशीला भाउजुकहाँ गएँ। गिरिजाबाबु त्यहीँ हुनुहुँदोरहेछ।
'मैले भनेकै हो नि,' गिरिजाबाबु बम्किनुभो, 'अब म सभापतिमा उठ्छु।'
त्यसपछि मैले सुशीला भाउजुतिर फर्किएर भनेँ, 'म अब पार्टीमा बस्दिनँ।'
'के गर्छौ?' भाउजुले अँध्यारो मुख लाउनुभयो।
'राजीनामा।'
म त्यहाँबाट निस्केँ।

(सुरेन्द्र पौडेल र किरण भण्डारीले गरेको वार्तामा आधारित)

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com


new-traveld