राम्रा १० मा नेपाल पेभेलियन

Wednesday, 02 June 2010 09:14 नागरिक
Print
पूर्ण बस्नेत, हङकङ, जेठ १९-  काठमाडौँ सहरको संस्कृति झल्कने नेपाल पेभेलियन विश्व संघाई एक्स्पोमा नवौँ स्थान कायम गरेको छ। चिनियाँ भाषी प्रतिष्ठित न्युज पोर्टलको दर्शक सर्वेक्षणमा सूचीमा नेपाल राम्रा दस पेभेलियनमा पर्न सफल भएको हो।
संघाईका लागि नेपाली अवैतनिक दूत जियामिन ऊका अनुसार सर्वेक्षणले चीनलाई पहिलो तथा बेलायत, जर्मनी, जापान, साउदी अरबलगायतलाई उच्च दस स्थानमा देखाएको छ। १९२ देश सहभागी विश्व संघाई एक्स्पोमा ४५ देशका पेभेलियन छन्।

संघाई एक्स्पोले मंगलबार एक महिना पूरा गर्दा ८० लाखले अवलोकन गरेको आयोजकले बताएका छन्। त्यसमध्ये सात लाख ५० हजारले नेपाल पेभेलियन अवलोकन गरे।

नेपाल पेभेलियनका निर्देशक विनायक शाहका अनुसार दैनिक औसत २५ हजार र बिदाको दिन ४० हजार बढी दर्शक नेपाल पेभेलियन हेर्न आउने गरेका छन्। दर्शकलाई सहयोग गर्न ५० चिनियाँ र २० नेपाली कामदार तथा स्वयंसेवक खटाइएको छ।

'राम्रो सहर राम्रो जीवन' मुख्य नारा रहेको एक्स्पोमा धेरै पेभेलियनले आधुनिक प्रविधिलाई प्रदर्शनमा राखे पनि नेपालले परम्परागत कला-कौशल, काठमाडौंको संस्कृति र बुद्ध जन्मस्थल लुम्बिनीको प्रचार गरिरहेको छ।

भक्तपुरका सडकमा जस्तो माटाका भाँडा बनाइरहेका कुमाले तथा काठ कुँदिरहेका सिकर्मीलाई नेपाल पेभेलियनमा आउने दर्शकले उत्सुकतापूर्वक हेरेको शाहले बताए।

'नेपाल पेभेलियन डे' मा पुर्‍याउने गरी लुम्बिनी-संघाई कार र्‍यालीका लागि चीन सरकारको अनुमति लिने प्रक्रियामा व्यवस्थापन लागेको छ। २६ दिन लाग्ने अनुमान गरिएको र्‍यालीका लागि चिनियाँ अटो मोवाइल कम्पनीले सातवटा कार दिने भएको छ। तराई, पहाड र हिमाली संस्कृति झल्किने गरी विशेष साँस्कृतिक कार्यक्रम गर्न समावेशी साँस्कृतिक टोली ल्याउने तयारी पनि भइरहेको छ।

अझै पाँच महिना चल्ने एक्स्पोमा नेपालको पर्यटन प्रवर्द्धनका लागि बिसौँ पटक सगरमाथा आरोहण गरेर फर्केका आप्पा शेर्पा र मिस नेपाल जेनिशा मोक्तानलाई 'गुडविल एम्बेसडर' को रुपमा संघाई ल्याइँदैछ।

यस्तै काठमाडौँबाट ल्याइने थाङ्का पेन्टरले एक महिनासम्म नेपाल पेभेलियनमा थाङ्का पेन्ट गरेर देखाउने कार्यक्रम पनि राखिएको छ। यी कार्यक्रमको व्यवस्थापनका लागि नेपाल पेभेलियनले संघाईको यामुन मास्टर माइन्ड कम्पनीसँग सम्झौता गरेको शाहले बताए।

'गेस्ट अफ अनर' बन्न राष्ट्रपति तयार
संघाई विश्व एक्स्पोको 'नेपाल पेभेलियन डे' मा राष्ट्रपति रामवरण यादवलाई 'गेस्ट अफ अनर' बनाउने तयारी भएको छ।


बेइजिङस्थित नेपाली दूतावास स्रोतका अनुसार 'नेपाल पेभेलियन डे' वा एक्स्पो समापन समारोहमा सहभागी गराउने गरी राष्ट्रपतिको चीन भ्रमण तय हुन लागेको हो।


भदौ १८ को 'नेपाल पेभेलियन डे' मा राष्ट्रपतिलाई 'गेस्ट अफ अनर' बनाउन उनको कार्यालय शीतल निवासले सहमति दिएको नेपाल पेभेलियन निर्देशक शाहले बताए।


ओलम्पिकपछि चीनमा भइरहेको विश्व चर्चित संघाई एक्स्पोको वैशाख १८ गते भएको उद्घाटन समारोहमा राष्ट्रपति यादवलाई सहभागी गराउने तयारी गरिए पनि नेपालको अस्थिर राजनीतिक कारणले गर्दा सम्भव नभएको दूतावास स्रोतले बताएको छ।