टेलिकमको मोबाइल गुणस्तरहीन : प्राधिकरण

Wednesday, 08 December 2010 10:35 नागरिक
Print
काठमाडौं, मंसिर २१ (नागरिक) - नेपाल दूरसञ्चार प्राधिकरणले गरेको अनुसन्धानमा देशका तीन ठूला टेलिफोन सेवा प्रदायकहरुमध्य नेपाल टेलिकमको जीएसएम मोबाइल सबैभन्दा 'गुणस्तरहीन' ठहरिएको छ। अनुसन्धानबाट टेलिकमको ल्यान्डलाइन फोनको गुणस्तर समेत सन्तोषजनक नदेखिएको प्राधिकरणले जनाएको छ।


  झण्डै तीन महिना लगाएर अनुसन्धानकर्ता संस्था सेडाले तयार गरेको टेलिफोनको गुणस्तर प्रतिवेदन अनुसार टेलिकमकै सिडिएमए, एनसेल (तत्कालिन स्पाइस नेपाल) र युटिएलको सेवा भने 'राम्रो' देखिएको छ। टेलिफोन सेवाको गुणस्तरको बारेमा आलोचना भएपछि अध्ययन गर्न प्राधिकरणले स्वतन्त्र रुपमा अध्ययन गर्न सेडालाई जिम्मा दिएको थियो।

'यो अध्ययन गर्ने समयमा टेलिकमको आधारभुत टेलिफोन (ल्याण्डलाइन) र मोबाइल फोनको गुणस्तर ज्यादै कमजोर पाइयो,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने। तुलनात्मक रुपमा टेलिकमकै सिडिएमए, एनसेलको जिएसएम र युटिएलको सिडिएमए फोन शत प्रतिशत नभएपनि मापदण्ड पुरा गर्नेमा अघि देखिएका छन्।

अनुसन्धानबाट सार्वजनिक गरिएको तथ्य अनुसार टेलिकमको जिएसएम मोबाइल फोनबाट कल गर्दा ९५ प्रतिशतभन्दा बढी सफल हुनुपर्नेमा ९२ प्रतिशतमात्र सफल भएको पाइएको छ। यो मापदण्डमा टेलिकमकै ल्याण्डलाइनले ९६ प्रतिशत, सिडिएमएले ९५ दशमलव ९०, एनसेलले ९६ र युटिएलको सिडिएमएले ९५ दशमलव ८० प्रतिशत अंक पाएका छन्।

प्राधिकरणको मापदण्ड अनुसार हरेक एकसय कलमध्य ९५ प्रतिशत कल राम्रोसँग सफल भएर दुबै पक्षबीच कुराकानी हुनसक्नुपर्छ। यो मापदण्डमा सबैभन्दा कमजोर टेलिकमको जिएसएम मोबाइल ठहरिएको प्राधिकरणले जनाएको छ।

गुणस्तरकै अर्को मापदण्ड सर्भिस एक्सेस डिले रेट (ग्राहकले फोन गरेपछि मोबाइलमा सुरुको घण्टी बज्न लाग्ने समय) १५ सेकेन्डभन्दा कम्ति हुनुपर्छ। यो मापदण्डमा सबै सेवा प्रदायकका मोबाइल र ल्याण्डलाइन परेका छन्। टेलिकमको ल्याण्डलाइनमा झण्डै ८ सेकेन्ड, जिएसएम मोबाइलमा ९ सेकेन्ड, सिडिएमएम मोबाइलमा ८ दशमलव ८० सेकेन्ड, एनसेलको मोबाइलमा ८ दशलमव ७० सेकेन्ड र युटिएलमा ८ दशमलव १० सेकेन्ड लागेको छ।
टेलिफोनका ग्राहकले डायल गर्दा बीचमा कुनै अवरोध नभै कम्तिमा ४५ पुरा हुनुपर्ने प्राधिकरणको मापदण्ड छ। यो मापदण्डमा सबै सेवा प्रदायकका ल्याण्डलाइन र मोबाइल फोनले पुरा गरेको प्राधिकरणको अनुसन्धानले देखाएको छ। यो मापदण्डमा टेलिकमको ल्याण्डलाइनले ५६ दशमलव ३० प्रतिशत, जिएसएम मोबाइलले ५५ प्रतिशत, सिडिएमएले ५४ दशमलव ९० प्रतिशत, एनसेलले ५५ दशलमव ६० प्रतिशत र युटिएलले ६५ दशमलव ५० प्रतिशत पुरा भएको देखिएको न्यौपानले बताए।

टेलिफोनको कल क्वालिटी (बिना अवरोध कुराकानी स्पष्टसँग गर्न सकिने) ९० प्रतिशत भन्दा माथि हुनुपर्ने मापदण्ड छ। एकसय कलमध्य ९० वटा कल कुनै अवरोध र समस्या बिना ग्राहकले सजिलैसँग कुरानी गर्न सक्ने हुनुपर्ने मापदण्ड छ। यो मापदण्डमा कुनै पनि कम्पनीका सेवाहरु नभएको अध्ययनले देखाएको छ।

टेलिकमको ल्याण्डलाइन ८१ दशमलव १० प्रतिशत, जिएसएम फोन ६९ दशमलव ६० प्रतिशत, सिडिएमए ७६ दशमलव १० प्रतिशत, एनसेल ८४ दशमलव ५० प्रतिशत र युटिएलको ८० दशमलव ८० प्रतिशत कलमात्र गुणस्तरीय हुने अनुसन्धानले देखाएको छ।
कल गर्दा बीचमै टुट्ने प्रवृत्ति तीन प्रतिशतभन्दा कम हुनुपर्ने मापदण्ड मोबाइल टेलिफोनमा छ। तर टेलिकमको ल्याण्डलाइनमा समेत यो प्रतिशत मापदण्डभन्दा माथि छ। ल्याण्डलाइनको 'कलड्रप रेट' ३ दशमलव २३ प्रतिशत छ। टेलिकमकै जिएसएम मोबाइलको यस्तो रेट ३ दशमलव ७३, एनसेलको शून्य दशमलव ९० प्रतिशत छ। तर टेलिकमको सिडिएमए र युटिएलमा कलड्रप एक प्रतिशत पनि नभएको अनुसन्धानले देखाएको छ।

'हामी यो अध्ययनका आधारमा सबै कम्पनीहरुलाई आफ्नो सेवाको गुणस्तर प्राधिकरणले तय गरेको मापदण्ड भित्र राख्न निर्देशन दिने तयारीमा छौं,' न्यौपानेले भने। प्राधिकरणले निश्चित समयसीमा तोकेर सेवालाई गुणस्तरीय बनाउन निर्देशन दिने तयारी गरिरहेको छ। समयसीमा भित्र सुधार नगरे सेवा प्रदायकहरुलाई कारवाही गर्ने प्राधिकरणले जनाएको छ।
'यो अध्ययन प्रतिवेदन लोडसेडिङले हाम्रो सेवा सबैभन्दा प्रभावित भएको समयको हुनुपर्छ,' टेलिकमका एक अधिकारीले भने। उनले अहिले टेलिकमको सेवा पहिलेभन्दा निकै स्तरीय भेसकेको बताए।

प्राधिकरणलाई सेडाले यो अध्ययन गत अप्रिलमा बुझाएको हो। प्राधिकरणका अधिकारीहरुले पनि अहिले यो गुणस्तरमा केही तलमाथि भैसकेको हुने स्वीकार गरे। 'हामी कसको सेवाको स्तर के छ भनेर नियमित रुपमा नियमन भने गरिरहन्छौं,' उनले भने।