हेटौँडामा दूध सङ्कलनमा वृद्धि

Sunday, 07 November 2010 16:36 नागरिक
Print
भीमफेदी, कात्तिक २१ - हेटौँडा दूध वितरण आयोजनाले मध्य तराईबाट गुणस्तरीय दूधको सङ्कलनमा वृद्धि गरेको छ। सो आयोजनाले तराईबाट अहिले करिब ३९ हजार, ५०० लिटर दूध सङ्कलन गर्दैआएको छ।

उक्त आयोजनाले मध्यतराईबाट केही महिनाअघिसम्म करिब १४-१५ हजार लिटर दूध सङ्कलन गर्ने गरेको थियो।

ती सङ्कलित दूधमध्ये विराटनगरमा धूलो दूध उत्पादनका लागि प्रत्येक दिन १२ हजार लिटर दूध पठाउँदैआएको सो आयोजनाबाट थाहा भएको छ।

यसैगरी सो आयोजनाले काठमाडौँका उपभोक्तालाई वितरण गर्न दैनिक १५ हजार लिटर दूध एवम् चितवनको भरतपुरमा करिब ६ हजार लिटर दूध पठाउने गरेको छ।

मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत पर्ने धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा र मकवानपुरका गरी जम्मा १३७ वटा दूध उत्पादक सहकारी संस्थाबाट अहिले सो आयोजनाले दूध खरिद गर्दैआएको छ।

साथै ती दूध उत्पादक सहकारी संस्थाबाट सो आयोजनाले मासिक दूध खरिद गरेबापत स्थानीय कृषकलाई कुल रु एक करोड ७० लाख ७४ हजार रकम भुक्तानी गर्ने गरेको जनाएको छ।

हाल ६ जिल्लाका करिब ६७ हजार ७८५ स्थानीय कृषक आर्थिक आत्मनिर्भरतर्फ उन्मुख रहेको सो आयोजनाबाट थाहा भएको छ।

यसैगरी सो आयोजनाले अहिले वीरगन्ज, सिमरा, हेटौँडा र भरतपुर बजारमा स्थानीय उपभोक्ताका लागि दैनिक नौ हजार लिटर दूध र एक हजार ७०० लिटर दही खपत गर्दैआएको छ।- रासस