तिहारमा एकै गाउँबाट तीन करोडको मखमली माला बिक्री

Monday, 08 November 2010 17:13 नागरिक
Print
भक्तपुर, कात्तिक २२ - हिन्दुको दोस्रो चाड तिहारमा भक्तपुरको एकै गाउँबाट रु तीन करोडको मखमली माला बिक्री भएको छ। गुण्डु गाविसका किसानले यस वर्ष फूल र माला बिक्रीबाट रु तीन करोडको आम्दानी भएको बताए।

बिक्रीका लागि घरघरमा साउनदेखि नै मखमली माला उनेर तयारी अवस्थामा राखिएको थियो। माला उन्न किसानलाई कात्तिक महिनाभर भ्याइनभ्याई थियो।

भक्तपुरको गुण्डुमा सबैभन्दा बढी फूल खेती हुन्छ। यहाँका किसानले एकै घरमा कम्तीमा पनि ५०० माला उनेर तयार गर्दछन्। गुण्डुको ४, ८ र ९ वडाका प्रत्येक घरले कम्तीमा पनि आधा रोपनीदेखि पाँच रोपनी बारीमा फूलेखती गर्ने गरेका छन्।

सबैले साउनदेखि मखमली माला तयार गरी घरको ओसिलो ठाउँमा राख्ने गर्दछन्। तीन हजार माला उनेर बिक्री गरेकी किसान सरिता कुँवरले भनिन्- 'माला खोज्न व्यापारी आउनुभन्दा पहिला नै तयार गरेको हो, तिहारमा हतार गरेर खेताला लगाएर माला उन्नु पर्ने बाध्यतासमेत रह्यो।

उनले एक रोपनी जग्गामा फूल खेती गरेकी छिन्। उनले गत वर्ष नौ आना जग्गामा फूल खेती लगाएर रु ४८ हजार कमाई गरेकी थिइन् भने यस वर्ष रु एक लाखभन्दा बढी आम्दामी भएको बताइन्।

गत वर्ष घरबाटै रु १२ मा बिक्री गरेको माला यस वर्ष कम्तीमा रु १५ देखि २० मा बिक्री भएको किसान पवित्रा बस्नेतले बताइन्। उनले यही मूल्यमा एक हजार १०० माला पोखराका व्यवसायीलाई बिक्री गरिन् भने स्थानीय व्यापारीलाई समेत माला बेच्न भ्याइन्।

एक रोपनी जग्गामा फूलखेती गरेकी उनले चार महिनाको अवधिमा एक हजार ८०० माला तयार पारेकी थिइन्।

गुन्डुमा पाँच वर्षदेखि व्यावसायिक फूलखेती सुरु भएको सरिता बस्नेतले बताइन्। माला खोज्न व्यापारीहरु गाउँ पसेपछि पर्म लगाएर भए पनि माला उन्ने गरेको उनले बताइन्।

पार्वती नगरकोटीले पनि एक रोपनी जग्गामा लगाएको मखमलीको एक हजार ६०० माला उनेर बेचेकी छिन्। यहाँका एक परिवारले एक तिहारमा न्यूनतम् पनि रु ४० हजार कमाई गर्छन् भने बढीमा रु डेढ लाखसम्मको माला बेच्ने गरेको उनीहरु बताउँछन्।

फागुनमा नर्सरी राखेर चैतको अन्तिममा मकै र भट्माससँगै मखमली फूलको बेर्ना पनि लगाइन्छ। 'मकै र भट्माससँगै चैतको अन्तिममा लगाएको फूल असारको अन्तिममा टिप्न सुरु हुन्छ'- मेनुका नगरकोटीले भनिन्।

स्थानीय विकास कोषका सहजकर्ता सुनिता रिसालले गुन्डुमा मात्रै २०० रोपनीभन्दा बढी क्षेत्रफलमा फूलखेती लगाएको बताइन्। पूरै गाउँबाट एक तिहारमा कम्तीमा पनि रु तीन करोडभन्दाको कारोबार हुने गरेको बताइन्।

जिल्ला विकास समितिको स्थानीय विकास कोषले सञ्चालन गरेको गाउँ विकास कार्यक्रमअन्तर्गत गु्न्डुमा सामुदायिक संस्थामार्फत फूल खेतीलाई प्रवर्द्धन र उत्पादनमा सहयोग पुर्‍याएको छ।

कोषले खेती गर्न तालिम दिनुका साथै ऋण प्रदान गर्ने गरेको कोषका संयोजक राजन शर्माले जानकारी दिनुभयो। 'हामीले अर्गानिक मल उपलब्ध गराएका छौं,' फूलमा लाग्ने रोग कसरी समाधान गर्ने, कसरी रोप्नेलगायतका तालिम दिएका छौँ।'

विगतमा घरायसी प्रयोगका लागि रोप्ने गरे पनि अहिले व्यावसायिकरुपमा खेती गर्न लागेका हुन्।

खेती सुरु गरेको छोटो समयमै उचित आम्दानी पाएपछि अझ बढी फूलखेती गर्न हौस्याएको किसानहरु बताउँछन्। -रासस