Nepal Republic Media Pvt. Ltd.

Thursday
Jun 04th
Error
  • Error loading feed data.

'अर्बपतिलाई ठूलो लगानी गराउन सकिन्छ'

smaller text tool iconmedium text tool iconlarger text tool icon
विज्ञान अधिकारी, काठमाडौं, कात्तिक २९- साउदी अरबका राजकुमार अल-वलिद विन तलालको नेपाल भ्रमणबाट लाभ लिन सरकारले स्थिर लगानी नीतिको प्रत्याभूति दिनुपर्ने सुझाव त्यहाँको नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ।

विश्वकै १९ औं धनी व्यक्ति राजकुमार तलालको नेपाल भ्रमण निश्चित भएलगत्तै दूतावासले उनको आर्थिक तथा व्यावसायिक पृष्ठभूमि खुलाएर कुन-कुन क्षेत्रमा लगानी गराउन सकिन्छ भन्ने बेहोरासहितको सुझाव परराष्ट्र पठाएको हो।

'तलालले ठूलै लगानी गर्न सक्छन्, तर सरकारले त्यसको सुरक्षा र कुनै किसिमको नीतिगत परिवर्तन हुने छैन भनी आश्वस्त पार्नुपर्छ,' दूतावासका एक अधिकारीले नागरिकसँग भने, 'कर छुटबारे पनि स्पष्ट अवधारणा पेस गर्न सक्नुपर्छ।'

राजकुमार ३७ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै निजी विमान 'बोइङ ७४७' मा शनिबार नेपाल आएका हुन्। उनको १९ अर्ब ४० करोड अमेरिकी डलर बराबर सम्पत्ति रहेको अन्तर्राष्ट्रिय आर्थिक पत्रिका 'फोर्ब्स'मा उल्लेख छ। रियलस्टेट, स्टक मार्केट, सञ्चार, पर्यटन र होटल उनले लगानी गर्दै आएका क्षेत्र हुन्। नेपालमा पनि जलविद्युत् र होटलमा लगानी गर्नसक्ने दूतावासको राय छ।

'उनले विभिन्न देशमा ठुल्ठुला होटल चलाइरहेका छन्, नेपालमा पर्यटनको ठूलो सम्भावना
भएकाले यो क्षेत्रमा आकर्षित गर्न सकिन्छ,' ती अधिकारीले भने।

साउदी राजकुमारले दक्षिण एसियाको पहिलो औपचारिक भ्रमण नेपालमा गरेका हुन्। यसबाट नेपालप्रति उनको लगाव देखिने दूतावासले औंल्याएको छ। 'हामीले यो अवसर सदुपयोग गर्न सक्नुपर्छ,' उनले भने।

यो साउदी अरबमा नेपाली उत्पादनको निकासी प्रबर्द्धन गर्ने महŒवपूर्ण अवसरसमेत भएको उनले बताए। धनी देश भएकाले नेपाली गलैंचा, पस्मिनालगायत सामग्री पठाउन सकिन्छ। यसका लागि सोमबार हुने उच्चस्तरीय वार्तामा सरकारी टोलीले राजकुमारसँग औपचारिक आग्रह गर्नुपर्ने उनको सुझाव छ।

सोमबार परराष्ट्रमन्त्री सुजाता कोइराला, पर्यटनमन्त्री शरदसिंह भण्डारी, सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेल, उद्योगमन्त्री महेन्द्रप्रसाद यादव, अर्थमन्त्री सुरेन्द्र पाण्डे, संस्कृतिमन्त्री मिनेन्द्र रिजाल, ऊर्जामन्त्री प्रकाशशरण महत र श्रममन्त्री मोहमद अफताब आलम सम्मिलित प्रतिनिधिमण्डलले नेपालमा लगानी र आपसी व्यापारका सम्भावनाबारे साउदी राजकुमारसँग वार्ता गर्दैछ।

साउदीसँग नेपालको निकासी व्यापार कम छ। सरकारी स्तरमा मात्र होइन, निजी स्तरबाट पनि व्यापार बढाउनबारे पहलै नभएको दूतावासका अधिकारी बताउँछन्। 'निकासी प्रबर्द्धनका लागि पहलै भएको छैन, उद्योग वाणिज्य महासंघका प्रतिनिधिले औपचारिक भ्रमणसमेत गरेका छैनन्,' ती अधिकारीले भने, 'यही भ्रमणका क्रममा महासंघले साउदी राजकुमार र उनीसँगै आएको टोलीसँग द्विपक्षीय व्यापारको पहल गरे केही न केही लाभ हुनसक्छ।'


महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले पनि विश्वकै एक धनी व्यक्तिको नेपाल भ्रमणमा सरकारले लगानी र आपसी व्यापारलाई प्राथमिकता दिनुपर्ने बताए।

'यो सबैभन्दा महत्वपूर्ण अवसर हो,' उनले भने, 'हामीले ठूलो लगानी चाहिने जलविद्युत् क्षेत्रमा उनलाई तान्न सक्छौं।'

स्पष्ट आधारपत्र तयार पारेर कुनै एक आयोजनामा लगानीको निम्ति आश्वस्त पार्नसके अरू विदेशी लगानीलाई मार्गप्रशस्त हुने उनले बताए। प्रतिबद्धतामात्र गरेर गए भने पनि विश्व जगतमा सकारात्मक सन्देश जाने उनको राय छ। परराष्ट्रका अधिकारीहरू यो अवसरमा साउदीलाई नेपालमा दूतावास खोल्न आग्रह गर्नुपर्ने बताउँछन्। साउदी अरबमा पाँच लाख नेपाली छन्। वैदेशिक रोजगारका लागि सबभन्दा बढी नेपाली गएको मुलुक यही हो। तर, नेपालमा दूतावास नहुँदा भिसाका लागि बंगलादेश जानुपर्छ। दुई देशबीच सीधा हवाई उडान सेवा पनि छैन। धेरैजना भारत हुँदै जान्छन्। यसले यात्रा खर्चिलो छ।


'देशकै प्रमुख आर्थिक स्रोत रेमिटेन्ससँग जोडिएका यी विषयलाई सरकारले प्राथमिकतासाथ उठाउन सक्नुपर्छ,' परराष्ट्रका एक अधिकारीले भने।

दुई देशबीच सन् १९७७ मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसलगत्तै नेपालले सन् १९७८ मा त्यहाँ दूतावास खोलेको हो। उसले लामो समयदेखि 'साउदी कोष'का रूपमा ऋण सहायता दिँदै आएकाले पनि नेपालप्रति उनीहरूको लगाव झल्काउँछ। यही कोषबाट मध्य मर्स्याङ्दी परियोजनामा सहयोग आएको हो। बाग्मती सिँचाइ आयोजनामा पनि यसैबाट ऋण सहयोग दिइएको छ।

वाणिज्य मन्त्रालयका एक अधिकारीले साउदीमा हातेब्याग, सिडी क्यासेट, गलैंचा, पस्मिना र हस्तकलाजन्य सामग्री निकासी गर्न सकिने बताए। यी वस्तु केही मात्रामा निकासी भइरहेका छन्। त्यहाँबाट सुकमेल, लुब्रिकेन्ट आयल, मोटर स्पि्रट, अत्तरलगायत वस्तु आयात हुँदै आएको छ।

राजकुमार तलाल अरबी मूलका ५० धनीको सूचीमा दुई वर्षदेखि लगातार पहिलो स्थानमा छन्। उनी किङडम होल्डिङ कम्पनीका अध्यक्ष हुन्।

सन् १९७९ बाट व्यापारमा हात हालेका उनको रोटाना भिडियो एन्ड अडियो कम्पनी, लेबानिज ब्रोडकास्टिङ सेन्टर, न्युज कर्पोरेसन, सिटी ग्रुप, अल नहर, अल डियार, सिटी बैंक, एओएल एप्पल इन्क, एमसिआइ इन्क, मोटोरोला कम्पनी लगायत विश्वका थुप्रै देशका चर्चित होटल र प्रविधिसम्बन्धी कम्पनीमा लगानी छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


अर्थ

From Republica

new-traveld