डिआइजीको आदेशमा व्यापारीसँग पेट्रोल उठाउन थालियो

Saturday, 27 November 2010 16:39 नागरिक
Print
अमर खड्का, इटहरी, मङ्सिर ११- पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका डिआइजी भिष्म प्रसाईको आदेशमा सुनसरी खनार-सोनापुर क्षेत्रका उद्योगी-व्यापारीसँग पेट्रोल उठाउन थालिएको छ। शान्ति-सुरक्षा कायम राख्‍न इटहरीमा सञ्चालन गरिएको विशेष अप्रेसनका लागि भन्दै पेट्रोल उठाउन थालिएको हो।
डिआइजी प्रसाईले विशेष अप्रेसन सञ्चालनका लागि प्रहरीको गस्ती टोली परिचालन गर्न चार दिनअघि इटहरीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीसँग पेट्रोल माग गरेका थिए।

प्रसाईले सार्वजनिक कार्यक्रममै पेट्रोलको माग गरेपछि खनारको रिलायन्स स्पिनिङ् उद्योगबाट पेट्रोल दिएको प्रशासकीय अधिकृत महेश पोखरेलले बताए। उनका अनुसार लामो समयदेखि प्रहरीलाई आवश्यकताअनुसार सहयोग पुर्‍याउँदै आए पनि प्रसाईले भनेलगत्तै पेट्रोल दिइएको हो। 'प्रहरीलाई कहिले गाडी बनाउन त कहिले पेट्रोललगायतको सहयोग गरिने गरिएको छ,' उनले भने- दुई साताअघि मात्र गाडीको टायर दिइएको थियो, लगतै पेट्रोल दिनुपर्‍यो।

प्रसाईले पेट्रोल माग गर्नुभन्दा अघि नै इटहरीका व्यापारीहरुले संयुक्तरुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई एक–एक सय लिटरका दरले पेट्रोल सहयोग गरेका थिए। उद्यमी–व्यवसायी मञ्च पूर्वाञ्चलका अध्यक्षसमेत रहेका व्यापारी टङ्क दुलालले डिआइजी प्रसाईले पेट्रोल माग गरेयता भने लिन आइनसकेको तर दिने तयारी गरीरहेको बताए। 'विस्तारै आउलान् अन्ततिर उठाउँदैछन् भन्ने जानकारी आएको छ'- उनले भने।

इटहरी सिआरभी प्रहरीका इन्चार्ज सई कृष्ण थापाले सबै उद्योगी–व्यापारीले सहयोग गर्दै आएको बताए। आफू नयाँ भएकाले क–कसले सहयोग गर्छन् भन्नेबारे प्रस्ट जानकारी भने नभएको उनको भनाई छ।

प्रसाईले शान्ति–सुरक्षाको अवस्था दर्विलो पार्न संवेदनशील ठाउँ इटहरीमा अप्रेसन सञ्चालनका लागि सरकारले दिएको पेट्रोलले धान्न नसकेकाले उद्योगी–व्यापारीसँग माग गर्नुपरेको बताए। उनका अनुसार अब चाडै पूर्वको लहान, विर्तामोड, दमक, विराटनगर र उर्लाबारीमा विशेष अप्रेसन थालिनेछ। यी स्थानका सबैले प्रतिवद्धता व्यक्त गरेपछि अप्रेसन थालिने उनले नागरिकलाई बताए।

इटहरीका प्रहरी निरीक्षक श्यामल सुब्बाका अनुसार प्रसाईले पेट्रोल माग गरे पनि उठाउन भने नथालेको दाबी गरे।