Error
  • Error loading feed data.

एक वर्षभित्र सेयर बेच्न नौ संस्थालाई राष्ट्र बैंकको निर्देशन

smaller text tool iconmedium text tool iconlarger text tool icon
नारायण सापकोटा, काठमाडौं, मसिर २३- सञ्चालनमा आएको दुई वर्षसम्म साधारण सेयर जारी नगर्ने ९ बैंक तथा वित्तीय संस्थालाई १ वर्षभित्र सेयर बिक्री गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ।

केन्द्रीय बैंकले बुधबार पत्र पठाएको हो। सञ्चालनमा आएको २ वर्ष पूरा भए पनि सेयर जारी नगर्ने ९ कम्पनीमध्ये ७ वटा विकास बैंक र २ फाइनान्स कम्पनी छन्।

राष्ट्र बैंकका अनुसार राइजिङ डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, साँग्रिला विकास बैंक, भागर्व विकास बैंक, रारा विकास बैंक, कर्पोरेट विकास बैंक र प्रोफेसनल विकास बैंकले अहिलेसम्म सेयर जारी गरेका छैनन। फाइनान्स कम्पनी नमस्ते र मन्जुश्रीको पनि सेयर निस्कासन भएको छैन। यी सबैले आगामी १ वर्षभित्र सेयर बिक्री गरिसक्नुपर्नेछ।

राष्ट्र बैंकले लामो अवधिसम्म सर्वसाधारणलाई सेयर बिक्री नगर्ने पाँच बैंक तथा वित्तीय संस्थालाई पनि स्पष्टीकरण सोधेको छ।

'१० वर्षसम्म सेयर जारी नगर्नेलाई बुधबार ३५ दिनभित्र खारेजीमा किन नलैजाने भन्दै स्पष्टीकरण सोधिएको छ,' राष्ट्र बैंकका ती अधिकारीले भने।

लामो अवधिसम्म सेयर बिक्री नगरी बसेका युनाइटेड डेभलपमेन्ट बैंक, मर्कन्टायल फाइनान्स, हामा मर्चेन्ट, इन्भेस्टा फाइनान्स र मल्टिपर्पाेज फाइनान्ससँग स्पष्टिकरण सोधिएको हो।

यसबाट वित्तीय रुपमा स्वस्थ्य भए पनि सेयर बिक्री नगरी बस्ने कम्पनीलाई कडा दबाब परेको छ। यी कम्पनी एक आपसमा गाभिन चाहे केन्द्रीय बैंकले सकारात्मक रुपमा लिने विकल्प दिएको ती अधिकारीले बताए। 'यी कम्पनी मर्ज हुन चाहे राष्ट्र बैंकले सहयोग गर्नेछ,' उनले भने।

तीन वर्षदेखि १० वर्षसम्म सञ्चालनमा रहेका ती कम्पनीले हालसम्म साधारण सेयर निस्कासन गरेका छैनन्। २०७० सम्म समानुपातिक रुपमा पुँजी वृद्धि गर्नुपर्ने नियम पनि यिनीहरुले पालना गरेका छैनन्।

केन्द्रीय बैंकले स्पष्टीकरण सोधिएका यी कम्पनीको बोनस तथा लाभांश वितरण, कर्जा प्रवाह र निक्षेप संकलनमा सीमा तोकेको छ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था ऐनको वित्तीय करोबार गर्ने इजाजतपत्र सम्बन्धी नीतिगत एवं प्रक्रियागत व्यवस्थाअनुसार वाणिज्य बैंकलाई २०७० सम्म दुई अर्ब चुक्ता पुँजी पुर्‍याउन अनिवार्य गरेको छ।

राष्ट्रियस्तरको विकास बैंकलाई ६४ करोड, चारदेखि १० जिल्लामा कारोबार गर्ने विकास बैंकलाई २० करोड र एकदेखि तीन जिल्लामा कारोबार गर्ने विकास बैंकलाई १० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्ने हुन्छ। फाइनान्स कम्पनीले पनि कारोबार क्षेत्रअनुसार १० देखि २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्छ।

कम्पनीहरुले २०६४ असार मसान्तलाई आधार वर्षका रुपमा लिएर आर्थिक वर्ष २०६४/६५ देखि हरेक वर्ष नपुग रकमको समानुपातिक दरले पुँजी वृद्धि गर्दै लैजानुपर्ने हुन्छ।

आर्थिक वर्ष २०६७/६८ मा पुँजी वृद्धि नगर्नेलाई कर्जा असुली र निक्षेप भुक्तानी बाहेकका सम्पूर्ण कारोबारमा प्रतिबन्ध लगाउन सक्ने बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनले गरेको व्यवस्थाअनुसार केन्द्रीय बैंकले खारेज गर्न नपर्ने कारण सोध्दै स्पष्टीकरण माग गरेको हो।

गत माघमा राष्ट्र बैंकले समानुपातिक रुपमा चुक्ता पुँजी वृद्धि नगर्ने १० कम्पनीसँग स्पष्टीकरण माग गरेको थियो। तीमध्ये पाँच कम्पनीले राष्ट्र बैंकको निर्देशन अनुसार साधारण सेयर निस्कासन तथा समानुपातिक पुँजी गर्ने प्रक्रियामा गइसकेकाले बाँकी पाँचलाई कारबाही गर्नुअघि स्पष्टीकरण सोध्न लागेको हो।

'वित्तीय कम्पनीको अवस्था खराब भएर कारबाही गर्न लागिएको होइन,' ती अधिकारीले भने, 'राष्ट्र बैंकको नियमन पालना नगरेकाले कारबाही गर्नु परेको हो।'

कर्जाबाटै निक्षेपकर्ताको रकम फिर्ता दिन सक्ने अवस्थामा कम्पनी छन्। जगेडा कोषमा समेत पर्याप्त रकम छ। सर्वसाधारणलाई सेयर बिक्री नभएकाले जगेडा कोषमा रहेको रकम कम्पनी खारेजीमा गए संस्थापक सेयर धनीले नै पाउँछन्। 'चुक्तापुँजीभन्दा बढी रकम जगेडा कोषमा रहेकोले संस्थापक खारेजीमा जानसमेत कम्पनी तयार हुने अवस्था छ,' ती अधिकारीले भने।

पाँचमध्ये चार कम्पनीले सेयर बिक्रीका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन्। यी संस्थामध्ये केहीको आवेदन वित्तीय विवरण माग गर्दै रोकिएको छ भने केहीको कम्पनीकै तर्फबाट रोकिएको बोर्डले जनाएको छ। बोर्डमा सेयर बिक्रीका लागि आवेदन नदिनेमा युनाइटेड डेभलपमेन्ट बैंकमात्र छ।

मल्टिपर्पोजले २०६७ साउनमा १ करोड रुपैयाँको साधारण सेयर बिक्रीका लागि आवेदन दिएको छ। उसको आवेदन २०६७ असारसम्मको वित्तीय विवरण पेश गर्न निर्देशन दिँदै बोर्डले रोकिदिएको छ।

इन्भेस्टा फाइनान्सले २०६६ साउनमा १ करोड ६० लाख रुपैयाँको सेयर बिक्रीका लागि आवेदन दिएको छ। कम्पनीकै तर्फबाट यसको सेयर बिक्रीको आवेदन रोकिएको बोर्डले जनाएको छ।

हामा मर्चेन्टले २०६७ भदौमा ७ करोड ४० लाख रुपैयाँको सेयर बिक्रीका लागि आवेदन दिएको छ। यसले २०६७ असारसम्मको वित्तीय विवरण पेस नगरेकाले प्रक्रिया रोकिएको हो।

मर्कन्टाइलले २०६७ भदौमा १ करोड ८० लाख रुपैयाँको सेयर बिक्री गर्न अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ। यसको आवेदनसमेत २०६७ असारसम्मको वित्तीय विवरण पेस नगरेकाले रोकिएको हो।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


अर्थ

From Republica

new-traveld