३ महिना अमेरिका, ९ महिना नेपाल

Saturday, 04 December 2010 11:38 नागरिक
Print

मनोज अधिकारी/सन्तोष पोखरेल, पोखरा, मंसिर १८ - अमेरिका जानुअघि १४ वर्षपहिले सातवटा फिल्म खेल्दाखेल्दै सरोज खनाल नेपाली फिल्म क्षेत्रबाट एकाएक गायब भए। जल्दाबल्दा हिरो बिदेसिएपछि नेपाली फिल्मी क्षेत्रले डेढ दसक सशक्त अभिनय गर्ने कलाकारको अभाव झेलिरह्यो। अभिनय कलामा सधैं अग्रस्थानमा आउने तिनै सरोज खनाल अहिले नेपाल फर्केका छन् तर सधैंका लागि होइन। तैपनि उनले पुराना र आफूलाई नचिनेका नयाँ पुस्ताका दर्शकलाई एउटा कोसेली दिँदैछन्।
डेढ दसकदेखि गढेको अभिनय हेर्न नपाएका आफ्ना दर्शकका लागि उनले धित मर्ने गरी फिल्म 'मानव' का लागि उही जोसका साथ सशक्त अभिनय गरिरहेका छन्। मंसिरको ठन्डीमा बिहानदेखि झक्के साँझसम्म पोखरा आसपासका डाँडामा उनी उही पुरानै शैलीमा हिरोइन च्यापेर पर्दामा आउने बाटो तय गर्दैछन्।
डेढ दसकपछि फर्केका खनालको जोसजाँगर उस्तै छ। बरु झनै फुर्तिला भएका छन्। उनी आफ्नो अभिनय कलामा डेढ दसक पहिलेकै अवस्थामा फर्केको ठान्छन्। उमेरले पहिलाभन्दा केही बुढ्यौली लागे पनि निर्देशकले मागेको 'सट' दिन आफू अझै सक्षम छु भन्ने उनलाई लागेको छ। जारी छायांकनका क्रममा अहिलेसम्म दुइटा गीतमा नाच्दा उनमा पहिलेभन्दा कुनै कमजोरी फेला परेन। फिल्म 'मानव' का निर्देशक यादव सिलवाल यसैमा दंग छन्। आफ्नो बाल्यकालका मनमर्ने हिरोलाई आज आफैंले फिल्म खेलाउन पाउँदा सिलवालमा खुसीको सीमा छैन। उनले अबको केही महिनामै '१५ वर्षपछि सरोज खनालअभिनीत फिल्म' भनेर ठूलै तामझामको प्रचार गर्नेछन्।
कपाल र जुँगाको उही शैलीका खनाललाई अभिनयकलामा आफू उत्तिकै जुझारू भए पनि फिल्मको 'फाइट' मा केही अप्ठेरो हुने हो कि भन्ने डर छ। नाच्नमा आफू पहिलेभन्दा निकै प्रखर भएको उनी बताउँछन्। सायद, अमेरिकामा बेलाबेला भइरहने सांस्कृतिक कार्यक्रममा समकक्षी हिरोइनहरू कृष्टि मैनाली, करिस्मा मानन्धर र सारंगा श्रेष्ठसँगको नाचगानको प्रभाव होला।
'मानवमा अभिनय थाल्दा लामो ग्यापका कारण केही अप्ठेरो महसुस गरे पनि अभिनयको खोला आखिर सलल बगेरै छोड्यो,' शुक्रबार साँझ लेखनाथस्थित फिल्मी स्टुडियोको अँध्यारो कौसीमा खनालले नागरिकसँग भने।
१४ वर्षअघि अमेरिका जानुअघि पाँचवटा फिल्ममा हस्ताक्षर गरेका खनाल अन्तिम फिल्म 'रगत' को सम्पूर्ण काम सकेर हिँडेका थिए। तर उनले त्यो फिल्म कस्तो बन्यो, हेर्न पाएनन्। ३३ वटा फिल्म खेल्दै यस क्षेत्रको दिक्दारी झेल्दै हस्ताक्षर गरेका बाँकी फिल्म निर्मातालाई फिर्ता गरेर उनी बिदेसिएका थिए। त्यसबेला कपितय फिल्ममा सित्तै काम गर्नुपरेको तितो अनुभव उनले संगाले। अझै पनि केही निर्माता-निर्देशकसँग उनले त्यतिबेला फिल्म खेलेवापतको करिब २ लाख रुपैयाँ पारिश्रमिक बाँकी छ।
आफूले खेलेका ३३ वटा फिल्ममध्ये 'प्रेमपिण्ड', 'तपस्या' र 'चोखोमाया'लाई उनी कहिल्यै बिर्संदैनन्। अमेरिकामा समेत व्यापक चर्चा पाएको प्रेमपिण्डकै कारण उनले उताको बसाइमा समेत धेरै लाभ पाए।
खनाल अबको १५ महिनापछि स्थायी रूपमै नेपाल बस्ने गरी आउँदैछन्। यो उनको पूर्वनिर्धारित योजना हो। तैपनि वर्षमा ९ महिना नेपाल र ३ महिना अमेरिका बस्ने उनको योजना छ। ९ महिना नेपाल बस्दा के काम गर्ने भन्ने कार्ययोजना बनाउन उनले भ्याएका छैनन्। बाँकी ३ महिना अमेरिका बस्नुको कारण भने छुट्टै छ। नेपालबसाइ अवधिमा कुनै राम्रो प्रोजेक्ट पाए फिल्मी वा नाटकमा काम गर्ने उनको धोको छ। कुनै बेलाका नामुद अभिनेता अहिले गुमनाम भएर बस्न तयार छैनन्। हिजोको पुस्ताले राम्रोसँग चिने पनि आजको पुस्तालाई आफू को हुँ भन्ने चिनाउनु छ उनलाई।
'अहिलेका ६० प्रतिशत दर्शकले मलाई चिन्दैनन्,' उनले भने, 'ती जनतामाझ आफूलाई चिनाउनु मेरो अहिलेको चुनौती हो।'
खनालले नयाँ पुस्ताका लागि आफ्नो पहिलो परिचयका रूपमा फिल्म 'मानव'का लागि अभिनय गरिरहेका छन्। जसको अहिले पोखराआसपास छायांकन भइरहेको छ। यसमा संसारभर 'मानव' कसरी 'दानव' बन्दैछ भन्ने मुल कथासारलाई खनालले बोकेका छन्। यसमा आफू कथाअनुसार 'सुट' भएकोमा उनी दंग छन्। सन् १९६४ मा जन्मेका खनालले यस फिल्ममा आफूलाई २८ वर्षको जवानीमा उतार्दैछन्।
उनी आफैं अचम्ममा पर्ने कुरा के भने उनी अहिले जुन हिरोइनसँग फिल्ममा नाच्दैछन् त्यही हिरोइनले यसअघि खनाललाई चिनेकै थिइनन्। 'मानव' की हिरोइन दीपशिखा शाहीले अहिलेसम्म खनालको एउटै फिल्म हेरेकी रहिनछन्। शाहीले आफ्नी आमाबाट सरोज खनालबारे बुझेकी मात्र थिइन्। खनालले नेपाल छोड्दा उनी मात्र तीन वर्षकी थिइन्।
अमेरिका पस्दाभन्दा अहिले नेपाली फिल्म क्षेत्रले निकै फड्को मारेको उनको बुझाइ छ। उनी फिल्मी क्षेत्रका आफ्ना अधिकांश समकक्षीलाई नदेख्दा छक्क छन्। 'मैले अहिले अभिनय गरिरहेको ५० जनाको टिममा तीनजना मात्र पुराना साथीलाई भेटेँ,' खनालले भने, 'अरू कहाँ गए, पत्तै भएन।'
यसबीचमा नेपाली चलचित्रले प्रविधि क्षेत्रमा निकै फड्को मारेको छ। उतिबेला क्रेन र ट्रलीजस्ता प्रविधि देख्नै गाह्रो थियो। क्यामेराको गुणस्तर पनि अहिले निकै बढेको खनालले देखे।
'टेक्निकली निकै एडभान्स भएछ नेपाली फिल्म क्षेत्र,' उनले भने, 'अहिले कुनै पनि सिनमा मिस्टेक हुँदैन, सानोतिनो मिस्टेक भइहाले प्रविधिले मिलाउँछ। खिचेको कुरा तुरुन्तै हेरेर करेक्सन गर्न सकिने प्रविधि नेपाली फिल्मी क्षेत्रमा पनि आइसकेछ।'
किन गए अमेरिका
नेपाली फिल्मी क्षेत्रमा लामो समय बिताउँदा पनि डेराको बसाइबाट माथि उक्लिन नसकेपछि उनमा निराशा थियो। चारजनाको परिवार राजधानीको डेरामा धेरै समय चल्दैन भन्ने उनले बुझेका थिए। त्यही क्रममा लोकगायन हस्ती प्रेमराजा महतसँग सांस्कृतिक कार्यक्रम लिएर अमेरिका गएका बेला उनमा उतैको मोह जाग्यो। आफू अमेरिका लुकेर बसेको नभई आवश्यक कागजी प्रक्रिया भने पुरा गरेको खनाल जिकिर गर्छन्।
डेढ दसक अमेरिका बसे पनि उनलाई अझै त्यो मोह घटेको छैन। हिजोको गरिबी आज फर्कनु नपर्ने अवस्थामा पछि परिसक्यो तर उनी अझै परिवारकै लागि अमेरिका छोड्ने अवस्थामा छैनन्। उनका जेठो छोरा अमेरिकी सेनामा इन्जिनियर छन्। कान्छोले ग्र्याजुयट सक्दैछन्।
हिंसापछि भग्नावशेष बनेको इराकमा हाल पुनर्स्थापनको काम गरिरहेका जेठा छोराको बिहे र कान्छोको पढाइ पुरा गर्नु उनले आफ्नो कर्तव्य ठानेका छन्। त्यसपछि बल्ल स्वतन्त्र हुने उनको आशा छ। आफ्ना दुवै छोराप्रति गर्व गर्ने उनले दुवैको करिअर उनीहरूकै योजनाअनुसार अघि बढिरहेको बताए। प्राविधिक क्षेत्र समाएका जेठो छोराको 'लभ अफेयर'मा समेत सन्तुष्ट बनेका उनी कान्छोको संगीत क्षेत्रप्रतिको मोहमा पनि लोभिएका छन्।
'थ्याङ्क्स गड, मेरो छोरोको गर्लफ्रेन्ड पनि नेपाली नै छ,' उनले हाँस्दै भने, 'छोराको फुर्सद भएपछि म नेपाली बुहारी भिœयाउँदैछु। यो मेरा लागि खुसी हो।'
आफ्नो अमेरिका बस्ने मोहका कारण पत्नी रंगमञ्चकी सशक्त कलाकार सूर्यमाला शर्माले ठूलो बलिदान गर्नुपरेकोमा भने उनलाई पछुतो छ।
'आफूभन्दा सिनियर कलाकारको भविष्यको कुनै ख्यालै नगरी अमेरिका पस्नु उनका लागि जति पीडादायी हो त्योभन्दा मेरो लागि कैयन गुना पछुतो छ,' उनले भने, 'तर यो सब समझदारीमा गरिएको पारिवारिक बाध्यता थियो।'
अमेरिकामा के गरे
परिवारको भविष्य उज्ज्वल बनाउन अमेरिका छिरेका खनालले सुरुका केही महिना डिपार्टमेन्टल स्टोरमा डिस्प्ले म्यानका रूपमा काम गरे। तर नेपालमा उनी पेट्रोल पम्पमा काम गर्छन् भन्ने व्यापक प्रचार गरिएको थियो। करिब ६ महिनाको उक्त कामपछि कुक, कस्टोमर सर्भिस, व्यवस्थापन, कम्प्युटर लगायतको १० हप्ते तालिम लिएर उनले विन्डिज (अमेरिकाको दोस्रो ठूलो फुड चेन) कम्पनीमा म्यानेजर पदमा काम पाए। २ वर्षे म्यानेजर अनुभवपछि खनाल आफैंले 'कुमारी रेस्टुराँ' खोले। आफ्नै रेस्टुराँमा उनी बिहान ७ देखि राति १२ बजेसम्म घोटिन्थे।
'अमेरिका भन्दैमा काम नगर्ने भन्ने होइन, दिनमा १७ घन्टासम्म काम गरेँ,' अमेरिकी भोगाइ सुनाए, 'त्यहाँ नेपालजस्तो कुनै पनि कामलाई सानोठूलो भनिँदैन।'
रेस्टुराँ चलाउने कामसँगै नेपाली समाजका विभिन्न गतिविधिमा समेत उनी संलग्न हुन्थे। त्यसमा नेपालबाट गएका अन्य कलाकारले साथ दिन्थे।
दुई वर्ष रेस्टुराँ चलाएपछि खनाल पुनः विन्डिज कम्पनी फर्के। जुन कम्पनीमा उनले गत वर्षसम्म काम गरिरहेका थिए। जहाँ राम्रो अवसर पाइन्छ, उहीँ काम गर्ने भन्ने मान्यताअनुसार गतवर्ष केएफसी, पिज्जाहट र पेप्सीको एरिया म्यानेजरको काम सम्हाले।
उनले नेपालमा हल्ला चलेजस्तो पेट्रोल पम्पमा काम गर्ने र भाँडा माझ्ने काम कहिल्यै गर्नुपरेन। 'मेरो विरुद्ध फिल्म क्षेत्रकै मान्छेले अनेक हल्ला चलाएछन्,' उनको गुनासो छ, 'तर मैले त राम्रै काम गरिररहेको थिएँ।'
उनले रामै कमाइ गरे पनि परिवारका लागि खेपका खेप खर्च पठाउनु भने परेन। दाजुभाइ आआफ्नो पेसाव्यवसायमा रहेकाले उनीमाथि आर्थिक सहयोग गर्नुपर्ने दायित्व नपरेको हो। 'जति कमाएँ, त्यसमै रमाएर खर्च गरेँ,' उनले भने।
नेपालबाट अमेरिका गएर बसेका नेपालीले राम्रै काम पाएको उनले देखेका छन्। अझ यहाँबाट गएका कलाकारले झन् सम्मानित काम नै पाएको दाबी उनी गर्छन्। उनको अनुभवमा अमेरिकामा जोसुकै नेपालीले 'दोस्रो दर्जा' को नागरिक भएर बस्नुपर्छ।
'आफूलाई पुगेपछि मात्र हामी (नेपाली) लाई दिने त हुन्, त्यसैले नेपाली नागरिक अमेरिकामा दोस्रो दर्जाका भएर बसेका छन्। चाहे ती डिभी परेर गएका हुन्् वा अन्य प्रक्रियाले।'
उनका अनुसार अमेरिका जाने अधिकांश नेपालीले पहिलो काम ग्यास स्टेसनमा गर्छन्। अमेरिकामा भिज्दै गएपछि नेपालीले विस्तारै अन्यत्र काम पाउने हुन्।
'कसले के काम गर्छ भन्ने होइन, काम गर्छ कि गर्दैन भन्ने मुख्य हो,' खनाल भन्छन्, 'अमेरिकामा म बेरोजगार छु भन्नुजस्तो लज्जास्पद केही हुँदैन। त्यसैले सबैले काम गरेकै हुन्छन्। त्यहाँ काम गर्नु नै ठूलो कुरा हो।'
कसरी चिने अमेरिका
उनले अमेरिका छिर्दा यति लामो समय बस्छु भन्ने सोचेकै थिएनन्। त्यहाँको हावापानी, नियम, कानुनले उनलाई लोभ्यायो। थोरै काम गर्दा पनि बाँच्न सकिने त्यहाँको वातावरणले उनलाई तान्यो। अमेरिकामा साधारण नागरिकदेखि राष्ट्रपतिसम्मलाई एकै कानुन लाग्छ, कानुनले कसैलाई सानोठूलो भन्दैन। त्यहाँका राष्ट्रपति साधारण रेस्टुराँमा पनि गएर खाइरहेका देखिन्छन्।
अमेरिकाले सक्षम र योग्य व्यक्तिको सधैं खोजी गरिरहन्छ। कागजी रूपमा आफू सक्षम छु भन्ने प्रमाणित गर्न सके सबैका लागि अमेरिका खुला छ। खनाल पनि त्यस्तै प्रमाण पुर्‍याएर अमेरिका छिरेका हुन्। एक सांस्कृतिक कार्यक्रममा गएका उनले निश्चित शुल्क तिरेको खण्डमा अमेरिकामा बसाइ प्रक्रिया अघि बढ्ने जानकारी पाए।
'म दक्ष छु भन्ने कागजी रूपमा प्रमाणित गरेर देखाएँ,' उनले अमेरिका बस्ने आधार पुष्टि गर्न खोजे, 'त्यही प्रक्रियाअनुसार अमेरिकाले मलाई बस्ने अनुमति दियो। अमेरिकामा राम्रो मान्छे तान्ने प्रवृत्ति छ।'
आफू यति लामो समय बस्दा तिरेको सामाजिक सुरक्षा करको एकमुष्ठ रकम फिर्ता हुँदैछ। त्यसका लागि वर्षमा एकपटक प्रक्रिया नवीकरण गर्नुपर्ने हुन्छ। अवकासपछि पाइने उक्त रकमले भविष्यको नेपाल बसाइ सुखमय बनाउने उनको लक्ष्य छ। त्यही रकम पाउनका लागि उनले अमेरिकाको बसाइलाई पनि निरन्तरता दिनैपर्छ।
'अमेरिकामा ६० वर्षपछि मात्र सुखको जीवन सुरु हुन्छ,' उनले डेढ दसक लामो अनुभवबाट सिकेको कुरा सुनाए, 'त्यसभन्दा अघि त गधा बन्नुपर्छ।'
भविष्यमा नेपालमा के गर्छन्
उनको नेपाल बसाइ यत्तिकै बित्ने छैन। उनले कम्तिमा एउटा चलचित्र बनाउने र व्यापार गर्नेसमेत योजना बनाएका छन्। फिल्मको नाम जुराइसके पनि अहिल्यै सार्वजनिक नगर्ने उनको अडान छ। 'यो कथा जहाँ पनि किन्न पाइन्छ तर म यसलाई फरक रूपमा देखाउँछु,' उनले भने। उनले बनाउने फिल्मले नेपाली रंगमञ्चमा छुट्टै मोड ल्याउने उनको दाबी छ। यो उनको १८ वर्ष पहिलेको योजना हो। त्यसबाहेक सामाजिक सेवामा पनि उनको रुचि छ। तर बाहिरबाट पैसा ल्याएर कुनै गैरसरकारी संस्थाका रूपमा भने काम गर्ने होइन।