कम्तिमा २१ पटक रोएकी छुः ऋचा

Monday, 06 December 2010 12:46 नागरिक
Print
'फस्ट लभ'बाट हिरोइन बनेकी ऋचा शर्मा अहिले सुदर्शन थापाको 'मेरो लभस्टोरी'मा व्यस्त छिन्। उनले निर्देशक भूषण दाहालको 'हाम्रो टिम' टेलिशृंखला पनि सिध्याएकी छिन्। उनीसँगको कुराकानीः


मान्छेलाई कति पटकसम्म सुधि्रने मौका दिइनुपर्छ?
कम्तीमा पनि एकपटक दिनुपर्छ। एकपटकमा नसुधि्रनेलाई धेरै अवसर दिनु ठिक होइन।

उमेर एउटा विन्दुमा रोकिने भयो भने तपाई कुन उमेरमा रोकिन चाहनुहुन्छ ?
६० वर्षमा रोकिए हुन्छ। त्यसबेला आफ्ना नातिनातिनीको मुख हेर्न पाइन्छ। अहिलेका दिनको स्मरण गर्दा रमाइलो होला।

अहिलेसम्म कतिपटक रुनुभयो?
कम्तिमा पनि २१ पटक त रोएकी छु। मलाई याद भए अनुसार ३ वर्षअघि बुबाको निधन हुँदा धेरै रोएकी थिएँ। त्यसपछि राष्ट्रिय प्रतिभा पुरस्कार पाउँदा बुबालाई सम्झेर फेरि रोएँ। हालै दिदीको बिहेमा पनि आँसु खस्यो।

तपाईले वास्तविक जीवनमा कतिवटा भूमिका निर्वाह गर्दै हुनुहुन्छ?
आठवटा भूमिका निर्वाह गरेकी छु। छोरी, नातिनी, बहिनी, आन्टी, दिदी लगायतका छन्। त्यस्तै कसैको गर्लफ्रेन्ड पनि!

मान्छेलाई चिन्न कम्तिमा कति चोटी भेट्नुपर्छ?
नेपालीलाई कहिलेकाहीँ एकै भेटमा चिनिन्छ। कसैलाई जिन्दगीभर पनि चिन्न सकिन्न। मैले चाहिँ मान्छे चिन्न धेरैमा पाँचपटक भेट्नुपर्छ।

दिनमा कति घन्टा अरूको बारेमा सोच्नुहुन्छ?
आजकल त आफ्नै बारेमा धेरै सोच्ने भएकी छु। सायद ३ घन्टा ममीकै बारेमा सोच्छु। उहाँ जर्मनीमा हुनहुन्छ।

तपाईले कतिजनाको गुण तिर्न बाँकी छ?
जन्म दिने आमाबुबाको गुण कसैले पनि तिर्न सक्दैन। मेरो विचारमा ममीको मात्र गुण तिर्न बाँकी होला।

हरेक कतिजना मान्छेमा एक मान्छे असल भेट्नुहुन्छ?
खोज्न कठिन हुनसक्छ तर मान्छेहरू त्यति नराम्रा भैसकेका छैनन्। भेट्न चाहिँ भेटिन्छ। सय जनामा एक त असल नै हुन्छ।

लक्की नम्बर कुन हो?
मेरो लागि २ हो। २००७ को मिस नेपालमा म प्रतियोगी नम्बर २ थिएँ। त्यसमा ब्युटिफल टाइटल जितेँ। हरेक कुरा दुई पटकमा मात्र सफल हुन्छ। 'फस्ट लभ'मा पनि दोस्रो अभिनेत्रीका रूपमा छनोट भएँ। मेरो बेस्ट फ्रेन्ड विनय श्रेष्ठको जन्मदिन फेब्रुअरी २ हो।