'अहिले जनताको सेवामा लागेका छौं' - हिमानी

Wednesday, 01 September 2010 11:20 नागरिक
Print
नागरिकन्युजकर्मी रमेश खतिवडाले पूर्व युवराज्ञी हिमानी शाह दोलखा गएदेखि उनको गतिविधि नियाले। उनले त्यहीँ शाहसँग छोटो कुराकानी समेत गरे। प्रस्तुत छ कुराकानीको अंश:

• दोलखा किन आउनु भएको?
दोलखा आउने बिचार पहिल्यै देखि थियो। यहाँको बारेमा धेरै सुनेको र थाहा पाएको थिए। दोलखा आउने पहिल्यै देखिको ईच्छा र नाम्दु गाउँमा खानेपानीको अभाव छ भन्ने थाहा पाएपछि त्यहाँका जनतालाई खानेपानीको सहयोग गरौं र दोलखा घुमफिर गरौं भनेर आएको हुँ।

• कस्तो लाग्यो त दोलखा?
एकदम सुन्दर छ। आँखै अगाडि हिमाल, सुन्दर हरियाली डाँडाकाँडा, रमाईलो रहेछ दोलखा।

• एउटा गाउँको खानेपानी योजनालाई सहयोग गर्ने भनेर दोलखा त आउनु भयो? अन्य राजनितिक कारण त छैन?
यो मैले विशुद्ध सामाजिक भावना बोकेर यो जिल्लाका जनतालाई सहयोग गर्न आएको हुँ। त्यस्तो अन्य केही पनि कारण छैन।

• राजसंस्था सक्रिय हुँदा सामाजिक काममा लागेन। अहिले गणतन्त्र आइसकेपछि देश दौडाहा गरिरहनु भएको छ। यसलाई जनताले कसरी बुझ्ने?
पहिले यो कामका साथै अन्य काममा पनि सक्रिय थियौ। त्यसकारण राजसंस्थाले त्यतिखेर गरेको सामाजिक कामको खासै 'फोकस' हुदैनथ्यो। अहिले यही काम गरेर जनताको सेवामा लागेका छौँ, त्यस कारण बढी 'फोकस' मात्र भएको हो। काम पहिले पनि हुन्थ्यो।

• तपाइलाई अवरोध गरियो नि! थाहा पाउनुभयो?

थाहा भएन कसले अवरोध गर्नु भयो भन्ने? तर यस्तो सामाजिक काम गर्दा यस्ता साना समस्याको वास्ता नगरी अगाडि बढ्नुपर्छ।

• नेपालको अहिलेको राजनीतिका बारेमा तपाईको धारणा?
सबै मिलेर अगाडि बढ्नुपर्छ।

फर्केपछि परिवारलाई दोलखाको बारेमा के भन्नुहुन्छ?
यहाँ बाट फर्केपछि सबै परिवारलाई दोलखा जाऔँ भन्छु।