स्वर्ग बंक

Sunday, 04 April 2010 09:43 बुद्धिसागर
Print
अर्काको बाइकमा चढ्नै नहुने। सडकको डिभाइडरमा लगेर ठोक्कायो। म त ठहरै। यति चाँडै मरिएलाजस्तो त लागेको थिएन। मरेपछि, सुख्ख पाइन्छ भन्ने कुरा पनि बकवास नै रैछ। असली दुख्ख त मरेपछि सुरु हुँदोरैछ।

माथि हेर्दा आँखा तिर्मिराउने भर्‍याङको आठसय छप्पन्न खुट्किलामाथि छु। हिँड्दा खुट्किला गन्ने बानी पनि राम्रै हो, कम्तीमा उक्लिएका खुटि्कला त याद रहे। पिडौला बेस्मारी गलेका छन्। आँत सुकेको छ।


हिँडेको हिँड्यै छु।

सिढीमा कनी-कनी उक्लिरहेका बुढाहरू पनि भेटिन्छन्। ती मुन्टो निहुराउँदै हिँड्छन्। कुन्नि कुन देशबाट आका हुन्, भाषा पनि बुझिन्न।

बीचमा एकजना बुढा भेटिएका थिए। नेपाली नै रैछन्।
‘कता हिँड्यौ?' उनले सोधेका थिए।
‘मरेदेखि यै सिढी उक्ल्या छु।'
‘तिमी त जवानीमै मरेछौ, मज्जाले हिँड्न सक्छौ,' बुढाले सास फेर्दा जिब्रो बाहिर निकालेका थिए, ‘आफूलाई त केको श्राप परेको हो, कुन्नि! बुढेसकालमा मरँे। हिँड्नै सक्दिनँ।'
‘बिस्तारै हिँड्नुहोला,' मैले भनेको थिएँ, ‘यो सिढी स्वर्गैतिर त लाग्या होला।'
बुढा केही भन्न खोज्दैथे। म हुत्तहुत्त माथितिर दगुरेको थिएँ।
त्यसपछि कोही नेपाली भेटेको छैन।

थ्याच्च बस्दै - उठ्दै - हिँड्दैे फेरि एक हजार खुटि्कला उक्लिएँ। पर... मान्छेको हुल देखियो। एउटा-दुइटा घर पनि देखिए।
सिढी सक्किएर सम्म बाटो आएको थियो, म बेस्मारी दगुरेँ।

काँडेतारले घेरेको ठूलो चौरमा ठेलमठेल मानिस थिए। काँडेतारको एकछेउमा ठूलो गेट थियो। गेटमा चार-पाँच जना मुस्तन्डे। टाउकामा फलामका गोला टोपी। ज्यानमा गेरुबस्त्र।
‘कता?' एउटाले सोध्यो।
‘हिजै मात्रै मरेको हुम्?' म हाँसेँ, ‘कता जाने हो, था छैन।'
‘भित्र गएर हाकिम सापलाई आफ्नो हिसाब-किताब देखाउने,' अर्कोले भन्यो, ‘अनि जाँ-जाँ भन्नुहुन्छ, त्यतै जाने।'
‘को हाकिम साप?'
‘चित्रगुप्त हाकिम साप!' अर्को हाँस्यो, ‘हिहिहि... मर्नेबित्तिकै उहाँलाई भेट्नुपर्छ भन्ने थाहा छैन? बुढाको ब्लडप्रेसर बढेको छ... ख्याल राख्नू। रिसाए भने स्वर्ग पठाइदेलान्।'
‘स्वर्ग जान पाए त राम्रै भो नि!'
‘गइस् स्वर्ग, लन्ठु!' पहिलो हाँस्यो, ‘बडो सवाल-जवाफ छस् तँ?'
‘मरेपछि सबै स्वर्ग जान चाहन्छन्,' मैले गम्भीर भएर भनेँ, ‘मैले पनि स्वर्ग जानेजत्तिको धर्म गरेकै छु।'
‘बढी बोल्दो रैछ ए,' एउटाले खुट्टा उचाल्यो, ‘साप बुटले हानँू?'
‘हुन्दे,' दोस्रोले भन्यो, ‘स्टुडेन्ड पोलिटिक्सवालाजस्तो छ।'
‘होइन,' म गर्वले उभिएँ, ‘पत्रकार हुम्।'
‘पत्रकार रैछ... बुटले हानम्?'
‘हुन्दे,' खुट्टा उचाल्नेवालालाई शान्त पार्दै पहिलोले भन्यो, ‘ठेट्नै छ।'
अनि उसले मलाई नियालेर हेर्‍यो, ‘पचास रुपैयाँ दे।'
‘किन?' म सजग भएँ।
‘इन्ट्री फि।'
‘मरेको मान्छेले काँबाट पैसा ल्याउनु?'
‘पहिलोपल्ट मरेको स्वाँठ!' दोस्रो झर्कियो, ‘गोजी छाम।'
लौ, मनी ब्याग त रैछ! म त अचम्मै भएँ, मरिसकेपछि पनि पर्स त गोजीमै हुँदोरैछ। झिकेँ।
‘खुरुक्क दे,' आदेश आयो, ‘नत्र यतै बाहिर सडेर बस्लास्!'
जाबो पचास त हो नि, दिएँ।
‘याँबाट सिधै भित्र जानू,' रसिद दिँदै एउटाले बाटो देखायो।

बाटोछेउछाउ झोक्राएका, हाई काढिरहेका मान्छेलाई छल्दै म ठूलो भवनको गेटमा उभिएँ। जसको निधारमा एउटा साइनबोर्ड टाँगिएको थियो - मनुष्य भन्सार सेवा, मुख्यालय।
...

‘रसिद छ?' कम्मरमा तरबार झुन्ड्याएको पालेले सोध्यो।
मैले दिएँ।
‘टाइममै आएछौ,' उसले भित्रको बाटो देखायो। म लुरुलुरु भित्र गएँ। कोठ-कोठामा मानिसको भीड थियो। धेरैको अनुहारमा पसिना।

‘मेरो फाइल अड्केको चौध दिन भो,' एउटा बुढो कराइरहेको थियो, ‘उता सन्तानले तेह्र दिनको श्राद्ध पनि सकेहोलान्... बा स्वर्ग पुगे भने होलान्... याँ यसरी लट्काउन त भएन नि!'
‘के गर्नु बाज्या,' तरबारवालाले सम्झाइरहेको थियो, ‘पहिल्यै हाकिम सापलाई खुसी बनाउनुस् भनेकै हो, मान्नुभएन।'
‘मरेपछि छातीमा राखेर लैजान मिल्दैन भनेर सारा सम्पत्ति दान गरेँ,' बुढाले पसिना पुछे, ‘फुटेको कौडी छैन।'
म अघि बढेँ।
एउटा ठूलो ढोकाअगाडि उभिएको पालेले सोध्यो, ‘रसिद काट्या छौ?'
मैले दिएँ।
‘हाकिम साप भित्रै हुनुहुन्छ,' उसले भन्यो, ‘चर्को स्वरमा नबोल्नू। उहाँलाई तीनपल्ट हर्ट अट्याक भइसकेको छ।'
म भित्र पसेँ।
तर उनलाई कतै देखिनँ। भित्ताभरि थरीथरी हिरोहिरोइनका फोटा थिए। पश्चिमतिरको भित्तामा जरायोको सिङ टाँगिएको थियो।

थोत्रो टेलिफोन सेटको छेउमा नेमप्लेट थियो - कार्यालय प्रमुख/चित्र गुप्त।
मैले गोजी छामेँ, मोबाइल सेट पनि रैछ। लौ, टावर पनि छ।
‘तुरुन्त मोबाइल अफ गर,' अचानक टेबुलमुन्तिरबाट आवाज आयो, ‘रिङटोनले मलाई असर गर्छ।'
अनि, चित्रगुप्त टेबुलमुन्तिरबाट उठे। उनले टेबुलमा पेपेरवेट राखे।
म मोबाइल अफ गर्न थालेँ।
‘सिमकार्ड कुन कम्पनीको हो?' उनले चिम्सा आँखाले मलाई हेरे।
‘एनटिसी।'
‘भो... भो... अफ गर्न पर्दैन,' उनले लामो हाई काढे, ‘फोन लागे पो!'
म ठिंग उभिएँ।
‘बाइकवाला हौ?' उनी कुर्सीमा बसे।
म ट्वाल्ल परेँ।
‘बाइक एक्सिडेन्टमा मरेका हौ?'
‘हजुर।'
‘हजार रुप्पे लेऊ।'
म झन् ट्वाल्ल!
‘झन्झट गर्नुपर्दैन क्या,' उनी मन्द-मन्द हाँसे, ‘सोझै नर्क पठाइदिन्छु।'
‘म त स्वर्ग जान्छु।'
‘भनेको मान। तिमी मेरै नातिजस्तै छौ। म तिमीलाई राम्रै सुझाव दिन्छु। हेर, स्वर्ग पट्यारलाग्दो हुन्छ।' उनले एउटा फाइलको ढड्डा देखाए, ‘स्वर्ग पुगेकाले नर्क जान पाऊँ भनेर दिएका निवेदन हुन् यी। तिमीलाई नर्क चित्त बुझेनछ भने मलाई भन्नू म तुरुन्त स्वर्ग पठाइदिउँला।'
मरेपछि म पहिलोपल्ट यति धेरै छक्क परेँ।
‘बटुवामा पैसा छैन र?' उनले सोधे।
मैले पर्स खोलेँ, रैनछ। सात-आठ सय त हुँदो हो।
‘ए कार्ड रैछ त,' उनले मेरो पर्सको भित्री जेबबाट आधा बिट बाहिर निस्केको एटिएम कार्ड देखेछन्, ‘कुन बैंकको हो?'
‘नबिल।'
‘साह्रै झन्झटिलो छ यो,' उनले नाक खुम्चाए र टेबुलमुन्तिर हात लगे। एकैछिनमा तरबारवाला दगुर्दै आयो।
‘यो कार्डबाट हजार रुप्पे काटेर ल्याऊ।'
काम एकैछिनमा भयो।
‘लौ त... अल्लिबेरमा नर्क जाने बस आउँछ। राम्ररी जानू,' उनले अर्को नयाँ चिटसँगै कार्ड फिर्ता दिए, ‘यो चिट यमदुतलाई देखाउनू।'
मैले लिएँ।
टेबुलको फोनको छातीमा पिलिक-पिलक बत्ती बल्यो। चित्रगुप्तले झन्झट मान्दै उठाए।
ढोकानेर पुग्दा मैले सुनेँ, ‘हजुर प्रभु... म तुरुन्त नै नर्क पठाइदिन्छु... अलि हिसाब-किताब नमिलेर हो।'
...

altनरक यातायात।
२ बाई २ लक्जरी कोच।
‘नर्क... नर्क...,' खलासी चिच्चाइरहेको थियो। बेलाबेला ढ्याम्म-ढ्याम्म बसको ढोकामा हिर्काउँथ्यो।
बसमा ठेलमठेल मानिस थिए। छतमा पनि। भित्र छिरूँ कि बाहिर, म अल्मलिएँ।
‘छतमा होइन,' मलाई देखेर खलासी करायो।
‘सिट छ?' म उसको छेउ पुगेँ।
‘छ... छ,' ऊ हाँस्यो, ‘नर्क जान पनि केको सुविधा?'
म ढोकामा के उक्लेको थिएँ, खलासीले बाहिरबाट भित्रै ठेल्यो। म मान्छेका कुइनाबाट जोगिँदै भित्र पसेँ। एक-दुईजनाले त बोमिट पनि गरिसकेछन्। जुत्ता बिग्रिने डरले म खुट्टा बंग्याउन थालँे। ‘ओ... गड,' छेउको सिटको मान्छे करायो। ज्या कुल्चिएछ! म कता जाऊँ?
‘भाइ नेपाली हो?' पछाडिबाट आवाज आयो।
म त्यता फर्किएँ।
एकजना अधबैंसे मानिस रैछन्। ठुलो भुँडी पल्टाएर सिटमा बसेका थिए।
म उनको छेउ पुगेँ।
‘के गर्नु, मरेपछि पनि नेपाली नै प्यारो लाग्दोरैछ,' उनी हाँसे।
म उनीछेउ उभिएँ।
‘भाइ सिधै नर्क हो?'
म अल्मलिएँ।
‘स्वर्गबाट भागेर त आका होइनौ?' अधबैंसे हाँसे।
‘म त मर्नेबित्तिकै यहाँ आको हुम्।'
‘भाग्यमानी रछौ,' उनी हाँसे, ‘म त साढे तीन वर्ष स्वर्ग बसेको थिएँ। दिक्क लागेर भागेँ।'
‘किन दाइ?'
‘क्यार्नी त, ढोकामा नै अप्सराले प्रणाम गर्छे। छुन पाइँदैन...। रुखैरुख चरैचरा। झरनै झरना। आफ्नो त भात नखाई निर्दै नलाग्ने बानी... फलफूल खाएर के सुत्न सक्दो हुँ! जता हेर्‍यो बुढैबुढा, जोगी जोगी। बुढी आमैहरूलाई त बाती कात्दै बुहारीलाई गाली गर्नै ठिक्क। भजन गा छन्, बस्या छन्। यसो घुम्न गो, गान्धीजी चर्खा बुनेको बुन्यै। मार्क्स किताब लेखेको लेख्यै। आइन्सटाइन हिसाब गरेको गर्‍यै। एउटा रुखमुन्तिर बुद्धलाई देखेँ। बुढासित यसो ज्ञानगुनका कुरा गरौं भनेको त ध्यान गरेको गर्‍यै। छ महिनामा आँखा उघारे -
‘को हौ? कहाँबाट आका हौ?' उनले सोधे।
‘म भीमबहादुर हुँ, प्रभु,' मैले हात जोडेँ, ‘मरेर आको।'
‘मान्छे किन मर्छ?' भनेर उनले आँखा चिम्लिए, फेरि उघारेनन्। मलाई दिक्क लाग्यो र टाप दिएँ। नर्कमै रमाइलो हुन्छ रे!
भीमबहादुरको कुरा सुनेर म पनि मख्ख परेँ।
‘ल हेर, स्वर्ग जाने बाटो,' उनले झ्यालबाहिर देखाए।
पर... उकालो बाटो रैछ। एक-दुई जना वृद्धवृद्धा उक्लिरहेका थिए।
‘अब स्वर्गतिर बस पनि चल्दैन,' भीमबहादुर हाँसे, ‘कोही गए पो चल्नु। स्वर्ग जानेलाई साह्रै कष्ट भाछ।'
बाटो अलि खराब परेछ, बस यताउता ढल्किन थाल्यो। बसका सारा मान्छेले सिटको डन्डी समाए।
‘मरेकालाई पनि के डराउनुपरेको होला!' खलासीको आवाज सुनियो, ‘हाम्रा गुरुजी कलिलै उमेरमा छपल्ट बस पल्टाएर याँ आइपुगेका हुन्... डराउनुपर्दैन।'
एकछिनमा खलासी पैसा उठाउँदै यताउता चेप्पिँदै बीचमा आइपुग्यो। उसले नोट मुखमा च्यापेको थियो।
‘बाबु पैसा छैन,' एकजना बुढाले भने, ‘सबै मर्नुअघि दान देको।'
‘पातकी बुढा, ढाँट्छौ?' खलासी करायो, ‘धर्मकर्म गरेको भए त स्वर्ग जाँदा हौ।'
‘त्यसो नभन, बाबु।'
‘काँ हुन्छ त्यसरी?' खलासी कड्कियो, ‘एकवर्ष घाटामा स्वर्गतिर बस चलाइयो। बल्ल त नर्कको टि्रप पर्‍या छ।'
...

बस घ्याच्च रोकियो।

मैले झ्यालबाट बाहिर नियालेँ, अटेसमटेस मान्छेको भीड थियो। कोही कता दगुरिरहेका कोही कता। बसबाट झर्दै गर्दा म फेरि अल्मलिएँ।

भीड लम्किरहेको थियो। पर... ठूलो गेट थियो। जसमा ठुल्ठुला अक्षरमा लेखिएको थियो - नरक महानगरमा मनुष्यलाई स्वागत छ!

म त्यतै लागेँ।

गेटनेरको पर्खालको भित्तामा मानिसको भीड थियो। त्यहाँ नरक प्रवेशअगाडि पढ्नैपर्ने जरुरी सूचना टाँगिएको रैछ, विभिन्न भाषामा। म नेपाली भाषा खोज्दै हिडेँ, भेटियो। भीडको अघिपट्टि नै रैछन् भीमबहादुर।
सूचनापाटीमा लेखिएको थियो -
१. नरक प्रवेशलगत्तै मनुष्य भन्सारबाट प्राप्त चिट यमदुतलाई देखाउनुहोला र तोकिएको सजाय भोग्नुहोला।
२. आफूसँग भएको रुपियाँ सटही काउन्टरमा गएर ‘नरकधन'मा परिवर्तन गर्नुहोला।
३. केही घुसपैठहरूले नरकबारे पृथ्वीलोकमा गलत हल्ला फैलाइरहेकाले कृपया आफूसँग भएको ‘हातेफोन' ‘नरकसञ्चार'को कुनै पनि शाखामा बुझाउनुहोला। हातेफोनलाई अहिले नरकको सबैभन्दा खतरनाक हतियार मानिएको छ।

४. यो पृथ्वीलोक होइन, त्यसैले रातिराति हिँडडुल गर्न छुट छ। कसैले नराम्रो व्यवहार गरे नजिकको ‘नरक-दुत प्रभाग'मा सम्पर्क गर्नुहोला। तिनले तपाईंलाई होइन, दोषीलाई कारबाही गर्नेछन्।

५. राँगो नरकको राष्ट्रिय जनावर हो। त्यसैले बफ मःम निषेध छ।

६. जताततै थुक्न र पिसाब फेर्न सख्त मनाही छ। नियम तोडेको भेटे जुन अंगको दोष देखिन्छ, त्यसलाई तातो तेलमा डुबाइनेछ।

७. तपाईंलाई अरू कुरामा नरक बसाइले सुसंस्कृत बनाउँदै लैजानेछ।

तपार्इंको नरकबसाइ आनन्दमय होस्!

.... श्री यमराज।

सूचना पढेर गेटतिर बढ्दै गर्दा भीमबहादुरले मलाई देखिहालेछन्।
‘ए भाइ... सँगै जाऊँ, ' उनले भने।
हामीसँगसँगै गेट प्रवेश भयौं।
भित्रपट्टि यमदुतहरूको लामो लहरो थियो। ती सबैको हातको चिट पढिरहेका थिए। भीमबहादुर र म भर्खरै खाली भएका यमदुतको अगाडि उभियौं।
मैले चिट दिएँ।
‘तिम्रै हो?' यमदुतले मलाई नियाल्यो।
मैले मुन्टो हल्लाएँ।
‘तेस्रो गल्लीको घर नम्बर १४ मा गएर हरेक दिन पाँच मिनेट एक महिनासम्म आफ्नो पुट्ठा तातो तेलमा डुबाउन लगाउनू,' उसले भन्यो, ‘र, त्यसको प्रमाण स्लिप बोक्न नर्बिर्सिनू।'
मेरो सातो गयो।
भीमबहादुरले चिट दिए।
‘तपाईंलाई नरकमा स्वागत छ,' यमदुत हाँस्यो।
भीमबहादुरलाई त केही सजायँ भएन, म छक्क परेँ।
‘भाइ, उमेर त्यसै गएको होइन,' अल्लिपर पुगेपछि उनले भने, ‘मैले त भन्सारमै टन्न पैसा तिरेर ‘क्लिन चिट' लिएर आएको हुँ... हाहाहा।'
मेरा नौनाडी गल्दै गए।
हामी नरक-सहरको बीचमा आइसकेका थियौं। कता-कता राँगाहरू बेस्मारी कराइरहेको आवाज आइरहेको थियो।
‘दाइ, जाने हो?' अचानक आवाज आयो।
लौ, दुई-तीनवटी केटी सडकछेउ उभेका रैछन्।
‘कति?' भीमबहादुर हाँसे।
‘पाँच सय।'
‘लौ चार सय दिन्छु।'
कुरा मिल्यो।
‘ल त भाइ, हाम्रो यात्रा यहीँसम्म रैछ।' भीमबहादुर छट्किन खोजे। म वाल्ल परेँ।
अल्लिपर पुगेपछि उनले गोजी छामछाम-छुमछुम गरे। केटीले सोधी, ‘के भो फेरि?'
‘सामान छैनजस्तो छ।'
केटी खितित्त हाँसी, ‘नडराउनुस्... नर्कमा एड्स लाग्दैन।'
उनीहरू अल्लि अगाडि पुगेर एउटा मोडमा छेलिए।
एक्लै भएपछि डर लाग्न थाल्यो। अचानक झल्याँस्स भएँ - मरि त सकेँ, केको डर? अनि, हिँडेँ तोकिएको सजायँ भोग्न।
बल्लतल्ल भेटियो ठाउँ।
एकजना वृद्ध यमदुत घाम तापिरहेका थिए। बेलाबेला लहरेखोकी चल्थ्यो।
‘किन आयौ?' उनले सोधे।
‘सजायँ भोग्न।'
उनले विस्मृत नयनले मलाई नियाले।
‘युगौं भइसक्यो... कोही यता आको छैन। याँ न त कराही छ न तातो तेल।'
‘म के गरूँ, बाजे?' म मलिन भएँ, ‘सजायँ नभोगे त झन् कार्बाही हुन्छ रे!'
‘तिमी त असल रेछौ, बाबु,' वृद्ध ट्वाल्ल परे, ‘सबैले नरक-प्रशासनमा गएर घुस ख्वाएर सजायँ भोगिसकेको चिट बनाउँछन्... यता कोही आउँदैन।'
स्कुप पो भेटिएजस्तो छ!
‘यसरी पनि नर्क चल्छ र, बाजे?'
‘के गर्नु बाबु, यो नर्क पहिलेको जस्तो नर्क रहेन,' वृद्ध बर्बराए, ‘पहिलाको नर्कको कुरा के गर्नु? जताततै होहल्ला। ठुल्ठुला तेलका कराई। कोही कराईमा डुबेका छन्, कसैको हातगोडामा किला ठोकर झुन्ड्याइएको छ। कस्तो रमाइलो थ्यो!'
मैले मोबाइल सेटको रेकर्डर अन गरेँ।
‘म एकदिनमा एकसय पैंसट्ठीलाई त तेलमा डुबाउँथँे। ताकत पनि थियो। अब न त ताकत छ न त तेलको कराई। हाम्रो परम्परा नै मासियो। भोकै पर्ने बेला आछ।'
‘अब के गर्नुहुन्छ?'
‘मर्त्यलोकमा भएको भए काल कुर्थें,' बुढाका आँखा रसाए, ‘यता त मर्ने चलन पनि छैन...।'
वृद्धको कुरा सकिएको थिएन, गुरुरुरु पाँच-छ जना यमदुत दगुर्दै हामीतिर आइरहेका थिए। तिनलाई देखेर वृद्धको अनुहार निलो भो। तिनले मलाई चारैतिरबाट घेरे।
‘तँ स्वर्गको जासुस होस्?' मेरो मोबाइल खोस्दै एउटा कड्कियो, ‘यो हातेफोनमा के भरेको?'
म आतंकित भएँ, ‘म पत्रकार हुँ।'
‘ए, पत्रकार!' अर्कोले घिच्चायो, ‘ल हिँड्... महाराजकोमा ... जासुसी गर्छस्?'
बाटोमा मैले दुई-चार मुक्का पनि भेटेँ।

कम्मरमा तरबार झुन्ड्याएका यमदुतहरूले घेरेको ठूलो महलभित्र म लतारिँदै थिएँ। भित्रपट्टि बैठक कोठाजस्तो हलमा अगाडिपट्टि ठूलो सिंहासन थियो। सिंहासनछेउछाउ लहरै यमदुत उभेका थिए।
‘महाराज अंग्रेजी कलास लिँदै होइसिन्छ,' एउटाले भन्यो।
मलाई सिंहासनको ठिक अगाडि उभाएर यमदुतहरू छेउछाउ उभिए।
पन्ध्र मिनेटजति मौनता छायो।
अनि हुरी आएजस्तो भो। हलभरि सल्याङ-बल्याङ भयो। मेरो ढुकढुकी बढ्यो।
‘महाराज की जय!' एकछिन जयजयकार चल्यो।
र, पछिल्तिर आठ-नौ जना यमदुत लगाएर यमराज आइपुगे। मुकुट, ठूलो भुँडी, मोटा जुँगा, ठूला राता आँखा, चुच्चावाल जुत्ता। यमराज सिंहासनमा विराजमान भए।
‘को हो यो मनुष्य?' यमराजले सोधे।
‘जासुस हो, सर्कार,' पछाडिबाट कसैले भन्यो।
‘म जासुस होइन, महाराज,' मैले हात जोडेँ, ‘पत्रकार हुम्।'
‘क्यानाम जर्नलिस्ट?' यमराज मुस्कुराए, ‘कुन पेपरको?'
‘नागरिक दैनिक, सर्कार!'
‘क्यानाम... नागरिकन्युजडट कम?' यमराजको आवाज मोटो भयो, ‘किन चाँडो खुल्दैन त्यो?'
‘जिउँदो हुँदा पनि महाराज म यही प्रश्नले हैरान थिएँ।'
यमराज हाँसे। र, उनले यमदुतहरूतिर इसारा गरे। हतारिँदै सबै बाहिरिए। एक-दुईजना मात्र बाँकी रहे।
‘क्यानाम... चाहिएकै मान्छे आएछौ,' यमराजले भने, ‘अब छ महिनापछि, स्वर्ग र नर्कमा चुनाव हुँदैछ। क्यानाम... ती पाजी देउताहरूको विरुद्ध म उठ्दैछु... ए जर्नलिस्ट, मलाई तिम्रो सहयोग चाहिन्छ। ती देउताहरू रातदिन मदिरापानमा व्यस्त हुन्छन्... केही कुरामा अपडेट छैनन्... ग्लोबल वार्मिङ पृथ्वीलोकमा मात्र होइन... स्वर्ग-नर्क दुवैतिर पनि फैलिरहेको छ। अर्थतन्त्र ध्वस्त छ। पाजीहरूलाई अंग्रेजी त आउँदैन... ल हेर म कति अपटुडेट छु... नर्कमा मुनष्यको जनसंख्या बढेको बढ्यै छ... त्यसैले स्वर्गको स्पेस पनि नर्कलाई चाहिन्छ। यही कुरा बताउने माध्यम चाहिएको थियो... तिमीले यतै नर्कबाट पत्रिका निकाल्न सहयोग गर।'
‘हुन्छ, महाराज!' म हाँसेँ, ‘तर मलाई पनि राम्रो अंग्रेजी आउँदैन।'
‘क्यानाम कसले भन्या छ, अंग्रेजीमा निकाल्न! देवनागरीमा निकाल्ने! अब सारा नर्क देवनागरी भाषीले भरिएको छ।'
एकछिन मौनता छायो।
‘लौ त जर्नलिस्ट... मेरा यमदुतको पनि मन राख्नैपर्‍यो... आज एकरात जेल बसिदेऊ,' यमराजले उठ्दै भने, ‘भोलि बिहान मलाई भेट्नू।'
...

जेल सुविधासम्पन्नै थियो। ओछ्यान पनि मज्जाकै। जेलको ढोकाबाहिर ताला लगाएर भर्खरै यमदुतहरू फर्केका थिए। मैले झ्वार्र पार्दै काँटी सल्काएँ, त्यो यमदुतहरूले नै दिएका थिए। कुनामा बत्ती रैछ, धप्प बल्यो।
‘थ्याङ्स ब्रो,' अर्को कुनातिरबाट आवाज आयो।
मैले हेरेँ, कुनातिर एउटा दुब्लो कायाका मानिस थिए। टुक्रुक्क बस्दा दुवै घुँडा काननेर पुगेका थिए।
‘किन धन्यवाद... बत्ती बाल्दैमा धन्यवाद दिनु पर्दैन।'
‘ब्रो, बत्ती बालेकोमा धन्यवाद दिएको होइन,' उनी हाँसे, ‘सलाई ल्याएछौ... त्यसैले।'
म पनि हाँसेँ।
ती मानिस मुखमा सुल्पा जोडेर घसि्रँदै मेरोछेउ आए, ‘ब्रो, आगो बाल्देऊ।'
मैले बालिदिएँ। धुवाँ उड्यो। गाँजा बेस्मारी गनायो।
‘तपाईंको शुभनाम के नि?' एकछिनमा मैले कुराको मेलो झिकेँ।
‘महादेव।'
‘थर नि?'
‘ब्रो, भगवानको थर सुन्या छौ, कतै?'
‘तपार्इं भगवान हो र?'
‘धेरै टेन्स नदेऊ... म महादेव नै हुँ,' उनले मुखबाट धुवाँको मुस्लो छोडे, ‘पत्याए पत्याऊ, नपत्याए बालै भएन।'
मैले नियालेँ, महादेव नै हुन् क्यारे! जटा त छ तर गर्दनमा सर्प नै छैन। उनको पछाडिपट्टि भने त्रिसुल ठडिएको रैछ।
‘हो प्रभु, तपाईं त महादेव नै हुनुहुँदोरैछ,' मैले हात जोडेँ, ‘गर्धनको सर्प खै त?'
‘ज्वाइन्ट देर सुतेको बेला एउटा कोरियन ब्रोले खाइदेछ।'
‘अनि प्रभु, कसरी यो नर्कको जेलमा?'
महादेव मुस्कुराए, ‘स्वर्ग बंक गरेर नर्क आको... हुलिदिए।'
‘कति दिनको सजाय हो, प्रभु?'
‘मलाई रोक्ने तागत कसको?' महादेव हाँसे, ‘म त आफ्नै मर्जीले बस्देको क्या! अहिले मनी छैन... मनीको इन्तजाम हुनेबित्तिकै टाप दिन्छु।'
‘जेलभित्रबाट पैसाको इन्तजाम कसरी होला त, प्रभु?'
‘टेन्स नै छैन ब्रो,' महादेवले मेरो कानमा खुसुक्क भने, ‘यो बाघको छाला तस्करलाई बेच्ने योजना बनाउँदैछु।'
उनले बाघको छालाको कट्टु सुम्सुम्याउँदै आँखा चिम्लिए।
...