Error
  • Error loading feed data.

सुख, सुखराति र दियाबाति

smaller text tool iconmedium text tool iconlarger text tool icon
दसैं पुरुष प्रधान पर्व हो। नयाँ लुगा लगाउने, मासु खाने, पिङ खेल्ने र टीकामा पाइने आशीर्वादी रकममा केटाकेटी रमाउने भए पनि दसैंको रमझममा महिलाको भूमिका गौण प्रायः हुन्छ। मधेसतिर त झन् खेतीपातीमा रमाउनेलाई दुर्गापूजाको मेला हेर्नेबाहेक अरू चलनले छुँदा पनि छुँदैन। नेपालीपनको प्रभाव नपरेका परिवारमा टीका लागाउने चलन अझसम्म सुरु भएको छैन। लक्ष्मीपूजादेखि छठसम्म चल्ने दस दिनको शरदोत्सवको रमाइलोले भने बच्चादेखि बूढासम्मलाई तरंगित तुल्याएको हुन्छ। खर्चको जोहो गर्ने चिन्ता परिवार प्रमुखलाई पक्कै हुँदो हो। अन्य सबै भने दिपावलीभन्दा दुईचार दिनअघि नै अलाप गर्न सुरु गरिसकेका हुन्छन्, 'सुख, सुखराति र दियाबत्ती।' बयान गरिनसक्नुको उल्लास बोकेका हुन्छन्, यी केही सामान्य शब्दले।

सुख र दियाबाती (दियो र बत्ती)बीचको सम्बन्ध ठम्याउन मधेसको सुख्खा वा बाढी सहँदै हिलोमाटोमा खेलेको धान उब्जाउने किसान नै हुनुपर्छ। खेती किसानी गर्ने परम्परागत गृहस्थका लागि जीवन दुःख र संघर्षको कहिले नटुट्ने शृंखलामात्र हो। निष्पट अँध्यारोमा आशा जोगाउने दियोको बत्तीजस्तै चाडबाडले केही दिनका लागि उज्यालो फैलाउँछ। र, फेरि सुरु हुन्छ जीवन संग्रामको निरन्तरता।

दियाबाती पञ्चतत्व (माटो, पानी, हावा, आगो र आकाश) समाहित रहेको प्रकाशपुञ्जको प्रतीक पनि हो। काँचो माटोबाट कुमालेको तन्मयले सिर्जना गरेको दियोलाई हावा र सूर्यको उष्णाले सुकाउँछ, आकाशले रूपवान बनाउँछ एवं आगोले सहने र बल्ने क्षमता अर्पित गर्छ। सामान्यतः महिलाले बत्ती कात्छन्, पानीको तरलता र आगोको ऊर्जा बोकेको तेलले प्रज्वलन शक्ति सञ्चय गर्छ र संघर्षको आगोले दिप्त बनाउँछ दीपलाई। दियोको लय र सौन्दर्यलाई बिजुली बत्तीको शक्तिले अभिभूत गरिसकेको भए पनि जीवन बुझ्नलाई सके एउटा दियो बाल्नुपर्छ, नसके कम्तीमा सूर्यको त्यो प्रतिनिधि पात्रलाई जीवनशक्तिका रूपमा आदर गर्ने प्रयत्न गर्नुपर्छ। प्रविधिका चमत्कारबाट झिलिमिली बत्तीहरूले जति नै चकमक फैलाए पनि दियोको महिमालाई परास्त गर्न सक्दैनन्।

शान्ति र सौन्दर्य
हताशा, आक्रोश र हिंसा लोकतन्त्रका अवयव होइनन्। उत्साह, आशा र शान्तिपूर्ण प्रयत्नलेमात्र समरसता र सहअस्तित्व सुनिश्चित गर्नसक्छ। पहिचानको विध्वंशक राजनीतिलाई अस्मिताको लोकनीतितर्फ मोड्न भने सकिन्छ। यिनै विश्वासलाई अभिव्यक्त गर्ने 'लोकतन्त्रको अदालतमा सपनाको साबिती' कथा परिकल्पना गर्दा पाब्लो पिकासोको हिंसाविरोधी कहलिएको विख्यात कलाकृति गेर्निका (१९३७ इ.स.) चित्रकृतिबारे अध्ययन गर्नुपर्ने भएको थियो। बीसौं शताब्दीका सम्भवतः सबैभन्दा प्रसिद्ध, समृद्ध र विवादस्पद फ्रान्सेली कलाकार पिकासोको प्रभावशाली चित्रलाई पुस्तकका पाना वा मञ्चको प्रस्तुतिमा रूपान्तरण गर्न असम्भवप्रायः छ। तर, त्यस चित्रमा प्रयोग भएका केही प्रतीक भने बारम्बार प्रयोग भएका छन्।

शक्तिशाली गेर्निका चित्रकृतिको मध्यभागमा कठोर र निर्दय प्रकाश छरिरहेको बिजुलीको चिम छ। युद्धका विभीषिकाहरूले त्यसै 'उज्यालो' चिमको प्रतापले गर्दा व्यापकता पाएका छन्। आधुनिकता र प्रविधिको संकेत त्यो चिम लगभग स्वायत्त छ, कसैले ननिभाउने हो भने त्यो चिरकालसम्म बली नै रहने छ। दियोलाई जसरी चिमलाई हत्केलाले सुरक्षित गरिराख्नु पर्दैन। तर, त्यसै चित्रकृतिमा आशाको दियो बोकेर प्रकट भएकी छन् शान्तिकी परी एवं अहिंसाकी देवी। उनको हातमा रहेको प्रकाशपुञ्ज दीप हुन्छ। चिमको उज्यालोमुनि दीपको अभाव हिंसा व्याप्त समाजको त्रासदी हुने गर्छ।

पिकासोको समय हिंसाको आधुनिकताको थियो। उनको अभिव्यक्तिले भने पुँजीको अनियन्त्रित विस्तारका चुनौतीतर्फ पनि इंगित गरेकोछ। मानवीय मूल्यलाई जोगाउन सकिने सम्भावना पनि औँल्याएको छ। अहिले भने आधुनिक हिंसाको विश्वव्यापीकरणलाई तीव्र बजारीकरणले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सहयोग गरिरहेको छ। हिन्दी कवियत्री अनामिकाको शब्दमा भन्ने हो भने भूमण्डलीकरण (मारर्केटाइजेसन अफ दी ग्लोबल) अब सामाजिक भूमण्डलीकरणको पर्याय बन्न पुगेको छ। चिमको उज्यालोमा अश्त्रको शक्तिसँगै धनको लक्ष्मी पनि थपिएको छ। अरू बेलाभन्दा बढी महत्वपूर्ण बन्न पुगेको छ अहिले माटोको दियो, कपासको बत्ती र त्यसबाट उत्पन्न हुने ज्ञान, शान्ति र सौन्दर्यको मधुरो प्रकाश।

कुनै बेला मसगो (महोत्तरी-सर्लाही गोश्वारा) भनिने धनुषा, महोत्तरी र सर्लाही क्षेत्रबाट सबभन्दा बढी कामदार विदेशिने गर्छन् आजकल। तिनले आफ्नो ऊर्जा डढाउने पश्चिमी र दक्षिण-पूर्व एसियाका देशमा माटोको दियो सायद देख्नसमेत पाउँदैनन्। तिनैको विप्रेषणले धानेको अर्थतन्त्रसमेत इन्भर्टर र जेनेरेटरको भरमा भए पनि झिलीमिली बत्तीको जगमगहाटमा दीपावली मनाउन थालेको छ। सम्पत्तिको नग्न प्रदर्शन हुने चाडपर्वले सामाजिक सद्भाव र सांस्कृतिक सरसतालाई भने खलबल्याउनसक्ने जोखिमप्रति सचेत हुनु जरुरी भइसकेको छ। दीपावलीको धार्मिक-सांस्कृतिक महत्वलाई निरन्तरता दिँदै यस पर्वको बदलिँदो अर्थराजनीतिलाई धनमुखीबाट जनमुखी बनाउने प्रयत्न हुनुपर्छ।

समृद्धि र सहयोग
उपार्जन, उपभोग, उपयोग, विनिमय, सञ्चय र प्रदर्शनमा विश्वास गर्ने आधुनिक अर्थव्यवस्थामा चाडपर्व बढी व्यापार र अतिरिक्त मुनाफा हासिल गर्ने अवसरमात्र हो। बजारका लागि व्यक्तिगत र सामाजिक सम्बन्ध गौण हुन्। तर, सन्तुष्टि अत्याधुनिक पसलका चम्किला प्रदर्शन कक्षमा बिक्रीका लागि राखिएको हँुदैन। समृद्धि अन्ततः सहयोग र सहकार्यबाट नै खोज्नुपर्ने हुन्छ।

विश्व अर्थव्यवस्थाको विकल्प पनि नखोजी हुँदैन। बेहिसाब ऊर्जा खपतमा आधारित अनियन्त्रित चाहनाको अर्थतन्त्रले उत्सर्जन गरेको कार्बनले पर्यावरणलाई जीव र जीवनविरोधी बनाउँदै लगिरहेको छ। मानवीय आवश्यकता र श्रममा चल्ने जीवनशैली दिन र रात छुट्टिने समय र जाडोगर्मी मौसम चक्रअनुसार स्वभाविकरूपमा सञ्चालन हुनसक्छ। महात्मा गान्धीको स्वावलम्बन अवधारणा अव्यवहारिक होइन भन्ने उनका आलोचकले पर्यावरणमैत्री जीवनशैली अपरिहार्य बनिसकेपछिमात्र चाल पाउनेछन्।

प्रतीक र संकेतले मात्र संसार बदलिँदैन। महत्व भने सामान्य सुरुआतको पनि हुन्छ। मिथिला क्षेत्रमा चलनचल्तीको एउटा विश्वासअनुसार रात जति अँध्यारो भयो, दीपको ध्वाँसोबाट बनाइने रंग त्यति नै गाढा हुन्छ। त्यसबाट तयार गरिने अंजन आँखाका लागि उति नै उपयोगी। माहुरीले फूलको रसबाट मह बनाएजस्तै अँध्यारोलाई खाएर र पचाएर सामान्य दियोले रंग र शृंगारको प्रसाधन (अंजन, गाजल) उत्पादन गर्छ। सहनशीलता विनयशीलता र सम्भावनाहरूको प्रतीक हुनसक्छ। माटोको दीप, कपासको बत्ती, तोरीको तेल र प्रज्ज्वलित गर्ने स्नेहशील हातहरू। संकेत बन्नसक्छ दियो शान्ति, सौन्दर्य, समृद्धि र सहयोगमा आधारित सार्वजनिक जीवनको। ज्ञानको प्रकाश खोज्नलाई भनिएको हुनुपर्छ 'अप्प दिपो भवः'। त्यसलाई सामूहिकता प्रदान गर्न पंक्ति निर्माण हुन्छ, प्रज्ज्वलित दियोको।

पूजा व्यक्तिगत भए पनि पर्व सामूहिक भएमात्र उल्लासमय हुन्छ। दीपावलीमा सद्भाव, सदाग्रह र सहिष्णुताको संस्कृति निर्माण गर्न संकल्प लिनेले कात्तिकको हावामा अस्तित्वका लागि संघर्षशील माटाको दियोलाई नमनमात्र गरे पनि यथेष्ट हुनेछ। भनाइ नै छ, आस्था निर्दिष्ट भएपछि सक्रिय नभई बस्नै सकिन्न। काग, कुकुर, गाई र गोरु पुज्नु नराम्रो होइन। खाँचो भने त्यसभन्दा अगाडि बढेर स्वयं एवं अरूलाई समेत आराधना गर्ने सहयोगको संस्कृति संस्थागत गर्ने सार्वजनिक सोचको छ। त्यसपछि पीडादायी 'सुकसुक राति'बाट मुक्ति र इमान्दार परिश्रमपछि मात्र प्राप्त गर्न सकिने 'सुखरात्रि' र अमनचैन सम्भव हुनेछ। 'मंगलमय होस् सबैका लागि आउँदो समय' यही हुनुपर्छ सूर्यको प्रतिनिधि पात्र माटाको दियोसँग यस वर्षान्तको प्रार्थना।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld