Error
  • Error loading feed data.

औषधिको कालो धन्दा

smaller text tool iconmedium text tool iconlarger text tool icon
त्रिवि शिक्षण अस्पतालको औषधि बिक्री कक्षमा सोही परिसरमा रहेका अरू पसलभन्दा निकै सस्तोमा औषधि पाइन्छ। निजी पसलेले औषधिमा लेखिएको खुद्रा मूल्यअनुसार पैसा लिन्छन्। अस्पतालकै पसलमा भने औषधिमा लेखिएभन्दा सस्तो पर्ने गरी मूल्य तोकिएको छ। तर, त्यहाँ उपचार गर्न जाने दैनिक हजार जनाभन्दा बढी बिरामी औषधि किन्न अस्पतालको बिक्री कक्षमा जाँदैनन्। जानेले पनि डाक्टरले लेखिदिएकै चाहिँ औषधि पाउँदैनन्। अस्पताल परिसरमा रहेका अरू निजी औषधि पसलमा सधैँजसो भिडभाड देखिन्छ। अस्पतालकै पसलमा भने धेरैजसो सुनसान हुन्छ। अस्पतालको पसलमा दैनिक औसत पाँच सातहजारको व्यापार हुन्छ भने निजी पसलमा दैनिक लाखभन्दा बढीको बिक्री हुन्छ।

शिक्षण अस्पतालको पसलमा अन्तभन्दा सस्तोमा औषधि बेचिन्छ त? अस्पतालले अनुदान पाएर मूल्य कम गरेको होइन। कारण के हो भने अस्पतालले बोलपत्रमार्फत ठूलो परिमाणमा औषधि किन्छ। औषधि उत्पादक कम्पनी र वितरकले कबोल गरेको मूल्यमा १४ प्रतिशत थप गरेर बिक्री मूल्य तोक्छ। औषधिमा अंकित अधिकतम मूल्य जति भए पनि अस्पतालले किनेको मोलमा १४ प्रतिशत थपेर बेचिने रहेछ। तैपनि, अस्पतालले औषधि बेच्न सकेको छैन।

कुनै औषधिको खुद्रा बिक्री मूल्य १० चक्कीको ४० रुपैया तोक्ने कम्पनीले शिक्षण अस्पताललाई त्यतिकै परिमाणको त्यही औषधि ८ रुपैया भन्दा कममा बेच्दो रहेछ। वितरकले पक्कै पनि घाटा सहेर त व्यापार गर्दैन। उत्पादन लागतमा २० प्रतिशतभन्दा बढी नाफा लिनुलाई कालो बजारी मानिन्छ। यसरी हेर्दा नेपालका अधिकांश औषधि उत्पादक र वितरकले कालो बजारी गरिरहेको देखिन्छ।

अस्पतालको आफ्नै पसल र त्यसमा पनि सस्तो भएपछि निकै बढी व्यापार हुनुपर्ने हो। तर, त्यस्तो छैन। डाक्टरहरूकै समितिको निर्णयअनुसार बिक्री कक्षले औषधि किन्नुपर्ने प्रावधान भए पनि डाक्टरले औषधि लेख्दा अस्पतालको बिक्री कक्षमा भएका नाम लेखिदिँदैनन्। डाक्टरले लेखेकै चाहिँ नामको औषधिको खोजीमा बिरामी वा तिनका आफन्त बाहिरका पसलमा महंगो औषधि किन्न पुग्छन्।

डाक्टरहरूले किन अस्पतालको पसलमा भएको औषधि नलेखेका होलान्? उत्तर सहज छैन। के डाक्टरहरूले औषधि उत्पादक वा वितरकको प्रभावमा परेर त्यसो गरेका हुन् त? डाक्टरहरूलाई ठाडो आरोप लगाउनु पनि न्यायोचित नहोला।

जेहोस्, शिक्षण अस्पतालको औषधि बिक्री कक्षलाई मुलुकको स्वास्थ सेवामा व्याप्त विडम्बनाको उदाहरण भने मान्न सकिन्छ। यस कक्षको अवस्थाको अध्यनबाट मात्रै पनि औषधि उत्पादक र वितरकले कालो बजारी गरिरहेको प्रमाणित हुन्छ। डाक्टरहरू पनि प्रकारान्तरले उनीहरूकै मतियार बनेको देखिन्छ।

औषधिको यो कालो बजारमा नेपालका डाक्टरहरू पनि सहयोगी भने बनेका छन्। औषधिलाई कम्पनीले दिएको नाम डाक्टरले लेख्ने गलत अभ्यास नेपालमा स्थापित भएको छ। आचार संहिताअनुसार औषधिको रासायनिक नाम लेख्नुपर्ने हो। विकसिता देशमा डाक्टरहरूले औषधिको कम्पनीले राखेका नाम लेख्दैनन्। नेपाल मेडिकल काउन्सिलको आचार संहितामा पनि रासायनिक नाम नै लेख्नुपर्ने उल्लेख भएको छ। तर नेपालका डाक्टर भने सामान्यतः रासायनिक नाम लेख्दैनन्। जस्तो सिटामोललाई डाक्टरले त्यसको रासायनिक नाम लेख्दा 'पारासिटामोल' भनेर लेख्नुपर्ने हुन्छ। तर, नेपालका सबैजसो डाक्टरले उत्पादक कम्पनीले राखेको नाम लेखिदिन्छन्। बजारमा नेपाली र भारतीय उत्पादनका विभिन्न ५० थरीका पारासिटामोल पाइन्छ।

डाक्टरहरूले आफूलाई चित्त बुझेको कम्पनीको नाम लेखिदिन्छन्। डाक्टरहरूलाई रासायनिक नाम लेख्नुपर्छ भन्ने राम्रै जानकारी छ। तर उनीहरू किन कम्पनीकै ब्रान्ड नाम लेख्छन् त? प्रश्न गभिर छ। डाक्टरहरूका आफ्नै गुनासा छन्। रासायनिक नाम लेख्दा औषधि बिक्रेताले जथाभावी औषधि दिने जोखिम औल्याउँछन्। बिरामीलाई रासायनिक नाम बारे थाहा वा भए पनि वास्ता हुँदैन। डाक्टरले लेखिदिएकै नामको औषधि खोज्छन्। डाक्टरहरूले भनेजस्तै औषधि बिक्रेताले यताउता गर्ने जोखिम छ। औषधि पसलमा योग्यता पुगेका फार्मासिस्ट मुस्किलले भेटिन्छन्। सामान्य तालिम लिएको वा तालिमै नलिएको वित्रे्कताले औषधि बेच्दा गडबड हुनु स्वाभाविकै हो। औषधि पसलहरूको नियमित अनुगमन पनि हुँदैन।

डाक्टरहरूले औषधि पसलेबाट जथाभावी हुने खतरा देखाएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजे पनि सम्बन्धित सरकारी निकाय जिम्मेवार हुनुपर्थ्याे। नेपालमा आयात र उत्पादन हुने औषधिको गुणस्तर र मूल्यको नियमन भएमा त्यसको कालो बजार बिस्तारै कम हुँदै जानेछ। यस्तो अवस्थामा औषधिको गुणस्तर परख गर्ने सरकारी निकाय औषधि व्यवस्था विभागका हर्ताकर्ता भने जिम्मेवारी पूरा गर्न हैन बेथितिबाट लाभ उठाउन व्यस्त देखिन्छन्। सबैभन्दा दुःख लाग्दो अवस्था यही हो।

 

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld