Error
  • Error loading feed data.

आर्थिक समृद्धिमा विज्ञान

smaller text tool iconmedium text tool iconlarger text tool icon
आजको विश्वलाई मूलतः दुई भागमा बाँड्न सकिन्छ - विज्ञानमा धनी, समृद्ध र विकसित तथा दक्षिणी गोलार्धका विज्ञानमा गरिब, निर्धन र विकासशील मुलुकहरू। विश्वको २० प्रतिशत जनसंख्या बस्ने विज्ञानमा धनी र विकसित मुलुकले विश्वको कुल धनको करिब ८० प्रतिशत उपभोग गर्दै आएका छन् भने विश्वको करिब ८० प्रतिशत जनसंख्या ओगटेका विज्ञानमा गरिब, अविकसित र विकासशील राष्ट्रले विश्वको बाँकी करिब २० प्रतिशतमा गुजारा चलाउँदै आएका छन्। विश्वको कुल गार्हस्थ्य उत्पादनमा विकसित मुलुकको करिब ६१ प्रतिशत र विकासशील मुलुकको३९ प्रतिशत योगदान छ।

विश्वका अति गरिब २० प्रतिशत राष्ट्रले विश्वको १.४ प्रतिशत मात्र धन उपभोग गर्न पाएका छन्। विश्वका सबैभन्दा धनी तीन जनाको कुल सम्पत्ति ४८ अति निर्धन मुलुकको कुल गार्हस्थ्य उत्पादनभन्दा बढी छ। विश्वका करिब ३ सय ६० जना अर्बपतिको कुल सम्पत्ति गरिब राष्ट्रका दुई अर्ब मानिसको कुल सम्पत्तिभन्दा बढी छ। विश्वका अविकसित १ सय ४० राष्ट्रका चार अर्बभन्दा बढी जनसंख्या चरम गरिबीमा बाँचेकाछन्। उनीहरूमध्ये करिब एक अर्ब व्यक्तिको कुनै स्थायी रोजगारी छैन र ती भोकै बाँच्छन्। अविकसित मुलुकका अधिकांश जनता आधुनिक विद्युतीय सञ्चार माध्यमबाट वञ्चित छन्। उदाहरणका लागि अविकसित मुलुकका करिब तीन प्रतिशत जनताले मात्र इन्टरनेट प्रयोग गर्न पाएका छन्।

विज्ञहरूका अनुसार, विकसित र अविकसित राष्ट्रबीच आर्थिक समृद्धि र वितरणमा देखिएका यस्तो असमानताको एउटा मूल कारण वैज्ञानिक क्षमता र क्रियाकलापको असमानता पनि हो। विश्वका अधिकांश वैज्ञानिक गतिविधि विकसित राष्ट्रमा हुने गर्छन्। विश्वमा ८५ प्रतिशत वैज्ञानिक प्रकाशन विकसित मुलुकबाट हुने गरेका छन् र अविकसित मुलुकका वैज्ञानिकले विश्वको कुल वैज्ञानिक प्रकाशनको १५ प्रतिशतमात्र प्रकाशन गर्छन्। अविकसित देशका तुलनामा विकसित देशमा वैज्ञानिकको संख्या प्रतिव्यक्ति दश गुणा बढी छ। विश्वका कुल अनुसन्धानकर्तामध्ये ७० प्रतिशतभन्दा बढी विकसित मुलुकमा कार्यरत छन्। यसैगरी विश्वमा वैज्ञानिक अनुसन्धान र विकासमा गरिने कुल खर्चमध्ये विकसित मुलुकले करिब ८५ प्रतिशत खर्च गर्छन्। अविकसित मुलुकका तुलनामा विकसित राष्ट्रले अनुसन्धान र विकास कार्यमा कुल गार्हस्थ्य उत्पादनको चार गुणाभन्दा बढी अर्थात् १८ गुणाभन्दा बढी खुद रकम खर्च गर्ने गर्छन्। विज्ञानमा धनी र गरिब राष्ट्रबीचको ठूलो असमानता पेटेन्ट दर्तामा अझ स्पष्ट देखिन्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पेटेन्ट कार्यालयमा दर्ता गरिने नयाँ पेटेन्टको संख्यालाई सम्बन्धित देशको वैज्ञानिक क्षमताको सूचकका रूपमा लिइन्छ। विश्वका दुई प्रमुख पेटेन्ट क्षेत्रहरू युरोप र अमेरिकामा वर्षभरि दर्ता गरिने पेटेन्टमध्ये ९८ प्रतिशत पेटेन्ट दर्ता विकसित मुलुकबाट हुने गर्छन् भने बाँकी २ प्रतिशतमात्र विकासशील देशबाट हुने गरेका छन्।
यी सबै तथ्य र तथ्यांकबाट धनी र गरिब राष्ट्रबीच रहेको आर्थिक असमानताको एक प्रमुख कारण उनीहरूबीच विद्यमान असमान वैज्ञानिक योेग्यता भएको प्रमाणित हुन्छ। सामान्यतया कुनैपनि राष्ट्रको धन आर्जन गर्ने क्षमता त्यस राष्ट्रको वैज्ञानिक क्षमतामा निर्भर गर्दछ। वैज्ञानिक क्षमता वृद्धि नगरी कुनैपनि राष्ट्रले आर्थिक समृद्धि प्राप्त गर्न सकेका छैनन्। वैज्ञानिक क्षमता नभएका व्यक्ति एवं राष्ट्रहरू वैज्ञानिक ज्ञानको सिर्जना र उपयोग गर्ने अवसरवाट सधैँ वञ्चित रहन्छन्।

विकसित र विकासशील देशबीचको वैज्ञानिक क्षमताको अन्तर विगत २५ वर्षयता अझ बढेको छ र आउँदो दिनमा अझ द्रुत गतिले बढ्ने देखिन्छ। हुनत, कतिपय विकासशील देशले आफ्नो राष्ट्रिय विकास, समृद्धि र प्रगतिमा विज्ञान र प्रविधिको महत्वपूर्ण भूमिकालाई आत्मसात गरेका छन्। यी मुलुकले गत केही दशकमा विज्ञान र प्रविधिका क्षेत्रमा ठूलो विकास गरेका छन्। तिनीहरूले विकसित मुलुकका पूर्वाधारजस्तै वा त्यसभन्दा पनि राम्रा थुप्रै सुविधायुक्त वैज्ञानिक पूर्वाधार निर्माण गरेका छन्। ब्राजिल, चिले, मेक्सिको, दक्षिण कोरिया, चीन, भारत, इरान आदि यसका केही ज्वलन्त उदाहरण हुन्। (केही दिनअघिमात्र जमिनको सयौँ मिटरमुनि खानीभित्र थुनिएका मजदुरलाई सफलतापूर्वक उद्धार गरेर चिलेले विश्वलाई आफ्नो उच्च वैज्ञानिक-प्राविधिक क्षमता प्रदर्शन गरी चकित पारेको थियो। ) फलस्वरूप यी मुलुकले उल्लेखनीय आर्थिक प्रगति गर्न सकेका छन् र अन्तर्राष्ट्रिय विश्व बजारमा प्रतिस्पर्धा गर्ने क्षमता विकास गरेका छन्। विज्ञान र प्रविधिको विकासमा जोड दिइएका यी मुलुक केही दशकभित्र विकसित मुलुकको श्रेणीमा प्रवेश गर्ने अपेक्षा गर्दैछन्। तर यसको साथसाथै आजपनि कैयौँ विकासशील राष्ट्रले आर्थिक विकासमा विज्ञान र प्रविधिको भूमिकालाई आत्मसात् गर्न सकेका छैनन्। यी मुलुकहरू कैयौं दशकपछिसम्म पनि आर्थिक र वैज्ञानिक क्षेत्रमा पछि पर्ने निश्चित छ। यसमा नेपाललाई मुख्य उदाहरणका रूपमा लिन सकिन्छ।

कुनैपनि राष्ट्रको सामाजिक, आर्थिक विकासमा सुव्यवस्थित राज्य सञ्चालन, उपयुक्त राजनीतिक वातावरण, प्रभावकारी आर्थिक व्यवस्थापन, उपलब्ध प्राकृतिक स्रोत र साधनको उपयोग आदिका साथै देशको वैज्ञानिक क्षमताको महत्वपूर्ण भूमिका हुन्छ। विज्ञान प्रविधिको प्रभाव तुरन्तै नदेखिए पनि कालान्तरमा यसको स्पष्ट असर देखिन थाल्छ। विज्ञान र प्रविधिले मात्र देशको आर्थिक विकास हुँदैन तर विज्ञान र प्रविधिबिना पनि देशको दिगो आर्थिक विकास सम्भव छैन। नोबेल पुरस्कार विजेता पाकिस्तानका भौतिक शास्त्री अब्दुस सलामका अनुसार धनी र गरिब राष्ट्रबीचको आर्थिक खाडलको प्रमुख कारण यी राष्ट्रबीच विद्यमान वैज्ञानिक क्षमताको अन्तर नै हो। उनको भनाइ थियो - विकासशील राष्ट्रले आर्थिक विकास गर्ने हो भने सबैभन्दा पहिले वैज्ञानिक क्षमता विकास गरेर त्यसलाई निरन्तर वृद्धि गर्दै लैजानु आवश्यक छ। एसियाकै पहिलो नोबेल पुरस्कार विजेता भारतीय वैज्ञानिक सि भि रमनले भनेका थिए - ...गरिब राष्ट्रको आर्थिक समस्या समाप्त गर्ने एउटामात्र समाधान छ। त्यो हो विज्ञान, बढी विज्ञान र अझ बढी विज्ञान।'

स्वतन्त्र भारतका राजनीतिज्ञले सि भि रमनको बुद्धिमत्तापूर्ण विचार हृदयङ्गम गरेर विज्ञान प्रविधि क्षेत्रको विकासलाई देशको प्राथमिकता सूचीमा राखे। विगत ६ दशकदेखि सत्तामा आएका भारतका सबै राजनीतिक दलले वैज्ञानिक क्षमता विकासलाई उच्च महत्व प्रदान गर्दै विज्ञान र प्रविधि क्षेत्रमा उल्लेखनीय लगानी गर्दै आएका छन्। फलस्वरूप भारत आज विश्वको सबैभन्दा बढी वैज्ञानिक जनशक्ति भएको देशमध्येमा गनिन्छ। राजनीतिज्ञहरूको यही दूरदर्शिताका कारण आज भारतले द्रूत गतिमा आर्थिक उन्नति गरिरहेको छ। यतिमात्र होइन, भारतको बढ्दो वैज्ञानिक क्षमताबाट भविष्यमा आर्थिक क्षेत्रमा देखा पर्ने सम्भावित कडा प्रतिस्पर्धा र चुनौतीका कारण अमेरिकाजस्तो विज्ञानमा धनी, सम्पन्न, शक्तिशाली र विकसित देश पनि चिन्तित हुन थालेको छ। केही अघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक सार्वजनिक कार्यक्रममा यस्तो चिन्ता व्यक्त गरेका थिए।
हाम्रा शीर्षस्थ नेताहरूले पटक पटक भन्ने गरेका छन् - आर्थिक विकासबिना लोकतन्त्र दिगो रहन सक्तैन। देशका सबै राजनीतिक दलले आर्थिक उन्नति आफ्नो दलको प्रमुख एजेन्डा भएको बताउँदै आएका छन्। वास्तवमै हाम्रा राजनीतिक दलहरू देशको आर्थिक उन्नतिप्रति गम्भीर छन् भने सबै राजनीतिक दलबीच विज्ञान र प्रविधिको विकासमा राष्ट्रिय सहमति बन्नु अति आवश्यक छ र यस क्षेत्रको समुचित विकासका लागि अब बन्ने नयाँ संविधानमा उचित व्यवस्था हुनुपर्छ।

हाम्रा छिमेकी राष्ट्र चीन र भारतमा तीव्र गतिमा भइरहेको आर्थिक विकासबाट नेपालले लाभ उठाउनसक्ने थुप्रै सम्भावनाप्रति हाम्रा अर्थशास्त्री एवं उद्यमीले राजनीतिज्ञ एवं नीति निर्माताको ध्यानाकर्षण गर्दै आएका छन्। चीन र भारत विश्वका उदाउँदा आर्थिक शक्तिमात्र नभएर वैज्ञानिक शक्ति पनि हुन्। आर्थिक क्षेत्रमाजस्तै विज्ञान र प्रविधिका क्षेत्रमा पनि भारत र चीनले अर्जित गरेका उपलब्धिबाट नेपालले लाभ लिनसक्ने धेरै सम्भावना छन्। तसर्थ ती छिमेकी मुलुकसँग विज्ञान र प्रविधिका निश्चित क्षेत्रमा दीर्घकालीन एवं निकट सहकार्य गर्ने हाम्रो राष्ट्रिय नीति बन्न सके नेपालको वैज्ञानिक क्षमता विकासमा ठूलो सहयोग पुग्नेछ। यसतर्फ देशका राजनीतिज्ञ, नीति निर्माता एवं वैज्ञानिकको ध्यान जानु आवश्यक छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld