Nepal Republic Media Pvt. Ltd.

Saturday
Sep 19th
Error
  • Error loading feed data.

माओवादीका भित्ते नारा

smaller text tool iconmedium text tool iconlarger text tool icon
कुनै दल, समूह वा व्यक्तिका विचार जनतासम्म पुर्‍याउन सजिलो, कम खर्चिलो र प्रभावकारी माध्यमका रूपमा सार्वजनिक वा निजी भवनका भित्तामा नारा लेख्ने गरिन्छ। यस्तो लेखन विशेषतः एकदलीय साम्यवादी अधिनायकवाद या सैन्य वा तानाशाही राजतन्त्रात्मक वा धार्मीक कट्टरपंथी राज्य व्यवस्थाको विरोधमा गर्ने गरिन्छ। किनभने त्यस्ता शासनमा वैचारिक स्वतन्त्रता निषेधित हुन्छ। त्यस्ता शासनमा राजनीतिक विचार प्रवाह गर्न जासुसी तन्त्रले सजिलै पत्ता लगाउन नसक्ने अन्य माध्यम पनि प्रयोगमा ल्याइएको पाइन्छ। उदाहरणका लागि प्रजातन्त्र र मानव अधिकारलाई धार्मीक कट्टरपन्थको बन्धनमा राखिएको र जहा वैचारिक स्वतन्त्रता दण्डनीय मानिने आजको इरानमा राजनीतिक सन्देश प्रवाह गर्ने सशक्त माध्यमका रूपमा चल्तीका नोटलाई प्रयोग गरिएको छ।

नेपालमा पनि सार्वजनिक वा निजी भवन र स्थानका भित्ता एवं खम्बाहरू राजनीतिक, धार्मिक र सामाजिक सन्देश प्रवाह गर्ने माध्यमका रूपमा प्रयोग गर्ने गरिएको छ। काठमाडौं सहरका बिजुलीका खम्बामा 'पे्रमवाद' र पर्खालका भित्तामा जातीय आधारको संघीयताको वकालत गर्ने अधिकारवादीको नारा पढ्न पाइन्छ। राजनीतिक विचार प्रवाह गर्ने माध्यमका रूपमा भने भित्ते लेखनको प्रयोग निर्दलीय पंचायती कालमा निकै बढी देखिन्थ्यो। राजनीतिक प्रचारवाजीलाई अभियानकै रूपमा प्रयोग गर्ने रणनीतिअनुरूप पंचायत कालमा भित्ते नाराको सबभन्दा बढी प्रयोग गर्ने पंचायती कम्यनिस्टनै थिए। उनीहरू त्यस व्यवस्थालाई कमजोर बनाउँदै अन्ततः कव्जा गर्ने रणनीती लिएर पञ्चायतमा प्रवेश गरेका थिए। उनीहरूले सन् १९६० को दशकको सुरुतिर इन्डोनेसियाका डीएन आइडिटको नेतृत्वको इन्डोनेसियाली कम्युनिस्ट पार्टीले प्रयोग गरेको जनरल सुकार्नोको सैन्य तानाशाही शासन व्यवस्थामा घुसपैठ गरी सत्ता कब्जा गर्ने आत्मघाती रणनीति अनुसरण गरेका हुन्। पंचायत कालमा भित्तामा लेखिने नारा निकै चलाखीपूर्वक नेपाली कंाग्रेस र त्यसमा पनि बीपी कोइरालाविरुद्ध लक्षित हुन्थे। पञ्च र कम्युनिस्ट दुवैमा भारतको विरोध गर्नु नै राष्ट्रवादी हुनु हो भन्ने सोच थियो। कांग्रेस र विशेषतः बीपी कोइरालालाई भारतपरस्त र उनीहरूका शब्दमा 'अराष्ट्रिय तत्व' भनेर भित्ते नारामार्फत आरोप लगाउँथे। पहिलो जनआन्दोलन, २०४६ पश्चात् २०५१ अवधिसम्म पनि भित्ते लेखनको बढी प्रयोग कम्युनिस्ट पार्टीहरूले नै गरेका थिए।
प्रजातान्त्रीकरणको पहिलो चरणमा भोग्नु परेको वैचारिक र राजनीतिक संकटले कम्युनिस्टहरूमा दोहोरो चरित्रको विकास भएको थियो। यस्को उदाहरण २०४८ को संसदीय निर्वाचनपछि गठित कंाग्रेसको बहुमतको सरकारविरुद्ध सडकको राजनीति। यस्तै २०५२ मा थालेको हिंसात्मक विद्रोहलाई घनीभूत बनाउने क्रममा माओवादीले पनि भित्ते लेखनलाई आफ्ना नारा प्रचारगर्ने र जनतासम्म पुग्ने सरल माध्यमका रूपमा उपयोग गर्दै आएको थियो। तर, करिब ६ वर्षअघि माओवादी नेताविरुद्ध भित्ते लेखन र पुत्ला बनाएको आरोपमा माओवादी हिसा पीडित संस्थाका एक नेताको भने काठमाडौंमा हत्या नै गरियो। दोस्रो जनआन्दोलनपछि लोकतान्त्रिक अभ्यासका नाममा खुला राजनीतिमा आएको माओवादीले आफ्नो प्रचारवाजीको माध्यमका रूपमा भने भित्ते लेखनलाई निरन्तरता दिइनै आएको छ।

माओवादीको भित्ते लेखनले अहिले सहरका भित्ता राताम्य भएका छन्। हुनत, अहिले कोरिएका यी नारालाई माओवादीको तत्कालीन कार्यक्रम र रणनीतिको प्रचारवाजीका रूपमा लिइएको छ तर यिनले यस पार्टीको अन्तिम लक्ष्य बुझ्न पनि सजिलो भएको छ। माओवादीका नारा पढ्दा तिनमा गत भाद्रको दोस्रो साता भएको माओवादीको केन्द्रीय समितिमा अध्यक्षद्वारा प्रस्तुत 'जनताको संविधान र राष्ट्रिय स्वतन्त्रताका लागि सडक, सदन र सरकार तीनै तहबाट आन्दोलन गर्ने' राजनीतिक प्रस्तावको समर्थन गरिएजस्तो देखिन्छ। माओवादीले भित्ते नारामार्फत् 'जनताको संघीय गणतन्त्रको स्थापना'लाई आफ्नो वास्तविक उद्देश्यका रूपमा जनसमक्ष प्रचार गरेर त्यसमा पुनः जोड दिएको छ। यसलाईे नेपालको संविधान (२०६७)को मस्यौदा शीर्षकमा पहिले पनि प्रस्तुत गरी सकेको थियो। कट्टर कम्युनिस्ट शब्दावलीमा 'जनताको' भन्ने शब्दले 'सर्वहारा वर्गको' भन्ने जनाउँछ। माओवादीजस्तो उग्रकम्युनिस्ट पार्टीले धेरैले बु‰ने शब्द ‘जनता' प्रयोग गरे पनि उसको लक्ष्य सर्वहारावर्गका नाममा माओवादी पार्टी नियन्त्रित अधिनायकवादी राज्य व्यवस्था स्थापना गर्नु हो भन्ने बुझ्न कठिन हुँदैन। कम्युनिस्ट सिद्धान्तमा 'जनताको' भन्नाले स्टालिनका अनुसार 'लेनिनवादको आधारभूत तत्व' र लेनिनका भनाइमा 'मार्क्सवादी शिक्षाको मुख्य सारतत्व' भन्ने अर्थमा जडसूत्रका रूपमा स्वीका गरएको छ। माओ त्से तुंगले यसैको व्याख्यामा 'मजदुर र किसानको संलग्नता र सहकार्यमा आधारित कामदार वर्गको नेतृत्वको राज्य व्यवस्था कायम गर्नु हो र त्यसको प्रतिनिधित्व चिनिया कम्युनिस्ट पार्टीले गर्छ' भनेका छन्।

नेपाली माओवादीका मार्गनिर्देशक माओ त्से तुंगले 'मजदुर र किसानको संलग्नतामा आधारित जनताको लोकतान्त्रिक अधिनायकवाद जुन सारमा सर्वहारावर्गको अधिनायकवाद हो' भन्ने वाक्यांश चीनको संविधानको प्रस्तावनामै राखेका थिए र अहिले पनि छँदैछ। माओवादीद्वारा प्रस्तुत संविधान मस्यौदाको प्रस्तावनामा ‘मजदुर किसानलगायतका श्रमजीवी जनता नै वर्तमान नेपाली समाजका मुख्य चालक शक्ति हुन् भन्ने यथार्थलाई आत्मसात गरी राज्यका अंगहरूमा श्रमजीवी जनताको नेतृत्वदायी भूमिका सुनिश्चित गर्न प्रतिबद्ध रहँदै' भन्ने वाक्यांश उल्लेख भएको छ। यही संकल्पमा माओवादीको नयाँ संविधानप्रतिको दृष्टिकोण प्रस्तुत भएको छ। संविधान निर्माण गर्न थपिएको वर्ष दिनमा सात महीना मात्र बाँकी छ। यति बेला आएको माओवादीलाई शंकाको सुविधा दिँदै आएका अरू दल र चेतनशील नागरिकले भित्ते नाराबाट आफ्नो चाहनाअनुसारको संविधान बन्ने निश्चित नभए माओवादी लडाकु र हतियार व्यवस्थापन गर्ने तथा संविधान निर्माणलाई पूर्णता दिने पक्षमा पनि हुने छैन भन्ने बुझ्नुपर्ने हुन्छ।

माओवादीले भित्ते नाराको शृङ्खलामा स्पष्ट भनेको छ - प्रतिक्रान्तिकारी षडयन्त्र बन्द गर। शान्ति र संविधान सुनिश्चित गर। चीनमा कम्युनिस्ट शासन स्थापनापछि माओले पनि क्रान्तिमा सहयोग नगर्नेलाई ‘प्रतिक्रान्तिकारी' भन्दै खासगरी पुरानो सत्ताका समर्थक बुद्धिजीवी, सैनिक र निजामती कर्मचारी, निजी क्षेत्रका उद्योगीव्यपारी गरी लाखौं जनालाई सार्वजनिकरूपमा निर्ममतापूर्वक भौतिकरूपमै ‘सफाया' गरेका थिए। जनसाधारणलाई तर्साउने उद्देश्य पनि यस हत्याकाण्डमा निहित थियो। नेपाली माओवादीको नारामा ‘प्रतिक्रान्ति'को अर्थ गणतन्त्र, धर्म निरपेक्षता र संघीयताविरुद्धको राजनीतिक गतिविधिमात्र हो भन्ने ठान्नु मूर्खता हुनेछ। माओवादीको ‘प्रतिक्रान्ति' शब्दभित्र त उसले चाहेको राज्य व्यवस्था र सामाजिक परिवर्तनको स्वरूप स्वीकार नगर्ने र त्यस्को प्रतिवादमा आएका सबै सद्धान्तिक र रणनीतिक विचार पर्छ। माओवादीका दृष्टिमा ‘शान्ति र संविधानको सुनिश्चतता' तबमात्रै हुन्छ। गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता र अग्रगमनकारी परिवर्तन आदि सामान्य बुझाइका क्रान्तिकारी कदमलाई त देशका प्रमुख राजनीतिक शक्तिले प्रतिबद्धतामा मात्र हैन व्यवहारमै आत्मसात गरिसकेका छन्। तैपनि माओवादी नेताले आफ्ना लडाकु र हतियारको व्यवस्थापन आफ्नो उद्देश्य पूरा नभएसम्म समायोजन र व्यवस्थापन हुँदैन भन्दै र विशेष समितिलाई आफ्नो सर्तमा मात्र क्रियाशील बनाउने प्रयास गरिरहेको छ। यसबाट स्पष्ट हुन्छ, माओवादीले अझै पनि कांग्रेस, एमाले र मधेसवादी दललाई क्र्रमशः यथास्थितिवादी, द्वैधचरित्रवादी र क्षेत्रीय प्रभुत्ववादीको संज्ञा दिँदै अप्रत्यक्षरूमा प्रतिक्रान्तिकारीकै कित्तामा राखेको छ।

‘जनताको संघीय गणतन्त्र र त्यस्का लागि शान्ति र संविधानको निर्माण'को मुख्य सैद्धान्तिक आधारभित्र आफ्ना रणनीतिलाई पनि उस्ले भित्ते नारामार्फत स्पष्ट पारेको छ। यी रणनीतिमा पहिलो प्रयास जसरी भए पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्नु देखिन्छ। भित्तामा कोरिएका नारामा वर्तमान राजनीतिक बाध्यतालाई आत्मसात् गर्दै ‘राष्ट्रिय संयुक्त सरकार' गठनको चर्चा गरिएको छ। व्यवस्थाापिका संसद्का माओवादीइतर पार्टीहरूले भन्दै आएको सहमतीय सरकारका ठाउँमा माओवादीले राष्ट्रिय संयुक्त सरकारको गठनलाई भित्ते नाराको विषय बनाएको छ। राष्ट्रिय संयुक्त सरकारको परिभाषाभित्र व्यवस्थापिका संसद्भित्रका २७ दलहरूको सहभागितामा निर्माण हुने सरकार पर्ने हो वा बाहिरका राजावादीहरू पनि सम्मिलित हुने हुन् भन्ने व्याख्या आउन बाँकी नै छ। गाढा रातो अक्षरमा ‘राष्ट्रिय संयुक्त सरकार' भन्ने नारा लेखिएको भित्ताको सडक पारीको भित्तामा हलुका गुलाबी रंगमा ‘पूर्व राजासहितको गोलमेच सम्मलेन गर' भन्ने नारा संयोगभन्दा पनि माओवादीको ‘राष्ट्रिय' शब्दावलीको स्वाभाविक आकर्षणमा आएको नारा हो कि भन्ने शंका उब्जाएको छ। माओवादीले मान्ने राष्ट्रवादीभित्र राजावादी, दरवारिया, हिन्दू सम्प्रदायवादी, अरू कम्युनिस्ट तथा अतिवादी को को पर्लान् त्यो पनि देखिन बाँकी नै छ।
किनभने राष्ट्रिय संयुक्त सरकारकै नाराभित्र ‘जनताको संघीय गणतन्त्रको स्थापना' पनि लेखिएको छ। सहरका विभिन्न पर्खालमा लेखिएका नारालाई एक ठाउँमा राखेर पढ्दा राष्ट्रिय संयुक्त होस् अथवा सहमतीय वा बहुमतीय जस्तोसुकै होस् माओवादीलाई आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपरेको छ। संसद्भित्रैबाट पार्टीले संसदीय पद्धतिको आलोचना गरेका संासद खरीद, पदीय प्रलोभनजस्ता विकृत अभ्यास गरेर पनि सरकारको नेतृत्व गर्न माओवादी तत्पर देखिएको छ। तत्काल माओवादी नेतृत्वमा सरकार बन्न नसके एमालेका नेतालाई केही महिना प्रधानमन्त्री बनाएर त्यसपछि आफ्नो नेतृत्वमा सरकार गठन गर्ने रणनीतिस्वरूप राष्ट्रिय संयुक्त सरकारको गठनको नारा भित्तामा लेखिएको हो।
पार्टीका अध्यक्ष र ‘विद्रोहको' नीतिका अगुवा एक उपाध्यक्षकै विचारको समायोजनका रूपमा वैधानिक तबरबाट सत्ता प्राप्त नभए जेठ १४, २०६८ अगावै जनविद्रोहको वातावरण निर्माण गर्ने रणनीति पनि भित्ते नाराको उद्देश्य देखिन्छ। विद्रोहबाटै भए पनि सरकारको नेतृत्व गरेर आफ्नै सर्तमा लडाकुलाई नेपाल सेनामा समायोजन गराउने र आफ्नोअनुकूलको संविधान बनाएर निर्वाचन गराउने रणनीतिमासामान्य जनता र राष्ट्रवादी शक्तिको समर्थन लिन भित्तामा ‘खाद्यान्न सुरक्षा', ‘भोकमरी' र ‘महगीको अन्त', ‘युवालाई रोजगारीको सुनिश्चिता', ‘भ्रष्टचारी र तस्करलाई कारवाही' आदि जनसरोकारका नाराहरु पनि लेखिएका छन्। ‘भारतीय हस्तक्षेपका कारण आफ्नो पार्टीका आधिकारिक उम्मेदवारले सरकारको नेतृत्व गर्न नसकेको भन्ने निष्कर्ष'ले माओवादीको भित्ते नारामा सबैभन्दा प्रमुखता पाएको छ। भित्तामा ‘विदेशी हस्तक्षेप बन्द गर', ‘भारतीय हस्तक्षेप बन्द गर'का साथै ‘स्वाधीनता र राष्ट्रियताको रक्षा' गर्ने नारा पनि लेखिएका छन्। अझ रमाइलो त के छ भने महंगी नियत्रण, भ्रष्टाचार नियत्रणकै नाराको हाराहारीमा स्वाधीनताको रक्षा र विदेशी हस्तक्षेपविरुद्धका नारा पनि लेखिएका छन्। जनताको ध्यानाकर्षण गर्ने अथवा सामान्य जनता र ‘राष्ट्रवादी' शक्तिलाई एकै साथ सम्बोधन गर्ने दृष्टिकोणबाट आएका यी नाराले विद्रेाहकै वातावरण निर्माण गर्ने सन्देश दिएको छ।
पक्कै पनि सहरका भित्तामा रंगाइएका नाराका मूल उद्देश्यहरूमा यही मंसीर ५ गतेबाट सुरु हुने माओवादीको विस्तारित बैठकमा छलफल हुनेछ । राष्ट्रिय र अर्न्तराष्ट्रिय परिस्थितिले त्यसमा पनि छिमेकी राष्ट्रसँग चिसिएको सम्बन्धका कारण माओवादीलाई सरकारको नेतृत्वमात्रै होइन विद्रोह गर्ने वातावरण पनि प्रतिकूल भएको देखिएको छ। यस्तो अवस्थामा पार्टीभित्रको बढ्दो विग्रह, कार्यकर्तालाई टालटुल र जनतालाई मिश्रित सन्देश दिने प्रयास पनि हुनसक्छ। त्यसका लागि अध्यक्ष र दुई उपाध्यक्षको विचार समायोजन (फ्युजन) गरी शान्ति र संविधानको सुनिश्चितताका लागि अन्य दलसँग वार्ता र छलफल अगाडि बढाएर हात्तीवनमा प्रस्तुत सरकार गठनका चार विकल्पका साथै जनविद्रोहको तयारीको अन्तिम दस्ताबेज पारित गरेर अहिलेका भित्ते नारालाई सन्देशहीन बनाइने संभावना भने बढी नै छ।


प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld