Error
  • Error loading feed data.

माओवादीका सीमा

smaller text tool iconmedium text tool iconlarger text tool icon
एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को गोर्खाको पालुङटारमा सुरु भएको विस्तारित बैठक अहिले चर्चाको केन्द्रमा छ। संविधान सभाको सबैभन्दा ठूलो दल, आफ्नै सेना भएको हिजोसम्मको सशस्त्र विद्रोही शक्ति तथा शान्ति प्रक्रियाको प्रमुख पक्ष भएकाले माओवादी बैठक चर्चाको केन्द्रमा हुनु स्वाभाविकै हो। पालुङटार बैठकले माओवादीको आन्तरिकमात्र हैन देशको समग्र राजनीतिमा प्रभाव पार्नेछ। यसैले विस्तारित बैठकलाई माओवादीको आन्तरिक विषयमात्र ठान्नु उचित हुँदैन। माओवादीले पनि आफू सबैभन्दा ठूलो जनअनुमोदित राजनीतिक दल भएको यथार्थलाई गम्भीरतापूर्वक लिनु जरुरी छ। माओवादी सेनाका लडाकुले भागलिन हुन कि नहुने भन्ने विवाद पछिल्लो समयमा थपिए पनि जनरुचि र बहसको मूल विषय माओवादीको अबको बाटो नै हो।

नेतृत्वले स्वस्थ र सहज ढंगले अगाडि बढाउन नसकेकाले बहसको ताजारूप बाहिरबाट देखिन सकेको छैन। माओवादीकै कमजोरीले बहस बाह्य पक्षबाट प्रभावित भएको देखिन्छ। अर्थात् बहस भ्रष्टीकरणका बाटोमा छ। यस्तो अवस्थामा सहभागीले आफ्ना मत कति निर्भीकतापूर्वक राख्न सक्छन् त्यसले धेरै विषयको निर्धारण गर्नसक्छ। असुरक्षा अनुभव भयो भने बहस स्वस्थ रहन सत्तै्कन। कार्यकर्ता सामान्यतः विषय केन्द्रित नभएर नेता निर्देशित हुन्छन्। यसैले माओवादी नेतृत्वले बहसलाई भद्र र सभ्य बनाउन सक्छ कि सक्तैन त्यो भने हेर्न बाँकी छ।

माओवादीभित्र अहिले चार प्रकारका मुख्य सैद्धान्तिक कोण देखिन्छन्। पहिलो शान्ति प्रक्रियाको विश्लेषण, दोस्रो प्रधान अन्तरविरोधको सबाल जसमा भारत तानिएर आएको छ, तेस्रो कार्यशैली र चौथो कार्य दिशाको प्रश्न। राजनीतिक पार्टीभित्र यति विवाद हुनु खासै ठूलो होइन तर अहिले विवादलाई माओवादीभित्रै र बाहिरबाट पनि विवादको पाहाड खडा गरिएको छ। माओवादीको नेतृत्वमा उठेका राज्य पुनर्संरचना, सामाजिक-आर्थिक रूपान्तरण र संघीयता जस्ता विषय विषय अहिले पनि सडकमा छन्। ‘नयाँ नेपाल' उपहारको प्रसंग बन्न लागेको छ। कार्यकर्तामा माओवादीले गरेको ‘जनयुद्ध' कतै छायामा पर्ने त हैन भन्ने डर देखिन थालेको छ। अर्कातिर विषयभन्दा व्यक्ति र सबालभन्दा शक्तिका आधारमा गुटबन्दी भइरहेको छ। आन्दोलनभन्दा व्यक्ति केन्द्रमा राखिएको शंका बढेको छ। यसैले १३ हजार भन्दा बढी नेपालीको बलिदानको टीका लगाएर आएको नेतृत्वप्रति अविश्वासको वातावरण तयार हुँदैछ।

नेपाली राजनीतिमा सबैभन्दा पहिला नेतृत्वलाई नांगेझार पार्ने, दलहरूलाई कमजोर पार्ने र रिक्तता उत्पन्न गरेर षडयन्त्रका लागि वातावरण मिलाउने एउटा अनौठो रोग छ। माओवादीको विस्तारित बैठकका सन्दर्भमा पनि यो रोग देखिएको छ। नमिलेका मुख्य चार सबाल बहसमार्फत मित्रतापूर्ण तरिकाले समाधान गर्न सकिन्छ। पहिले नै मनग्य बहस गरेर एउटै दस्तावेज निर्माण गरी कार्यकर्ताका सुझावका आधारमा परिमार्जन गर्न सकेको भए राम्रै हुन्थ्यो। अझै पनि बहसलाई स्वस्थ बनाउन सक्ने कार्यकर्ताका सुझाव, छलफलका आधारमा फर्केर एउटै दस्ताबेज बनाए हुन्छ। यतिबेला माओवादी नेतृत्व समयको कसीमा छ।

कार्यशैली त उपल्लो तहको नेतृत्व आफैँले सच्याउने हो। अनुशासन र आन्तरिक लोकतन्त्रको व्यवस्थापन आवश्यक हुन्छ। ‘नयाँ नेपाल' माओवादीको कार्यदिशा हो। अर्थात् नयाँ नेपाल निर्माणको अभियानमा उत्पन्न छेकबार चिर्नु कार्यदिशा हो। राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिको छेकबार ठूलै देखिएको छ। प्रधान अन्तरविरोधका सबालमा पनि सिर्जनात्मक बहस उपयुक्तै हुन्छ।

अहिलेको बहसमा माओवादी पार्टी जनताका दैनिक समस्यासँग कसरी जोडिन्छ भन्ने पाटो छुटेको छ। शान्ति प्रक्रिया सुरु भएपछि दलितविरुद्ध छुवाछुत बढ्न थालेको छ। गाँउमा ब्याज बढ्न थालेको छ। मालिक र मजदुरको सम्बन्ध तीतो बढेको छ। अर्थात्, माओवादीले ‘जनयुद्ध'मा स्थापित गरेका मान्यता भत्किँदै छन्। तर, त्यसमा माओवादीभित्र बहस भएको छैन। उत्पीडित जनताका समस्या बहसको केन्द्रमा नपर्नु अनौठो र उदेकलाग्दो विषय हो। बहस यथार्थमा आधारित नभए माओवादीको जनतासँगको सम्बन्ध टुट्छ। जनताका दैनिक अप्ठेरामा माओवादी कार्यकर्ताको संलग्नता, कार्यकर्ता परिचालन विधि, नेतृत्व र कार्यकर्ताको सम्बन्धजस्ता विषय ओझेलमा परेकाछन्। यस अर्थमा बहस सिर्जनात्मक छैन। बहस यर्थाथमा आधारित नभएपछि गडबडी सुरु हुन्छ। माओवादी नफुटे पनि जुट्न सक्छ कि सत्तै्कन भन्ने अहिले महत्वपूर्ण प्रश्नबनेको छ। फाटेका मन पालुङटारमा टालिन्छन् कि टालिँदैनन्? राजनीतिक र सामाजिक रूपान्तरणका पक्षमा एकता हुनसक्छ कि सक्तैन? एजेण्डाबिना एकताको अर्थ नभएजस्तै एकता नभए राम्रो एजेन्डा पनि निरर्थक हुन्छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld