Nepal Republic Media Pvt. Ltd.

Saturday
Sep 19th
Error
  • Error loading feed data.

गुरुकुलमा महापर्व

smaller text tool iconmedium text tool iconlarger text tool icon
काठमाडौं अन्तर्राष्ट्रिय नाटक महोत्सवको दोस्रो दिन सुनिल पोखरेल एउटा पसलमा किताब छानिरहेका थिए। भारतीय साहित्यकार अज्ञेय, मोहन राकेश र निर्मल वर्माका कुनै पनि किताब उनी छुटाउँदैनथे।

दिल्लीस्थित नेसनल स्कुल अफ आर्ट एन्ड ड्रामामा पढ्दा भारतीय कवि तथा सञ्चारकर्मी रघुवीर सहायले कविता पढाउँथे। सुनिलको भागमा थिए, अज्ञेय र सहायका एक, एक कविता। 'दुवै मेरा प्रिय कवि', सचितानन्द हिरानन्द वात्सायन 'अज्ञेय'को किताब छुट्ट्याउँदै उनले भने। बर्माको 'परिन्दा', अज्ञेयको 'अपने अपने अजनबी', धरमवीर भारतीको 'सुरजका सातवाँ घोडा', धनुषचन्द्र गौतमको 'घामका पाइलाहरू', 'यहाँदेखि त्यहाँसम्म'लगायत थुप्रै किताब उनले किने। 'तपाईँ कोएलो पढ्नुहुन्छ?' पाउलो कोएलोको किताब उनको हातमा देखेपछि कसैले भन्यो, 'यी तपाईँलाई होइन, पप पुस्ताका लागि लेख्छन्।' सुनिलले भने, 'धेरैले यही भन्छन्, तर मलाई मज्जा लाग्छ।'


किताब प्रेम कलासचेत मानिसको अभिन्न प्रवृत्ति हो। विडम्बना, हामीकहाँ 'मूल धार'का कलाकारमा कला चेतना 'माइनस' छ खासगरी चलचित्रका। बहुचर्चित निर्देशक, पटकथाकार, संवाद लेखक, छायाँकार, कलाकार कलाबाहेक सबैमा अगाडि हुन्छन्। निर्देशक निर्देशनबाहे अरू सबैमा गजब हुन्छ। पटकथाकार, संवाद लेखक लेखनबाहेक अरूमा तगडा हुन्छ। अभिनेता, अभिनेत्री अभिनयबाहेक अन्यमा 'स्मार्ट' भेटिन्छन्। भारतीय नाटकबाट चलचित्र छिरेका इरफान खान साहित्यका राम्रा पारखी हुन्। झन्डै चार वर्षअघि भारतीय मासिक 'कादम्बिनी'मा उनको रोजाइमा उदय प्रकाशको चर्चित कथा 'तिरिछ' छापियो। त्यसमा टिप्पणी पढ्दा उनको अध्ययनको गहिराइ सजिलै नाप्न सकिन्छ। सार्थक चलचित्र रोजेर बनेको उनको अन्तराष्ट्रिय पहिचानको पृष्ठभूमिमा अध्ययनशीलता पनि छ।


सुनिल संवेदनशील नाटक निर्देशक हुन्। त्यसभन्दा राम्रा कलाकार हुन्। नाटकमै उनले आफ्नो विगत र वर्तमान खर्चेका छन्। यही संवेदनशील र अध्ययनशील व्यक्तित्वले उनलाई विगत तीन दशकदेखि नाटकमा बाँधिराखेको हो। थुप्रै सहकर्मी चलचित्रमा फड्को मारिसकेका बेला नत्र उनी नाटकलाई पुनर्जीवन दिन किन लागिरहन्थे? उनको समूह आरोहणलेफ्रान्सिसी सांस्कृतिक केन्द्र, प्रज्ञा प्रतिष्ठानसँग मिलेर नाटक गरेको आठ वर्षअघि पुरानो बानेश्वरमा गुरुकुल स्थापना गरेपछि नेपाली नाटकमा बसन्त आयो। त्यसयता यसले अग्निको कथा, पुतलीको घर, जात सोध्नु जोगीको, मायादेवीको सपना, जीवनदेखि जीवनसम्म, आरुका फूलका सपना, न्यायप्रेमी, बाघ भैरव, ठमेलको यात्रा, सपनाको साबितीजस्ता नाटकको नियमित प्रदर्शन गरिरहेको छ।


आरोहण बृहत् अन्तराष्ट्रिय नाटक महोत्सवमा व्यस्त छ। चार वर्षअघि पनि उसले यस्तै महोत्सव गरेको थियो। मंसिर तेस्रो सातासम्म १६ देशका २२ नाटकले पारखीलाई बसन्तबहार ल्याएका छन्। सोमबार साँझ स्लोभेनियाली नाट्य समूह आर्टिजानीको 'द विजर्ड अफ बज' प्रदर्शनपछि अझै अमेरिका, स्पेन, रुस, बेलायत, भारत, थाइल्यान्ड, बंगलादेश, पाकिस्तान, इरान, नर्वे, नेपाल, श्री लंकाका नाट्य समूहका प्रस्तुति बाँकी छन्।
नाटक महोत्सव गर्दागर्दै आरोहणकर्मी भने 'मुटुमाथि ढुंगा राखी' हाँस्न बाध्य छन्।

महोत्सव सकिँदा नसकिँदै पुरानो बानेश्वर उकालोको ढिस्को छाड्न उनीहरूलाई दबाब पर्नेछ। सुनिलको सपना थियो - एउटा पूर्णकालीन नाट्य विद्यालय होस्। मन लागेको नाटक देखाउन सकिने प्रेक्षागृह, एउटा पुस्तकालय, भेषभूषा राख्ने ठाउँ र छलफल गर्न सकिने ठाउँ होस्। आठ वर्षअघि काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितको सहयोगमा पुरानो बानेश्वर थुम्कोमा ठाउँ मिलेपछि त्यो सपना पूरा भयो। नाटक मञ्चनसाथै एकल कविता वाचन, कथा मञ्चन, सांगीतिक, साहित्यिक कार्यक्रम गरेर यो बौद्धिक तथा सांस्कृतिक केन्द्र बन्यो।

गुरुकुल स्थापना गरेर यसले प्रशिक्षित र प्रतिबद्ध रंगकर्मीको समूह बनायो। गुरुकुलसँग उच्चप्रविधियुक्त दुई नाटकघर छन्। मुलुकभरि शाखा खुल्दैछन्। नाटकको मात्र नभई, यो लोकतान्त्रिक संघर्षको पनि पर्याय बन्यो। सपना हराभरा भएकै बेला भाडामा किचलो पर्दा र पायक पर्ने जग्गा नपाउँदा कायल छन् सुनिल। जग्गा किन्न वा मागबमोजिम भाडा तिर्न असमर्थ हुँदा यो स्थिति आएको हो। प्रज्ञा प्रतिष्ठान वा सांस्कृतिक संस्थानले गर्न नसकेका थुप्रै काम गरेको आरोहणले नाटकलाई पुनर्जीवनमात्र दिएको छैन, दक्षिण एसियामै सबैभन्दा ठूलो नाटक महोत्सव गरिरहेको छ। तथापि, उसकै थातथलो बेठेगान छ। संस्कृति मन्त्री मिनेन्द्र रिजालले आरोहणलाई थातबासको व्यवस्था मिलाइदिने वाचा गरेका थिए। महोत्सव उद्घाटन समारोहमा अझै ठाउँ खोजिदिन नसकेकोमा उनले खेद प्रकट गरे।
गुरुकुलको मात्र नभई समस्त साहित्य, संस्कृतिकर्मीको समस्या हो यो। गुरुकुल नरहे नेपाली सांस्कृतिक क्षेत्रले एउटा आवश्यक र हार्दिक मञ्च गुमाउनेछ। थातथलोको खोजीमा यो गाउँतिर पस्दा पनि त्यही स्थिति आउनेछ।

 

प्रतिक्रियाहरू (1)Add Comment
0
Nisha rijal
November 24, 2010
202.166.217.53
भोट: +1
...

धेरै राम्रो लेख। गुरूकुल साँच्चै नै कलाकार र साहित्यकारका लागि अभिन्न अंग हुन्। यसलाई बचाइ राख्नुपर्छ।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld