Error
  • Error loading feed data.

प्रधानमन्त्रीको दिमाग

smaller text tool iconmedium text tool iconlarger text tool icon
विज्ञानले अहिलेसम्म मानव मस्तिष्कको भेउ पाउन सकेको छैन। त्यसैले प्रधानमन्त्री माधवकुमार नेपालको दिमागमा के चलिरहेको छ भन्ने पूरै चाल पाउन उनकी पत्नीले पनि सक्तिननर होला। अरूको त कुरै भएन।
मानिसको दिमागको स्तर, गति र आयामबारे थाहा पाउन सम्भवतः उसका व्यवहारको विश्लेषण गर्नुपर्छ। धेरै वर्षको अथक प्रयासपछि प्रधानमन्त्री बन्ने मौका पाएका माधवकुमार नेपालका दैनिकी र व्यवहार उनी एमाले महासचिव हुँदासम्म मिडियामा कमै आउँथे। त्यसैले उनको मनस्थितिको विश्लेषण गरिरहनुपर्ने आवश्यकता रहँदैन थियो। मैले एमाले मित्रहरूबाट सुनेअनुसार महासचिव हुँदासम्म उनी जाँडरक्सी-चुरोटबिँडी नखाने, नियममा बस्ने, कार्यकर्तालाई सहयोग गर्ने, अरूले खाए-नखाए सोधखोज गर्ने, पार्टीको काममा बुताले भ्याएसम्म खुब खट्ने विवेकी र अनुशासित मानिस थिए। मलाई लाग्थ्यो - यिनी बहुआयामिक नभए पनि सरल र सहृदयी स्वभावका नेता रहेछन्। जब नेपाल प्रधानमन्त्री भए र विभिन्न काकतालीले प्रधानमन्त्री पदमा बसिरहने मौका पाए, यिनको दिमागको बिर्को सर्वसाधारणसामु खुल्दै गयो। प्रधानमन्त्री बनेपछि दंग भएका नेपाललाई हेर्दा त्यस पदका लागि योग्यता नपुगेका उमेदवार भएकैले प्रधानमन्त्री बन्न नसकेका रहेछन् भन्ने स्पष्ट हुँदै गयो।
थाहा भयो- प्रधानमन्त्रीको दिमाग त भुराको जस्तो रहेछ, ससाना कुरामा दंग पर्ने। मौका मिलेसम्म हवाइजहाज चढ्न मन पराउने। नपाए मुग्लिङ पुलको 'साफ्ट' भाँचिएको हेर्ने निहुँमा भए पनि हेलिकोप्टरमा सयर गर्ने। त्यो पनि नभए दंग परेर मुस्कान छर्दै सरकारी गाडीमा बालुटारबाट सहरको सयरमा निस्किने। अझ भएन भने बसमा काठमाडौं परिक्रमा गर्ने। मलाई यात्रा टोलीकै एक सदस्यले बताएअनुसार एक वर्षअघि मुक्तिनाथ जाँदा गाडी पुग्ने ठाउँबाट मन्दिरसम्म १५ मिनेटको बाटो प्रधानमन्त्री मोटरसाइकलमा हुइँकिएका थिए। भनेपछि उनलाई मोटरसाइकल चढ्न पनि रुचि रहेछ। उनी त्यसबेला उत्तरी मुस्ताङस्थित लोमान्थाङको एउटा संग्रहालय हेर्न गएका थिए।
अहिले प्रधानमन्त्री नेपाल कम्बोडियाको राजधानी नोम्पेन्हमा छन्। त्यहाँ तीनचार दिन घुमेपछि ब्रसेल्स जाने कार्यक्रम छ। राष्ट्रपति र सभामुखले 'प्लिज अहिले नगइदिनू, गतिरोध सुल्झाउन पहल गरिदिनू' भन्दाभन्दै 'यहाँ त्यस्तो जरुरी केही परेछ, सहमति हुने भएछ भने आइहाल्छु नि' भन्दै नोम्पेन्ह उडेका प्रधानमन्त्रीको त्यहाँ पुग्ने रुट सबैभन्दा हाँसउठ्दो छ। काठमाडौंबाट पूर्व उड्दा तीन घन्टामा पुगिने बैंकक र त्यहाँबाट एक घन्टामा पुगिने नोम्पेन्हको रुटमा हवाइजहाज यात्रा छोटो हुने भएकाले हुनसक्छ, प्रधानमन्त्री यहाँबाट ५ घन्टा पश्चिम उड्नुपर्ने दोहा, त्यहाँबाट ७ घन्टा पूर्व लाग्नुपर्ने बैंकक हुँदै नोम्पेन्ह उत्रिएका छन्। हवाइजहाज चढ्न हुरुक्क गर्ने प्रधानमन्त्रीको बाल स्वभावको परिचय उनको नोम्पेन्ह रुटले थप स्पष्ट पारेको छ।
राजिनामा दिएयता पाँच महिनादेखि विभिन्न उपाय रचेर, विभिन्न संयोगहरूबाट लाभान्वित हुँदै र असहमतिका दर्जनौं चरण सफलतापूर्वक सम्पन्न गरेर प्रधानमन्त्री पदमा टिकिरहेका छन् यी हँसिला नेता। यो पाँच महिना सबैभन्दा रमाइलो र मोजमस्ती कुनै नेताले गरेका छन् भने ती सम्भवतः नेपाल नै हुन्।
उनी भरखरै बाघ सम्मेलनमा 'प्रमुख बाघ'का रूपमा सहभागिता जनाएर रुसको सेन्ट पिटर्सबर्गबाट घर फर्किए। विश्वमै सबैभन्दा बढी बाघ बसोबास गर्ने छिमेकी मुलुक भारतबाट भने सम्मेलनमा राज्यमन्त्रीले भाग लिएका थिए। त्रिभुवन विमानस्थल पुगेका फोटोपत्रकारले खिचेका तस्बिरअनुसार उनी जुन हँसिलो मुद्रामा रुस गएका थिए, बाघको बर्को ओढेजसरी त्यही प्रसन्न अनुहारमा देश फर्किए।
रुसबाट फर्केपछि छोरीको विवाह सम्पन्न गरे, राष्ट्रपति-सभामुखको खप्कीमिश्रित अनुरोध बेवास्ता गरे र '[म काम परे आइहाल्छु नि' भन्ने शैलीमा उनीहरूलाई थामथुम पार्दै नोम्पेन्ह उडे। नोम्पेन्हमा उनी एसियाली दलहरूको सम्मेलनमा सहभागी हुँदैछन्, एमाले नेताको हैसियतले। निश्चय पनि उनले त्यहाँ केही तस्बिरहरू खिच्नेछन् जुन सम्भवतः 'तस्बिरमा नेपाल' भन्ने किताबको दोस्रो भागमा छापिनेछ। खल्तीबाट डिजिटल क्यामरा निकालेर किलिककिलक तस्बिर खिच्न रुचाउने प्रधानमन्त्रीको 'तस्बिरमा नेपाल' भन्ने किताबको पहिलो भाग छ महिनाअघि प्रकाशन भएको थियो।
अहिले एमालेका अर्का नेता केपी ओली पनि नोम्पेन्हमै छन् भने अध्यक्ष झलनाथ खनाल जोहानेसवर्गमा। नेपालसहित एमालेका तीनै शीर्षनेता देशमा नभएकाले अब साता-दस दिन कुनै सहमति प्रयाससम्म हुने छैन। यद्यपि सहमतिका लागि प्रशस्त असहमतिहरू राजनीतिमा विद्यमान छन्- संसद् अधिवेशन, प्रधानमन्त्री चयन, संविधान निर्माणका बुँदाहरू र अन्य थुप्रै।
नोम्पेन्हबाट प्रधानमन्त्री स्वदेशको आकाश काटेर पश्चिम उड्दै ब्रसेल्स उत्रनेछन् र त्यो सुन्दर युरोपेली सहरका केही तस्बिर खिच्नेछन् जुन सम्भवतः भाग दुईमै छापिनेछ। मिल्यो भने सम्भवतः उनले हवाइजहाजकै झ्यालबाट नेपालमा एक नजर लगाउनेछन्।
गत भदौमा प्रशस्त चाहना हुँदाहुँदै पनि प्रधानमन्त्री नेपाल राष्ट्रसंघ मुख्यालय न्युयोर्क जान पाएनन्। त्यतिखेर यहाँका बुद्धिजिवी र पत्रपत्रिकाले उनको सम्भावित भ्रमणको आलोचना गरे। त्यसबेला घुम्न नपाएको तुस प्रधानमन्त्रीले तीन साताभित्र रुस, कम्बोडिया र बेल्जियम घुमेर मेट्दैछन्। बाटामा पर्ने बैंकक, दोहाजस्ता सहरमा पनि उनको नजर अडिनेछ, सायद केही तस्बिर र किनमेलका लागि।
मलाई प्रधानमन्त्री नेपाल एउटा लोभी बच्चाजस्ता लाग्छन् जो चकलेट नपाउँदा रुन्छ र पाएपछि दंगदास हुन्छ। सानासाना कुरामा लोभ गर्नु र आफ्नो काम के हो भन्ने ठम्याउन नसक्नु अविकसित केटाकेटी दिमागको परिचय हो। उनले वसन्तपुरको सडक बढारेको, आफ्ना मित्र रविभक्त श्रेष्ठको आइसक्रिम पसल उद्घाटन गरेको तथा सहरका खाल्टाखुल्टी र फोहोरमैलाको 'अनुगमन गर्न' बस चढेर चक्रपथ परिक्रमा गरेका दृश्य सम्झेर अहिले पनि हाँसो लाग्छ।
प्रधानमन्त्री नेपाल कामचलाउ प्रधानमन्त्री भएको पाँच महिना नाघिसकेको छ। केहीगरी राजनीतिक दलहरू सहमतिमा आए र देशमा नयाँ प्रधानमन्त्री चुनिइहाले भने नेपाल के गर्नेछन्? राष्ट्रको कोष रित्याउँदै देशविदेश सयर गर्ने उनको रुचि कसरी पूरा हुनेछ? जेहोस्, डिजिटल क्यामरा त उनको आफ्नै छ, तस्बिर खिच्न कुनै समस्या पर्नेछैन।
ठूला पदमा बसेका मानिसहरू अवकाशपछि आफूलाई रुचि लाग्ने कुनै पेसामा प्रवेश गर्ने संस्कार विश्वका अधिकांश देशमा छ। प्रधानमन्त्री नेपाललाई मेरो सुझाव छ- भाग्यवश देशले नयाँ प्रधानमन्त्री चुन्यो र उनको पद खुस्किहाल्यो भने पत्रकारिता थाले हुन्छ। यो पेसाभित्र घुम्ने र तस्बिर खिच्ने दुवै अवसर प्रशस्त आइरहन्छन्।
भरखरै एउटा किताब निस्केको छ- 'बुद्धज ब्रेन' अर्थात् बुद्धको दिमाग। यसमा लेखिएको छ- मानिसका शरीरका अन्य अंग जन्मदा र निश्चित समयसम्म विकास हुँदाजस्तो स्वरूप लिन्छन्, जीवनकालभरि त्यही अवस्थामा रहिरहन्छन्। दिमागमात्रै एउटा त्यस्तो अंग हो जसलाई जीवनकालभरि विकास गर्न सकिने सम्भावना रहन्छ। मस्तिष्कविज्ञानका ज्ञाताको अनुसन्धानमा आधारित यो किताबअनुसार जन्मँदै बुद्धका ज्ञानचक्षु खुलेका होइनन्, धेरैपछि मात्र उनको दिमाग त्यो रूपमा विकास भएको हो। हुन पनि योगी बन्छु भन्ने भेउ पहिल्यै भए त बुद्धले किन बिहावारी गरिरहन्थे र छोरा जन्माउँथे?
भनिन्छ- जीवन सकारात्मक आशामा बाँच्नुपर्छ। आशा गरौं - मस्तिष्कको निरन्तर विकास सिद्धान्तअनुसार प्रधानमन्त्री नेपालको दिमाग पनि एक दिन परिपक्व हुनेछ। र, उनी बुद्ध नबने पनि मनमोहन सिंह, वेन जियावाओ वा डेभिड क्यामरुन जति बुद्धिमान अवश्य बन्नेछन्। बरू ब्रसेल्सबाट फर्केलगत्तै प्रधानमन्त्रीलाई 'बुद्धज ब्रेन' भन्ने त्यो किताब उपहार दिऊँ कि जस्तो लागेको छ।
manojdahal@gmail.com
प्रतिक्रियाहरू (6)Add Comment
0
Devendra Kunwar
December 03, 2010
117.211.85.59
भोट: +2
...

कुर्सीमा पुगेपछि सबैको दिमाग यस्तै हुन्छ। तर देशको बारेमा सोच्ने हो भने पक्कै देशको विकास हुनेछ।

0
bikash
December 03, 2010
92.40.247.55
भोट: +1
...

माधवकुमारलाई किन प्रधानमन्त्री बनाएका होलान्?

0
Padma
December 03, 2010
71.191.228.222
भोट: +1
...

धेरै राम्रो विचार। लेखको लागि धन्यवाद।

0
Bikram Paudel
December 03, 2010
113.199.209.177
भोट: +0
...

धेरै राम्रो लेख। तपाइले भनेको एकदम सही हो।

0
Kalyan Thapa
December 05, 2010
213.130.118.162
भोट: +1
...

धेरै राम्रो लेख।

0
Ramesh Raj
December 08, 2010
113.199.226.198
भोट: +0
...

यो देशमा अझै यो नौलो छैन।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld