Error
  • Error loading feed data.

खेल कसको?

smaller text tool iconmedium text tool iconlarger text tool icon
चीनको गुआङ्झोउमा १६औँ एसियाली खेलकुद प्रतियोगिताको समापन भएको छ। तर एसियाली खेल मेला सुरु हुनु अगाडि नेपालमा मच्चिएको होहल्ला भने प्रतियोगितापछि सामसुमजस्तै भएको छ। सम्बन्धित सबै पक्ष मौन छन्। यसको कारण एसियाली खेलको कुम्भ मेलामा नेपालले डुबुल्की मार्न नपाएर भने होइन। अझ आफ्नो भौगोलिक र जनसंख्याको आकारका आधारमा हेर्दा नेपाली टोली ठूलै थियो। लगभग २० खेलमा सहभागी नेपालले एक सय पचासभन्दा बढी खेलाडी तथा पदाधिकारी पठाएको थियो। खेलको पूर्व संन्ध्यासम्म भएको कोलाहल सुनेर पनि नेपाली टोलीको आकारका बारेमा अनुमान लगाउन सकिन्थ्यो। तर प्रतियोगिता सकिएपछि नेपाली खेल जगत बृहत् खेलको आयोजनापछि आयोजकै जसरी सुस्ताएको छ।
प्रतियोगितामा नेपालको उपलब्धि हेर्दा हाम्रा खेलाडी खाली हात फर्केका छैनन्। बक्सिङमा एउटा कास्य पदक प्राप्त भएको छ तर अन्य देशमा जस्तो खेलपछिको चहलपहल भने यहाँ देखिँदैन।
हिजो प्रतियोगितामा सहभागिताका लागि जाने बेलासम्म हल्ला मचाउनेहरू चुपचाप फर्किसकेका छन्। लाग्छ, प्रतियोगितामा उनीहरूको उपस्थितिी नै सबैभन्दा महत्वपूर्ण थियो। त्यसैले अब सबै सकियो। आगामी साग अनि त्यसपछि दक्षिण कोरियाको इन्चेनमा हुने १७औं एसियाली खेलकुद र त्यसअघि लन्डनमा हुने ओलम्पिकका बेला नेपाली खेल जगत्मा फेरि होहल्लाको सामना गर्नुपर्ने छ तर त्यसभन्दा पहिलेसम्म खासै विवाद देखिने छैन। खेल पदाधिकारीले एक अर्कामाथि आरोप र प्रत्यारोप लगाउने पनि छैनन्।
सोह्रौं एसियाडमा नेपालको सहभागितालाई हेर्दा यसले आजसम्मको सबै कीर्तिमान भंग गरेको देखिन्छ। पहिलो पटक प्रतियोगितामा सहभागिताका लागि खेलकुदको प्रमुख निकाय राष्टिर्य खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीबीच टोली सहभागी गराउनै हानथाप भयो। आधिकारिकरूपमा नेपालको सहभागिता १४ खेलमा हुने भनिए पनि लगभग २० खेलमा नेपाली खेलाडीले भाग लिए। नेपाली खेलकुदको विकास गर्ने दायित्व भएका दुवै संस्थाले सहभागिताका लागि आआफ्नै ढंगमा निर्णय गरे। लाग्थ्यो, नेपालमा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन टिम तथा स्पर्धा छनोटको कुनै प्रावधानै छैन, प्रक्रिया र नियम पनि छैन। एसियाड सहभागिताका क्रममा नेपाली खेल जगतमा देखिएको भद्रगोल वास्तवमै अभूतपूर्व थियो। लाग्थ्यो, ती टिम सहभागी नभए नेपाल स्वर्ण पदकबाट वञ्चित हुनेछ। तर त्यसरी सहभागी गराइएका कुनै पनि खेलमा नेपालले पदक ल्याउनु त के पदकको नजिकसम्म पुग्न सकेन। त्यत्रो झगडा र गाईजात्रा गरेर सहभागिता जनाउनुको के अर्थ भयो त?
अब होहल्ला मच्चाउनेहरूले यसको जवाफ दिनुपर्ने हो कि होइन? सफलताको झिनो आशासमेत थिएन भने विवाद निम्त्याई निम्त्याई सहभागिता किन जनाइयो? यसको जबाफ कसले दिने?
यथार्थमा नेपाली खेलकुद अभिभावकविहीन भएको छ। अभिभावक भएको भए त राम्रो प्रदर्शन गरेका खेलाडीले स्वाबासी पाउँथे। सफल हुन नसकेका खेलाडीले सान्त्वना पाउने थिए। तर नेपाली खेलकुद स्याबासी र सान्त्वना दुवैबाट वञ्चित रह्यो।
यसको कारण के हो भने नेपाली खेलकुदलाई 'आफ्नो' ठान्नेहरू खेलकुदसँग जोडिएका छैनन्। खेलकुद त खेलाडीको हुनुपर्ने हो। तर नेपालमा खेलकुद कहिल्यै खेलाडीको हुन सकेन। खेल र खेलाडीलाई निहित स्वार्थ बोकेकाहरूले प्रयोग गर्दै आएका छन्।
सोह्रौं एसियाडमा नेपाली खेलाडीको प्रदर्शन किन अपेक्षाअनुसारको हुन सकेन? नेपाली खेलाडीले के कस्तो साधन र स्रोतको उपभोग गर्न पाएका छन्? खेलाडीका लागि सरकारले के कस्ता सुविधा उपलब्ध गराएको छ? खेलाडीको भविष्य सुनिश्चित हुने वातावरण बनाउन सरकार र आफूलाई नै खेल क्षेत्रको मठाधीस ठान्ने संस्था तथा व्यक्तिले के कस्ता योजना निर्माण र कार्यान्वयन गरेका छन्? यस्ता प्रश्न निरुत्तर रहेसम्म खेलको विकास हुँदैन।
खेल त खेलाडीकै हुनुपर्ने हो। तर नेपालमा खेलाडीको नभई खेलसँग कुनै साइनो नभएका पदाधिकारीको हुँदै आएको छ। राजनीतिक नियुक्ति अनि दाउपेचबाट खेल क्षेत्रमा प्रवेश गरेकाहरूबाट खेल जगतलाई नजोगाउँदासम्म खेल खेलाडीको हुन सम्भव छैन। खेल खेलाडीको नहुँदासम्म यसको विकास पनि सम्भव छैन।
प्रतिक्रियाहरू (1)Add Comment
0
utsabshrestha
December 05, 2010
113.108.133.49
भोट: +0
...

राम्रो कुरा उठाउनुभएको छ।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld