Error
  • Error loading feed data.

मुटुरोगीको बाँच्ने अधिकार

smaller text tool iconmedium text tool iconlarger text tool icon

चितवनको नारायणघाटस्थित मेरो क्लिनिकमा जचाउन आउने गरेकी फूलमाया चौधरी ९ वर्षकी भईन्। बाथ मुटुको रोगबाट पीडित तिनको मैलै उपचार गर्न थालेको ४ वर्ष भयो। फूललमायाका बुबाआमालाई उनकी छोरीको मुटु कहिलेसम्म धड्की रहनेछ भन्ने थाहा छैन। डाक्टर भएको नाताले मलाई थाहा छ - चिकित्सा विज्ञानको विकासबाट पत्ता लागेका सबै औषधि प्रयोग गरे पनि फूलमायालाई धेरै दिन बचाउन सकिने छैन। उनको मुटु बाथ रोगबाट क्षतिग्रस्त भैसकेको छ। अप्रेसन गरेर मिलाउन सकिने अवस्था पनि छैन। मृत्यु पर्खनुबाहेक उनको अर्को विकल्प छैन।

वीरगञ्जबाट काठमाडौंको अस्पतालमा जचाउन आइरहने ४६ वर्षीय शिवप्रसाद परियार उच्च रक्तचाप र मधुमेहबाट पीडित छन्। उनको छाती दुख्ने समस्या छ। अलिकति हिड्यो कि उनको छातीको बीच भागमा दुख्छ। हामी डाक्टरहरू यस रोगलाई एञ्जाइना भएको भन्छौ। उनलाई हृदयाघात भैसकेको छैन तर उनको अवस्था देख्दा कुनै पनि बेला हुनसक्ने शंका लाग्छ। त्यस हृदयाघातले उनको जीवनै समाप्त पार्न पनि सक्छ। शिवप्रसाद वीरगञ्जको सडक छेउमा बिहानदेखि बेलुकासम्म लुगा सिउने काम गर्छन्। यसबाट हुने कमाइले जसोतसो उनको परिवारको मुखमा माड लाग्छ। तर दुई तीन लाख रुपैया खर्च गर्नसक्ने हो भने उनको उपचार राम्रैसँग गर्न सकिन्छ। नत्र मृत्युलाई हत्केलामा बोकेर हिड्नुपर्ने हुन्छ।
बाथ मुटुको रोग खतरनाक बिरामी हो तर यो घाँटी दुख्ने मामुली समस्याबाट सुरु हुन्छ। यस रोगले विशेषगरी स्कुल जाने उमेरका बालबालिकालाई आक्रमण गर्छ। घाँटीमा एक प्रकारका कीटाणुको संक्रमण भएर घाँटी दुख्ने र ज्वरो आउने हुन्छ जसलाई टन्सिलाइटिस, फ्यारिन्जाइटिस भनिन्छ। यस्तो समस्या भएका बेलामा सही उपचार गरिएरेन भने पछि गएर यो रोग जोर्नीहरूमा पुग्छ र यसले बाथ ज्वरोको रूप लिन्छ। बाथ ज्वरोले छोएपछि रोग सोझै मुटुमा पुग्छ र मुटुका भल्भहरू क्षतिग्रस्त हुन्छन्। भल्भ बिग्रिएपछि रोगीलाई बचाउन मुटुको शल्यक्रिया गर्नुपर्ने हुन्छ जुन अत्यन्तै महंगो हुन्छ। साधारण नेपालीले यो खर्च धान्नै सक्तैन। निःशुल्क उपचारको सुविधा भएन भने यस्ता रोगीले अकालमा मर्नुपर्ने हुन्छ।
तर घाँटी दुखेका बेलामा उपचार गरे २० रुपैयाँको एउटा सुईले यो निको हुनसक्छ। यस्तो उपचार पद्धतिलाई हामी बाथ मुटु रोगको प्राथमिक रोकथाम पद्धति भन्ने गर्छौं। जनताको स्वास्थ्य उपचारको दायित्व बोक्नुपर्ने राज्यले महंगो उपचार खर्च बेहोर्न नसक्ने हो भने पनि सस्तो रोकथाम विधि लागू गर्नेतर्फ ध्यान दिन सक्नुपर्ने हो । विकासका क्रममा जनताको आर्थिक सामाजिक स्तर बृद्धिसँगै बाथ मुटुको रोग घट्दै जाने गरेको अनुसन्धानहरूबाट पुष्टि भएको छ। लाखौं रुपैयाँ पर्ने मुटुका कृत्रिम भल्भ केही रोगीलाई निःशुल्क उपलब्ध गराउनेभन्दा २० रुपैयाँ पर्ने पेनिसिलिनको सुई निःशुल्क वितरण गरी बाथ मुटु रोग नियन्त्रण कार्यक्रम संचालन गर्नु बढी उपयोगी हुन्छ।
फूलमाया र शिवप्रसादजस्ताको उपचार गर्ने दायित्व राज्यको हो। तर राज्यले त्यो दायित्व पूरा नगर्दा समयमै उपचार नपाएर असंख्य नागरिकको अल्पायुमै मृत्यु भइरहेको छ। सजिलै रोकथाम गर्न सकिने समस्याबाट पनि असंख्य बालबालिका पीडित भइरहेका छन्। मामुली रोगले पनि हजारौंको ज्यान लिएको छ। तर व्यापारीकरणले गाँजेको हाम्रो स्वास्थ्य सेवा प्रणालीले शिवप्रसाद परियार जस्ताको स्वास्थ्य उपचारको अधिकारको सुरक्षा गर्न सक्दैन। एन्जियोग्राफी र एञ्जियोप्लाष्टी गरेमा उनलाई आराम हुनसक्छ तर यसका लागि सरकारी अस्पतालमा उपचार गराउँदासमेत लाग्ने लाखौं रुपैयाँ उनले जुटाउन सत्तै्कनन्। पैसा नभएका शिवप्रसादजस्ता रोगीहरू बाँच्नै नपाउने? बाँच्ने अधिकारलाई राज्यले मौलिक हक मानेको हो भने शिवप्रसादहरूले पनि एन्जियोप्लाष्टी वा बाइपास अप्रेसन गराउन सक्ने व्यवस्था हुनुपर्दछ। यसका लागि स्वास्थ्य सेवालाई जनमुखी बनाउनुपर्छ। एक रुपैयाँमा उत्पादन हुने औषधि १० रुपैयाँमा बेच्ने पद्धतिको अन्त्य हुनुपर्छ। दस रुपैयाँले पुग्ने परीक्षणलाई सय रुपैयाँ लाग्ने परिपाटी अन्त्य गर्नुछ। लोकतन्त्रको फल चिल्लो गाडी चड्ने र ठूला महलमा बस्नेले मात्र होइन २० रुपैयाँको औषधि समयमै नपाएर ९ वर्षकै कलिलो उमेरमा मृत्युको मुखमा पुग्न लागेकी फूलमायाजस्ताले पनि चाख्न पाउनुपर्छ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld