Error
  • Error loading feed data.

जंगबहादुर : नायक कि खलनायक?

smaller text tool iconmedium text tool iconlarger text tool icon
नेपालको पश्चिम तराई बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका बासिन्दाले एकसय एकाउन्नौ नयाँमुलुक दिवस मनाउँदैछन्। यो दिवस ई. १८६० को नोभेम्बरमा सुगौली सन्धिबाट गुमेको नेपाली भू-भाग आजभन्दा एकसय पचास वर्षअघि अंग्रेज शासकबाट फिर्ता पाएको अवसरमा मनाउन लागिएको हो। यस अवसरमा केही दिन यता नयाँमुलुकको प्रसंगमा जंगबहादुरको पनि चर्चा परिचर्चा भएको छ।
'नयाँमुलुक' को पुनःप्राप्तिको अन्तरकथा यस्तो छ। सन् १८५७ मा अंग्रेज शासनविरुद्ध भारतमा सिपाही विद्रोह भएको थियो। त्यसलाई नियन्त्रण गर्न गर्भनर जनरल चार्ल्स अर्ल क्यानिङको अनुरोधमा जंगबहादुर स्वयंले छ हजार (कतै आठ वा तीन हजार भनिएको) गोर्खाली फौजको नेतृत्व गरेर लखनउलाई विद्रोहीको कब्जाबाट मुक्त गराएका थिए। जंगगबहादुरले गरेको सहयोगको साटोमा कम्पनी सरकारले सन् १८१५ सम्म नेपालमै रहेको र सुगौलीको सन्धिबाट छाडिएको महाकाली नदी पूर्वदेखि राप्ति नदीसम्मको तराई क्षेत्र नेपाललाई फर्काउने प्रस्ताव गर्‍यो। जंगबहादुरले त्यस प्रस्तावमा अपर्याप्त भयो भनेर अंग्रेज शासक समक्ष असन्तुष्टि जाहेर गरेका थिए। उनले मेची पूर्व र महाकाली पश्चिम बाँकीरहेको पूरै तराई फिर्ता पाउनुपर्ने अपेक्षा राखेका रहेछन्। त्यसअनुरूप फिर्ता नपाएपछि अंग्रेज गभर्नर जनरलको नेपाल प्रतिनिधि कमिस्नर जर्ज रामजेलाई फिर्ता पठाउने, वि्रटिश गोर्खा भर्ती रोक्ने लुकिछिपी नेपाल छिरेका सिपाही विद्रोहका नायकलाई शरण र संरक्षण दिनजस्ता कार्य गरेर उनले आफ्नो असन्तुष्टि देखाएका थिए। (लियो ई रोज, नेपाल स्ट्रेटेजी फर सरभाइवल : पृष्ठ १३१, १३२)। यहाँ थप के पनि स्पष्ट पार्न आवश्यक छ भने जंगबहादुर सुरु देखिनै गोर्खा भर्तीलाई रुचाउँदैनथे। अल्मोडाका तत्कालीन कामिस्नर जर्ज रामजेले गोर्खालीलाई ब्रिटिस सेनामा भर्ती हुन आउन नरोकियोस् भन्ने बेहोरा नेपाल सरकारलाई अनुरोध गर्दा जंगबहादुरले डोटीका जिल्लाधीश मे.ज. कृष्णध्वजलाई भित्री तवरले यस्तो निर्देशन पठाएका थिए। 'हाम्रा मुलुकका गोर्खाली मानिसहरूलाई अल्मोडा गई पल्टनमा भर्ती नहुनु भनी साहेबले थाहा नपाउन्या गरी उर्दी दिनू 'आफ्ना षुसले भर्ती हुन आउन्याहरू घाटमा रोकिने छैनन्, षूनषत (खुनखता) गरी जान्यामात्र रोकिनेछन् भनी नीज साहेवलाई लेखि पठाउन्या काम गर" (चित्तरञ्जन नेपाली, रुपरेखा- ४०, २०२१ भदौ)।
यहाँ महाकाली नदीको स्थितिमा पनि केही विचार हुनु आवश्यक छ। नेपाल र भारत दुवैले सन् १८१५ को सुगौली सन्धि र त्यससित जोरिएको पत्राचार, पूरक सन्धि (सन् १८६०) ले निर्धारण गरेको दुई देशबीचको सीमानालाई मूल आधार मान्दै आएका छन्। सुगौली सन्धिको धारा पाँच भन्छ :  '(महा!) काली नदीका पश्चिममा परेका प्रदेशहरूमा 'निपाउल' का राजाले आफू स्वयं, आफ्ना प्रतिनिधि तथा उत्तराधिकारीहरूका सारा दाबाहरू त्याग्नेछ र ती देशहरू र त्यहाँका निवासीहरूसँग कुनै सम्पर्क कहिल्यै राखिने छैन' (योगी नरहरिनाथ, सन्धिपत्र संग्रह)
सन्धिको यस प्रावधानले महाकाली नदी एक्लौटी नेपाली भूभागमै पर्ने देखिन्छ। सन्धिले महाकाली नदीलाई सीमा नदी मानेको देखिएन। विक्रम सम्वत् २०१५ साल र त्यसपछि जारी गरिएका कुनै पनि संविधानले नेपाली भूभागलाई अन्य कसैको पक्षमा स्वामित्व छाड्ने अनुमति दिँदैन। यस पंक्तिकारको अध्ययनमा २०१५ सालअघि पनि महाकाली सीमानदी हो भन्नेगरी कसैसित सम्झौता भएको छैन। यस अर्थमा महाकाली नदी साझा, पानी आधा आधा भन्ने एकथरी क्रान्तिकारी राष्ट्रवादीले नेपालको प्रतिकूल हुने गरी विदेशीको स्वार्थमा सहयोग पुर्‍याएको स्पष्ट हुन्छ।
कार्ल मार्क्सले जङ्गबहादुरलाई अङ्ग्रेजको पाल्तु कुकुर (इङ्गलिश डगम्यान) भनेर होँच्याएका थिए। कार्ल मार्क्सले त्यतिखेर जंगबहादुरउपर अरू आरोप पनि लगाएका थिए। (कार्ल मार्क्स, नोट्स अन इण्डियन हिस्ट्री) मार्क्सले त्यतिखेर नेपालको भूराजनीति र ब्रिटिस भारतको सामरिक स्वार्थलाई आफ्नै स्वतन्त्र स्रोत र साधनबाट बुझ्न पाएका थिएनन्। मार्क्सले जंगबहादुरउपर लगाएको आरोपलाई इतिहासको तथ्यले मिथ्या प्रमाणित गर्छ।
कौटिल्यले मित्रलाभ, सुहृदभेद, विग्रह सन्धि आदि नीति राष्ट्रिय स्वार्थ निम्ति समय र परिस्थितिअनुरूप प्रयोग गर्नुपर्ने निर्देश गरेका छन्। जंगबहादुरले कूटनीतिक मार्गबाट नेपालको गुमेको भूमि फिर्ता गराएका थिए। अंग्रेजलाई हाँक दिएर वा शक्ति प्रदर्शन गरेर त्यो प्राप्त गर्न सकिँदैनथ्यो। जंगबहादुरको विषयमा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले लेखेका छन्- 'नेपालका आजका पढेलेखेका राजनेताले राष्ट्रको स्वाभिमान र स्वतन्त्रताको रक्षार्थ औंठा छाप जङ्ग बहादुरबाट धेरै पाठ सिक्न बाँकी छ।' (हिमाल खबर पत्रिका : १६-३० कार्तिक २०६७) उनको मूल्याङ्कन नेपाली इतिहासको वस्तुगत विश्लेषण हो।
जंगबहादुरउपर के पनि आरोप लगाइन्छ भने उनले लोकतन्त्रको मूल्यमाथि प्रहार र विरोधीलाई तहसनहस पारे। यस अर्थमा उनी निरकुश शासक थिए। प्रजातन्त्रवादीले लगाएका त्यस्ता आरोप आजको राजनीतिक मान्यताका दृष्टिमा सही नै लाग्नेछ। तर इतिहासको लेखाजोखा कालसापेक्ष परिवेशलाई आधार बनाएर गरिन्छ। जंगबहादुरलाई निरंकुश देख्नेहरूले त्यतिखेरको विश्व भूगोलमा लोकतान्त्रिक शासन कुन कुन देशमा विद्यमान थियो भन्नेतर्फ बुझ्ने भने चेष्टासम्म पनि गरेका छैनन्। उति बेला एक दुई ठाउँमा प्रजातन्त्रको आंशिक अभ्यास हुनुबाहेक विश्वभरजस्तै सत्ता निरंकुश थियो।
बृहत् नेपालका संस्थापक पृथ्वीनारायण शाहले छ वर्षमात्र शासन गर्न पाएका थिए। त्यो अवधि पनि उनको राज्य विस्तार र एकीकरणमै खर्चिएको थियो। तर त्यति छोटो समयमा पनि नेपाललाई एक स्वाधीन र समृद्ध राष्ट्र बनाउने गरी आर्थिक, मौद्रिक, वाणिज्य, गृहप्रशासन, राष्ट्रिय सुरक्षा, परराष्ट्र सांस्कृतिक, समावेशी जस्ता नीतिको कार्यान्वयन गरेका थिए। प्राचीन राज्य सञ्चालनको कुरा नगर्ने हो भने पृथ्वीनारायण (ई अठारौं शताब्दीको मध्य) भन्दा अघि वा उनीभन्दा एक शताब्दी पछिसम्म पनि त्यस किसिमको राष्ट्रिय नीति लिने शासक विश्व इतिहासमै कोही भएन। हो, उनका उत्तराधिकारीले उनले लागू गरेको नीति अनुशरण गरेनन्। पृथ्वीनारायणको तुलना एक हदसम्म उनीभन्दा आधा शताब्दी अघिका रुसी जार पिटर महान्सित गर्न सकिएला। पृथ्वीनारायणभन्दा एक शताब्दी पछिका इटलीका महानायक ग्यारी वाल्डी र बृहत् जर्मनीका संस्थापक विस्मार्कलाई पनि उनीसँग तुलना गर्न सकिन्छ।
नेपाली इतिहासका नायकलाई विदेशीले भनेकै भरमा वा कोरा सिद्धान्तवादी भएर खलनायक बनाउने कार्यमा 'क्रान्तिकारी' विद्वानहरू लागिपरेका छन्। जातीय पहिचानको संकीर्ण राजनीतिहरू विदेशीको मानसिक दासताबाट कहिले मुक्त होलान्? सुन्दर, शान्त, विशाल नेपालको उदात्त भावनालाई आत्मसात् गरेर तिनले नेपालीको हार्दिक चाहना पूरा गर्ने दिन कहिले आउला?
प्रतिक्रियाहरू (2)Add Comment
0
AKASH
December 04, 2010
78.149.241.28
भोट: +16
...

नेपालको जल्दोबल्दो राजनीतिक परिवेशको विश्लेषण। आजका ठूलाबड़ा र intellectual बुद्धिजीवी भनौदाहरूले इतिहासको महान् नायकलाई, जसले यो देश निर्माण गर्यो, जसले पृथ्वीको सानो भागलाई नेपाल भन्ने राष्ट्र बनाए त्यस्ता महान् ब्यक्तिबारे यसरी जनमानसमा भ्रम परेको छ कि ती महान् नायक निरंकुस थिए! यिनीहरूले भनेजस्तो सम्पन र लोकतन्त्र त्यतिबेलै हुनुपर्थ्यो। जो आजका पढेलेखेका आफैँलाई महान् नेता र बुद्धिजीवी भनौदाले गर्न सकेको छैन।

0
सूर्य
December 04, 2010
202.124.88.21
भोट: +6
...

सत्यतथ्य। सूचानात्मक विश्लेषण।

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld