Error
  • Error loading feed data.

तनावका बेला सौराहा चिन्तन

smaller text tool iconmedium text tool iconlarger text tool icon
चौंतीस वर्षअघि चितवनको रत्न नगर, टाँडी नजिकै राष्ट्रिय निकुन्जसँग जोडिएको बसौली गाउँको सानो बस्ती सौराहामा दुईटा होटेल खुलेका थिए- एलिफेन्ट क्याम्प र गैंडा वाइल्ड लाइफ। एलिफेन्ट क्याम्पले नेपाली साहित्यका दिग्गज कवि द्वारिका श्रेष्ठलाई पर्यटन व्यवसायीको नयाँ पहिचान दियो। कवि श्रेष्ठले बर्सेनि नेपालका मूर्धन्य साहित्यकारलाई होटेलमा निम्त्याएर सिर्जनात्मक मनोरञ्जनको अवसर जुटाई दिनुहुन्थ्यो। गैंडा, हात्ती र मयुरका ताँती हेरेर साहित्यकार मुग्ध हुन्थे। चराचुरुंगीको चिरबिर संगीतको आनन्द लिन्थे। राप्ती नदीमा सानो डुंगा चढेर रमाउँथे। दुईतीन रातको जंगल प्रवासपछि ताजा भएर राजधानी फर्किन्थे सिर्जनाका सिपाहीहरू। नेपालमा साहसिक र जंगल पर्यटनको प्रारम्भ गर्ने जीम एडवार्डले चितवनको विशाल जंगलभित्रको बस्ती मेघौलीमा उपल्लो वर्गका सम्पन्न पर्यटकलाई लक्षित गरेर टाइगर टप होटेल खोलेपछि मध्यम वर्गका पर्यटकका लागि यस्तो होटेलको आवश्यकता ठम्याइएको थियो। एलिफेन्ट क्याम्प र गैंडा वाइल्ड लाइफ पर्यटकबीच छिटै लोकप्रिय भए। यी दुई होटेलको लोकप्रियता पर्यटकबीचमा सीमित थिएन। स्थानीय तहमा पनि यिनको प्रभाव फैलिदै थियो। एउटा सानो गाउँ बसौलीभित्र रहेको थारु समुदायको सानो बस्ती बहुचर्चित पर्यटन गाउ" सौराहाका रूपमा राष्ट्रियअन्तर्राष्ट्रिय आकर्षणको केन्द्र बन्यो। अहिले बसौली गाउँको नाउँ सरकारी खातापातामा मात्रै सीमित छ। यो पूरै क्षेत्रको पहिचान सौराहामा समेटिएकोछ।

सौराहाको विकासमा तीन व्यक्तिको नाम निकै आदरका साथ लिने गरिन्छ- मल्लु महतो, बाबुराम पुरी र गिरिधारी चौधरी। यी तीनजनाबाहेक सौराहाको विकासमा पसिना वगाउने अरू पनि होलान् तर, अगुवाइ गर्नेहरू पहिलो पंक्तिमै रहन्छन। चितवनको घना जंगललाई राष्ट्रिय निकुन्ज बनाउने अभियानका स्थानीय अगुवा हुनुहुन्थ्यो मल्लु महतो। शताब्दीयौंदेखि आफूलाई जल, जंगल र जमीनका अधिपति मान्दै आएका आदिवासी थारुलाई निकुञ्ज स्थापनामा सहमत गराउनु सजिलो काम थिएन। निकुन्जको स्थापनाले थारु, जंगल र जनावरबीच रही आएको भावनात्मक सम्बन्धलाई खुम्च्याउने त्राशले थारु समाज आतंकित थियो। जंगलमा स्वतन्त्र विचरण नगरी दुई छाक नजुर्ने अवस्थामा रहेको थारु समुदायले सरकारी फौजद्वारा जंगल घेरिने प्रस्ताव स्वीकार गर्न सकिरहेको थिएन। त्यति बेलाको राजाको एकतन्त्रीय शासन निकै कडा र हस्तक्षेपकारी भएपनि प्रशासनले थारु समाजमा ठाडो हस्तक्षेप गर्नसक्ने अवस्था थिएन। मल्लु महतो र स्थानीय बुज्रुगहरू निकुन्ज स्थापनाको पक्षमा उभिएपछि पर्यटन क्षेत्रका रूपमा सौराहाको विकासको बाटो खुल्यो।
त्यसपछिका दिनमा सौराहामा पर्यटन विकासको नेतृत्व स्थानीय युवा पुस्ताले लियो। यस लहरमा उभिएका प्रमुख पात्र थिए, बाबुराम पुरी। उहाँको राजनीतिक सक्रियताले बसौली र सौराहाको आधारभूत विकासमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्‍यो। कांग्रेस राजनीतिको आत्मघाति खेलमा सख्त घाइते भएका पुरी अचेल सार्वजनिक जीवनमा त्यति सक्रिय हुनुहुन्न। सानै उमेरदेखि बोकेको कांग्रेसको झोला हाललाई घरको भित्तामा ठोकिएको किलामा झुण्ड्याएर अर्धअवकाशको बहानामा जीवन बिताइरहनु भएको छ।
'राजनीतिमा लागेपछि अवकाश त लिनै पाइँदैन। यति बेला म सत्ताको केन्द्रविन्दुमा छैन, किनारा लागेकोछु। छोरो विदेशमा छ। घरमा बूढी एक्लै छे। अलिकति आराम पनि त गर्नु पर्‍यो नि' पुरी ठट्यौली पारामा भन्नुहुन्छ। अनुहार जतिसुकै हँसिलो भएपनि उहाँको मनभित्र गुम्सिएको पीडा आँखाले नै बताइहाल्छ। पुरीको निष्त्रि्कयतालाई कांग्रेस संगठनको नोक्सानी मान्नेको कमी छैन चितवनमा। तैपनि, राष्ट्रिय निकुञ्जवाट दुर्लभ जनावर भकाभक लोप भएजस्तै शेषनाथ अधिकारी, टेकप्रसाद र पृथ्वीमान गुरुंगदेखि सावित्री बोगटीसम्मका प्रजातान्त्रिक आन्दोलनका दिग्गजहरू एकएक गर्दै लोप हुँदै गएकाछन्।
मल्लु महतोका छोरा गिरिधारी चौधरी सौराहाका अर्का हस्ती हुनुहुन्छ जसले यहाँको पर्यटन विकासमा निकै गहकिलो योगदान दिएको छ। एलिफेन्ट होटेलको कर्मचारीका रूपमा पर्यटन क्षेत्रमा प्रवेश गर्नु भएका चौधरी वावुराम पुरीसँग राजनीतिको सहयात्रामा सामेल हुनु भएको थियो। अहिलेसम्म उहाँले राजनीतिक दुर्घटनामा बेहोर्नु परेको छैन। अहिले उहाँ भरतपुर अस्पतालको संचालक समितिका अध्यक्ष हुनुहुन्छ। यो पदमा नियुक्ति पाएकोमा चौधरी खुसी हुनुहुन्छ। तै पनि, उहा"लाई पर्यटन क्षेत्रमै कुनै अवसर दिइएको भए उहाँको क्षमताको बढी उपयोग हुन्थ्यो भन्नेको कमी छैन। चौधरीको पूरै परिवार पर्यटनमा रमाएको छ। बजारको बीचमा रहेको रिसोर्टको व्यवस्थापन उहा"कै निर्देशनमा हुने गरेको छ।
देश गणतान्त्रिक भइसकेपछि अरू थारु सरह गिरिधारीलाई पनि उन्मुक्तिको अनुभूति भएको छ। तर, उहाँलाई जातीय राज्यको परिकल्पना मन परेको छैन। चितवनका अधिकांश थारुहरू पश्चिमका थारुजस्तो थरुहट वा थारुवान राज्यका पक्षमा लागेका देखिँदैनन्। बृहत्तर थारु समाजका परिकल्पनासँग असहमति नजनाए पनि समग्र नेपाली समाजबाट अलग भएर थारु जातिको विकास हुनेमा उनीहरू विश्वास गर्दैनन्। यसको श्रेय पर्यटन व्यवसायलाई जान्छ। चितवनको निकुञ्ज क्षेत्रमा भएको पर्यटन व्यवसायको समावेशी विकासले थारु समाजको आधुनिकीकरणमा ठूलो योगदान पुर्‍याएको छ। थारु र पर्यटन पर्याय बनेका छन। गिरिधारी भन्नुहुन्छ, 'मैले त प्रस्तावित जातीय संरचनाको कुरै बुझेको छैन। जातीय रूपले म थारु नै हू।' थारु कल्याणकारी सभामा पनि सक्रिय छु। तर, राजनीतिका हिसावले त मानार्थ थारुमात्रै हूँ म।'
पर्यटन क्षेत्रका रूपमा सौराहाको विकासपछि यहाँका आदिवासी थारुको जीवनमा ठूलो परिवर्तन आएकोछ। अर्काको घरमा हरुवाचरुवाका रूपमा काम गरेर मुस्किलले चार पाँचमुरी धान कमाउने थारु अहिले व्यावसायिकरूपले सम्पन्न र स्वतन्त्र बनेका छन्। अर्काको खेतमा कामगर्न जाने चलन इतिहास भइसकेको छ। थारु समाजका केटाकेटी भैँसी चराउन छाडेर स्कुल जान थालेका छन्। जीवन र समाजलाई हेर्ने उनीहरूको दृष्टिकोण फराकिलो भएको छ। विश्वका ठूला देश र सहरसँग प्रत्यक्ष सम्पर्कमा आउन पाएकाले तन्नेरी थारुका लागि अवसरका ढोका खुलेका छन्। अघिल्लो वर्ष सौराहामा भेटिएको तन्नेरी थारु अहिले लन्डनबाट साथीभाइलाई ईमेल पठाउ"दै गरेको भेटिन्छ। भिडियो च्याटमा बोली रहेको छोरो देखेर दंगदास पर्ने थारु आमाको संख्या थपिँदोछ।
तीन सातापछि सुरु हुने पर्यटन वर्षले त्यति आशा जगाउन सकेको छैन सौराहामा। केही वर्षअघि मनाइएको नेपाल भ्रमण वर्षको सम्झना पनि उति सुखद छैन। भ्रमण वर्षका नाममा भेट्टाए जति रमाइला भन्ज्याङ, टाकुरा र बस्तीमा गाडिएका संकेतपाटी अहिलेसम्म साबुतै छन्। पछिल्ला अवधिमा भएका गन्तव्यको विस्तार र नयाँ गन्तव्यको स्थापनामा सरकारले सिन्को पनि भाँचेको छैन। सौराहाको विकास नेपालको दोस्रो ठमेलको रूपमा गर्न खोजिएको भएपनि ठमेलकै प्रतिलिपि उतार्न खोजिएको थिएन। तर, भएको छ त्यस्तै। स्थानीय पर्यटकका लागि रुचिअनुसारको सुविधा जुटाउन सकिएको छैन भने विदेशी पर्यटकका लागि आवश्यक शान्त वातावरणको संरक्षणका लागि कसैले ध्यान दिएको छैन।
तै पनि, सौराहाका पर्यटन व्यवसायी अहिलेसम्म दुई रात बिताउँदै आएका पर्यटकका लागि तीन रात बिताउन सक्ने सुविधा जुटाउन लागेका छन्। अहिले सौराहाका होटेलहरूले दिनहुँ दुई हजार पर्यटक धान्न सक्छन। थप एक हजारका लागि आवासको व्यवस्थापन यतिखेरको समस्या भएकोछ।
हात्तीको सबारीमा जंगलको सयर र थारु नृत्यको आनन्द सौराहाको प्रमुख आकर्षण हो स्थानीय पर्यटकका लागि। त्यसमा सौराहाका पर्यटन व्यवसायीले थप आकर्षणका रूपमा अहिले एउटा उँट पनि थपिदिएका छन्। मरुभूमिको शाही सबारी मानिने उँटको सौराहा प्रवेशका सांकेतिक अर्थ डरलाग्दो हुनसक्छ। विगत केही वर्ष यता इतिहास कालदेखि नेपाली गौरवका प्रतीक मानिएका वस्तु बिलाउन थालेका छन्। प्राकृतिक महत्वका जनावर लोप हुन थालेका छन्। सुरक्षाकर्मी निकुन्जको सुरक्षामा अहोरात्र खटिएपनि गैंडा मारिने क्रम घटेको छैन। जलवायु परिवर्तनको असरले मरुभूमि विस्तारको खतरा बढाएको छ। यस्तो स्थितिमा, केही पुस्तापछिका नेपाली उँट सबारीको अनुभव लिन सौराहा पुगे भने के आश्चर्य होला र?

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld