Error
  • Error loading feed data.

भयभीत गाउँ

smaller text tool iconmedium text tool iconlarger text tool icon

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रसंघीय राजनीतिक मामिलासम्बन्धी उपमहासचिव बि. लिन पास्कोसँग भने, 'म साहसिक र कठिन निर्णय गर्छु।'

राष्ट्रसंघीय अधिकारी वा विदेशी प्रतिनिधिसँग आशावादी अभिव्यक्ति दिन माओवादी नेतृत्व सिपालु छ। त्यसमा पनि दाहाल ठाउँ र व्यक्ति हेरी सुहाउँदिला अभिव्यक्ति दिन पोख्त छन्। उनकै पार्टीका नेता मोहन वैद्यले समेत अरूसँग कुटनीति र छलछाम गरेजस्तै पार्टीभित्र पनि गरेको भन्दै पालुङटार बैठकमा दाहालको आलोचना गरेका थिए।

उनले लिने साहसिक र कठिन निर्णय कस्तो होला? शान्ति प्रक्रिया सुरु भएको पाँच वर्ष लागिसक्दा पनि त्यसलाई टुंगोमा पुर्‍याउने साहसिक निर्णय हुन सकेको छैन। शान्ति प्रक्रियासम्बन्धी सहमति र सम्झौता कार्यान्वयन नगरेकै कारण अहिले माओवादीप्रति आशंका चुलिएको छ।

दाहालले पास्कोसँग गरेको 'गफ' सुन्दै गर्दा मेरो मनमा लमजुङ दुराडाँडामा भेटिएकी एक गृहिणीका अभिव्यक्ति गुञ्जिरहेका छन्। 'बाबु, पोखरामा बस्दा म कहिल्यै तरकारी किन्न गइनँ', ५० वर्षीया शारदादेवी तिवारीले विस्थापित जीवनबारे उल्लेख गर्दै भनिन्, 'सानो मुठा साग किन्न पनि एकदमै महँगो।'

माओवादीले गाउँका शोषक-सामन्तविरुद्ध सुरु गरेको 'साहसिक' र 'कठिन' निर्णयको परिणति थियो त्यो। जीविकामुखी कृषि गर्ने ग्रामीण परिवारले जसोतसो आफूलाई बचाउँदै आएका थिए। माओवादीले गाउँमा बस्न नदिएपछि ती हिँडे। सानो करेसामा लगाएका सागपात र एउटा डिंगा पालेर जीविका गर्नेको जीवन झनै कठिन भयो।

सात दलसँग शान्ति सम्झौता गरेपछि केही विस्थापित घर फर्के। अझै धेरै फर्कन सकेका छैनन्। शारदादेवी विस्थापित जीवनबाट वाक्क भएर गाउँ फर्किन्। घरको अवस्था जीर्ण भइसकेको थियो। सधैं लिपपोत गरेको आँगन र घरपेटीमा घाँसको घारी थियो। ‰यालढोका मक्किएका। लुगाफाटा केही थिएनन्। फेरि शून्यबाट जीवन थाल्नुपर्‍यो।

पछि उनका पति ठाकुरप्रसाद गाउँ फर्के। गाउँ फर्केपछि माओवादीका स्थानीय कार्यकर्ताले घर फर्कने बेलामा सरकारले दिएका ६/७ हजार रुपैयाँमा आँखा लगाए। वाइसिएल कार्यालयमा बोलाएर उनलाई ४० हजार रुपैयाँ दिन भनिएको थियो। बरा!

चुनावका बेला बाटो हिँड्दासमेत अर्कै दलको प्रचारमा हिँडेको भन्दै ठाकुरप्रसादलाई चिनिएकै नेताले हप्काए। वचन सहन नसकेपछि उनले साहस गरेर भने, 'हद गर्ने भए मेरो टाउको बेलको गेडोजस्तै फोर्नुहोला, फोर्नुहोस्।'

विस्थापित हुँदा एक छोरा र तीन छोरीसहित तिवारी परिवार पोखरा पुग्यो। अहिले छोरीजति बिहे गरेर घर गए। छोरा पोखरातिरै। दुई बुढाबुढी करेसामा साग लगाउन थालेका छन्। एउटा भैंसी पनि छ। बाहिर गएर काम गर्न नसके पनि यही सानो संसार तिनका लागि लाख छ।

सशस्त्र द्वन्द्वमा ७० हजारभन्दा बढी विस्थापित भएको अनुमान छ। अझै धेरै गाउँ फर्कन सकेका छैनन्। धेरैको कब्जा जमिन फिर्ता भएको छैन। शान्ति प्रक्रियाले गति लिन शारदादेवीजस्ता धेरैले गाउँ फर्कन पाउनुपर्छ। अहिले गाउँका धेरै घरमा बुढाबुढीमात्र। केटीकेटी र युवा शू्न्यप्रायः।

एउटा घरमा पाँच वर्षदेखि एकजना बुढीआमामात्र। यो स्थिति अन्त्य गर्न र गाउँमा बसौंबसौं लाग्ने पार्न सर्वसाधारणलाई भयभीत बनाउन छोड्नुपर्छ। माओवादी शान्ति प्रक्रियामा आए पनि गाउँमा उसको डरै मान्नुपर्छ।

दाहालले गाउँलाई बसौंबसौं लाग्ने र भयरहित बनाउन साहसिक र कठिन निर्णय गर्ने बेला भएको छ। माओवादीलाई गाउँमा बस्न गाह्रो छैन तर, गैरमाओवादीका निम्ति भय सकिसकेको छैन।

प्रतिक्रियाहरू (1)Add Comment
... कम लोकप्रिय प्रतिक्रिया [हेर्नुस्]
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld