Error
  • Error loading feed data.

पाकिस्तानबाट के सिक्ने?

smaller text tool iconmedium text tool iconlarger text tool icon

बितेको कात्तिक २२ देखि मंसिर १ गतेसम्म ११ दिन पाकिस्तानको लाहोर, इस्लामावाद र कराँची सहरहरूमा त्यहाँका धार्मिक अल्पसंख्यकका बारेमा अध्ययन गर्ने टोलीको अगुवाइ गर्दा एक निमेष पनि आफ्नो देश नेपालको चिन्ताबाट मुक्त रहन सकिएन। विसं २०३५ सालको विद्यार्थी आन्दोलनको सूत्रपात पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फीकर अली भुट्टोलाई दिइएको फाँसीविरूद्ध विद्यार्थी संगठनहरूले काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा ज्ञापनपत्र बुझाउन जाँदा प्रहरी हस्तक्षेप भएपछि भएको थियो। त्यही आन्दोलनले पहिलो पटक पञ्चायती निरंकुशताले आफ्नो एकलौटीको दुई दशकमा सार्वजनिक र व्यापक बेइज्जती भोग्नुपर्‍यो। राजा वीरेन्द्रले जनमत सङ्ग्रहको घोषणा गर्नुपर्‍यो। पञ्चायतलाई सुधार्नु जरूरी छ भन्ने स्वीकार गर्नुपर्‍यो। तर यस पटक धार्मिक ग्रन्थका आधारमा मुल्ला (धर्मगुरु)हरूले फैसला गर्ने र सजाय सुनाउने सरियत कोर्ट (अदालत) को स्थापना तिनै भुट्टोले पाकिस्तानमा गराएको सुनेपछि भने मनै भरङ्ग भयो। भुट्टोले कट्टर मुसलमानहरूको समर्थन जुटाउन धार्मिक कानुन र अदालतको चलनलाई संस्थागत र औपचारिक रूप दिए। पछि त्यही कट्टरताले उनैलाई खायो। धर्म र राष्ट्रियताको रक्षाका नाममा सैनिक विद्रोह भयो। सैनिक शासकले कट्टरपन्थ लादे। संविधान, कानुन र शिक्षामार्फत् इस्लाममात्र धर्म हो अरू सबै अधर्मी हुन्, अतः अधर्मीलाई सजाय दिनु प्रत्येक मुसलमानको कर्तव्य हो भन्ने पाठ पढाउन थालियो। बलात्कार पीडित महिलाले न्याय नपाउने भइन्। किनभने त्यस्तो उजुरीमा चारजना पुरुष साक्षी चाहिने भयो। महिलाले साक्षी बस्न नपाउने भए। सरकारी अधिकारीको सट्टा मुल्लाले बिहे भएको प्रमाणित गर्ने भए। अनि सुरु भयो अरू धर्मका अल्पसंख्यक महिलालाई अपहरण गर्ने, जबरजस्ती तिनको धर्म परिवर्तन गराइदिने र कुनै मुसलमानसँग बिहे गरेको घोषणा गरिदिने चलन। चारवटी पत्नी राख्न सक्ने अधिकारको नाममा बहुविवाह गर्न पाइने भन्दै त्यस्तो जघन्य अपराध गर्न थालियो।
धार्मिक उन्मादको हद अपवित्रता नियन्त्रण गर्ने (ब्लासफेमी) कानुनको सहारा लिएर गरिएको व्यवहारले देखाएको छ। ब्लासफेमी अर्थात् व्यवहार वा वचनले इश्वरको अनादर गर्ने कार्य। हालै एक महिलाले एक जना इसाईलाई पानी खान दिइन र त्यही जुठो गिलासमा मुसलमानलाई पानी ख्वाएर धर्मको अपमान गरिन् भनेर अदालतमा उजुरी पर्‍यो। मुल्लाको आदेश र अगुवाइमा गाउँलेले साक्षी बके। अदालतले ब्लासफेमी कानुनअन्तर्गत ती महिलालाई मृत्युदण्डको सजाय सुनायो।
अहिले विगत दुई वर्षदेखि पाकिस्तानमा लोकतान्त्रिक रूपमाले निर्वाचित सरकार छ। मानवअधिकार र अल्पसंख्यकको मामिला हेर्ने बेग्लै मन्त्रालयहरू छन्। इसाई, हिन्दू अल्पसंख्यकको प्रतिनिधित्व गर्ने सांसद र मन्त्री छन्। तर १९४७ मा स्थापित पाकिस्तानले आफ्नो ६७ वर्षको उमेरमध्ये ३४ वर्षभन्दा बढी सैनिक तानाशाही झेलेको इतिहास छ।
तानाशाहहरू विचार होइन बन्दुक र जमातको भरमा शासन गर्छन्। त्रासको रणनीति अपनाउँछन्। त्रास फैलाउन धार्मिक वा जातीय विशिष्टता थोपर्छन्। आफ्नो भनाइ नमान्नेमाथि मनपरीसँग आक्रमण गर्छन्। मनपरी गर्न सरकारी निकाय र कानुनलाई आफ्नो वैचारिक उन्माद र उन्मादीहरूको मातहतमा राखेर परिचालन गर्छन्। उनीहरू शक्ति पृथकीकरण र न्यायको स्वतन्त्रतामा विश्वास राख्दैनन्। म नै सर्वज्ञ हुँ र म नै सर्वत्र छु भन्ने ठान्छन्।
पाकिस्तानमा सुरुमा यति चर्को धार्मिक कट्टरता थिएन। पाकिस्तानका कायद-ए-आजम (राष्ट्रपिता) मोहम्मद अली जिन्नाले पाकिस्तानमा सबै जात जाति र धर्मको समान इज्जत र अधिकार हुनेछ भनेर घोषणा गरेका थिए। तर धर्मको नाममा मदरसामा पढाइने अतिवादी शिक्षा र बहुसंख्यकको हातमा सम्पूर्ण शासनको नाममा अल्पसंख्यकलाई हेप्ने संस्कार क्रमशः कति बलियो हुँदै गयो भने मुल्लाहरूले बिहानको प्रार्थना गर्दा माइक लगाएर अधर्मीहरूको हत्या गर्नुपर्छ, तिनको वंश सखाप पार्नुपर्छ भन्दा पनि पाकिस्तानी सुरक्षा संयन्त्रले कुनै कारबाही गर्नसत्तै्कन।
पाकिस्तानमा यस्तो अत्याचारविरूद्ध संघर्षरतहरूको कमी छैन। सांसदले संसद्मै ब्लासफेमी कानुनविरूद्ध बोलेका छन्। मन्त्रीले कानुन संशोधनको प्रस्ताव गरेका छन्। तर सामान्य नागरिकलाई भने बोल्नै अप्ठेरो छ। एक जना आँखाको डाक्टरका छोराले बिहानको प्रार्थना गर्दा अल्लाहको नाम बेढंगले उच्चारण गरे भनेर उनको सहपाठीले उजुरी गरेछ। प्रधान अध्यापकले ती विद्यार्थीलाई तत्काल स्कुलबाट निकाली दिए। डाक्टर पिताले छानबीन गरेर गल्ती गरेको भए सजाय दिनुहोस् तर शैक्षिकसत्रको बीचमै ननिकाल्नुस् भनेर अनुनय विनय गरेछन्। तर प्रधान अध्यापकले ठाडै अस्वीकार गर्दै भनेछन्- 'यो ईश्वरको अनादरको विषय हो। उसले गल्ती नगरेको भए ईश्वरले न्याय दिने छन्। यस्तो संवेदनशील उजुरीमा मबाट कदापि ढिलाइ हुनुहुन्न।' ती डाक्टर पिता म उपस्थित अधिकारकर्मीहरूको वैठकमा धुरुधुरु रुँदै यो कहानी सुनाउँदै थिए। उनी हिन्दू हुन्। उनले कसैको रोग निको पार्ने काम गर्दा त विभेद गरेका थिएनन्। तर उनको छोराले शिक्षाको क्षेत्रबाट विभेदको सिकार हुनुपर्‍यो। पाठ्यक्रममा पनि इस्लामबाहेक अरू धर्मका विषयमा पढाइन्न।
एकजना ख्यातिप्राप्त वकिलसँग उनको घरमा भेट भयो। उनकी अठाह्र वर्षे छोरीले बताएअनुसार तीन दिनअघि उनका शिक्षकले कक्षा कोठामा भने रे- 'तिमीहरू ध्यानले सुन, भारतको महात्मा गान्धी बलात्कारी थियो।' इस्लाममा गुरुसँग प्रतिप्रश्न गर्न मनाही छ। ती छोरीले प्रतिप्रश्न गर्ने कुरै भएन। पाकिस्तानको कानुनले मुसलमानबाहेकलाई राष्ट्रपति, प्रधानमन्त्री, गभर्नरजस्ता पदमा नियुक्त हुन दिँदैन। पाकिस्तान अहिले संसारभरिका उग्रवादी मुसलमानको आश्रयस्थल भएको छ। तिनले गर्ने आक्रमणको प्रतिकार गर्ने नाममा बलिया राष्ट्रहरूको प्रत्यक्ष कारबाही भोगिरहेछ। सक्षम नागरिकहरू विदेश पलायन भइरहेका छन्। व्यापार, उद्योग र बौद्धिकतामा ख्यातिप्राप्त पारसी समुदायको जनसंख्या १९४७ को तुलनामा १० प्रतिशतमात्र बाँकी छ। क्षमता र स्रोत भएकाहरूको पलायनका कारण मानव संशाधन र आर्थिक स्रोतको धेरै कमी भएको छ। प्रत्येक वर्ष पर्यटकको संख्या कम हुँदैछ। कतिपय म्युजियममा हामी जाँदा त्यहाँका कर्मचारीले बल्ल ढोकाको ताल्चा खोलेर हामीलाई देखाए। सर्वत्र घुमाए। ईश्वरै आएजस्तो गरे। तन्नेरी पुस्तामा आक्रोश छ। उनीहरू भन्छन्- 'मुल्ला र राजनीति नछुट्याउन्जेल हाम्रो भविष्य छैन।'
हामी नेपालमा बहुसंख्यकलाई अग्राधिकार खोज्ने नेताहरूको मातहतमा परेका छौँ। पाकिस्तानमा धार्मिक अग्रता छ। हामी जातीय अग्राधिकारको नारा लगाउँदै छौँ। हाम्रा सभासदले नजिकैको पाकिस्तानको अध्ययन गर्नु बेस होला। जात, जाति, धर्म र लिंग नभनी क्षमता विकास र समृद्धि विकास गर्ने अवसरका लागि वैज्ञानिक सोचको विकल्प छैन भन्ने सिक्नु उपयुक्त होला कि? निरंकुश व्यवहारको जबाफ अर्को निरंकुशता हुन सक्तैन।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld