Error
  • Error loading feed data.

मन फाटेको माओवादी

smaller text tool iconmedium text tool iconlarger text tool icon
पिंगला नामकी सुन्दरी वेश्याको मोहमा फसेपछि उज्जैनका राजा भर्तृहरिले पूरै विवेक गुमाएका थिए। एक तपस्वीले राजालाई अमर फल दिँदै भन्यो, 'महाराज, यो खाने मान्छे कहिल्यै बूढो हुँदैन र मर्दैन।' सधैँ सुखभोग गर्न पाइने ठानेर राजाले पिंगलालाई दिए। त्यही सोचेर पिंगलाले प्रेमी सिपाहीलाई दिई। सिपाहीले अर्कै प्रेमिका वेश्यालाई दियो। जनताको भलो गर्छन् भनेर वेश्याले राजालाई दिई। स्वार्थले मान्छेलाई अन्धो बनाउँछ भन्ने बुझेपछि भाइ विक्रमादित्यलाई राज्य र सम्पत्ति सुम्पेर राजा तपस्या गर्न हिँडे।
आफूलाई सर्वहाराको एकमात्र प्रतिनिधि ठान्ने एनेकपा (माओवादी)लाई समेत सत्ताले बदलिदियो। तर, भर्तृहरिले जस्तो प्रायश्चित्त गर्न भने उनीहरू तयार देखिएका छैनन्। सायद यही स्थितिलाई व्यंग्य गर्दै माओवादीको छैटौं विस्तारित बैठकमा उपाध्यक्ष मोहन वैद्यले एउटा गीतै बनाए, फाटेको जालैले छेकेको, छेके पनि छर्लंगै देखेको। माओवादीका शीर्ष तीन नेता अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष द्वय वैद्य र बाबुराम भट्टराई बेग्लाबेग्लै दिशातिर फर्केका छन्। यसलाई विचारको भन्दा चल्तीको भाषामा जुँगाको लडाइँ भनिन्छ। विचारका हिसाबले यो दुईतिर फर्केको छ। जनयुद्ध, जनविद्रोहमार्फत सत्ता कब्जा गरेर कम्युनिस्ट लक्ष्य सर्वहाराको राज्य ल्याउने वैद्य लाइन र लोकतान्त्रिक मार्गबाट त्यहाँ पुग्ने भट्टराई लाइन। दाहाल बोल्दा वैद्यतिर, नीति बनाउँदा भट्टराईतिर र काम गर्दा राप्रपा (नेपाल)तिर फर्कन्छन्। उनको गाँजेमाजे शैलीले निम्त्याएको भाँडभैलोप्रति दुवै उपाध्यक्ष आक्रामक हुन पुगे। विचारकै कारण विगतमा भट्टराई आन्तरिक नजरबन्दीमा परेका थिए। आखिर २०६२ सालको चुनवाङ प्लेनममा उनकै लाइन पारित भयो। त्यतिखेर वैद्य भारतको जेलमा थिए।
नेपाली लोकतान्त्रिक आन्दोलन सफल हुनु, शान्ति प्रक्रिया सुरु हुनु, देश गणतन्त्र र धर्मनिरपेक्ष घोषित हुनुमा विचारक बाबुराम र निर्णयकर्ता दाहालको भूमिका महत्वपूर्ण छ। वैद्यको भूमिका आलोचनात्मक समर्थकको मात्र थियो।
वैद्य दाहालका मात्र नभई मार्क्सवादी सौन्दर्यशास्त्रीका नाताले पूरै नेपाली कम्युनिस्टका गुरु हुन्। जनयुद्धको समयमा त पार्टीभित्र उनको स्थान अत्यन्त सम्मानित र उच्च थियो। सिंगै पार्टीले उनलाई आदर्श अभिभावक मान्थ्यो। चुनवाङ बैठकअगाडि प्रचण्ड र बाबुरामबीच व्यक्तित्वको मल्लयुद्ध चलिरहँदा वैद्य भारतीय जेलमा नपरेका हुँदा हुन् त सजिलै समाधान निकाल्थे भनी विश्लेषण गरिन्थ्यो। लोकतान्त्रिक आन्दोलन सफल भएपछि भारतीय जेलबाट छुटेर आउँदा वैद्यले पार्टीभित्र उत्तिकै सम्मान पाए। वैद्यको सल्लाह, बाबुरामको लाइन र दाहालको निर्णय क्षमताका कारण पार्टी आन्तरिक सम्मतिमा अगाडि बढ्न सफल भयो। संसदीय दलसँग सहकार्यमा देश शान्ति प्रक्रियामा प्रवेश गर्‍यो।
देशको आवश्यकता माओवादी र संसदीय दलबीच सहमतिमा शान्ति प्रक्रिया पूरा गर्नु र संघीय लोकतान्त्रिक गणतन्त्रको नापनक्सा कोर्ने संविधान बनाउनु हो। वैद्य लाइन यसलाई पिठिउँ फर्काउने हो। भारतलाई हेर्ने दृष्टिकोणमा पनि तुलनात्मकरूपले बाबुराम व्यावहारिक छन्। बाबुराम विचलितै भएका पनि होइनन्। सैद्धान्तिक दृष्टिले नयाँ संविधानमा माओवादीले बहुलवाद स्वीकार्न नसकिने भन्नु अस्वाभाविक होइन। ऊ संसदीय राजनीतिमै हेलमेल हुन आएको होइन। सर्वहाराको शासनसम्म पुग्न यो बाटो हिँडेको मात्र हो। कम्युनिस्टहरू वर्गविहीन समाजको सपना देख्छन्। बहुलवाद विभिन्न वर्गको उपस्थिति स्विकार्ने दर्शन हो। संविधानमा बहुलवाद स्विकार्नै नसकिने अडान माओवादीभित्र वैद्य लाइन प्रभुत्वशाली भएको संकेत हो। क्रान्तिकारीहरू जनताका उपलब्धि सम्भव भएसम्म सुरक्षित राख्दै जान्छन्। वैद्य प्रभुत्वशाली नहुँदा हुन् त संविधानै नबन्ने मूल्यमा पनि बहुलवाद उल्लेखै नगर्ने अडानमा माओवादी पुग्दैनथ्यो।
दुई वर्षअघिको खरिपाटी भेलामै वैद्य आक्रामक देखिए। अहिले भारी हुँदैछन्। गरिबको राज्य ल्याउने सपनासहित जनयुद्ध गरेका तल्लो तहका कार्यकर्ता त्यतिखेर निराश भए जब व्यावहारिक हुने नाममा माओवादी अर्को कांग्रेस वा एमाले हुने जोखिम देखियो। दाहाल प्रधानमन्त्री भएपछि जनताले कम्युनिस्ट सत्ता महसुस गर्ने खालका कुनै काम भएनन्। संगठन बढाउने नाममा यो पार्टीभन्दा बढी चौतारो भयो। जनयुद्धका घाइते, सहिद परिवार उपेक्षित भए। सुबसेन ओली, कुमार फुदुङ प्रवृत्तिले महत्वपूर्ण ठाउँ पायो। ग्यास दुर्घटनामा परेकी माओवादी सभासद् रामकुमारी यादवको निधनपछि उनको स्थानमा धनुषाका कार्यकर्ताले सिफारिस गरेका सहिद पत्नी अस्वीकृत भइन्। परिणामस्वरूप स्थानीय दुई सय कार्यकर्ताले तत्काल पार्टी त्यागेको घोषणा गरे। पालुङटार भेलामै सहिद परिवारको प्रश्नले अध्यक्ष दाहाल निरुत्तर हुनुपर्‍यो। उपाध्यक्ष वैद्यले चस्मा फुकालेर धेरै बेर आँसु चुहाइरहे।
वैद्यले तल्लो तहका माओवादी कार्यकर्ताको यही संवेदना टिपेका छन्। संविधानसभामा माओवादी सबैभन्दा ठूलो दल भएको सहन नसक्ने संसदीय दल र सत्ताले माओवादीलाई नै फेरिदिएको स्थितिमाथि प्रहार गरेर उनी भारी हुँदैछन्। शान्ति र संविधानलाई अवरोध गरिए जनसंघर्ष चर्काउने नीतिले पनि वैद्य लाइनलाई नै सघाउनेछ जुन शान्ति प्रक्रियाका लागि जोखिमपूर्ण छ।

chanky.shrestha@gmail.com

प्रतिक्रियाहरू (1)Add Comment
0
PLS
December 08, 2010
68.13.81.116
भोट: +0
...

दाहाल बोल्दा वैद्यतिर, नीति बनाउँदा भट्टराईतिर र काम गर्दा राप्रपा (नेपाल)तिर फर्कन्छन्। good one

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld