Error
  • Error loading feed data.

बाइक निषेध किन?

smaller text tool iconmedium text tool iconlarger text tool icon

उच्चमाध्यमिक विद्यालय संघ (हिसान) कक्षा ११ र १२ का विद्यार्थीमा देखा परेको मोटर बाइक मोह र त्यसै समूहमा दुर्घटना पनि धेरै हुने कारण देखाएर उच्चमाविमा बाइक निषेध गर्ने तयारीमा छ। तर, यो निर्णय लागू गर्नुपूर्व आवश्यक छलफल र अध्ययन भने गरिएको छैन। हिसानले जति नै तत्पररता देखाए पनि नियामक निकाय उच्च माध्यमिक शिक्षा परिषद् भने यसमा उदासीन रहेको छ।
विद्यालयमा बाइक लैजान बन्द गराएपछि विद्यालय नजिक भएका विद्यार्थी हिडेरै जानसक्छन्। तर टाढा घर हुनेहरूले स्कुल बस वा सार्वजनिक सबारी साधन प्रयोग गर्नुपर्ने हुन्छ। विद्यालय बसको प्रबन्ध र भाडा तथा सार्वजनिक सबारी साधनको व्यवस्था राम्रो नमिलाइ मोटर बाइक बन्द गर्नु ती विद्यार्थीका लागि सजाय दिनुसरह हुनेछ। निजी क्षेत्रका उच्च माध्यमिक विद्यालय सञ्चालकलाई भने यस्तो निर्णयले प्रत्यक्ष फाइदा पुग्ने देखिन्छ। विद्यालयहरूले मनपरी बस भाडा लिने गरेका छन्। सबै विद्यार्थीले स्कुलकै बस प्रयोग गर्नु परेमा उनीहरूका लागि थप कमाउने मौका बन्ने निश्चित छ। स्कुलहरूको बस भाडा लिने व्यवस्था पनि सोझै विद्यार्थीलाई ठग्ने प्रकारको छ। विद्यालयमा प्रत्येक शैक्षिक सत्रमा एक सय ८० दिन जति पढाइ हुन्छ। अर्थात् विद्यार्थीले ६ महिना जतिमात्र बसको प्रयोग गरेका हुन्छन्। विद्यालयहरूले भने १२ महिनाको बस भाडा असुल्छन्।
सार्वजनिक यातायात प्रयोग गर्ने विद्यार्थीले पनि कम सास्ती पाउँदैनन्। विद्यार्थीलाई सहुलियत दिनुपर्ने नियमले गर्दा सबारीको चाप हुने बेलामा विद्यालयको पोसाक लगाएका व्यक्तिलाई सकेसम्म बसमै चडाउँदैनन्। कालीमाटीबाट कार्यालय जाने क्रममा मैले धेरैपल्ट ड्राइभरले खलाँसीलाई विद्यार्थीलाई नचडाउन भनेको सुनेकोछु। कालीमाटीबाट चल्ने गाडीहरू अपवाद हैनन्। यसले गर्दा उनीहरू समयमा विद्यालय पुग्न सत्तै्कनन्।
उपत्यकाका निजी विद्यालयहरूमा बस भाडा तोक्न कुनै वैज्ञानिक आधार अपनाउने गरिएको छैन। विद्यालयहरूले आआफ्नो तजबिजमा बसको भाडा तोक्छन्। यसले गर्दा भाडामा एकरूपता पनि छैन। उपत्यका विद्यालयहरूमा न्यूनतम मासिक पाँच सयदेखि चौध सय रुपैयाँसम्म पनि विद्यार्थीसँग विद्यालयले बस भाडा लिने गरेको पाइएको छ। यस्तै अधिकांश विद्यालयले यात्राको दूरीलाई बेवास्ता गरेर समान भाडा असुल्दा रहेछन्।
विद्यालयमा लैजान नदिँदैमा उच्च माध्यमिक तहमा पढ्ने किशोरकिशोरीले मोटर बाइक चड्न पक्कै छाड्ने छैनन्। त्यसैले दुर्घटना पनि खासै कम हुनेछैन। किशोरकिशोरीलाई दुर्घटनाबाट जोगाउन त राज्यले पनि उत्तिकै ध्यान दिनुपर्छ। अहिले १६ वर्ष पुगेपछि सबारी चालक अनुमतिपत्र दिने गरिन्छ। लाइसेन्स पाएको व्यक्तिलाई कसैले पनि सबारी चलाउन रोक्न मिल्दैन। यसैले, किशोरकिशोरीलाई दुर्घटनाबाट जोगाउन १८ वर्ष नपुगी सबारी चालक अनुमतिपत्र नदिने गरी कानुनमै परिवर्तन गर्नुपर्ने हुन्छ । हुनपनि १८ वर्षसम्म बालबालिका मानिन्छन्। त्यसैले यसमा उमेरको हद बढाउने विषयमा छलफल हुनु आवश्यक छ।
किशोरावस्थाका विद्यार्थीलाई दुर्घटनाबाट जोगाउन अभिभावकलाई पनि उत्तिकै सजग गराउनु आवश्यक देखिन्छ। यो उनीहरूको एसएलसी परीक्षा उत्तीर्ण गर्ने उमेर हो। एसएलसीमा राम्रो गरे भनेर अभिभावकले मोटर बाइक चलाउन शारीरिक र मानसिकरूपमा परिपक्व नहुँदै किनिदिने गर्छन्। छोराछोरीले पनि दौंतरीको देखासिकी गर्दै यही उमेर अभिभावकलाई बाइक किन्न बढी दबाब दिने गर्छन्।
यसैले सरकार र अभिभावकको संलग्नता र सहयोगबिना हिसानले थालेको अभियान सफल हुने देखिँदैन। विद्यार्थीको बाइक मोह र दुर्घटनाको जोखिमको दोहन गरेर थप पैसा कमाउनेमात्र हिसानको उद्देश्य हैन भने उसले सरोकारवाला सबै पक्षसँग सहकार्य गरी विद्यार्थीहरूलाई ट्राफिक ज्ञान दिने, बस भाडा अनावश्यक महंगो नतोक्ने र सबारी चालक अनुमति दिने उमेर बढाउन सरकारलाई घचघच्याउनुपर्ने देखिन्छ। यसका लागि हिसानले पहिले विद्यालयका बस भाडा वैज्ञानिक आधारमा तोक्ने अभियान थाल्नु उचित हुनेछ।

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld