Error
  • Error loading feed data.

जगदीश, झमक र हकिङ

smaller text tool iconmedium text tool iconlarger text tool icon
झमक घिमिरेको हालै प्रकाशित पुस्तक 'जीवन काँडा कि फूल'बारे प्रसिद्ध साहित्यकार एवं समाजसेवी जगदीश घिमिरेलिखित लेख केही समयअघि पढेको थिएँ। लेखमा झमकको व्यक्तित्व र उनको पुस्तकबारे चर्चा गरिएको थियो। जगदीश घिमिरेका अनुसार झमक घिमिरेलिखित उक्त पुस्तक नेपाली प्रेरक-साहित्यको मात्रै शिखर नभएर करिब एक दशकयता प्रकाशित कतिपय बहुचर्चित पश्चिमी 'बेस्टसेलर' प्रेरक-साहित्यभन्दा पनि उच्चस्तरीय छ। आफ्नै चर्चित पुस्तक 'अन्तर्मनको यात्रा'भन्दा पनि 'जीवन काँडा कि फूल' उच्चस्तरको भएको जगदीश घिमिरेको ठहर थियो।

झमक घिमिरेका समसामयिक र दर्शनका लेखहरू बेलाबेलामा पढ्ने गर्छु। स्वपठित घिमिरे गोडाका औँलाले लेख्ने गर्छिन्। उनका लेखहरू प्रायः छोटा, राम्रा र सान्दर्भिक हुन्छन्। झमक घिमिरे र उनको पुस्तक 'जीवन काँडा कि फूल' बारे जगदीश घिमिरेलिखित लेख पढेपछि ममा झमक घिमिरेबारे थप जान्ने जिज्ञासा भयो र भाइटीकाको दिन न्युरोडस्थित दिदीको घरबाट टीका थापेर फर्किने क्रममा 'जीवन काँडा कि फूल'को एक प्रति किनेर ल्याएँ र पढ्न थालेँ।

जन्मिएदेखिनै 'सेरेब्रल पल्सी' रोगबाट पीडित, कुनै प्रकारको औपचारिक वा अनौपचारिक शिक्षा प्राप्त नगरेकी झमक घिमिरेमा पढ्ने र लेख्ने चाहना अति तीव्र थियो। उनलाई आफैँ लेखपढ गर्न सिक्न कसैले रोक्न सकेन। औपचारिक शिक्षा नपाए पनि र भौतिक शरीर पूर्ण नभए पनि उनी दैशकै एक महान् स्रष्टा बन्न सफल भइन्। झमक घिमिरे वास्तवमै सङ्घर्ष, साहस, अठोट र इच्छाशक्तिकी प्रतिमूर्ति हुन्।

झमक घिमिरेको पुस्तक पढेपछि झमक, जगदीश र महान् भौतिकशास्त्री स्टिफन हकिङबीच केही असामान्य समानता रहेको मैले पाएँ। मानिसको बौद्धिक क्रियाकलाप भौतिक शरीरभन्दा पनि बढी मन र मस्तिष्कबाट निर्देशित हुन्छ र स्वस्थ्य विचार र सिर्जनशील कार्यका लागि स्वस्थ्य शरीरभन्दा पनि स्वस्थ्य मानसिक स्थिति र चेतनाको निर्णायक भूमिका हुन्छ भन्ने प्रमाण हुन् यी स्रष्टा र यिनका सिर्जना। मेरा निम्ति यी तीनै व्यक्ति उच्चतम अन्तर्प्रेरणा, चेतना, संवेदना, उत्साह, आत्म र इच्छाशक्तिका प्रतीक हुन्। जुन शारीरिक अस्वस्थ्यताको अवस्थामा हकिङले विश्वचर्चित पुस्तक 'अ ब्रिफ हिस्ट्री अफ टाइम', जगदीश घिमिरेले 'अन्तर्मनको यात्रा' र झमक घिमिरेले 'जीवन काडाँ कि फूल' लेखे, त्यसले यही यथार्थ प्रमाणित गर्छ। स्वस्थ्य शरीरमा मात्र स्वस्थ्य मन र मस्तिष्क हुन्छ र स्वस्थ्य मनले मात्र स्वस्थ्य विचार जन्माउँछ भन्ने जनविश्वासको गतिलो अपवाद हुन् स्टिफन हकिंङ, जगदीश घिमिरे र झमक घिमिरे।

एक्काईस वर्षको उमेरदेखि नै निको नहुने स्नायुरोग 'न्युरो मस्कुलर डिस्ट्रोफी'बाट पीडित हकिङको शरीरका सम्पूर्ण भाग पक्षाघातबाट प्रभावित छन् र उनी चौबिसै घन्टा नर्सहरूको रेखदेखमा हि्वलचेयरमा बिताउन बाध्य छन्। तर उनको अशक्तताले उनलाई सिर्जनशील कार्य गर्न कहिल्यै रोकेन। बोल्न, चल्न र लेख्न नसक्ने हकिङ ग्यालिलियो, न्युटन र आइन्स्टाइनको स्तरका भौतिकशास्त्री र वर्तमान विश्वकै सबैभन्दा महान् र चर्चित जीवित वैज्ञानिक हुन्। टाउको र आँखाको सङ्केतले एक विशेष प्रकारको कम्प्युटरमार्फत् प्रतिमिनेट पन्ध्र शब्दमात्र निर्माण गर्नसक्ने यी व्यक्तिले बीसौँ शताब्दीमा सबैभन्दा बढी विक्री भएको पुस्तक 'अ ब्रिफ हिस्ट्रि अफ टाइम'लगायत दर्जनौ गहकिला वैज्ञानिक शोधपत्र र पुस्तकहरू लेखे। केही समयअघि मात्र आफ्ना सहयोगी लिवोनार्ड म्लोडिनोभसँगको सहलेखनमा उनको ब्रह्माण्डसम्बन्धी पुस्तक 'द ग्रान्ड डिजाइन' प्रकाशित भएको छ । अशक्त भएर हि्वलचेयरमा बसिरहँदा पनि हकिङको मन ब्रह्माण्डको रहस्यको खोज गर्न र पृथ्वीमा मानिसको भविष्यबारे चिन्तन-मनन गर्न सदा व्यस्त रहन्छ। हकिङका अनुसार एक सफल सैद्धान्तिक भौतिकशास्त्री बन्न स्वस्थ्य र पूर्ण शरीर उनका लागि एक पूर्व सर्त नभएको मात्र होइन, शारीरिक अशक्तता उनका लागि वरदान साबित भएको छ। शारीरिक अशक्तताकै कारण सधैँ हि्वलचेयरमा बस्नु पर्ने हुँदा आफ्नो सम्पूर्ण समय अन्य अनुत्पादक कार्यमा नखर्चेर चिन्तन मनन र सिर्जनशील काममा मात्र उपयोग गर्न पाएको उनले बताएका छन्। आज ७० वर्षको उमेरमा पनि उनको मस्तिष्क त्यत्तिकै सिर्जनशील छ र कुनै दिन अन्तरिक्षको भ्रमण गर्ने इच्छा छ उनको।

जगदीश घिमिरेसँग पहिले मेरो व्यक्तिगत परिचय थिएन। उनलाई नेपाल साप्ताहिकको स्तम्भकारका रूपमा मात्र चिनेको थिएँ। उनको स्तम्भ 'चेतना भया' मलाई मन पर्थ्यो र म त्यो पढ्न छुटाउँदिनथेँ। एकपटक कर्ण शाक्यलिखित पुस्तक 'सोच'को धेरै समीक्षकले प्रशंसामात्र गरिरहेका बेला जगदीश घिमिरेले आफ्नो स्तम्भमा उक्त पुस्तकको अन्ध प्रशंसा नगरी वस्तुपरक र सन्तुलित समीक्षा गरेको पढ्दा प्रभावित भएको थिएँ।

एकदिन जगदीश घिमिरेले आफ्नो नयाँ पुस्तक 'अन्तर्मनको यात्रा' को लोकार्पण कार्यक्रममा आमन्त्रित गर्न फोन गरे। उक्त पुस्तकको समीक्षक गोविन्दराज भट्टराईले आफनो भूमिकामा केहीदिन यता प्रकाशन भएका सफल आत्मवृत्तान्तको सूचीमा मेरो पुस्तक 'वैज्ञानिक गारेटोमा'को पनि उल्लेख गरेका रहेछन्। त्यही भएर जगदीश घिमिरेले 'अन्तर्मनको यात्रा' को लोकार्पण कार्यक्रममा आमन्त्रित गर्न फोन गरेका रहेछन्।

पुरानो बानेश्वरस्थित गुरुकुलमा आयोजित 'अन्तर्मनको यात्रा' को लोकार्पण कार्यक्रममा नेपालका चर्चित एवम् प्रतिष्ठित स्रष्टा र बुद्धिजीविहरूको ठूलो उपस्थिति थियो। कार्यक्रममा विभिन्न व्यक्तिले पुस्तकबारे व्यक्त गरेका अभिव्यक्ति सुनेर जगदीश घिमिरेको आँखा रसाए। विभिन्न वक्ताले बोलेको सुन्दा कार्यक्रमस्थलमै जगदीश घिमिरेले 'अन्तर्मनको यात्रा' कुन शारीरिक अवस्थामा लेखेका थिए भन्ने थाहा पाइसकेको थिएँ र म निकै प्रभावित भएको थिएँ।

'अन्तर्मनको यात्रा' धेरै नै चर्चित भयो र लामो समयसम्म 'बेस्टसेलर'को सूचीमा रह्यो। अहिले पनि छ। पछिल्लो समयमा 'अन्तर्मनको यात्रा' ले जति पाठकको मन छुने पुस्तक प्रकाशित भएको थिएन। 'अन्तर्मनको यात्रा' माथि विभिन्न परिचित व्यक्तिका अभिव्यक्तिहरूको सङ्ग्रह 'अन्तर्मन्थन'समेत प्रकाशित भएको छ। यसले 'अन्तर्मनको यात्रा' कति लोकप्रिय रहेछ भन्ने देखाउँछ। पुस्तकको विषयवस्तुभन्दा पनि जुन शारीरिक अवस्थामा जगदीश घिमिरेले उक्त पुस्तक लेखे त्यसबाट बढी प्रभावित भएको छु म।

कुनै व्यक्ति अस्पतालको शैयामा, जीवनमरणको दोसाँधमा सङ्घर्षरत रहँदा उसको मनमा केकस्ता कुरा उठ्दा हुन्? सम्भवतः यो व्यक्तिपिच्छे फरक हुँदो हो। कोही आतङ्कित हुँदो हो त कसैले देवीदेउता भाक्दो हो। कसैले दानधर्म पनि गर्दो हो त कसैले आफ्नो परिवारजनसँग 'अन्तिम' भेटघाट गर्ने इच्छा राख्दो हो अनि कसैको पीडामुक्त र सहज मृत्युको इच्छा हुँदो हो। जीवनमा एकपटक मैले आफूलाई पनि मृत्युको नजिक पाइसकेको छु। सन् १९६९मा जर्मनीमा अध्ययनरत छँदा मेरो फोक्सोको ठूलै शल्यक्रिया गरेर एक टुक्रा काटेर फ्याँकिदै थियो। शल्यक्रियाको अघिल्लो रात म अस्पतालको शैयामा छटपटाइरहेको थिएँ। विदेशमा आफ्नो भन्ने कोही थिएन। शल्यक्रियामा केही अनिष्ट भइहाल्ने हो कि भन्ने भयले आतङ्कित भएको थिएँ र परिवारजनलाई सम्भि्करहेको थिएँ। कष्ट र मृत्युको भयले गर्दा शल्यक्रिया नगराई अस्पतालबाट भाग्नेसम्म पनि सोचेँ। यस्तै मनोदशाबीच भोलिपल्ट मेरो शल्यक्रिया सफलताकासाथ सम्पन्न भएको थियो।

हाड अत्यधिक खिइएर कमजोर हुने रोग 'सिभियर अस्टोपोरोसिस', मूलतः मल्टिपल माइलोमा (रगतको क्यान्सर) जस्तो प्राणघातक रोग, किमोथेरापी र अनेक औषधिहरूले कमजोर पारेका अङ्गहरू र बीजकोष ('स्टेम सेल') प्रत्यारोपण गर्ने पटकपटकका प्रयासका कारण जगदीशले भोगेका कष्ट र यातनाको सूची लामो छ। अस्पतालको शैयामा जीवनमरणको दोसाँधमा रहँदा र उपचारमा संलग्न चिकित्सकले जीवनको सीमा तोकिसक्दा पनि जगदीश घिमिरेलाई भय र निराशाले छोपेन बरु अनेकौ किमोले गर्दा उत्पन्न पेरिफेरल न्युरोप्याथीजनित कामिरहेका औँलाले भएपनि लेख्ने इच्छा प्रबल भयो र सम्भावित मृत्यलाई चुनौती दिँदै, चरम शारीरिक कष्ट सहेर पनि उनले आफ्नो अन्तर्मनलाई ल्यापटपमा लिपिबद्ध गर्दै गए अनि एउटा कालजयी कृति जन्माए- 'अन्तर्मनको यात्रा'। उपचारका क्रममा जुन वैज्ञानिक पद्धति र प्रक्रियाका कारण घिमिरेले चरम यातना भोग्नुपर्‍यो, त्यसै विज्ञानले उनलाई जीवनपनि दियो-एउटा अद्वितीय प्रेरक जीवन। तर त्यस्तो शारीरिक अवस्थामा पनि जगदीश घिमिरेलाई त्यस प्रकारको अद्भूत ऊर्जा, शक्ति, आत्मबल र प्रेरणा कहाँबाट प्राप्त भयो होला? त्यो कल्पनातीत छ। मेरा निम्ति यो अन्तर्प्रेरणाको उच्च र अनुपम उदाहरण हो। जगदीश घिमिरेको 'अन्तर्मनको यात्रा' ले मलाई सबैभन्दा प्रभावित पारेको पक्ष यही नै हो र सिर्जनशील कार्यका लागि स्वस्थ्य र सम्पूर्ण शरीर पूर्व सर्त होइन भन्ने प्रमाण यो हो। यस्तै प्रमाण 'अ ब्रिफ हिस्ट्री अफ टाइम', र 'जीवन काडाँ कि फूल'ले पनि दिएका छन्।

प्रतिक्रियाहरू (1)Add Comment
0
ramesh Vikram Shahi,Timor
December 09, 2010
203.91.135.100
भोट: +3
...

I already read 'A brief history of Time' and 'Antarman ko yatra'. There is no doubt,these are the masterpieces of the respective writers. Now Jhamak Ghimire is proving herself that physical disability can't be resistance for creativity. Salute to 3 brave idols !

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld