राष्ट्रिय सहमतिको लागि कुनै सम्झौता गरिन्न : खनाल

Saturday, 13 November 2010 19:19 नागरिक
Print

काठमाडौँ, कात्तिक २७ - नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले शान्ति र संविधानको लागि राष्ट्रिय सहमति गर्न कुनै पनि दलसँग सम्झौता गर्न नसकिने बताएका छन्। नेकपा (एमाले) उपत्यका पेसागत वुद्धिजीवी विशेष जिल्ला कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उनले शान्ति र संविधानले पूर्णता पाउन नसक्ने भएकाले राष्ट्रिय सहमति जरुरी भएको बताए।

अध्यक्ष खनालले भने - 'दलहरु मिलेर नै आजसम्मको उपलब्धि प्राप्त भएको हो, २०६२/०६३ को जनआन्दोलन पनि दलहरु मिलेर नै सफल भएको हो, दलहरु मिलेर नै शान्ति र संविधानको अविभारा पूरा गर्न सकिन्छ।'

समयमा बजेट आउन नसक्दा मुलुकमा ठूलो सङ्कट उत्पन्न हुन सक्ने खतरा देखाउँदै अध्यक्ष खनालले बजेट ल्याउनको लागि सरकार र प्रतिपक्षबीच छिट्टो सहमति गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले भने,-'वर्तमान समय राजनीतिक दलहरुबीचको फरक हैन, सबै दलबीच सहमति र सहकार्य गर्नुपर्ने बेला हो।'

उनले पार्टीभित्र सैद्वान्तिक, वैचारिक कार्यशैलीमा सुधार ल्याउनुपर्ने आवश्यक भएको बताए।

नेकपा (एमाले) महासचिव ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद (जवज) को विकासको निम्ति एमालेभित्र वैचारिक र साङ्गठनिक सुधार आवश्यक छ भने।

उनले पार्टीलाई दीर्घकालीन रुपमा प्रभावकारी बनाउनको लागि सामाजिक र आर्थिक रुपमा सक्षम हुनुपर्नेमा जोड दिए।- रासस