कुटाकुटबारे असन्तुष्ट समूहले पार्टी अध्यक्षलाई उजुरी बुझाउने

Friday, 10 December 2010 00:29 नागरिक
Print
काठमाडौं, मंसिर २४ (नागरिक) कार्यविभाजनमा एकलौटी गरेको र आफूहरुमाथि कुटपीट गरेको भन्दै अनेरास्ववियुको असन्तुष्ट समुहले संगठनका अध्यक्ष माधव ढुंगेल र उनको समुहका विरुद्ध पार्टी अध्यक्ष झलनाथ खनालसमक्ष उजुरी गर्ने भएका छन्। बुधबार संगठनको जिम्मेवारी वाँडफाँटलाई लिएर विवाद वढेपछि पार्टी अध्यक्ष झलनाथ खनाल र स्थायी कमिटी सदस्य केपी शर्मा ओली पक्षधर विद्यार्थी नेताहरुबीच कुटाकुट भएको थियो। संगठनका अध्यक्ष ढुंगेल ओली पक्षका हुन्।

खनाल पक्षका विद्यार्थी नेता दीपक गौतमले आफुहरुमाथि भएको कुटपिटको विषय औपचारिक रुपमा पार्टी अध्यक्षलाई जानकारी गराउने बताए। 'संगठनमा वसेर अराजक ब्यवहार गर्नेलाई कारवाही गर्नुपर्छ भन्ने हाम्रो माग हो', अनेरास्ववियुका कोषाध्यक्ष रहेका गौतमले भने। उनले अध्यक्ष ढुंगेलाले एकपक्षीय हिसावले कार्यविभाजन गरेकाले त्यो आफुहरुलाई अमान्य भएको बताए।

यता ढुंगेल समुहले भने कार्यविभाजनमा पुर्नविचार नहुने बताएको छ। वैठकले निर्णय गरेअनुसार नै कार्यविभाजन रहने सचिव रचना खड्काले बताइन्। 'वैठकले जे निर्णय गर्छ, त्यही अनुसार संगठन अघि बढ्छ', ढुंगेल पक्षधर विद्यार्थी नेतृ खडकाले भनिन्, 'वहुमतले गरेको निर्णय सबैले मान्नुपर्ने हुन्छ।'

पार्टी अध्यक्ष झलनाथ खनालले भने विद्यार्थी संगठन लोकतान्त्रिक र विबीसम्मत हिसावले चल्नुपर्ने बताए। 'विधीसम्मत र नीतिसम्मत हिसावले अघि बढनुपर्छ', खनालले भने, 'संगठनमा देखिएको विवाद सकेसम्म अनेरास्ववियुका सार्थीहरुले मिलाउनुहुन्छ, मिलाउन सक्नुभएन र सहयोग माग्नुभयो भने मात्रै पार्टीले मिलाउछ।'
भातृ संगठनमा विवाद वढेपछि विद्यार्थी इञ्चार्ज गोकर्ण विष्टले विद्यार्थी नेताहरुलाई वोलाएर सहमति गर्ने प्रयास सुरु गरेका छन्। उनले विहीवार अध्यक्ष ढुंगेलसहितका विद्यार्थी नेताहरुलाई वोलाएर सहमति गरी अघि वढन निर्देशन दिएका छन्।

अधिवेशन सम्पन्न भएको दुई महिनापछि बसेके पहिलो बैठकमा वुधवार दुई पक्षबिच जिम्मेवारी वाँडफाँट लगायत प्रस्तावमा विवाद भएपछि कुटाकुट भएको थियो। अध्यक्ष ढुंगेलले केन्द्रिय विभाग, क्षेत्रीय, अञ्चल प्रमुख लगायत जिम्मेवारीको प्रस्ताव ल्याएपछि कुटाकुट भएको थियो।