Error
  • Error loading feed data.

सिकिस्त बिरामी पन्छाउँछन्, राख्‍नै नपर्नेलाई भेन्टिलेटरमा

smaller text tool iconmedium text tool iconlarger text tool icon

दीपक दाहाल, काठमाडौं, मंसिर १३- नेपालगन्जकी गीता उपाध्याय सुत्केरी अवस्थामा आगो ताप्दै गर्दा आगलागीमा परिन्। हतारहतार उनलाई भेरी अञ्चल अस्पताल पुर्‍याइयो। तीन दिनपछि चिकित्सकले भेन्टिलेटरमा राख्नुपर्ने भएकाले काठमाडौं लैजान आफन्तलाई भने। एम्बुलेन्समा काठमाडौं ल्याइयो। काठमाडौँमा ग्लोबल र मेडिकेयरले भेन्टिलेटर खाली छैन भन्दै भर्ना लिन मानेनन्।

  'निजी क्षेत्रकै अर्को अस्पताल लाइफकेयरले भर्ना त लियो तर तीन दिनको भेन्टिलेटर खर्च नै डेढ लाख पर्‍यो,' गीताका आफन्त देवेन्द्र उपाध्यायले भने, 'काठमाडौंका निजी अस्पताल भेन्टिलेटरमा राख्नुपर्ने गम्भीर बिरामी भनेपछि सकेसम्म पन्छिन खोज्दा रहेछन्, लाइफकेयरले चाहिँ राख्नै नपर्ने र मरिसकेकालाई पनि भेन्टिलेटरमा राख्दो रहेछ।' लाइफ केयरमा उपचार खर्च धान्न नसकेपछि अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ।

निजीले विभिन्न बहानामा भर्ना लिन नमानेपछि आइतबार वीर अस्पतालको आकस्मिक कक्षमा तीन बिरामी आएका छन्। 'काठमाडौँमा नाम चलेका निजी अस्पतालले गम्भीर बिरामी भनेपछि भेन्टिलेटर छैन भनेको भन्दै यता आइरहेका छन्,' वीर आकस्मिक कक्षका चिकित्सकले भने।

महंगो शुल्क लिने निजी अस्पतालले अनावश्यक बिरामी पनि आइसियुमै राख्ने र गम्भीर बिरामीबाट पन्छिने प्रवृत्तिले सरकारी अस्पतालले अनावश्यक चाप खेप्नुपरेको वीर अस्पतालकै वरिष्ठ चिकित्सकहरू बताउँछन्।

वीर आकस्मिक कक्षका प्रमुख डा. ध्रुवप्रसाद सिंहका अनुसार अस्पतालको आकस्मिक कक्षमा आउने गम्भीर अवस्थाका बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी नाम चलेका सरकारी अस्पतालबाट रिफर भएर आएका हुन्छन्।

सरकारीमा अभाव भए पनि राजधानीका निजी अस्पतालले धेरैजसो समय आइसियुमा बेड खाली छ भन्दैनन्। बिरामी कस्तो प्रकृतिको हो भन्ने हेर्छन्, कम उमेरको र गम्भीर प्रकृतिको भए सरकारीतर्फ पन्छाइदिन्छन्,' डा. सिंहले भने, 'चिकित्सा क्षेत्रमा बढ्दो आक्रमणका घटनाले बिरामी पन्छाउने बहाना भेन्टिलेटर भएको छ।'

लामो समयदेखि वीरको आकस्मिक कक्ष हेर्दै आएका डा.सिंहले निजी अस्पतालमा गम्भीर बिरामीलाई भर्ना लिनेभन्दा पन्छाउने प्रवृत्ति 'डरलाग्दो' भएको टिप्पणी गरे। 'बचाउन कठिन पर्ला भन्ने लाग्नासाथ झमेलाबाट उम्किन वीर, टिचिङजस्ता अस्पताल रिफर गर्छन््,' उनले भने, 'चिकित्सकीय धर्म बिर्संदै गएका छन्। बिरामी आएपछि सकेसम्म बचाउन प्रयास गर्नुपर्छ, प्रयास गर्दागदै नसकेको बिरामीका आफन्तलाई जानकारी गराइरहे मानसिक रूपमा पनि मृत्यु स्विकार्न तयार हुन्छन्।'

बिरामीका आफन्त र सरकारी अस्पतालमा कार्यरत चिकित्सकका अनुसार निजी अस्पतालमा भेन्टिलेटर सबैभन्दा ठूलो आम्दानीको स्रोत बनेको छ। 'आकस्मिक अवस्थामा दिइने सेवामा शुल्क र सुविधा अनुगमन हुन सकेको छैन,' नेपाल चिकित्सक संघका अध्यक्ष डा.केदारनरसिंह केसीले भने।

चिकित्सकहरूका अनुसार उपचार सम्भव हुने बिरामीलाई आइसियु कक्षबाट जनरल वार्डमा ल्याउन ढिला गरेर र गम्भीर बिरामीलाई भर्ना नगरेर निजी अस्पतालले दोहोर मार दिइरहेका छन्। एसोसिएसन अफ प्राइभेट इन्टिच्युसन नेपालका सल्लाहकार एवं ओम अस्पतालका निर्देशक डा.हरिकिशोर श्रेष्ठले भर्ना लिनुपूर्व सम्बन्धित डाक्टरसँग सल्लाह लिएर गरिने बताए। 'भेन्टिलेटर भए बिरामीलाई राख्न सकिन्छ, उपचार सम्भव हुने अवस्थामा पन्छाउँदैनौं,' उनले भने।

निजी तहमा लाइफकेयर अस्पतालले भेन्टिलेटर सुविधामै केन्द्रित गरेर सेवा दिइरहेको छ भने नर्भिक, ओम, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौं अस्पताल, ब्ल्युक्रसले ५ देखि १० वटासम्म भेन्टिलेटर सञ्चालन गरिरहेका छन्। केएमसी र ओम सेवा विस्तार पनि गर्दै छन्। 'पाँच महिनाभित्र हामी २० वटा भेन्टिलेर सञ्चालनमा ल्याउँछौ,' ओमका डा. श्रेष्ठले भने।

नाम चलेका निजी अस्पतालमा भेन्टिलेटरमा राखेको खर्च दैनिक १५ देखि २० हजार रुपैयाँसम्म छ। कतिपय अस्पतालले थुुप्रै औषधी किनाएर बाहिर बेच्ने गरेको आरोपसमेत लाग्ने गरेको छ। 'निजी अस्पतालमा भेन्टिलेटरमा राख्नु भनेको दैनिक ५० हजार रुपैयाँ खर्च हुनु हो,' वीरका डा.सिंहले भने, 'सरकारीमा दैनिक २/३ हजारमा पुग्छ, त्यसले पनि चाप छ।' सिंहले निजीको सेवा अनुगमनसँगै सरकारीमा सेवा थप्नुपर्ने बताए।
स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखाका प्रमुख डा. पदमबहादुर चन्दले निजी अस्पतालको सेवा र शुल्कबारे अनुगमन गर्ने कानुनै नभएको बताए। 'अहिलेसम्म हाम्रो काम सञ्चालन स्वीकृति र नवीकरण गर्ने मात्रै भएको छ,' डा.चन्दले भने, 'नियमावली ड्राफ्ट हुँदैन, अनि अनुगमन गर्न सकिन्छ?'


 
राख्‍नै नपर्ने भेन्टिलेटरमा
निजी अस्पतालले गम्भीर अवस्थाका बिरामीलाई भर्ना लिन नमान्ने गरेको वरिष्ठ चिकित्सकहरूले बताइरहँदा राख्नै नपर्ने बिरामीलाई भेन्टिलेटरमा राखेर मनपरी असुलेको पाइएको छ। लाइफकेयर अस्पतालले थप तीन दिन भेन्टिलेटरमा राख्नुपर्छ भनेकी बाराकी कृष्णा देवकोटा वीर अस्पतालको सामान्य बेडमा छन्। निमोनिया भएपछि चितवन मेडिकल कलेजका चिकित्सकले भेन्टिलेटरमा राख्नुपर्ने भन्दै काठमाडौं रिफर गरे।

वीरमा भेन्टिलेटर नपाइएपछि एम्बुलेन्स चालकको सुझावमा लाइफकेयर पुर्‍याएको दाजु कमल रानाभाटले बताए। आइतबार बिहानदेखि वीरमा उपचाररत कृष्णालाई भेन्टिलेटरबाट निकालेर ल्याएको भन्दा चिकित्सकहरू हाँसेका थिए। 'तपाईंसँग पैसा बढी रहेछ, भेन्टिलेटर त के, उहाँलाई अस्पतालमा पनि राख्नु पर्दैन,' उपचारमा संलग्न चिकित्सकको भनाइलाई उद्धृत गर्दै रानाभाटले भने, 'अहिले त बहिनी बिरामीजस्तै देखिन्न।'

संवाददाता वीर पुग्दा कृष्णा बेडमा आराम गरिरहेकी थिइन्। 'वीरमा लैजाने भनेपछि लाइफकेयर अस्पतालका निर्देशक डा.रवि रौनियारले आफैँ आएर ल यहीं राख्नुस् र भेन्टिलेटरमा नराखौँला भन्दै बार्गेनिङ गरे,' रानाभाटले भने।

 

 

प्रतिक्रियाहरू (3)Add Comment
0
gopal
November 30, 2010
113.199.238.166
भोट: +0
...

लाइफ केयर अस्पताल त गरिबको सेवा गर्ने ठाउँ भनेर सुनेको थिएँ।

0
dpk
November 30, 2010
78.149.247.238
भोट: +0
...

यस्तै बानीले गर्दा नै हो बेलाबखत यी डक्टहरहरूले दुर्व्यवहार र कुटाई खानु परेको।। माथि भनेजस्तै डा. रौनियारले त्यस्तो बार्गेनिङ गरेको हुन भने उनलाई कारबाही हुनुपर्ने हो।

0
ram kumar maharjan
November 30, 2010
27.32.31.128
भोट: +0
...

I was a trainee mgmt staff at one of the above mentioned private hospitals 2 years back and i completely agree with the facts of the article. During my traineeship, I found that ICU is a cash cow for private hospitals and they even give commissions to ambulance drivers for bringing patients to them.
Commissions also go to doctors in government hospitals who refer their patients to private hospital.

प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld