Nepal Republic Media Pvt. Ltd.

Wednesday
Feb 19th
Error
  • Error loading feed data.

हिरासतबाट अभियुक्त भागेपछि पाँच प्रहरी नियन्त्रणमा

smaller text tool iconmedium text tool iconlarger text tool icon
ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, कात्तिक २७- अनुसन्धानका लागि हिरासतमा राखिएका व्यक्ति भगाएको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय बाह्रबीसेका जुनियर अधिकृतसहित पाँच प्रहरीलाई नियन्त्रणमा लिइएको छ। आरोपीको हातबाट हतकडी खोलिदिने इलाका प्रमुख प्रहरी निरीक्षक हेरम्ब शर्मालाई भने नियन्त्रणमा लिइएको छैन।

सई अजितदास डङ्गोल, असई भीमसेन गौतम, हवल्दार शशिधर पोखरेल तथा जवानद्वय गोपाल कार्की र शिवशङ्कर थामीलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको छ। शुक्रबार नियन्त्रणमा लिइएका उनीहरुलाई जिल्ला प्रहरी हाताबाट बाहिर जान रोक लगाइएको छ। 'छानविन भइरहेको छ। अनुसन्धान पूरा नभएकाले थप नभनौं'- निमित्त जिल्ला प्रहरी प्रमुख एकनारायण कोइरालाले भने।

सार्वजानिक अपराध मुद्दा खेपिरहेका राम्चेका समुन्द्र खड्का र जीवन थापालाई प्रहरीले बाटोबाट भगाएको हो। म्याद थपका लागि बुधबार सदरमुकाम चौतारा ल्याउने क्रममा उनीहरुलाई भगाइएको थियो। बाह्रबीसेका सोनाम शेर्पालाई कुटपिट गरेको आरोप खड्का र थापामाथि लगाइएको छ। शेर्पाको किटानी जाहेरीपछि उनीहरुविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइएको थियो। बाह्रबीसेमा सोमबार साँस्कृतिक कार्यक्रम हेर्ने क्रममा युवाबीच झडप भएको थियो।

घटनाको भोलिपल्ट मङ्गलबार शेर्पाले बाह्रबीसे प्रहरीमा किटानी जाहेरी दिएका थिए। त्यसै दिन आफूहरु पनि कुटिएको भन्दै निवेदन दिन गएका खड्का र थापा पक्राउ परे। उनीहरुको निवेदन नबुझी प्रहरीले शेर्पाको जाहेरी दर्ता गरेको थियो। अन्य मुद्दाका तीनसहित पाँच जनालाई चौतारा ल्याउने क्रममा राम्चेका बासिन्दाले बाह्रबीसे पुलबजारमा खड्का र थापालाई 'विना गल्ती' पक्राउ गरेको भन्दै अवरोध गरेका थिए। प्रहरीको गाडी घेरामा पारेर अवरोध गरेको जानकारीपछि आएका प्रहरी निरीक्षक शर्माले वार्ता गर्ने भन्दै खड्का र थापालाई गाडीबाट ओरालेका थिए।

'इन्सपेक्टरसाबले नै दुई जनालाई गाडीबाट ओरालेर हातको हतकडी खोल्दै नजिकको प्रहरी बिटतिर लगेका थिए'- एक प्रत्यक्षदर्शीले भने। दुई जनालाई सँगै लिएर अन्यलाई भने शर्माले सई डङ्गोलको नेतृत्वमा चौतारा पठाएका थिए। प्रहरी स्रोतका अनुसार घटनाको दुई घण्टापछि मात्र शर्माले 'भागे' भन्दै जिल्ला प्रहरी कार्यालयमा रिपोर्टिङ गरेका थिए। शर्माकै प्रतिवेदनका आधारमा जिल्ला प्रहरीले पाँच जुनियर कर्मचारीलाई नियन्त्रणमा लिएको हो।

निमित्त प्रहरी प्रमुख कोइरालाले भने शर्मामाथि पनि छानविन भइरहेको दाबी गरे। उनले यो दाबी गरे पनि शर्मा भने इन्चार्जकै हैसियतमा काम गरिरहेका छन्। नियन्त्रणमा रहेका आरोपीलाई कसले भगाएको भन्ने विषयमा प्रनि शर्मा र अन्य पाँच प्रहरीबीच आरोप/प्रत्यारोप चलेको छ। शर्माले सई डङ्गोललगायत् र डङ्गोल समूहले शर्माले आरोपी भगाएको बयान जिल्ला प्रहरीमा दिएका छन्। 'ती दुई जनालाई आफ्नो नियन्त्रणमा लिएर इन्सपेक्टर'साबले हामीलाई सदरमुकाम पठाएको हो। त्यसैले उनीहरु भाग्नुमा हाम्रो केही दोष छैन'- नियन्त्रणमा राखिएका एक प्रहरीले भने।

प्रहरी स्रोतका अनुसार शर्माले कार्यालय पुगेर लेखापाल (सई) ओमकार चन्दसँग डङ्गोलले आरोपी भगायो भनेका थिए। सदरमुकामबाट फर्केर बाह्रबीसे पुग्दा शर्माले डङ्गोलसँग लेखापालले भगाएको बताएका थिए। यस विषयमा जानकारी लिन खोज्दा प्रहरी निरीक्षक शर्माले 'त्यस्तो केही होइन' भन्दै प्रतिक्रिया दिएनन्। 'त्यस्तो केही हैन, सामान्य लफडा हो'- उनले भने।

कोइरालाका अनुसार यो घटनाबारे वागमती अञ्चल कार्यालयले पनि छानविन गरिरहेको छ।
प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


समाज

From Republica

new-traveld