अपहरणमा प्रहरी नै संलग्न भएको खुलासा

Friday, 10 December 2010 13:16 नागरिक
Print
इलाम (मङ्गलबारे), मङ्सिर २४- दुई व्यक्तिसहित भारतीय नम्बर प्लेटको सवारी साधन अपहरण गर्ने क्रममा इलामको किटेनीबाट पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राऊ पर्नेमा एक प्रहरीसमेत संलग्न रहेको खुलासा भएको छ।

मङ्सिर २१ गते साँझ भारतको दार्जिलिङबाट डब्ल्यु बी ७३ द्य ३४८३ नं. को पिकअप अपहरण गर्ने क्रममा इलामको कोल्बुङस्थित किटेनीबाट प्रहरीले बुधबार उनीहरूलाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा मेची अञ्चल प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान झापा सुरुङ्गा–९ का विनोद कार्कीसमेत छन्।

अपहरणमा संलग्न झापाको अर्जुनधारा घर भएका लभकुमार श्रेष्ठ, झापा शान्तिनगर–३ का महेन्द्र कार्की, भारत पानीट्याङ्कीका बब्लु राजवंशी, र अर्जुनधारा–३ का नारायण हाडालाई प्रहरीले बिहीबार इलाममा सार्वजनिक गरेको हो।

उनीहरूले इलामको लक्ष्मीपुरस्थित बर्दुमा लगेर भारतीय गाडीलाई नम्बर परिवर्तन गरी बा५प ६३५५ नं.को बनाई नारायण हाडा श्रेष्ठलाई बिक्री गरिएको अवस्थामा फेला पारेको इलामका प्रहरी नायब उपरीक्षक विक्रमबहादुर चन्दले बताए। 

उनीहरूको साथबाट प्रहरीले एकथान पेस्तोल र चाइनिज छुरी पनि बरामद गरिएको जानकारी दिएको छ।

थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको र डाका गरेको मुद्दा चलाइएको प्रहरीले जनाएको छ।
- रासस