Nepal Republic Media Pvt. Ltd.

Saturday
Jun 06th

वैद्यलाई फकाउने प्रयास

smaller text tool iconmedium text tool iconlarger text tool icon
उजिर मगर, पालुङटार, मंसिर ८- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले जारी विस्तारित बैठकमा मंगलबार आफ्नो राजनीतिक प्रस्ताव पेस गर्दै वरिष्ठ उपाध्यक्ष मोहन वैद्यलाई फकाउने प्रयास गरेका छन्। अर्का उपाध्यक्ष बाबुराम भट्टराईको विचारसँग भने आफू असहमत रहेको उनले प्रस्ट्याएका छन्।

  'बाबुरामजीसँग मेरो एकताभन्दा संघर्ष प्रधान भयो, किरणजीसँग संघर्षभन्दा एकताप्रधान रह्यो,' बैठकमा दाहालको भनाइ उद्धृत गर्दै एक सहभागीले नागरिकसँग भने, 'यति हुँदाहुँदै पनि हामी एक भएर अघि बढ्नुको विकल्प छैन।'

सोमबार आफ्ना प्रतिवेदन राख्दै उपाध्यक्षद्वय वैद्य र भट्टराई अध्यक्षप्रति आक्रामक रूपमा प्रस्तुत भएका थिए। दाहालले वैद्य र आफ्नो लाइनबीच कुनै भिन्नता नरहेको दाबी गर्दै उपाध्यक्षद्वयको आलोचनाको सामान्य प्रतिरक्षामात्र गरे। 'वैद्यजीले मलाई चुनौती दिन मिल्दैन, मेरो र उहाँको लाइनमा धेरै अन्तर छैन,' मन्तव्यको सुरुमै दाहालले भने।

वैद्यलाई फकाउने क्रममा दाहालले उनका विश्वासपात्र युवानेता नेत्रविक्रम चन्दलाई समेट्न नसकेको भन्दै बारम्बार आत्मालोचनासमेत गरेका थिए।

संगठनमा पकड राख्ने वैद्यसँग आफ्नो लाइन मिलाएर पार्टीमा थप पकड जमाउने रणनीतिमा दाहाल रहेको स्रोतको दाबी छ। वैद्यनिकट युवा नेता भने यसलाई दाहालको चालाबाजीकै निरन्तरता मान्छन्।

पार्टी आफ्नै लाइनअनुसार अघि बढेको भन्ने वैद्य र भट्टराईको दाबीलाई दाहालले सुरुमै प्रतिवाद गरे।

'उहाँ (वैद्य, भट्टराई) हरूले सधैँ लाइन आफ्नो भन्नुहुन्छ, तर, पार्टीलाई यहाँसम्म ल्याउने मुख्य भूमिका मेरै हो,' दाहालले भने, 'त्यसकारण पूरै टिम स्पिरिटमा हामीले काम गर्‍यौँ भन्नुपर्‍यो।'

भारतलाई प्रधान अन्तर्विरोध नमानेकाले भट्टराई आत्मसमर्पणवादी रहेको दाहालले आरोप लगाए। विचार र प्रधान अन्तर्विरोधमा भट्टराईसँग आफ्नो मत नमिल्ने जिकीर गर्दै उनले भने, 'अहिले राष्ट्रिय स्वाधीनताको आन्दोलन मुख्य बनेको छ, जसका लागि भारत घुलमिल भएर आएकाले अहिलेको हाम्रो प्रधान अन्तर्विरोध उहीसँग हो।'

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष भट्टराईले आफूले पार्टीको रूपान्तरणसहित एकता चाहेको बताए। 'अध्यक्षको लाइन प्रस्ट छैन, त्यसैले मैले फरक प्रस्ताव राख्नुपरेको हो,' उनले भने, 'पार्टीको रणनीतिक, सैद्धान्तिक दीर्घकालीन महŒव राख्ने विषयमा सहमत हुन सकेन भने त्यसलाई महाधिवेशनमा टुंगो लगाउँछौं।'

बैठकपछि वैद्यका विश्वासपात्र चन्दले अध्यक्ष दाहालको भनाईलाई उद्धृत गर्दै भने 'क्रान्तिमा हामी जसरी आऔं त्यसलाई कार्यन्वयन गर्ने टिमलाई सँगसँगै लिएर जानु पर्ने थियो भन्ने अध्यक्षले महसुस गर्नुभयो।'

दाहालले आफ्नो राजनीतिक प्रस्तावविरुद्ध आएका उपाध्यक्षद्वयको सामना युवा नेताको प्रशंसाबाट गरेका छन्। उनी आफूविरुद्ध आएका प्रस्तावको जवाफ दिँदै र आफ्नो प्रस्तावसमेत राख्दै झण्डै करिब १५ मिनेट पार्टीका युवा नेतामा केन्द्रित भए।

उनले खासगरी वैद्य निकट मानिने नेत्रविक्रम चन्द र बीचको केही समय बाबुराम भट्टराई नजिक रहे पनि सँधै आफूनिकटका युवा नेता वर्षमान पुनको खुलेर प्रशंसा गरे। दाहाल प्रधानमन्त्री हुँदा पुन भट्टराई निकट पुगेका थिए।

आफू सरकारमा जाँदा युवा नेताहरूलाई समेट्न नसकेकोमा गल्ती महसुस गर्दै दाहालले संविधानसभामा सबैले जानु पर्थ्यो भनेका छन्। यसरी दाहालले युवा नेताको प्रशंसा र संविधानसभामा पुगेर पनि राजीनामा गर्ने आफ्नो पार्टीका वरिष्ठ उपाध्यक्ष वैद्यको नाम नदिई उनले आलोचना गरेका छन्।

WebNagarikNews.com